आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

भ्रमण छोट्याएर राष्ट्रपति भण्डारी आज स्वदेश फर्किंदै

प्रकाशित
1.4K
SHARES

काठमाडौं । मित्रराष्ट्र चीनको राजकीय भ्रमणमा रहेकी राष्ट्रपति विद्यादेवी भण्डारी आज स्वदेश फर्कंदैछिन् । ९ दिने भ्रमणका लागि चीन प्रस्थान गरेकी राष्ट्रपति भण्डारी निर्धारित समयभन्दा एक दिन अगावै स्वेदश फर्कन लागेकी हुन् ।

स्वास्थ्यमा समस्या आएकाले राष्ट्रपति भण्डारी एक दिन अगावै स्वदेश फर्कन लागेको स्रोतले जनाएको छ । उनी वैशाख ११ गते चीन प्रस्थान गरेकी थिइन् ।

९ दिने भ्रमण पुरा गरी उनी वैशाख १९ गते अर्थात भोलि स्वदेश फर्कने कार्यक्रम तय भएको थियो । हिजो ल्हासा पुगेकी उनी आज ल्हासाबाट सोझै काठमाडौं आउन लागेकी हुन् ।

भ्रमणका क्रममा राष्ट्रपति भण्डारी बेइजिङमा आयोजना भएको दोस्रो ‘बेल्ट एन्ड रोड फोरम फर इन्टरनेसनल कोअपरेसन’मा सहभागी भएकी थिइन् ।

उनले चिनियाँ समकक्षी सि चिनफिङसँग दुईपक्षीय भेटवार्ता समेत गरेकी थिइन् । भेटकै अवसरमा पारवहन प्रोटोकलसहित विभिन्न ७ वटा समझदारीपत्रमा हस्ताक्षर भएको थियो ।

यसैबीच मे १ अर्थात अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा राष्ट्रपति भण्डारीले शुभकामना व्यक्त गरेकी छिन । राष्ट्रपति भण्डारीले अन्तर्राष्ट्रिय श्रमिक दिवसले श्रमिक हकअधिकारको रक्षार्थ विश्वभरीका श्रमजीविलाई एकताको सुत्रमा बाँध्न सहयोग गर्ने विश्वास व्यक्त गरेकी हुन् ।

दिवसका अवसरमा शुभकामना दिँदै उनले सबै पक्षबाट श्रमको सम्मान र मर्यादा हुनुपर्ने बताएकी छन् । नेपालको बर्तमान संवैधानिक प्रावधान र मजदुरको पक्षमा बनाइएका नयाँ ऐनले उनीहरुको अवस्थामा महत्वपूर्ण सुधार आइ विदेश पलायन हुने क्रम रोकिने उनले आफ्नो सन्देशमा उल्लेख गरेकी छन् ।

राष्ट्रपति भण्डारीले सरकारले लिएको सामाजिक न्याय र समानतामा आधारित समृद्ध नेपालको साझा सङ्कल्प सार्थक तुल्याउन श्रम क्षेत्र सुधारका दिशामा सरोकारवाला पक्षहरू केन्द्रित हुनेमा आफु आशावादी रहेको बताएकी छन् ।

आज १ सय ३० अन्तर्राष्ट्रिय श्रमिक दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइदैछ । दिवसका अवसरमा विभिन्न मजदुर संगठनले अन्तक्र्रिया, चेतनामूलक र्‍याली जस्ता कार्यक्रम आयोजना गर्न लागेका छन् ।

सन् १८८६ मा अमेरिकाको शिकागोमा ‘आठ घन्टा काम, आठ घन्टा मनोरन्जन र आठ घन्टा आराम’ नारासहित शुरु भएको मजदुर आन्दोलनको सम्झनामा विश्वभर श्रमिक दिवस मनाइन्छ । सन् १८८९ मा फ्रान्सको पेरिसमा सम्पन्न विश्वका श्रम संगठन एवं श्रमिक नेताको बैठकले विश्व श्रमिक दिवस विश्वभर मनाउने निर्णय गरेको थियो ।

त्यस यता सन् १८९० देखि हरेक वर्ष अंग्रेजी महिनाको मे १ तारिखमा श्रमिक दिवस मनाउन थालिएको हो । नेपालमा विराटनगरमा विसं २००७ मा मजदूर आन्दोलनसँगै यो दिवस मनाउन थालिएको हो । विसं २०४६ को राजनीतिक परिवर्तनसँगै नेपालमा यो दिवसमा सार्वजनिक बिदा दिन थालिएको हो ।

प्रतिक्रिया