आज : २०७५ कार्तिक २७ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
इमान्दार संवाददाता
२१ पटक

कञ्चनपुर । कञ्चनपुरको भीमदत्तनगरपालिका–६ वनगाउँका नरेन्द्र कार्कीले व्यावसायिक रुपमा मौरीपालन गरेर आम्दानी लिँदै आएका छन् ।

मेलिफेरा जातको मौरीपालन गरेका कार्कीले वर्षमा पाँच क्विण्टल मह उत्पादन गर्दै आएका छन् । उत्पादित मह स्थानीय बजारमै सहजै बिक्री हुने भएकाले बजार खोजी गर्दै हिँड्नु नपरेको कार्कीले बताए ।

गत वर्ष मात्रै मह बिक्री गरेर रु चार लाख आम्दानी भएको उनले बताए । चालू आवको हालसम्म रु ५० हजारभन्दा बढीको मह बिक्री भएको उनले बताए ।

“महमा गुणस्तर दिन खोजेका छौँ”, उनले भने, “महमा कुनै किसिमको मिसावट नहुँदा सहजै घरबाट मह बिक्री हुने गरेको छ ।” महको माग अत्यधिक भएपनि मागअनुसार मह पु¥याउन नसकिएको कार्कीको भनाइ छ ।

चार वर्षदेखि मौरीपालन गर्दै आएका कार्कीले नगरपालिका कार्यालयबाट रु चार लाख ५० हजार अनुदान पाएपछि उत्साहित भएका छन् । अनुदान रकमबाट आधुनिक घार र उपकरण खरीद गरिएको बताइएको छ ।

कार्कीले भने, “मौरीपालनलाई विगतमा लगानी नहुँदा समस्या थियो, अनुदान रकम पाएपछि आधुनिक तरिकाले मौरीपालन गरी उत्पादनसमेत बढी लिन सकिएको छ ।” विगतको तुलनामा मौरीपालनको आधुनिक तरिका सिकेपछि उत्पादन बढ्दै गएको उनको भनाइ छ । कार्कीसँग ६० मौरीका घार छन् ।

कार्की कुस्तीका राष्ट्रिय खेलाडीसमेत हुन् । मौरीले मह सङ्कलन गर्न सहज बनाउन चिउरी लगायतका बोटबिरुवा खेर गएको जग्गामा रोपेर प्रयोगमा ल्याउने उनको योजना छ । मौरीपालनसँगै उनले डेरीको व्यवसायसमेत शुरु गरेका छन् ।

२०७५ कात्तिक २२ गते प्रकाशित

    फेसबुक ट्वीटर

    तपाईं हामीसँग  फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

प्रतिकृया दिनुहोस्

खाली एड

Loading...