आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

प्रधानमन्त्री ओलीले रञ्जित तामाङलाई दिए यस्तो सुझाव

प्रकाशित
1.4K
SHARES

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले जनवर्गीय संगठन एकीकरणमा असन्तुष्टि जनाएकाहरूलाई चित्त सानो नपार्न सुझाव दिएका छन् ।

‘यतिबेला चित्त सानो पार्ने होइन, मन दुखाउने होइन,’ शुक्रबार आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले भने, ‘यतिबेला फराकिलो मनका साथ एकता र एकीकरणको भावनालाई आत्मसाथ गर्ने हो । २ वटा पार्टीलाई एक बनाएका छौं र नछुट्टिने गरी अन्तर्घुलन गर्दैछौं । अरू साथीहरू क्रमशः समेटिँदै जानुहुनेछ ।’

विद्यार्थी संयोजकको जिम्मेवारी नदिएकामा तत्कालीन माओवादी केन्द्रनिकट अखिल क्रान्तिकारीका अध्यक्ष रञ्जित तामाङ असन्तुष्टि जनाएका थिए ।

अखिल महासचिव ऐन महरलाई संयोजक बनाइएपछि तामाङ नेतृत्वसँग असन्तुष्ट बनेका हुन् । नेकपा सचिवालयले महरलाई संयोजक र तामाङले चाहेमा उनलाई सह–संयोजकको जिम्मेवारी दिने निर्णय गरेको थियो ।

यद्यपि तामाङले आफूमाथि अन्याय भएकाले सह–संयोजककोजिम्मेवारी स्वीकार गर्ने वा नगर्ने भन्ने निर्णय सोचेर लिने बताएका छन् । तर सामाजिक सञ्जाल फेसबुकमा अभाने उनको असन्तुष्टि छताछुल्ल भएको छ । उनले एकता गर्दा विधि, प्रक्रिया र पद्दति मिचिएको जिकिर गरेका छन् ।

तामाङले वरिष्ठता, योग्यता र क्षमतालाई उपेक्षा गरेर पार्टी नेतृत्वले निर्णय लिएको आरोप लगाए । ‘विधि, प्रक्रिया र पद्दतिविपरीत निर्णय गरियो’, तामाङले भनेका थिए, ‘एकतामा ममाथि अन्याय भएको छ ।’ यस्तै प्रधानमन्त्री ओलीले ‘मेरो सरकार’ प्रकरणमा बुद्धिजीवीहरूले ‘स्याल हुइँया’ मचाएको आरोप लगाएका छन् ।

ओलीले नीति तथा कार्यक्रममा केही कमजोरी नभेटिएपछि ‘मेरो सरकार’ भन्यो भन्दै हिँडेको आरोप लगाएका हुन् ।‘मेरो सरकार होइन भने कसको सरकार हो त ?’ ओलीले प्रश्न गरे, ‘राष्ट्रपतिले अर्कै सरकारको प्रतिवेदन पढ्ने हो र ? संसारभरि के गरिन्छ ? राष्ट्रपतिले आफ्नो सरकारको प्रतिवेदन पढ्छ । पुवाबाट आकाश जत्रो देखिन्छ त्यत्रो छ भन्नु हुँदैन । अरू संसारभरको अभ्यास हेरे हुन्छ ।’

पार्टी एकताको काम लगभग अन्तिम चरणमा पुग्नै लाग्दा अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल प्रचण्डले अबको सैद्धान्तिक, वैचारिक कार्यदिशाबारे एउटै सार्वजनिक मञ्चबाट बहस सुरु गरेका छन् ।

मदन–आश्रित स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रममा अध्यक्ष ओली र प्रचण्डले समयानुकूल सैद्धान्तिक वैचारिक कार्यदिशाको प्रयोग र विकसित गर्नुपर्ने आवश्यकता औँल्याए । प्रधानमन्त्री ओलीले भने मदन भण्डारीले अघि सारेको विचारधारालाई आफूहरुले छाड्न नहुने बताए

उक्त कार्यक्रममा शुक्रबार २ नेताबीच घम्साघम्सी नै देखियो । ‘मदन भण्डारीले अगाडि सारेको विचारधारालाई हाम्रो पार्टीले छाड्दैन । त्यस विचारधाराबाटै पार्टी अघि बढ्ने हो, किनभने त्यसपछि कता जाने हो ?’ ओलीले प्रश्न गर्दै भने, ‘अहिलेको धारबाटै हामी अघि बढ्छौँ, हाम्रो विचारधारात्मक एकता र स्पष्टताले सबै कुरालाई खँदिलो बनाउँदै लानेछ ।’

प्रचण्डले भने साबिक एमालेको जबज र माओवादीले अघि सारेको एक्काइसौँ शताब्दीको जनवाद तथा जनयुद्धको अनुभवबाट शिक्षा लिँदै जनताको जनवादको सैद्धान्तिक, वैचारिक कार्यदिशाका जगमा समाजवादको मोडल विकास गर्ने गरी महाधिवेशनमा बहस गर्नुपर्ने आवश्यकता औँल्याए ।

‘हामीले अन्धो भएर एकता गरेका होइनौँ, जनताको जनवादको सैद्धान्तिक कार्यदिशालाई तत्कालका लागि समाजवादको रणनीतिक प्रयोग गरेका हौँ,’ प्रचण्डले भने, ‘यो धरातलमा टेकेर महाधिवेशनसम्म पुग्दा सही विचार स्थापित गर्ने संकल्प गर्ने गरी हस्ताक्षर गरेका छौँ, समाजवादको नयाँ मोडल दिने आँट गरेका छौँ ।’

प्रचण्डले स्वर्गीय मदन भण्डारीको सोच नेपाल निर्माणका लागि अग्रणी भएको पनि बताएका छन् ।प्रचण्डले नेपालको कम्युनिस्ट आन्दोलनमा मदन भण्डारीको योगदान अतुलनीय रहेको बताए । भण्डारीले ल्याएको बहुदलीय समाजवाद कम्युनिस्ट आन्दोलनका लागि एक माग दर्शन भएको बताए ।

प्रचण्डले मदन भण्डारीले देखेको सपनालाई पछ्याउने क्रममा नै अहिले पार्टी एकता भएको बताउँदै नेपालका कम्युनिस्ट नेताले देखेको सपना पूरा गर्न नेकपा लागि पर्ने बताए । अब नेकपाको लक्ष्य समाजवाद तिरको एउटा युगीन यात्रा रहेको भन्दै प्रचण्डले नेपालमा कम्युनिस्ट आन्दोलनमा होमिएका नेताको सपना पूरा गरेरै छाड्ने घोषणा गरे ।

जनताको जनवादलाई तत्कालका लागि समाजवादलाई रणनीतिक रुपमा कार्यान्वयन गर्ने भन्ने योजनासहित पार्टी एकता भएको भन्दै प्रचण्डले आगामी जिल्ला अधिवेशन र आउँदो महाधिवेश हुँदा सम्म विश्वका कम्युनिस्ट आन्दोलनको समीक्षा गर्दै सकारात्मक र रचनात्मक बहस गर्ने बताए ।

पुरानै मान्यतालाई छोड्न नसक्ने केही पुराना कम्युनिस्ट नेताहरुले नेपाली क्रान्ति र समाजका लागि सिन्को समेत योगदान गर्न नसकेको उनको दाबी थियो।अध्यक्ष दाहालले पार्टी एकीकरणको बाँकी काम छिट्टै सम्पन्न गरी पार्टीलाई अझ गतिशील र जीवन्त बनाउने गरी नयाँ राष्ट्रिय अभियान सञ्चालन गर्ने घोषणा पनि गरे।

पार्टीको जिल्ला अधिवेशन हुँदै केन्द्रीय अधिवेशन गरेर पार्टीलाई वैचारिक रुपमा अझ स्पष्ट, सांगठानिक रुपमा अझ सुदृढ र जनतासँगको सम्बन्धलाई अझै बलियो बनाएर लैजाने उनले प्रतिबद्धता जनाए।

प्रतिक्रिया