आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

धर्मादित्यको स्मरण गर्दै चौथो मातृभाषा पत्रकारिता दिवस मनाइयो

प्रकाशित
1.2K
SHARES

काठमाडौं । प्रथम मातृभाषा पत्रकार धर्मादित्य धर्माचार्यबारे अध्यापन गर्न पाठ्यक्रममा समावेश गरिने ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले बताएका छन् ।

चौथो मातृभाषा पत्रकारिता दिवसका अवसरमा आयोजित कार्यक्रममा मेयर महर्जनले स्थानीय मातृभाषा प्रयोगका लागि स्थापित नेपालभाषा डेक्स प्रभावकारी बनाइने बताए ।

धर्मादित्य धर्माचार्यको जन्मजयन्तीको अवसर तथा ९४ वर्षअघि राणाकालमा उनले सम्पादन र प्रकाशन गरेको ‘बुद्धधर्म व नेपालभाषा’ प्रत्रिकाबाट नेपालमा मातृभाषा पत्रकारिता सुरु भएको मानिन्छ । यही योगदानको स्मरण गर्दै मातृभाषा पत्रकारिता दिवस मनाउन थालिएको हो ।

नेवाः पत्रकार राष्ट्रिय दबू र मां भाय् पुचःले आयोजना गरेको कार्यक्रममा नेपाल पत्रकार महासंघका उपाध्यक्ष दिलिप थापामगरले धर्माचार्यको योगदानको चर्चा गर्दै मिडिया काउन्सिल विधयेकविरुद्ध सबै एकजुट हुनुपर्ने बताए ।

कार्यक्रममा आदिवासी जनजाति पत्रकार महासंघका अध्यक्ष डण्ड गुरुङले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताविरोधी विधयेक तत्कालै फिर्ता लिनुपर्ने भन्दै राज्यले धर्मादित्य धर्माचार्यको योगदानको कदर गर्नुपर्ने भनाइ राखे ।

आयोजक संस्थामध्ये एक मां भाय् पुचःका अध्यक्ष हेरारत्न शाक्यले आफ्नो संस्थाले धर्मादित्य धर्माचार्यको योगदानको प्रचारकै लागि विभिन्न कार्यक्रम तथा पुरस्कार स्थापना गरेको बताए ।

पत्रकार दबूका केन्द्रीय उपाध्यक्ष सुरजवीर बज्राचार्यले स्वागत गर्दै जनप्रतिनिधि आएपछि स्थानीय तहले मातृभाषा प्रयोगमा प्राथमिकताको आशा पूरा नभएको उल्लेख गर्दै देश र जनताप्रति योगदान गरेका ललितपुर नगरबासीको खोजी, अध्ययन र सम्मान गर्न कन्जुस्याइँ नगरियोस् भनी ध्यानाकर्षण गराए ।

धर्मादित्य धर्माचार्यको परिवारका सदस्यहरुको पनि उपस्थिति रहेको सो कार्यक्रम धर्मादित्य धर्माचार्यको सालिक तथा फोटोमा माल्यार्पणबाट सुरु भएको थियो ।

यसैबीच मिडिया काउन्सिलसम्बन्धी विधेयकको विरोधमा देशभरका पत्रकारले शुक्रबार प्रदर्शन गरेका छन् । नेपाल पत्रकार महासंघको आयोजनामा काठमाडौंको नयाँ बानेश्वरमा र अन्य जिल्लामा जिल्ला प्रशासन कार्यालय अगाडि पत्रकारले धर्ना दिएका हुन् । पत्रकारले सञ्चार साधनसहित प्रदर्शन गरेका छन् ।

काठमाडौंको बानेश्वरमा आयोजित प्रदर्शनमा नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यसहित पदाधिकारी, पत्रकार, अधिकारकर्मीहरु सहभागी भएका थिए । पत्रकारहरुले सञ्चार साधन भुईंमा राखेर प्रदर्शन गरेका थिए भने सरकारले अभिव्यक्ति स्वतन्त्रतामा बन्देज लगाउन खोजेको सांकेतिक विरोधमा केहीले कालोपट्टीले मुख बाँधेका थिए ।

प्रेस तथा अभियक्ति स्वतन्त्रता विरोधी विधयेक संसदमा दर्ता गरिएको भन्दै महासंघले तत्कालै उक्त विधयेक फिर्ता लिनुपर्ने बताएको छ । आफूले उठाएका प्रेस तथा अभियक्ति स्वतन्त्रताविरोधी कानुन संशोधन वा फिर्ता गर्नुपर्ने माग सम्बोधन नभएकाले थप आन्दोलित हुनुपर्ने अवस्था आएको महासंघले बताएको छ ।

महासंघले पहिलो चरणमा घोषणा गरेको साताव्यापी आन्दोलनका कार्यक्रम शुक्रबार सकिदैछ । विधेयक फिर्ता लिनुपर्ने मागलाई सरकारले बेवास्ता गरेको र अझ कडा शब्दमा धम्कीपूर्ण अभिव्यक्ति सरकारबाटै आउन थालेको महासंघका उपाध्यक्ष विपुल पोखरेलले बताए ।

प्रतिक्रिया