आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

फलफूल र आँप ल्याइएको भन्दै चितवनमा भारतीय ट्रकमाथि आगजनी र तोडफोड

प्रकाशित
1.2K
SHARES

चितवन । बिषादीयुक्त फलफूल र आँप ल्याइएको भन्दै डचितवनको नारायणगढ क्षेत्रपुरस्थित महानगर ताजा तरकारी तथा फलफूल थोक बजारमा आँप ल्याएको भारतीय ट्रकमा तोडफोड र आगजनी भएको छ । विहान तीन बजे आँप लिएर बजार क्षेत्रमा प्रवेश गरेको यूपी ४१ ए टी २६९१ नम्वरको भारतीय मालबाहक ट्रकमा तीन जना युवाले तोडफोड गरेका हुन् । स्कुटरमा आएका ती युवाले गाडीको अगाडिको सिसा फुटाइदिएका छन् ।

उनीहरुले पेट्रोल छर्किएर आगो लगाउने प्रयाससमेत गरेको फलफूल तथा तरकारी व्यवसायी संघका अध्यक्ष थिरप्रसाद धितालले जानकारी दिए । ‘ती युवाहरुले तोडफोडपछि पेट्रोल छर्किएर आगो लगाउने प्रयास गरेका रहेछन्, तर चिसोका कारणले सलाई ओसिएपछि आगो नबल्दा ट्रक जोगियो,’ अध्यक्ष धितालले भने, ‘यसले ब्यापारीहरुमा भय बढाएको छ ।’ नेपालीहरुको स्वास्थ्यमा असर पर्ने खालका बिषादीयुक्त तरकारी र फलफूल ल्याएको भन्दै ती युवाहरु तोडफोडमा उत्रिएको बताइएको छ ।

सो ट्रकमा पाँच टन आँप थियो । ट्रकमा तोडफोड गर्दै आगजनीको प्रयास गरेपछि केही ब्यापारीहले प्रतिकार गरेका थिए । त्यसपछि ती युवाहरु स्कुटरमै फरार भएको चितवन प्रहरीले जनाएको छ । चितवन प्रहरीका प्रवक्ता एकनारायण कोइरालाले दोषीहरुको पहिचान नभएको बताए । प्रहरीले तोडफोड गर्नेहरुको खोजी कार्य तीव्र पारिएको जनाएको छ ।

नेपालीहरुको स्वास्थ्यमा खेलवाड हुनेगरी ओली सरकारले भारतबाट आयात हुने तरकारी र फलफूलको बिषादी चेकजाँच गर्ने निर्णय फिर्ता लिएको भन्दै अहिले देशभर आलोचना भइरहेको छ । यसैबीच यता बिद्रोही नेपाल कम्युनिष्ट पार्टी मोरङले विषादीयुक्त फलफूल, तरकारी र दैनिक उपभोग्य समान बोकेर आउने भारतीय गाडिहरुमाथि जिल्ला प्रवेशमा रोक लगाउने घोषणा गरेको छ । भारतबाट आयात हुने तरकारी तथा फलफूलमा विषादीको मात्रा चेकजाँच गर्नबाट पछि हटेर ओली-प्रचण्ड सरकारले जनताको स्वास्थ्यमाथि गम्भीर खेलवाड गरेको नेकपाको ठहर छ ।

बुधबार नेकपा मोरङका सेक्रेटरी आभाषले एक विज्ञप्ति जारी गर्दै नेपाल बिश्वव्यापार सङ्गठनको सदस्य भएकोले आफुले पाउनुपर्ने अन्तर्राष्ट्रिय ब्यापारिक अधिकार र मापदण्डको बिरुद्धमा भारतीय शासकहरुको निर्देशन र एउटा पत्रको भरमा ओली प्रचण्ड मण्डलीले भन्सारमा बिना बिषादी चेकजाँच तरकारी तथा फलफूल निर्वाधरुपमा नेपाल भित्र्याएर नेपाली जनताको स्वास्थ्यमाथि गम्भीर खेलवाड गरिरहेको बताएका छन् ।

‘नेपाल बिश्वव्यापार सङ्गठनको सदस्य भएकोले आफुले पाउनुपर्ने अन्तर्राष्ट्रिय ब्यापारिक अधिकार र मापदण्डको बिरुद्धमा भारतीय शासकहरुको निर्देशन र एउटा पत्रको भरमा ओली प्रचण्ड मण्डलीले नेपाली जनताको स्वास्थ्यमा खेलवाड गर्नेगरी भारतबाट नेपाल भित्रिने बिषादीयुक्त तरकारी, फलफूललाई भन्सार र चेकपोष्ट (क्वारेन्टाइन)मा शुद्धता परिक्षणबिना नै नेपाली बजारमा बिषादीयुक्त तरकारीलगायत दैनिक उपभोग्य सामग्री निर्वाध बिक्रि वितरण गर्ने बर्तमान मन्त्रिपरिषद्को निर्णयले हाम्रो पार्टीको गम्भीर ध्यानाकर्षण भएको छ ।’ विज्ञप्तिमा भनिएको छ ।

नेपाली जनताको स्वास्थ्यमाथि नै जोखिम हुनेगरी बर्तमान सरकारले गरेको उक्त निर्णय बिश्वव्यापार सङ्गठनको मान्यताबिपरित भएकोले तत्काल सच्याएर बिषादी शुद्धता भएको तरकारी फलफूल मात्रै नेपाल भित्र्याउन सरकार र सम्बन्धित पक्षलाई नेकपाले आग्रह समेत गरेको छ । नेकपा मोरङले जिल्लाका बिभिन्न भन्सार र छेकपोस्टमा बिना परिक्षणका तरकारी र अन्य सामाग्री नेपाल भित्रिन नदिन र नभित्र्याउन सबै पक्षलाई अनुरोध गरेको छ । साथै अनाधिकृत तरकारी तथा अन्य सामाग्री लिएर नेपाल भित्रिने सम्पूर्ण भारतीय मालबाहक लगायतका गाडिहरुलाई मोरङ जिल्लाभर प्रवेश रोक लगाइएको नेकपाले जनाएको छ ।

अहिलेको राज्यले बाहिर अनेकौ भ्रम चर्ने र भित्रभित्रै देश बेच्ने, नागरिक स्वतन्त्रतामाथि बन्देज लगाउनेजस्ता घृणित कार्य गरिरहेका नेकपाको आरोप छ । आफूहरुको आग्रहलाई बेवास्था गरेर जनताको स्वास्थ्यमाथि खेलवाड गर्ने कार्य नरोकिए त्यसबाट उत्पन्न परिणामको जिम्मा पनि सम्बन्धित पक्षले नै लिनुपर्ने नेकपाको चेतावनी छ । भारतको दवावमा बिषादी परिक्षण गर्ने निर्णयबाट सरकार पछि हटेपछि चौतर्फी विरोध र आलोचना भइरहेको छ ।

प्रतिक्रिया