आज : गते

ताजा शिर्षकहरु

मर्यादा विपरित उपहार, उदयपुरका पत्रकारले स्थानीय सरकारसंग लिए २७ वटा ल्यापटप !

प्रकाशित
1.6K
SHARES

काठमाडौं । उदयपुरका स्थानीय पत्रकारले स्थानीय तहबाट ल्यापटप लिएपछि टीकाटिप्पणी सुरु भएको छ। गाइघाटलाई केन्द्र बनाएर पत्रकारिता गर्दै आएका २७ पत्रकारलाई त्रियुगा नगरपालिकाले काम गर्न सहज होस् भन्दै ल्यापटप दिएपछि आलोचना सुरु भएको हो।

आर्थिक वर्ष २०७५-२०७६ मा पत्रकारको क्षमता विकासका लागि भन्दै त्रियुगा नगरपालिकाले १२ लाख रुपैयै बजेट विनियोजन गरेको थियो। उक्त बजेटमा नगरपालिकाले पत्रकारले ल्यापटप आवश्यक परेको बताएपछि दिएको त्रियुगा नगरपालिकाका प्रमुख बलदेव चौधरीले बताए।

‘हामीले पत्रकारका लागि नगरसभाबाटै क्षमता विकास र काम गर्न सहज होस् भनेर १२ लाख बजेट विनियोजन गरेका थियौं’, उनले भने, ‘पत्रकार महासंघले हामीलाई ल्यापटप आवश्यक पर्छ भनेपछि दिएका हौं।’

उनले नगरपालिकाको पक्षमा समाचार लेख्न ल्यापटप दिएको नभई धरासायी बनेका स्थानीय सञ्चार माध्यमको विकासका लागि प्रदान गरेको बताए। ‘ल्यापटप पाएपछि हाम्रै पक्षमा लेख्नुपर्छ भन्ने हैन’, उनले भने, ‘उहाँहरुले हाम्रो नराम्रो गतिविधिमाथि खवरदारी गर्न कुनै रोकावट हुँदैन।’

उक्त २७ थान ल्यापटप वैशाख १६ गते एक कार्यक्रमको आयोजना गर्दै नगरपालिकाले पत्रकारलाई हस्तान्तरण गरेको थियो। पत्रकारले पाएको लेनोभो ब्राण्डका ल्यापटपको मूल्य प्रतिगोटा ४५ हजार परेको नगरपालिकाले जनाएको छ।

उदयपुरका पत्रकारले भने आफूहरुले ल्यापटप उपहार स्वरूप पाएको बताएका छन्। उनीहरुले ल्यापटप पाए पनि नगरपालिकाको गलत क्रियाकलाप हेरेरे नबस्ने उनीहरुको भनाइ छ।

पत्रकारले उपहार लिनु ठीक हो?
कसैले खुसी भएर पत्रकारलाई उपहार दिए लिनु हुन्छ कि हुँदैन भन्ने विषयमा बहस छ। कतिपयले कसैले खुसी भएर दिएको उपहार लिन मिल्छ भन्ने तर्क गर्छन्। कतिपयले प्रभावित पार्न दिएको उपहार लिनु नहुने तर्क गर्दै आएका छन्। पत्रकार महासंघका पूर्वअध्यक्ष डा. सुरेश आचार्य पत्रकारले उपहार स्वरूप दिएको पुरस्कार, दान लिनै नहुने बताउँछन्।

‘कसैले ल्यापटप दिएर तिमी स्वतन्त्र पत्रकारिता गर भन्छ ?’, उनी भन्छन्, ‘यसरी पत्रकारले ल्यापटप लिने हो भने समाचार लेख्ने बेला ऊ कहीँ न कहीँ प्रभावित हुन्छ। एकातिर हामी स्वतन्त्र पत्रकारिताको कुरा गर्ने अर्कोतर्फ यसरी लाभका सामग्री लिने ? यो विकृति हो।’

स्थानीय तहबाट लाभका सामग्री लिँदै जाँदा सरकारी सम्पत्ति दुरुपयोग भएको विषयमा पत्रकारको प्रश्न गर्न नसक्ने पत्रकार महासंघका पूर्वअध्यक्ष शिव गाउँलेको भनाइ छ।

‘यो पत्रकारको नैतिकतामाथि नै प्रश्न उठ्ने विषय हो। यसले हाम्रो आलोचनात्मक चेत र भूमिका नै गुम्दै जान्छ’, उनले भने, ‘अब सरकारी सम्पत्तिको दुरुपयोग हुँदा कसरी प्रश्न गर्ने?’ अन्नपुर्ण पोस्टबाट

प्रतिक्रिया