आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

तस्करसँग रकम लिएको गुनासो आएपछि डिआइजी अर्यालले सर्लाहीका घुमुवा लखेटे

प्रकाशित
770
SHARES

महोत्तरी । सशस्त्र प्रहरी बलको भावी नेतृत्वमा पुग्न सक्ने छवि बनाएका डिआइजी राजु अर्यालले सर्लाहीका घुमुवाहरूलाई तितरबितर पारेका छन् । सर्लाही जिल्लाका गणपति समरबहादुर श्रेष्ठले घुमुवाका रूपमा परिचालन गरेका सुरेन्द्र रायलाई पर्सास्थित १३ नम्बर गणमा पठाएका छन् भने असई दीपेन्द्र झालाई सिराहा पुर्याएका छन् ।

यसअघि २ नम्बर प्रदेशका डिआइजी प्रवीणकुमार श्रेष्ठले असई दीपेन्द्र झा, सिपाही रोशन झालाई आफ्नो बाहिनीको घुमुवाका रूपमा सर्लाहीमा परिचालन गर्दै आएका थिए । यससम्बन्धी समाचारहरू बाहिर आएपछि ती दुवै घुमुवाहरूलाई बाहिनीमा तानिएको थियो । त्यसमध्येका असई दीपेन्द्र झा सिराहा पुगेका छन् भने सिपाही रोशन झा बाहिनीमा नै छन् ।

त्यसैगरी सर्लाहीका एसपी समरबहादुर श्रेष्ठले घुमुवाका रूपमा परिचालन गरेका सुरेन्द्र रायलाई पर्साको १३ नम्बर गण पुर्याइएको छ । अर्का घुमुवा सिपाही मकेन्द्र महतो तालिममा छन् । तालिमबाट हरेक साता शुक्रबार आउट निस्कँदासमेत सिपाही मकेन्द्र महतोले मरीचको तस्करी गर्ने चर्चित तस्कर विजय यादवलगायतका तस्करहरूसँग रकम लिने गरेको गुनासोसमेत बाहिर आएको छ ।

तस्कर यादवलगायतकाहरूले सर्लाहीको मधुवनी र अर्नाहा नाकाबाट मरीच, केराउ, चाइनिज सामान, कपडा, काठलगायतका सामानहरूको ठूलो तस्करी गर्दछन् । ती तस्करहरूसँग तालिमबाट आउट निस्कँदासमेत घुमुवा रहेका मकेन्द्र महतोले रकम लिने गरेको खुलासा भएको हो । अहिले डिआइजी राजु अर्यालले घुमुवा निषेध अभियान चालेका छन् ।

विगतमा नेपाल प्रहरी र सशस्त्र प्रहरीका डिआइजीबीच समन्वयको अभाव, एक–अर्कालाई आरोप–प्रत्यारोप लगाउने, घुमुवा परिचालन गरी रकम असुल्ने कार्य व्यापक रूपमा हुँदै आएकोमा हाल त्यो कार्य रोकिएको छ । प्रहरीका डिआइजी प्रद्युम्न कार्की र सशस्त्रका एआइजी राजु अर्यालको अहिलेसम्मको छवि स्वच्छ देखिँदै आएको छ ।

दुवै प्रहरीको उच्च नेतृत्वमा पुग्न सक्ने हैसियत र क्षमता राख्ने अधिकृत भएका कारणका साथै उनीहरूको विगतको कार्यशैली र स्वच्छ छविका कारण पनि २ नम्बर प्रदेशमा विगतमा जस्तो खुलेआम तस्करी र असुलीधन्दा रोकिने विश्वास गरिएको छ ।

यसैबीच पर्साको बोर्डर आउट पोस्ट सिर्सियाले घुमुवा परिचालन गरेको छ । बोर्डर आउट पोस्ट सिर्सियाका प्रमुख सशस्त्र प्रहरी निरीक्षक जीवन मल्ल ठकुरीको निर्देशनमा घुमुवा परिचालन गरिएको हो ।

बोर्डर आउट पोस्ट सिर्सियाबाट सशस्त्र प्रहरी जवान हरिचन्द्र महतो घुमुवामा खटिएका छन् । सशस्त्र प्रहरी जवान महतोको कार्य तस्करसँग रकम उठाउनुमात्र हो । बोर्डर आउट पोस्ट सिर्सियाको क्षेत्र अलौ नाकाछेउमा पर्ने ड्राइपोर्ट पछाडीदेखि बाराको मुसहर्वासम्म पर्दछ । उक्त नाकाबाट तस्करी गर्ने तस्करहरूसँग मोटो रकम लिन निरीक्षक मल्लले जवान हरिचन्द्र महतोलाई खटाएको स्रोत बताउँछ ।

सशस्त्र प्रहरी जवान महतोले कपडा, हार्डवेयर, सुख्खा, मरिचलगायतका तस्करहरूसँग रकम बुझी सिर्सिया र भकुवा नाकाबाट लाइन दिएका छन् । जवान महतो ४ दिन ड्युटी र ३ दिन सिभिलमा खट्ने गरेका छन् ।

प्रतिक्रिया