आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

अर्थमन्त्रीलाई कांग्रेस नेता कार्कीको सुझाव – बजेट बनाउँदा राजनीतिक पूर्वाग्रहबाट माथि उठ्नुस्

प्रकाशित
1.4K
SHARES

काठमाडौं । नेपाली कांग्रेसका सांसद ज्ञानेन्द्रबहादुर कार्कीले राजनीतिक पूर्वाग्रहदेखि माथि उठेर बजेट बनाउन अर्थमन्त्री डा. युवराज खतिवडालाई सुझाव दिएका छन् ।

बजेटका सिद्धान्त र प्राथमिकतामाथि आइतबार संसदमा धारणा राख्दै उनले मुलुकको अर्थतन्त्रको चाबी बोकेको अर्थमन्त्री राजनीतिक पूर्वाग्रहबाट माथि उठ्न नसकेमा अर्थतन्त्रले सही बाटो लिन नसक्ने टिप्पणी गरे । सरकारले अन्धाधुन्ध कनिका छरेझैं बजेट छरेर भोटको राजनीति गर्न खोजेको भन्दै नेता कार्कीले यसप्रति सचेत हुन आग्रह गरे ।

बजेट सिद्धान्त र प्राथमिकतामा अर्थतन्त्रको चुनौती भन्दा पनि गत वर्षका सामान्य उपलब्धीको बढाई चढाईमात्र गरिएको उनको दावी छ । पूर्वमन्त्री कार्कीले बजेट खर्च हुन नसक्ने कार्यक्रममा बजेट विनियोजन गर्ने गत वर्षको चलन यसवर्ष नदोहोर्‍याउन पनि सुझाव दिए ।

‘चालु आर्थिक वर्षको अन्त्यसम्म ब्यापार घाटा १४ खर्ब ३० अर्ब रुपैयाँ पुग्ने अनुमान गरिएको छ । बजेट हाराहारीको ब्यापार घाटा हुनु समग्र अर्थतन्त्रको लागि ठूलो चुनौती हो’ उनले भने ‘अहिलेसम्म रेमिट्यान्सले यो खाडललाई पूर्ति गरेको छ । तर यो दिगो र स्थायी समाधान होइन । यसमा समस्या आयो भने हाम्रो अर्थतन्त्र कता जाला ?’

यस्तै पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले आगामी आर्थिक वर्षको बजेटले पनि विकासमा फड्को मार्ने संकेत नदेखाएको बताएका छन् । अर्थमन्त्रीले प्रस्तुत गरेको बजेटका सिद्धान्त र प्राथिमकितामाथि आइतबार संसदमा धारणा राख्दै भट्टराईले आर्थिक वर्ष २०७६/७७ को बजेट पनि अघिल्लो वर्षको निरन्तरता नै हुने देखिएको बताएका हुन् ।

‘यतिले पुग्दैन, यसमा सुधार गरियोस्, पोहोर पनि यही आएको थियो, आउँदो साल पनि यही आउने हो भने हाम्रो भविष्य त्यति सुखद हुँदैन’ भट्टराईले भने । बजेटको सिद्धान्त र प्राथमिकता बनाउँदा अर्थमन्त्री डा. युवराज खतिवडाले आफैंमाथि न्याय गर्न नसकेको भट्टराईले टिप्पणी गरे ।

‘हाम्रो विद्वान अर्थमन्त्रीले स्वयंले आफैमाथि न्याय गर्नुभएन कि जस्तो लाग्छ । उहाँ विषय विज्ञ हुनुहुन्छ धेरै अपेक्षा गरिएको पनि हो’ उनले भने ‘यो निर्माण गर्दा समयको अभावले हो कि इच्छाशक्तिले हो, यो चाहिँ अर्धनिद्रामा भएको मान्छेले हाइ काढ्दै लेखेको निबन्ध जस्तो भयो ।’ बजेटको सिद्धान्त र प्राथमिकताले कुनै दिशाबोध गर्न नसकेको भट्टराईले बताए ।

प्रतिक्रिया