आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

मेलम्चीमाथि हस्तक्षेप गर्ने प्रचण्डको घोषणा

प्रकाशित
1.5K
SHARES

काठमाडौं । गत दशैँमा नै उपत्यकावासीलाई मेलम्चीको पानी उपहार दिने घोषणा गरेकी खानेपानी मन्त्री बिना मगरले अहिलेसम्म कुनै सम्झनलायक काम गरेको नेपाली जनताले आभास गर्न पाएका छैनन् । मेलम्चीको पानी काठमाडौं ल्याउन नसके पनि आलोचना समेत भैरहेको छ ।

ठिक यहि बेला नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेतृत्वबाटै हस्तक्षेप गरेर भए पनि मेलम्चीको पानी काठमाडौं ल्याउने बताएका छन् । काठमाडौं उपत्यका खानेपानी लिमिटेड कर्मचारी संगठनको कार्यक्रममा शुक्रबार प्रचण्डले आफू र प्रधानमन्त्रीले हस्तक्षेप गरेर भए पनि मेलम्ची ल्याउने बताएका हुन् ।

मेलम्ची ल्याउन नदिने खेलमा नेपालीहरु नै लागेका भन्दै उनले अब कडा कदम चालेर भए पनि मेलम्ची ल्याउने बताएका हुन् । ‘म आफै पनि र प्रधानमन्त्री पनि नेतृत्वले हस्तक्षेप गरेर पनि मेलम्ची ल्याउनुपर्छ भन्नेमा दृढ छौं,’ उनले भने ।

आफू प्रधानमन्त्री भएका बेला मेलम्ची आयोजनाको स्थलगत अनुगमनका जाँदा केही मानिसहरुले मेलम्ची आउन अझै एक दुई वर्ष लाग्छ भनेको स्मरण गर्दै उनले विभिन्न गतिविधि गर्ने मानिसहरुको समूहले अझै आउन दिन्नौं भनेको सुनेको बताए ।

‘विभिन्न गतिविधि गर्ने केही मानिसको समूहले, अझै आउन दिन्नौं भनेका छन्,’ प्रचण्डले भने , ‘प्रधानमन्त्री र मन्त्रीको तत्परतामा शंका छैन । तर विगतका अनुभव हेर्दा बलियो हात नचलाई, सरकारले स्ट्रोङ कदम नचलाई मेलम्चीको पानी आउन गाह्रो छ ।’

प्रचण्डले मेलम्ची आउन नदिने खेलमा नेपालीहरु नै रहेको आरोप लगाए । ‘मलाई थाहा छैन, कसले रोक्छ मेलम्चीको पानी, सुरुङ खन्ने काम पनि मोर अर लेस सकिएको छ । सुन्दरीजलको पूर्वाधार पनि अन्तिम चरणमा छ’ उनले भने ‘तर अझै एक दुई वर्ष लाग्छ किन भन्छन्, मेलम्ची हाम्रै मान्छेहरुले (नेपालीहरुले) रोकेका हुन् ।’

प्रचण्डले मेलम्चीलाई लामो समयदेखि लागेको रोग भनी ब्याख्या गरे । ‘यो छिटै सन्चो नहुने खालको रोग हो । उपचार चाहिँ छ, तर अलि लामो समय लाग्ने खालको रोग छ’ प्रचण्डले भने ‘जरुरी पर्‍यो भने अपरेसन गर्न पनि ढिला नगर्ने तर मेलम्ची ल्याउनुपर्छ ।’

यस्तै अर्को कार्यक्रममा बोल्दै प्रचण्डले मुलुकको राष्ट्रिय एकतालाई सुदृढ बनाउन सबैले सबैको सम्मान गरेर अघि बढनुको विकल्प नरहेको स्पष्ट पारेका छन् । अध्यक्ष प्रचण्डले सबैले सबैलाई सम्मान गर्ने परिपाटीबाट मात्रै मुलुकको राष्ट्रिय एकतालाई मजबुत बनाउन सकिने तर्क पनि गरे ।

‘एउटा जाति, एउटा भाषाले अरु जाति र भाषालाई अपमान गर्ने, विभेद तथा अन्याय गर्ने थितिको अन्त्य गरेर सबैले सबैको अस्तित्व स्वीकार गर्दा मात्रै सिंगो राष्ट्रको राष्ट्रिय एकता मजबुत हुने’ उनको भनाई थियो ।

शुक्रबार काठमाडौंको वसन्तपुरमा आयोजित खड्गी समाजको एक कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले सबैले आ–आफनो भाषाको, संस्कृति र परम्पराको जर्गेना गर्ने र त्यसका राम्रा पक्षहरुलाई अघि बढाउँदा सबै समुदायको उत्थान हुने पनि स्पष्ट पारे ।

कार्यक्रममा अध्यक्ष दाहालले सबै भाषा र संस्कृतिको सम्मानका लागि गरिएका संघर्षहरुमा खड्गी समाजले पु¥याएको योगदानको पनि चर्चा गरेका थिए ।

यता कार्यवाहक प्रधानमन्त्रीसमेत रहेका उपप्रधान तथा रक्षामन्त्री इश्वर पोखरेलले सार्वजनिक रुपमै अर्थमन्त्री डा.युवराज खतिवडाले लिएको नीतिको आलोचना गरेका छन् ।

होटल संघ नेपालको ४६औं वार्षिक साधारणसभा उद्घाटन गर्दै उनले घुमाउरो रुपमा खतिवडाले अपनाएको नीतिले लगानी भित्र्याउनै कठिन भएको जिकिर गरेका छन् ।

‘अहिले विदेशबाट आउने व्यक्ति धमाधम विमानस्थलमा पक्राउ पर्न थालेका छन्। एक जना व्यक्ति सुन धेरै लगाउने रहेछन् । उनी विदेशबाट आउँदा सुन लगाएकै आधारमा पक्राउ परे। हामीले पचास ग्रामभन्दा बढी सुन ल्याउन नपाउने प्रावधान बनाएका छौं,’ पोखरेलले भने, ‘अब त्यसले उनको सामाजिक प्रतिष्ठालाई समेत आघात गर्यो ।’

पोखरेलले नेपाली मात्रै नभएर विदेशी लगानीकर्तासमेत सुन तस्करको रुपमा पक्राउ परेको उदाहरण दिए ।

‘दक्षिण भारतका एक जना व्यवसायी लगानीको अध्ययन गर्न नेपाल आएका रहेछन् । दक्षिण भारतमा सुन धेरै लगाउने चलन हुन्छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आउनेवित्तिकै सुन ल्याएको भन्दै हिरासतमा राखियो । नेपालमा सद्भभाव राखेर लगानी गर्न आएका उनी तीन दिन हिरासतमा बसेर त्यहीबाट आफ्नो देश फर्किए’ पोखरेलले भने, ‘यस्तो अवस्थामा लगानी आउने वातावरण बन्दैन ।’

उनले सामाजिक र सांस्कृतिक अवस्था हेरेर नीति बनाउनुपर्ने बताउँदै अब कुनैपनि नीति बन्दा लगानीको वातावरण नबिग्रने गरी बनाउने दाबी गरे ।

प्रतिक्रिया