आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

काठमाडौं आउँदै गरेको यात्रुबाहक बस त्रिशुलीमा खस्यो, ३ जनाको मृत्यु

प्रकाशित
1.7K
SHARES

काठमाडौं । धादिङको गजुरी गाउँपालिकामा भएको बस दुर्घटनामा ३ जनाको मृत्यु भएको छ । झापाबाट काठमाडौं आउँदै गरेको ना ७ ख ४३४७ नम्बरको बस गजुरी गाउँपालिका ६ को बञ्चरेटारमा दुर्घटना भएको हो ।

दुर्घटनास्थलबाट ३ जनाको शव फेला परेको र ३ जनालाई उद्धार गरी काठमाडौं ल्याउँदै गरिएको नेपाल प्रहरीका प्रवक्ता विश्वराज पोखरेलले जानकारी दिए ।

पोखरेलका अनुसार अहिले पनि उद्धार कार्य जारी छ । बस सडकबाट तल नदीमा खसेको छ । बसमा कति यात्रु थिए भन्ने विवरण नआउँदा दुर्घटनामा कति घाइते भए भन्ने खुलेको छैन । दुर्घटनामा भएको क्षतिको पूर्ण विवरण आउन बाँकी छ ।

यसअघि शनिबार पूर्वपश्चिम राजमार्गको हेटौंडा-३ बसामाडीमा दुई वटा बस ठोक्किँदा एक जना चालकको मृत्यु भएको छ । दुर्घटनामा ३० जना घाइते भएका छन् ।

काठमाडौंबाट हेटौंडा आउँदै गरेकोे ना ७ ख ९३६ नम्बरको बस र इलामको पशुपतिनगरबाट काठमाडौं जाँदै गरेको ना ७ ख २०५७ नम्बरको बस शनिबार बिहान ठोक्किएका हुन् ।

दुर्घटनामा उदयपुर बरही ६ का ४० वर्षीय मानबहादुर मगरको मृत्यु भएको प्रहरीले जनाएको छ । उनी ना ७ ख २०५७ नम्बरको बस चालक भएको प्रहरी उपरिक्षक यज्ञबहादुर भट्टराइले जानकारी दिए । मगरको उपचारको क्रममा चुरेहिल अस्पतालमा मृत्यु भएको हो ।

घाइते भएकाहरुमध्ये गम्भीर घाइते ३ जनालाई थप उपचारका लागि चितवनको पुरानो मेडिकल कलेज रिफर गरिएको छ । १२ जना घाइतेको चुरेहिल अस्पताल हेटौंडामा उपचार भइरहेको छ । अन्य घाइते भने सामान्य उपचारपछि घर फर्किएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

त्यस्तै शुक्रबार ललितपुरको गोदावरी नगरपालिका–६, चारघरेमा मिनी ट्रक दुर्घटना हुँदा ३३ जना घाइते भएका छन् । शुक्रबार अपरान्ह मल्ल डाँडातिर जाने क्रममा ट्रक दुर्घटना भएको हो ।

महानगरीय प्रहरी परिसर, ललितपुरका डीएसपी नारायण चिमरियाले दिएको जानकारी अनुसार को १ ख ४९४२ नम्बरको ट्रक अनियन्त्रित भइ पल्टिएको थियो ।उनका अनुसार घाइतेहरुको ललितपुरको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

प्रतिक्रिया