आज : २०७५ कार्तिक २७ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कमल डाँगी
६३ पटक

मेरो १५ वर्ष पुरानो साथि नाम उसको धनबहादुर, भूमिगत भएपछि उसको नाम ‘कमरेड चिर्को’ भयो । स्वभाव पनि उस्तै दुरुस्त नाम जस्तै । देश र जनताको परिवर्तनको लागि लामै समय युद्धमोर्चामा खटिएको हो उ ।

उसलाई हरेक लडाईंको पहिलो मोर्चा एसाल्टमै खट्नु पर्ने रहर, कथमकदाचित लड्नेमा नाम परेन भने रिसाएर नलड्ने भए यो बन्दुक के गर्नु र ? भनेर फाल्न पनि खोज्थ्यो भन्ने पनि सुनेको थिएँ । अन्तिम विजय नहुँदासम्म अनवरत लडिरहने प्रतिवद्धता, जे होस उ पनि लामै खट्यो लामै लड्यो र अन्तमा मैले जस्तै त्यो यात्रा बिचमै रोक्यो । अनायासै !

मनभरी उनै सहयोद्धाहरु झल्झली देखा परिरहेछन आजसम्म पनि । नसुतेका थुप्रै प्रहरहरुले झस्काउँछन, अँधेरी रातमा पार गरेका सिस्ने, जलजला, कुमाखहरु मुस्कुराउँछन दिल दिमागमा । आफू नसुतेर हामीलाई सुताउने, आफू नखाएर हामीलाई खुवाउने जनताका यादहरुले पिरोल्छन हरपल । दिन केवल यस्तै–यस्तै तरिकाले बितिरहेका थिए ।

देशमा निरन्तर बम र बारुदका आवाजहरु संगीतका धुन जसरी गुञ्जिरहेका थिए । मर्ने र मार्नेका खबर आइरहेका थिए । घर र बस्तीहरु जलिरहेका थिए, चयनले बस्न सुत्न एक साधारण व्यक्ति त सक्दैन थियो झन् हाम्रो के कुरा ? अन्तमा, परदेशिने सुर गरियो । हाम्रो यस बाहेक अर्को विकल्प थिएन , कसरी विदेशिने ? कसरी जान्छन विदेश ? के–के चाहिन्छ ? मेरो लागि सहज थिएन र उता साथिलाई पनि आफैले गाउँबाट लखेटेका गाविस अध्यक्ष्यको हस्ताक्षर सहितको सिफारिस चाहिने रे ।

लेखक

आफैले दुस्मनको किल्ला ठानेको जिप्रकाबाट नागरिकता र पासपोर्ट कसरी लिनु ?
निकै मुस्किल थियो, र यत्तिकै मुस्किल घरमै बस्नु पनि कसरी ? अन्तमा, उच्चशिक्षा हासिल गर्दा चिनेका एकजना आफन्त र जिल्ला सदरमुकामतिर दख्खल राख्ने जना माओवादी साथिको कसरतबाट आफू नगईकनै सबै कागजात मिलाइयो । मैले त पाएँ तर उता साथिको अत्तोपत्तो थिएन न फोन, न त सम्पर्क नै ।

ससुरालीको शरणमा दाङ्ग तुलसीपुर छिरियो । त्यता विदेश जाने चलन बाक्लै भैसकेको रहेछ । आफ्नै आफन्त विदेश पठाउने एजेण्ट रहेछन् । उनलाई मेनपावर र काठमाण्डौ सबै पत्तो रहेछ । मैले पनि आफ्नो राहदानी उनलाई नै दिएँ । कुन देश, के काम, कति तलब र कति लागत सबै भिजा आएपछि मात्रै थाहा हुन्छ भन्दै उनले मेरो राहदानी लिए ।

४ महिना पछि मलेसिया उड्नु पर्ने भन्ने खबर आयो । काम दाना बनाउने फ्याक्ट्रीमा रे । तलब नेपालको २० हजार रे । तर मेनपावरमा पुग्दा थाहा भयो कि तलब मलेशियाको ४८१ तत्कालिन अथवा नेपाली ८,६५८ । त्यसमा पनि खान आफ्नै पैसाले खानु पर्ने । नेपाली २,७०० लेवी काटिने जानकारी भयो ।

बिचमै टुटेको मेरो क्रान्तिको यात्रा, १५ महिनाको छोरा र श्रीमती, बाउ–आमा, इस्ट–मित्र सबै छोडेर ब्याजमा ऋण काढेर ८० हजार पैसा बुझाउँदै अन्तमा पराइ देशतिर जाने पक्कापक्की गरें । २०६२ फाल्गुन थियो, पहिलो पटक अखिल क्रान्तिकारीको १६ आैं राष्ट्रिय सम्मेलन हुदाँ काठ्माण्डौ छिरेको थिएँ । त्यसपछि विदेश जाने प्रकृया मिलाउन दोश्रो पटक काठमाण्डौ छिरें । १२ दिनमा उडान हुन्छ भनिए पनि ३१ दिन लाग्यो तर जमाना आजको जस्तो थिएन । जे भन्यो, जस्तो भन्यो त्यही सहनुपर्ने हुन्थ्यो ।

राजनीतिक इतिहासलाई बिचमै बिटमार्दै , सके जोड्ने, नसके पनि सधैं साथमा रहँदै आस्था कायम गर्ने कसम खाँए । असहय पीडाले भक्कानिएको मनलाई सम्हाल्दै अन्तत नेपाल छोडियो । मेरो लागि अब सबै नयाँ थियो । बस्ती नयाँ, बसाइ उठाई नयाँ, साथिभाई नयाँ, र रीतिरिवाज र संस्कार पनि नयाँ । यो मलाइ मात्रै थिएन हरेक विदेशिने नेपालीले भोग्ने पीडा थियो ।

घरमा आमा, श्रीमतीको हातले पकाएको खाने केटो, बिहान घाम लाग्दासम्म सुतेको ज्यान, मन लाग्दा कामगर्ने नत्र नगरेको बानी, आफ्नै इच्छा र चाहनामा चलेको दिनचर्या पुरै भुल्नैपर्ने थियो । आफै पकाउनु पर्ने, आफै कपडा धुनु पर्ने, यावत सबै–सबै गर्दै १८ घण्टासम्म दैनिक काम गर्नुको पीडा कति होला ? झन् त्यसमा पनि भनेको काम छैन । दाना फ्याक्ट्री भनेको ५० औं हजार कुखुरालाई ह्यांगरमा लट्काएर मासु काटकुट पार्ने फ्याक्ट्री पो रहेछ । जहाँ अाँखाबाट आँसु आउने गरी काम गर्नु पर्थ्याे ।

दुःखका कुरै नगराैं कति हो कति ! ठगिनुको सिमा नै रहेन तर के गर्नु आफू नै सचेत र सजग नभए, क देखि ज्ञ सम्म अर्कैको भर पर्दा यो हुनु स्वाभाविक थियो । कम्पनीको कुनै गल्ती थिएन । उसले मलाई काम गर्न भिजा दिएको थियो । बस मैले पनि त्यो भूमिका निभाउनै पर्यो । मैले यसलाई धेरै असहज पनि ठानिन । म उसबेला १२ कक्षा पास गरेको, धेरथोर अधिकारको लागि लडेको एक युवा भएपनि मलाई तत्कालीन प्राप्त कामबारे कुनै दक्खल थिएन ।

मसँग सामान्य मजदुरले गर्ने काम गर्नुको अर्को विकल्प थिएन । त्यो गर्नु मेरो कर्तव्य थियो जो निभाउँदै गएँ । वैदेशिक रोजगारी केवल पैसा आर्जन गर्न मात्रै होइन यो त अनुभव पनि हो जहाँ हामीले बिताउने हर समयको सही सदुपयोग गर्दै ज्ञान, शिप हाशिल गर्दै जान सक्छाैं । हामीले आफनो सृजनशीलतामा प्रयोग गर्न पनि सक्छाैं यसमा मैले कसैलाई दोष दिन खोजिन आफ्नो नियति, बाध्यता नै जिम्मेवार ठाने ।

दिनहरु बित्दै गए । शुरुमा जसरी दिनचर्या असहज थियो त्यो विस्तारै कम भएको महसुस भयो । यद्यपी त्यो अधुरै रहेको राजनीति, घर, नाबालक छोरा, श्रीमती, आमाबुवा, आफन्तको सम्झनाले हरपल सताउने गर्थ्याे । म मात्र एक्लो थिइन । सयाैं नेपालीमनहरु त्यही कम्पनीमा थिए । लाखौं नेपालीहरु त्यही देशमा थिए । यस्तो लाग्दथ्यो कि वास्तवमा जीवनयात्राको अर्को अध्यायको थालनी भइरहेको छ । यहाँ नेपाली भन्दा माया लागेर आउँथ्यो । जिल्लाका भन्दा आफन्त जस्तै लाग्थ्यो । गाउँ नजिकैको भेट्दा आफ्नै परिवारको सदस्य भेटे जस्तो हुन्थ्यो ।

त्यसमा आफ्नै जस्तो बिचार, राजनीति मिल्ने साथि भेट्दा त विगतका सहयोद्धाको माया मेटिन्थ्यो । थुप्रैबाट सिकें ,थुप्रैलाई सिकाएँ ,कयौंलाई आफन्त बनाएँ । त्यहीँ बस्दा शुरुमा अति मिल्ने साथीलाई अन्तमा जुनी–जुनी सम्म रहनेगरी मित लगाएर सम्वन्ध जोडें । सकेसम्म सबैको प्यारो बनें र मेरो काम र कर्तव्य प्रतिको दृढ लगावले कम्पनीमा पदोन्नति पनि भयो ।

शुरुका दिनमा जसरी धेरै दुःख गरेको थिएँ, अन्तत सुखको केही हदसम्म फल मिल्यो । यसरी दिन काट्दै जाँदा आफनै साथिसंगी दाजुभाईसँग दुख पीडामा हातेमालो गर्दै जाँदा २ वर्ष बित्यो समयको रफ्तारमा यता म विस्तारै बदलिरहेको थिएँ । उता नेपालको राजनीतिमा पनि फेरबदल हुँदै थियो । विभिन्न माध्यमबाट खबर सूचना बुझिनै रहिन्थ्यो ।
एक दिनको कुरा हो, कम्पनीमा दिपावलीको छुट्टी थियो ।

केही साथिहरु बाहिर घुमघाममा जाने निधो गरे । सबै २०,२२ बर्षे ठिटाहरु, कति बस्नु हो रूममा… यसो निस्काैं न हउ… मेरो मितले कराउँदै भन्नु भयो । बाहिर जाने भनेसी मनै चङ्गा । सधैं बाँधेर राखेको गोरु जस्तो कहिले दाम्लो खुल्ला अनि जाम्ला झैँ सबै हतार रहतार गर्दै कोठा बाट निस्कियाैं । हाम्रो कम्पनी सेरामिकबाट करिब २ मलेसिया रिंगेट भाडा तिरेर इपोपेराक जहाँ ठुलो बजार थियो । आइएमई अनि नेपाली खाजाघर थिए । त्यहीँ पुग्याैं । हामी जस्तै सयाैं कम्पनीबाट हजारांै नेपाली युवाहरु बजारका गल्ली–गल्ली, मार्केट, पार्क, चौर, यत्रतत्र देखिन्थे । हामी पनि आफनै धुनमा थियौं , पैदल गल्लीबाट हिँडीरहेका थियौं ।

इण्डियन, कालेहरु र तमील सिडी पसलमा कुन चाहीँ नयाँ फिलिमको सिडी चक्का पाउँछ त्यो खरिद गर्न हिडिँरहेका थियाैं । यत्तिकैमा एक जना नेपाली युवा एक्कासी मसँग ठोक्किन पुगे । उनी मलाई सरी… साथि भन्दै अघि बढ्दै थिए मैले चिनिहालें । उनी त्यही मेरो प्यारो साथि धनबहादुर उर्फ ‘चिर्को’ थिए । म निकै खुशी हुँदै ओइ…. चिर्को….. भनेर कराएँ । उनी फर्केर मलाई हेरे । हामी दुवैले एक छिनसम्म एकले अर्कालाई हेरी…. रह्याैं । म विस्तारै उनको नजिक पुगें ।
एकले अर्कोलाई अंगालोमा बाध्यौं । साेंच्दै नसोचेको एउटा वर्गीय नाताले अति नजिकको साथि पराइ देशमा पाउँदा आखाबाट बर्रर… खुशीका आँसु झरे । साँच्चिकै वर्गीय माया कति अजिवको हुँदो रैछ ! हामी १ मिनेटसम्म अङालोमा बाँधिइरह्यौं ।

हाम्रा विगत देखि हालसम्मका दिन चर्या र घटनाक्रममा समयले नेटो काट्दै थियो साथमा आएका मेरासाथि १० ठाउँ घुमेर फर्किसकेका थिए र हामी दुई पनि छुट्टिनु पथ्र्यो कुराकानीलाई बिट मार्दै गयाैं । मैले छिट्टै नेपाल फर्कने, अधुरो राजनीतिलाई जोड्ने, देशमै केही गर्ने र योजना सुनाएँ । उनले भने अझै ३,४ वर्ष दुःख गर्ने, अनि नेपाल फर्केर घरजम गर्ने र उतै केही काम गर्ने सुनाए । यति भनि फेरि–फेरि भेट्ने भन्दै चिया सम्म पनि नखाई हामी एक अकाबाट ओझेल भयाैं ।

२०६५ को अन्तिम महिना, म राम्रै सुविधाको तलब र कम्पनीको जागिर त्याग्दै नेपाल फर्किएँ । यो अढाइ वर्षको अन्तरालमा काठमाण्डौ निकै नै फरक देखिन्थ्यो । राजनीतिक रुपमा उथल–पुथल भैसकेको थियो । अब नेपालमै हामी साँच्चिकै केही गर्न सक्छौं भन्ने आँटले मनमा हौसला छायो । घर पुगें, इस्टमित्र भेटें, पार्टीमा हिँड्दाका कयन साथीलाई भेटें । धेरै जसोमा हर्ष उत्साह नै देखें । दिन बित्दै गए, वर्ष बित्दै गए आफूले सोचेको लक्ष्य र योजना पुरै नभई पार्टी विस्तारै हराउँदै गएको भान हुनथाल्यो ।

शुरुमा म पो बिग्रेको हुँ कि जस्तो लाग्दथ्यो । मैले पो केही गर्न नसकेको हुँ कि जस्तो लाग्थ्यो । तर पार्टी नै बिग्रेको हो नेता नै बिग्रँदै गएका हुन् कि भन्ने आशंका बढ्दै गयो । म बाहिर जे जस्तो भए पनि आस्था र जनयुद्धकै कुरा गर्थें तर थुप्रै साथिहरु बाहिर जनयुद्धका कुरा गर्थे तर भित्र धनयुद्ध चलाइरहेका थिए । पार्टी ठुलो युद्धबाट शान्ति प्रकियामा अवतरण गर्दैथियो ।

देश गृहयुद्धबाट छुट्कारा पाउँदै थियो, यसले केही आशाका किरण देखाएको थियो । यसको साथ पार्टी बिग्रने पो हो कि ? नेता बिग्रने पो हुन् कि ? समग्रमा फेरि समाज नै बिग्रने पो हो कि ? हामीले सहिदको त्याग, तपस्या र बलिदानी देश र जनताको लागि थियो भने सावित गर्न नसकिने पो हौं कि ? यस्तै कयन विषयमा आशंकाहरु बढ्दै थिए ।

गुट, उपगुट अनि फुटमा सरिकहुँदै थुप्रै वर्ष काट्दै गइयो अन्ततः माथिका सबै आशंकाहरु सत्य सावित भए । जनयुद्ध समाजबाट खुम्चिदै गयो धनयुद्धको विस्तार भयो । अन्तत बाघको गर्जन जस्तो बनेर आएको शक्ति पानीमा भिजेको मुसो जस्तो भएर बस्ने दिन सुरुवात भए ।

समय २०६८ साल नै हो पार्टी अन्ततः माओवादीमा विभाजन आयो । म फेरि विद्रोह गर्नेहरुको पछि लागें । किरणको नेतृत्वमा सातौं महाधिवेशन भयो । मोटरसाइकल कै यात्रामा दाङ्गबाट फेरि काठमाण्डौ सातौं पटक छिरें । बिचमा २, ३ पटक अन्य काममा आएको थिएँ । हुन त म सानो फुच्चे कार्यकर्ता त्यो पनि पार्टी क्रान्तिमा छँदै निस्क्रिय हुन पुगेको मान्छे तर मलाई पार्टी सिद्धान्त र बिचार सबै भन्दा ठूलो लाग्दथ्यो ।

चाहे मलेसियामा रहँदा होश ,चाहे विरोधीसँग होश, चाहे फरक राजनीतिक आस्था राख्ने साथिभाई र इष्टमित्रसँग किन नहोश आफूले जाने बुझेका २,४ कुरा, विचार, आफ्ना पार्टीको राखिहाल्थें । धेरै मेरा कुरामा प्रभावित हुन्थे कसै कसैले त यस्तो मान्छे किन यस्तो पार्टीमा लागेको पनि भन्थे । कसै कसैले त पार्टीमा लाग्दा लुटेको धन अझै सकिएको छैन ? पनि भन्थे । यसो भन्दा मैले पीर मान्नु पर्ने ठाउँ नै थिएन किन कि मैले त्यस्तो नगरे पनि कयन ठाउँमा त्यस्तो भएको पनि रहेछ ।
जनयुद्धमा हामी इमान्दारीपूर्वक लागेको भएपनि कसैलाई पिट्न, बदला लिन अनि सम्पति जोड्न माओवादी भएका थुप्रै रहेछन जस्लाई समाजले देख्यो, त्यही भने । त्यसमा मेरो गुनासो गर्ने ठाउँ नै रहेन । यसरी हरुवा पार्टीको चरुवा कार्यकर्ता हुँदै आफूले जाने बुझेसम्म हिँडिरहेँ ।

सँगैका साथिहरु ठूलाठूला पोस्टमा पुगेका थिए । कोही सदरमुकाम आसपासका बजारहरुमा व्यवस्थित हुँदै थिए भने हजारौ हजार कार्यकर्ताहरु व्यक्तिगत जीवन कसरी शुरु गर्ने ? जीविकोपार्जन कसरी गर्ने ? युद्धकालमा भत्केको घर कसरी मर्मत गर्ने ? भूमिगत जीवनबाट खुल्ला समाजको संस्कारमा कसरी रुपान्तरण हुने ? भन्ने जस्ता अनेकन समस्या बोकेर भांैतारिइरहेका देखिन्थे । यसैक्रममा धेरैले तिमी त विदेश पनि बसिसकेको मान्छे यो बारेमा ज्ञान छ । जानकार छौ, अब हामिलाई पनि त्यहाँ सम्म पुर्याइदिनु पर्यो भनेर आग्रह गर्न थाले । शुरुशुरुमा धेरैलाई सम्झाएँ । यतै केही गरम यार एक न एक दिन त हामीले भनेको दिन कसो नआउला र ! गरिबकै लागि भनेर आको सत्ता कसो गरिवको पक्षमा नहोला र ? तर उनीहरु मेरा फुर्सा गफले मान्ने पक्षमा थिएनन किन कि उनलाई घरको चुलो सल्काउनु थियो ।

उनीहरु पार्टीबाट खर्च पाउने हैसियतका थिएनन । अन्ततः उनीहरुको लागि पनि वैदेशिक रोजगार निर्विकल्प नै बन्यो । यसरी आज एकजनाले सोध्न थाले, भोली अर्को जनाले सोध्न थाले । गर्दा गर्दा म त मेनपावरवाला पो भएछु । समाजमा दलेको उपनामले चिनिन थालें । आफ्ना साथीभाई मात्र नभएर अन्य वेरोजगार युवाहरु समेत मेरो सम्पर्कमा आउन थाले । मान्छे दिए वापत मेनपावरबाट कमिशन पनि आउन थाल्यो ।

आफ्नो गुजारा नै चल्न थाल्यो । आफूले नचाहेको पेशा र व्यवसायमा जानी नजानी जोडिन पुगें । यो व्यवसाय हामीले नचाहेर पनि जरुरी थियो । हामी सबै समाज, राजनीतिमा, जनताको आर्थिक पक्षबारे चासो राख्ने व्यक्तिले यो बारे जान्न र बुझन नै नचाहेर पनि यो कतै ठगको अड्डा हुन पुगेको हो कि भन्ने मनमा लाग्यो ।

यो पेशालाई बिचौलिया होइन बरु सरकारले तोकेको नियम र कानुनको अधिनमा रही आफूले जानेको अनुभव सुनाउँदै सकेसम्म सर्वसुलभ र सुरक्षित तरवरले वैदेशिक रोजगारीमा पठाउनु पर्छ त्यसको लागि संस्थागत नै हुनुपर्छ भनि २०६९ मा २५ प्रतिशत शेयरलिई कामगर्न थालें ।

२०७० साल बैसाख महिना घामले भन्दा काठमाण्डौको धुलो र प्रदुशनले सताउँछ । हातमा झोला बोकेर लुरुक्क–लुरुक्क कोठाबाट बस चढ्न गोंगबु चोक निस्कँदै थिएँ । अनायासै फेरि तिनै कमरेड धनबहादुर उर्फ ‘चिर्को” भेटिए । विगत भन्दा अलि फरक देखिन्थे उनी । हामी पहिले जस्तो भेटहुँदा अंकमाल गर्ने समय र अवस्थामा थिएनौं । हाम्रा भावना र सोचाइहरु पहिले जत्तिका शुद्ध थिएनन् । पहिले जस्तो कमरेड पनि भनिएन ।

मलाई उनीले के छ कमल सर भने । मैले पनि ठिकै छ दाइ भने । हात मिलायाैं र नजिकैको चिया पसलमा गएर कुराकानी गर्यौं । पार्टीका गफ नै गर्न रुचाएनाैं । उहाँ प्रचण्ड पार्टीको नेता, म वैद्य बाको पार्टीको झोले कार्यकर्ता । हामिले सिधै व्यवसायका कुरा गर्यौं । उत्पादन त सबैका गफै हुन् । पशुपालन, मत्स्यपालनमा पूँजी नै नपुग्ने । खेतीबारीमा बजार व्यवस्थापनको कमि भएको कुरा छलफल गर्यौं ।

मैले मेनपावरमा थोरै लगानी हालेर काम गर्दै गरेको सुनाएँ । उहाँले व्यवस्थित मासु पसल खोल्ने कुरा गर्नुभयो । म त विदेशमा २ वर्ष बसेको , उहाँ त ७ वर्ष काट्नु भएछ । घरमा आएर बिहे पनि भएछ । कमाइ पनि १८, २० लाख भएको कुरा गर्नु भयो । विदेशमा सिकेको र देखेको अनुभवमा व्यवस्थित मासु पसल खोल्न लागेको सुनाउनु भयो । एक आपसमा भेट्ने फोनमा कुराकानी गर्ने भन्दै एक आपसमा फोन नम्वरहरु साट्दै आ–आफ्नो गन्तव्य तिर लाग्यौं ।
समय निरन्तर बित्यो ।

एकले अर्कालाई आश्वासन दिनु लिनु त पानी पिउनु जस्तै छ अचेल । ५ वर्ष बित्दा पनि हाम्रो फोन कुराकानी भएन । उहाँले फेसबुकमा लेख्दा मैले लाइक गर्थें, मैले केही लेख्दा उहाँले लाइक गर्नुहुन्थ्यो । कहिलेकाही फोटो परिवर्तन गर्दा साथि उस्तै रहेछ ठिकै रहेछ भन्दै सोचेर चित्त बुझाइन्थ्यो । आफ्ना व्यक्तिगत इच्छा आकांक्षाको पछि दौडदा कसैलाई कसैले सम्झने फुर्सद नै भएन ।

आकस्मिक हाम्रो फेरि भेट भयो । फेसबुकमा काठमाण्डौको यात्रा लेखेको त देखेको थिए । अचेल कति कमरेड आउँछन, कति जान्छन अरुले खोज तलाश राखे पो मैले राख्नु ? फेरि हात मिलायौं । हामीले मिलाउने हात पहिले भन्दा निकै नरम, दम बिनाका थिए । हाम्रो जनयुद्धको के नै बचेको थियो र ? अब त पार्टी कहाँ देखि कहाँ पुगिसकेपछि त्यसको केहि कुरै गरिएन । कमरेड चिर्को निकै निराश र पहिले भन्दा निकै फरक देखें । हामीले यसपाली मेरो कोठामै गएर कुरा गर्ने जमर्को गर्यौं । मेरा जिन्दगीका आरोह अवरोह पनि धेरै थिए । साथि संगीसँग लहलहैमा लाग्दा गुमाउनु परेको धन, तन र मन पीडा सुनाउनु थियो ।

कोठामा पुग्दा खाना पाकिसकेको रहेछ । जाने बित्तिकै तितो, मिठो जे थियो खायौं । खाने भन्दा हामीलाई कुरा गर्न हतार थियो । झन् म कमरेड चिर्कोको निराशा जान्न आतुर थिएँ । उनले हात चुठ्न धुन के पाएका थिए मैले सोधिहालें । के भयो कमरेड, के छ हाल खबर ? कमरेड चिर्को हातभरिको पानी आफ्नै शरीरको कपडाले पुछ्दै विस्तारै बोले ।

आफूले जानेको व्यापार व्यवसाय गरेको डुबियो भने । मैले कसरी भनेर सोधे ? विदेश कै जस्तो व्यवस्थित गर्न खोजे ठूलो कोठा लिए भित्र पुरै मार्वल लगाएँ, सरसफाईको लागि भित्रै पानीका धारा बनाएँ, बाहिरको प्रदुषण भित्र नछिरोस भनेर पुरै सिसा बन्द गरें । भित्र चिसो, तातो तापक्रम व्यवस्थापन गर्न एसी जडान गरें । जीउँदै माछा राख्न मिल्ने पोखरी भित्रै खडा गरें । मासु फ्रीजिङ गरेको नै खाँदा राम्रो हुन्छ, त्यसैले ठूलठूला फ्रिज किनें तर पसल नै चलेन ।

मान्छेले सिसाको ढोका खोल्न गारो माने । त्यहाँ त व्यवस्थित छ, त्यसैले महँगो हुन्छ होला भनेर अट्कल काटे । कतिले फ्रिजमा राखेको बासी मासु दिन्छ भनेर सिकायत गरे । अन्तमा पसल सोचे जसरी चलेन र कसैले पसल किन्ने कुरा पनि थिएन । सबै समान घरमा थन्काएर यसो अलि राम्रो देश तिर लाग्नु पर्यो भनेर काठमाण्डौ आको अनि तपाइँको के कस्तो चल्दैछ सुनाउनुस भने । मेरो पनि त्यस्तै छ ।

एकातीर सरकारी नियम अव्यवहारिक छ । रोजगारदाता कम्पनीको तलब स्केल र कामदारको चाहना फरक छ । जान चाहने कामदारको आकांक्षा फरक छ । अनि हाम्रो सरकारको नीति,नियम फरक छ । सरकारले व्यवहारिक नीति नबनाउँदा वैदेशिक रोजगार व्यवसायी र जान चाहने कामदार दुवै मर्कामा परिरहेका छन् । सरकारले रोजगादाता कम्पनी आफै भ्रमण गरेर त्यहाँको सबै अवस्था अध्ययन गरेर माग पत्र प्रमाणित गर्छ । फेरि त्यही सरकारले सबै सही छ भनि स्विकृती दिएर कामदार कम्पनीमा पठाइन्छ ।

जब कामदारले तलब पाउँदैन, काम पाउँदैन त्यो कम्पनीलाई कानुनी कारवाही गर्न हाम्रो सरकारले केही सहयोग गर्दैन । यदि कुनै कामदारको समस्या आयो भने आफै भ्रमण गरेर, आफै तलव, काम दिनु हुन्छ नी भनेर सोधेको कम्पनीलाई सरकार र विदेशस्थित दुतावासले उक्त कम्पनीलाई केही भन्न सक्दैन । सिधै मेनपावरलाई केटाहरुले तलब पाएनन रे । तपाइँलाई जेल हाल्दिम कि मिलाउने ? भन्छ ।

विदेश जाने कोही कामदारहरु आफूले गर्नुपर्ने काम, कर्तव्य निभाउँदैनन । कम्पनीको खिलाफमा हडताल, तोडफोड र समूह खडा गर्छन । जसको कारण घर फिर्ता भएका कामदारबारे किटानी प्रमाण नै पेश गरे पनि तपाईंले उहाँहरुलाई क्षतिपूर्ति दिन पर्छ नत्र तपाईंको धरौटीबाट काट्ने कानुन छ, सरकार यसो भन्छ । नेपालमा व्यवसायको कुनै सुरक्षा छैन । यसलाई व्यवस्थित गर्ने भन्दा पनि आर्थिक चलखेलको लागि अव्यवहारिक नीति लाद्ने गरिएको छ । मैले आफ्ना यस्तै यस्तै कुरा राखें ।

हामी दुबैको कथा एकै थियो । व्यथा पनि एकै । हामी मात्र होइन सामाज नै अव्यवस्थितताको शिकार भैरहेको छ । हाम्रा कुनै पार्टीले पनि जनताको वास्तविक परिवर्तन को कुनै कार्यक्रम नै ल्याएका छैनन । हामी फेरि पुरानो परिपाटि र संस्कारमा फर्किएका छाैं । उही गरिब गरिब हुँदै जाने धनी धनी हुँदै जाने आर्थिक प्रणालीमै छौं । परनिर्भरताको शिकार बन्दै आर्जेको धनले समय अनुरुप लाउँदै र खाँदैमा हाम्रो आर्थिक समस्याको दिर्घकालीन हल कसरी होला ?
सबै कुरा सरकारको पहुँचमा भन्दा शक्तिको पहुँचमा छन् ।

खाने मासु, साग, सब्जी तयारी नास्ताहरु धुलाम्मे सडकमा फिँजाएर बेचिन्छ । त्यही हाम्रो समाजको लागि ताजा मानिन्छ । स्वास्थ्यसँग प्रत्यक्ष सम्वन्ध राख्ने खाद्यान्न वस्तुहरु कहिले निर्माण भएको हो ? कुन तत्व पाइन्छ ? त्यसको म्याद कहिले सम्म छ ? कुनै सरोकार छैन । बीच बाटोमै लतारेर मासु बेचिन्छ र हाम्रो समाजले त्यही नै मन पराउँछ । हाम्रा नियम कानुन नेता राजनीति त्यसमै रमाउँछन । राज्यसँग कुनै पनि क्षेत्रमा व्यवहारिक नीति नै छैन ।

फटाहालाई चैन सोझालाई ऐन अहिले यथावत छ । काम गर्नेलाई भन्दा अल्छी र बोल्नेलाई प्रोत्सहान गरिन्छ । यो मात्रै होइन सामाजका, संस्कारका, व्यवसायका आधारभूत कुरामा ध्यान दिएन भने हामीले उत्पादन गर्ने नयाँ पुस्ता झन् शिप, क्षमता र व्यवहार बिनाको लंगडो बन्ने छ । हामी यति गर्दा त देश भित्र टिक्न मुस्किल छ । के जनयुद्ध केवल सिमित व्यक्ति, परिवार र समूहको धनयुद्ध सफल पार्न थियो ?

नत्र किन यसको औपचारिक रुपमा अन्त्यस्टी गरियो ? यस्तै रहेछ त हाम्रो जनयुद्ध, अनि त सुरु भयो त धनयुद्ध । तर केहीलाई पुग्दैमा समस्या समाधान हुने छैन । सही विधि, नीति नियम, काम, कर्तव्य र अधिकारको सही तरवरले लागु नगर्दासम्म तपाइँ हामी यस्तै हो ।

यसरी नै निराश बनेर होइन जीन्दगीको लागि केही त गर्नै पर्छ भन्ने निस्कर्ष निकाल्यांै । रातको १ बजि सकेको थियो भाडाको बसाइ सुत्ने ठाउँ, ओड्ने ओछ्याउनेलाई दुःख सुख गर्दै सुतेको बहाना गर्यौं । मनभरी कुरा खेलाउँदा निद्रा के लाग्थ्यो र यत्तिकैमा बिहानीले संकेत गर्यो । मर्मिरेमै कमरेड चिर्कोलाई कर्ही कतै जानुपर्ने रहेछ । फेरि भेट्ने बाचा गर्दै बिदाइका हात मिलाउँदै उनी आफ्नो गन्तव्यतिर लागे । म पनि बिहानी हिँडडुलमा निस्कें ।

लेखक पूर्व माअाेवादी कार्यकर्ता हुन् ।

२०७५ कात्तिक ६ गते प्रकाशित

    फेसबुक ट्वीटर

    तपाईं हामीसँग  फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

प्रतिकृया दिनुहोस्

खाली एड

Loading...