आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

‘चन्द नेतृत्वको नेकपालाई प्रतिबन्ध लगाएर सरकारले हिंसा निम्त्यायो’

प्रकाशित
1.6K
SHARES

काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय कार्यसमितिको विस्तारित बैठक शुक्रबारदेखि राजधानीमा सुरु भएको छ । बैठकमा अध्यक्ष कमल थापाले देशको वर्तमान अवस्था र राप्रपाको भावी कार्यदिशासम्बन्धी प्रतिवेदन प्रस्तुत् गरेका छन् ।

अध्यक्ष थापाले राप्रपाले संघर्षको प्रारम्भिक तयारी गरिरहेको जानकारी गराउँदै वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङको संयोजकत्वमा जनसंघर्ष परिचालन समिति बनाइएको जानकारी दिए ।

उनले नेत्रविक्रम चन्द नेतृत्वको नेकपालालाई सरकारले प्रतिबन्ध लगाएर हिंसात्मक शृंखला निम्त्याएको आरोप लगाए । पछिल्लो १३ वर्षको अवधिमा अवधिमा शान्ति, स्थायित्व र समृद्धिको साटो देश डरलाग्दो संकटको चक्रव्यूहमा फसेको उनको भनाइ थियो ।

अध्यक्ष थापाले प्रस्तुत् गरेको प्रतिवेदनमा सनातन हिन्दुराष्ट्रको पहिचान समाप्त पारिएको, राजसंस्थालाई पाखा लगाइएको, जातीय विभाजनको संस्थागत बिजारोपण गरेको, राष्ट्रहितविरुद्धको नागरिकता ऐन लागू गरी लाखौं विदेशीहरुलाई नेपाली नागरिकताको प्रमाणपत्र वितरण गरेकोलगायतका विषय उल्लेख गरिएको छ ।

यस्तै उता नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले सरकारले संसदमा दर्ता गराएको मिडिया काउन्सिल, सूचना प्रविधि र राष्ट्रिय सुरक्षा परिषद्सम्बन्धी विधेयक फिर्ता लिनुपर्ने बताएका छन् ।

शुक्रबार काठमाडौंमा आयोजित साक्षात्कार कार्यक्रममा पौडेलले सरकारले मिडिया काउन्सिल र सूचना प्रविधि विधेयकमार्फत् लामो संघर्षपछि प्राप्त प्रेस स्वतन्त्रतालाई नियन्त्रण गर्न खोजेको आरोप लगाए ।

दुईतिहाइको आडमा सरकारले एकाधिकार लाद्न खोजेको भन्दै उनले सरकारका काम–कारबाहीबाट संविधान, संघीयता र समावेशिता नै धराशायी बन्ने खतरा बढेको जिकिर गरे ।

कार्यक्रममा सत्तारुढ दल नेकपाका नेता कृष्णभक्त पोखरेलले आफूहरु सरकारमा आउँदा बनाएका योजनाहरु सबै सफल भइरहेको बताए ।गुठीहरुलाई व्यवस्थित गर्न बनेको विधेयक सरकारले फिर्ता लिएको भन्दै उनले त्यसलाई परिस्कृत बनाइने बताए । प्रतिपक्षले भनेजस्तो सरकार असफल नभएको नेता पोखरेलको दाबी थियो ।

यस्तै नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक यही असार २२ गते आइतबार सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा हुने भएको छ ।बैठकमा केन्द्रीय पदाधिकारी, केन्द्रीय सदस्य तथा आमन्त्रित सदस्यहरुलाई उपस्थित हुन सभापति शेरबहादुर देउवाले अनुरोध गरेका छन् ।

बैठकमा नियमावली संशोधन मस्यौदा समितिद्वारा प्रस्तुत् नेपाली कांग्रेसको नियमावली, २०७६ मा छलफल, राष्ट्रिय जागरण अभियान पहिलो चरणको कार्यक्रमको समीक्षा, भ्रातृ एवं शुभेच्छुक संस्थाको विधान तथा देशको समसामयिक राजनीतिक विषयमा विचार–विमर्श हुने पार्टीका मुख्यसचिव कृष्ण पौडेलले बताए ।

प्रतिक्रिया