आज : गते

ताजा शिर्षकहरु

बाढीले पर्वतमा ८ परिवार विस्थापित, लमजुङ-मनाङ जोड्ने पुल पनि बगायो

प्रकाशित
1.5K
SHARES

पर्वत । शनिबारदेखि परेको पानीसँगै मोटरबाटोबाट आएको बाढी घरभित्र पस्दा पैयुँ गाउँपालिका–४ का ९ घरमा क्षति पुगेको छ । स्थानीय गेउदीखोलामा आएको बाढी धरमपानी–पैयुँकोट सडकको बाटो हुँदै बस्तीमा पसेको हो ।

राति करिब २ बजेको समयमा बाढी घरभित्र पसेपछि सुतिरहेका सर्वसाधारणले भागेर ज्यान जोगाएकाे स्थानीयले बताए । बाढीले मोतीलाल पौडेल, गोपबहादुर सार्की, हिमलाल तिवारी, लिलादेवी पौडेल, विनोद हमाल, सोमनाथ तिवारी, मोतिलाल रिजाल र गोविन्द पौडेलको परिवार बिस्थापित भएको वडाध्यक्ष महेन्द्र श्रेष्ठले बताए ।

उनका अनुसार गोपबहादुर सार्की र विनोद हमालको घर बाढीले बगाएको छ । घर बगेपछि उनीहरु छिमेकीको आश्रयमा छन् । बाढीले करिव ८० रोपनी खेतीमा लगाएको बालीसहित खेत पुरेको छ । कान्तिपुरमा खबर छ ।

घटनास्थलमा इलाका प्रहरी कार्यालय हुवासबाट खटिएको प्रहरी टोली र स्थानीयले उद्दार र क्षतिको विवरण संकलन गरेका छन् । पछिल्लो वर्ष सडक स्तरोन्नतिका लागि पर्वतका सबैजसो वडाहरुमा काम भैरहेको छ ।

सडक खन्दा निस्केको माटो र ढुंगा व्यवस्थापन नगरिएका कारण त्यसले बाढी र पहिरोको रुप लिँदै आएको छ । जथाभावी खनिएका सडकबाट निस्केको माटो–ढुंगाका कारण मनसुन सक्रिय भएपछि बाढी र पहिरोको जोखिम बढेको छ ।

यस्तै वर्षाका कारण शनिबार राति जिल्ला समन्वय समितिको भवन भाँसिएको छ । समन्वय समितिको भवनभित्र पानी जमेपछि समितिका दुई कोठा भाँसिएको समन्वय समितिले जनाएको छ । समितिको मुख्य भवनभित्रका आपतकालीन कार्यसञ्चालन कक्षका दुई कोठा भाँसिएको समन्वय समितिका प्रमुख मनोहर विश्वकर्मा पौडेलले बताए ।

जिल्ला प्रशासन कार्यालयले जिल्ला आपतकालीन कार्यसञ्चालनका लागि प्रयोग गरेका कोठा भासिएपछि स्टोर गरेका सामानहरुमा समेत क्षति पुगेको छ । भाँसिएका कोठाहरुमा कुस्मा नगरपालिकाले बिभिन्न शाखाहरु स्थानान्तरण गर्ने तयारी गरेको थियो ।

यता हिमाली जिल्ला मनाङ जोड्ने म्यार्दीखोलामाथिको बेलिब्रिज बाढीले बगाएको छ । गत वर्षमात्रै निर्माण गरिएको पुल बगाएपछि मनाङसँग सडक सम्पर्क विच्छेद भएको छ ।

लमजुङ र मनाङ सिमानाको म्यार्दीखोलामा आइतबार दिउँसो एक्कासी आएको बाढीले म्यार्दीको पुल बगाएको स्थानीयले बताएका छन्। पुल बगाएपछि यात्रु अलपत्र परेका छन्। मनाङबाट बेंसीसहर आउँदै गरेका चीन घलेका अनुसार म्यार्दी खोलाले पुल बगाउँदा सवारी साधनहरू रोकिएका छन्।

सडक निर्माण भएको एक दशकपछि हिमाली जिल्ला मनाङ जोड्न लमजुङ सीमा म्यार्दी खोलामा बेलिब्रिज निर्माण गरिएको थियो। यस्तै, तिमाङखोलाको छहरेमा राखिएको हृयुमपाइप सहितको अस्थायी काठे पुल बगाउँदा तिमाङ क्षेत्रबाट सवारीसाधन तल्लो क्षेत्र आउन र माथिल्लो क्षेत्र जान सकेका छैनन्।

मनाङका डीएसपी टीकाबहादुर कार्कीका अनुसार दिउँसो पौने २ बजेतिर पुल बगाएको हो। दुईवटा पुल बगाएपछि तत्कालका लागि आवतजावत बन्द भएको उनले बताए।

लमजुङका प्रमुख जिल्ला अधिकारी डिजन भट्टराईले मनाङबाट बग्ने मर्स्याङदी नदीको बहाव साबिकको भन्दा बढ्दै आएकोले मर्स्याङदीतीरमा बस्ने स्थानीयलाई उच्च सतर्कता अपनाउन आग्रह गरेका छन्। पानीको बहाव बढ्दै गर्दा मर्स्याङदी नदी किनारमा नजान पनि उनले आग्रह गरे।

प्रतिक्रिया