आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

भृकुटीमण्डपमा प्रधानमन्त्री र राजेन्द्र महतोबीच जुहारी

प्रकाशित
1.7K
SHARES

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले इतिहासमा कसैले कल्पना नगरेको काम अहिलेको सरकारले गरेको बताएका छन् ।

मजदुर दिवसको अवसरमा संयुक्त ट्रेड युनियन संघले भृकुटीमण्डपमा आयोजित कार्यक्रममा ओलीले भने, ‘विगतका सरकारले कल्पना नगरेको काम भएको छ । यो एक वर्षमा मानिस विदेश गएका हुन् र ? मैले गरिब बनाएको हो र ?’ नयाँ प्रणाली भएकाले केही समस्या भएको उनको भनाइ थियो ।

सरकारले राम्रो काम गर्न थालेपछि राजपाले समर्थन फिर्ता लिएको आरोप उनले लगाए । सरकारलाई समर्थन फिर्ता गर्ने होइन, समर्थन गर्न उनले आग्रह गरे । ‘राजेन्द्र महतोलाई सोध्न चाहन्छु– सीमाना नाका बन्द गरेर मुलुक बन्छ ? इन्धन बन्द गरेर, नागरिकलाई दुःख दिएर मुलुक बन्छ ?’ जायजलाई जायज भन्न नसक्ने, आलोचना गर्ने रोग केहीलाई लागेको उनले बताए ।

कार्यक्रममा राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले श्रमिक नै देशका भाग्य निर्माता भएको तर उनीहरु नै देश छाडेर हिँड्नुपरेको बताए ।

‘सरकारले सुखी नेपाली समृद्ध नेपालको नारा लगाउँछ, देशका उद्योगधन्दा कलकारखाना बन्द भइसके । बहुराष्ट्रिय कम्पनी मुलुक छाडेर भाग्दैछन् । उद्योगधन्दा खोल्नूस्, मुलुक छाडेर बाहिरिएका श्रमिक फर्काउनूस्,’ महतोले भने, ‘नाराले मुलुक बन्दैन प्रधानमन्त्रीजी ?’

यस्तै नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले विभिन्‍न बहाना बनाएर बालुवाटारको जग्गा किन्‍नेलाई जोगाउन नहुने बताएका छन् ।

ज्वाइन्ट ट्रेड युनियन कोअर्डिनेशन सेन्टर (जेटियुसिसी)ले मजदुर दिवसका अवसरमा काठमाण्डुमा गरेको कार्यक्रममा निधिले केपी शर्मा ओली नेतृत्वको सरकारले प्रधानमन्त्री, सभामुख, प्रधानन्यायाधीशलगायत विशिष्ट व्यक्तिको सरकारी आवास बालुवाटारको जग्गा व्यक्तिका नाममा गराउनेलाई जोगाउन लागेको आरोप लगाएका हुन् ।

‘ललिता निवास (बालुवाटारको जग्गा)काण्ड यो वा त्यो बहाना बनाएर, देखाएर टार्ने कुरा भइरहेको छ’, उनले भने, ‘प्रधानमन्त्रीबाट पहिले पनि भएका थिए भनेर टार्ने काम नहोस्, जोसुकै संलग्‍न भए पनि वा जसले भ्रष्टाचार गरे पनि कारबाही होस् । प्रधानमन्त्रीज्यू ! विपक्षीलाई आक्रमण गर्ने अरिंगाल उत्पादन गर्ने होइन, बुद्धिजीवीलाई थला पार्ने र आलोचकलाई नन्दीभृंगि नभन्‍नुहोस् ।’

प्रतिक्रिया