आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

ओलीले ‘निम्छरा’ भनेपछि कांग्रेस नेता रामचन्द्र पौडेलले दिए यस्तो प्रतिक्रिया

प्रकाशित
1.7K
SHARES

सिन्धुली । प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी ओलीका अभिव्यक्ति अहंकार र उन्मादले ग्रस्त भएको बताएका छन् ।

सिन्धुली सदरमुकाममा नेपाल प्रेस युनियनले आयोजना गरेको पत्रकार सम्मेलनमा नेता पौडेलले प्रधानमन्त्रीको अहंकारले संसदको मर्यादामाथि पटक–पटक प्रहार गरेको बताए । प्रधानमन्त्री ओलीले मंगलबार संसदमा सांसदहरुले सोधेको प्रश्न आक्रोश, कुन्ठा र निम्छरा भएको बताएपछि कांग्रेसले विरोध जनाउँदै आएको छ ।

नेता पौडेलले प्रधानमन्त्री ओलीको अलोकतान्त्रिक मानसिकताले आर्थिक र सामाजिक अराजकता बढेको बताए । नेता पौडेलले काङ्ग्रेसभित्र आन्तरिक मतभेद कायमै रहेको बताउदै उनले मतभेदका कारण पार्टी भित्र आन्तरिक संघर्ष चलिरहेको स्पष्ट पारे ।

उनले १४ औं महाधिवेशनमा समयको माग भए आफू सभापतिको उमेदवार हुने बताए । त्यस्तै नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले जनतालाई अधिकार दिन काग्रेसले संघर्ष गर्दै आएको दावी गरे ।

जागरण सभालाई बुधबार काठमाण्डुमा सम्बोधन गर्दै नेता सिंहले भने, ‘कम्युनिस्टहरु अरुले गरेका काम पनि आफूले गरेको भन्छन् । कांग्रेसले आफूले गरेको काम भन्दै नभनी थाहा पाइहाल्छन् नि भनेर बस्छन् । रुन पनि पाउँदैन भनेर शेरबहादुर देउवाले भन्दा मान्छेहरु नहुने कुरा भन्थे । अब त्यस्तै हुन लागेन ? पत्रकार पक्रेन ?’

उनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई लक्षित गर्दै संसदमा विपक्षीलाई होच्याउनु भनेको जनतालाई होच्याउनु रहेको तर्क गरे । ‘प्रधानमन्त्रीले विपक्षीलाई होच्यायो । विपक्षीलाई होच्याउनु जनतामाथिको अपमान पनि हो । प्रधानमन्त्रीले जनतालाई अपमान गर्न पाउछन् ? यो त जनतालाई होच्याएको हो नि,’ उनले भने, ‘अब यसको सशक्त विरोधका लागि कांग्रेस सशक्त हुनुपर्छ । यसैका लागि जागरण अभियान हो ।’

विधिसम्मत चल्ने पार्टी भएकाले कम्युनिस्टलाई चेत गर्न तेरो मेरो भन्न छाड्नुपर्ने उनको धारणा थियो । उनले नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीलाई लक्षित गर्दै आफ्नै पार्टीको नाम समेत स्थिर राख्न नसक्नेले देश स्थिर बनाउनै नसक्ने दाबी गरेका थिए ।

प्रतिक्रिया