३४८ पटक

जीतबहादुर शाह

मनै त हो, के के सोच्न भ्याउदो रहेछ । यो मनलाई यस्तो किन सोचेको भनेर कानूनले पनि समाउदो रहेनछ । त्यसैले पनि जे पनि सोच्न भ्याउदोरहेछ । एकपटक एउटा मन परेको किताव अध्ययन गरिरहेको बेला एक्कासी यो मनले सोच्न थाल्छ कि मेरो सृष्टिकर्ता मसँग रिसाएर मैले चिनेका अक्षरहरु एकाएक मबाट खोसेर लग्यो र मलाई अक्षरबिहीन बनाइदियो भने मेरो जीन्दगी कस्तो हुन्छ होला ? मैले मेरो दराजभरि दुखजिलो गरेर कमाएको रकमले खरिद गरेका कितावहरु त्यसपछि मैले के गर्छु होला ? म आफैले लेखेर आफ्ना सन्ततीलाई झै माया गरेर राखेका मेरा लेखकीय कीर्तिहरु मेरा निम्ति त्यसपछि कस्ता हुन्छन् होला ? मैले अहिले नै अध्ययन गरिरहेको कितावको अवको अध्ययन गर्न बाँकी भागलाई मैले कसरी पढ्छु होला ? विहान सरसर्ती पत्रपत्रिकाका हाइलाइटहरु हेर्ने मेरो बानी त्यसपछि कस्तो हुन्छ होला ? मेरो सिर्जना र एकान्तको साथी मेरो ल्यापटप त्यसपछि मैले के गर्छु होला ? यस्ता अनगिन्ति प्रश्नहरुले मलाई टोक्न थाल्छन् लामखुट्टेले झै । म कल्पना पनि गर्न सक्दिन कि मैले कल्पना गरे झै सृष्टीकर्ताले बनाइदिने मेरो अक्षरविनाको त्यो जीवन कति कष्टकर र कति कहालीलाग्दो हुन्छ होला ?

मैले जे परिकल्पना गरे पनि मैले परिकल्पना गरेकै जस्तो कष्टकर र कहालीलाग्दो जीवन बाँच्ने मानिसहरु पनि यो दुनियाँमा धेरै छन् । राष्ट्रिय जनगणना २०६८ अनुसार म भएको कर्णाली प्रदेशमा मात्रै ६ वर्षमाथिका ५८ प्रतिसत मानिसहरुलाई कर्णालीको ‘क’ भनेको कालो अक्षर भैसी बराबर जस्तै छ । त्यसपछिका ७ वर्षहरुमा हामीले शिक्षामा जे जति प्रयत्न ग¥यौं र साक्षरताका जे जति अभियानहरु सञ्चालन ग¥यौ त्यसबाट जति तीव्र गतिमा साक्षरताको बृद्धि भए पनि मलाई लाग्छ अहिले पनि सयमा तीस जना कर्णालीबासीहरु अक्षरविहीन जिन्दगी बाँचिरहेका छन् भन्ने कुरामा कुनै सन्देह छैन । उनीहरुले यो दुनियालाई चर्म चक्षुले देखे पनि ज्ञानचक्षुले देख्न सकिरहेका छैनन् । देखे पनि धमिलो देखिरहेका छन् । यो दुनिया के हो र यहाँ के हुदैछ भन्ने कुरा यकिन गर्न उनीहरुलाई हम्मे हम्मे भइरहेको छ । तीनै तहका सरकारहरुले गरिरहेको समुन्नति र समृद्धिका कुरा उनीहरुले बुझिरहेका छैनन् । डिजीटल प्रदेश लगायत विद्युतीय उर्जाको विकास, औद्योगिकरण, पर्यटन ब्यवसायको प्रवर्धन, सुशासन आदिका कुरा उठिरहेका छन् । मसिनो स्वरमा कतै कतै प्राविधिक र गरिखाने शिक्षाका कुरा पनि उठिरहेका छन् । सायद मलाई लाग्छ ती तीस प्रतिसत अक्षरविहीन कर्णालीबासीलाई यस्ता कुरा केही थाहा छैन ।

मेरो आसय अक्षरविहीन मानिसहरुको सोच्ने मष्तिष्क नै हुदैन भन्ने होइन तथापि सोचाइलाई ब्यवस्थित, समसामयिक, सान्दर्भिक, ब्यावहारिक, जीवनोपयोगी, लाभदायक र बैज्ञानिक बनाउनका लागि अक्षरहरुको आवश्यकता पर्दछ । अक्षरहरुले उर्जा दिने गर्छन मानिसहरुलाई उत्साह र आत्मविश्वासका साथ जीवन गतिशील बनाउनका लागि । अक्षरहरुले बाटो देखाउछन् मानिसहरुलाई जीवनको सफलताका लागि । अक्षरहरुले आँखा दिन्छन मानिसहरुलाई चर्मचक्षुले हेर्न नभ्याएको विशाल संसार नियाल्नका लागि । अक्षरहरुले ढोका खोलिदिन्छन मानिसहरुलाई सूचना र चेतनाको विशाल फाँटमा प्रवेश गर्नका लागि । मानिससँग भएको अनुभव, सीप र दक्षतालाई प्रमाणित गर्नका लागि समेत अक्षरहरु चाहिन्छन । कतिपय विश्वब्यापी रुपमा गरिएका अध्ययन अनुसन्धानहरुले समेत साक्षरता र आर्थिक सम्पन्नताको सम्बन्धको आँकलन गर्दै दश जना निरक्षरहरुमध्ये सात जना गरीव र तीन जना धनी भएको र दश जना साक्षरहरुमध्ये सात जना धनी र तीन जना गरीव भएको कुरा पत्ता लगाएका छन् । त्यसैले पनि ब्यक्ति, समाज र देशको आर्थिक समुन्नतिका लागि समेत साक्षरताले सकारात्मक भूमिका निर्वाह गर्ने कुरा घाम जत्तिकै छर्लङ्ग छ ।

साक्षरतालाई विकास र समुन्नतिसँग जोड्नका लागि साक्षर अभियान कार्यक्रमहरु पनि विकास र समुन्नतिसँग जोडिएर आउनु पर्दछ । निरपेक्षरुपमा अक्षरहरु चिनाएर साक्षर बनाउन खोज्नु एक त आफैमा कष्टकर हुन्छ अर्को कुरा ती अक्षरहरु कामयावी हुन सक्दैनन् । बरु कालीदासको क जस्तै कर्णालीबासीका क हरु पनि दुब्लाउदै जान्छन् । अक्षरहरुलाई जीवन बदल्नका लागि प्रयोगमा ल्याउने हो भने उनीहरुले गर्ने दैनिक कामकाजसँग अक्षरहरुलाई गाँस्न सक्नुपर्दछ । उनीहरुको मेलापात, खेतवारी र चुलोचौकोका भोगाइहरुलाई चर्चा परिचर्चा गर्नका लागि अक्षरहरुको प्रयोग गरिनुपर्दछ । उनीहरुले किन दुख पाए र यसबाट मुक्ति पाउनका लागि के गर्न सकिन्छ भन्ने बारेमा पनि अक्षरहरुले बोल्न सक्नुपर्दछ । यस्ता कार्यहरुमा परिवारका साक्षर सदस्यहरुलाई निरक्षर वा असाक्षर सदस्यलाई साक्षर बनाउनका लागि प्रोत्साहित गर्नुृपर्दछ । शैक्षिक बेरोजगारहरुलाई साक्षर अभियानमा परिचालन गरिनुपर्दछ । सारमा साक्षरतालाई मानिसहरुको जीवन बदल्ने गरी कार्यमुलक बनाउनुपर्दछ ।

यो पङ्तिकारले जीवन जिउने क्रममा धेरै कर्णालीबासीहरुको जीवनलाई नजीकबाट नियाल्ने अवसर पाएको छ । एउटी चौध पन्ध्र वर्षकी किशोरीले काखमा दुधे नानी र पिठ्यूमा घाँसको भारी बोकेर उकालो ओरालो हिडिरहेको पनि देखेको छ । महिनावारी भएपछि छाउगोठमा अमानवीय किसिमले जीवन विताएका महिलाहरु देखेको छ । एउटा कुखुराको मूल्य कति हो भनेर सोध्दा घरमालिकलाई सोध्नुपर्छ भन्ने महिलालाई पनि देखेको छ । खुला दिशामुक्त अभियानमा निर्माण गरिएका शौचालयलाई दाउरा राख्ने खलियान र सुँगुर बाँध्ने खोर बनाएको पनि देखेको छ । दूषित खानेकुरा र पानीका कारण झाडापखाला लागेका मानिसहरुलाई रोगले झन च्याप्छ भनेर पानी र झोलिलो खानेकुरा खान नदिएको र उपचारका लागि धामीझाँक्रीकोमा लिएको पनि देखेको छ । घरघरमा विकास र समुन्नतिका नाममा एनजीओ र आइएनजीओका साइनबोर्ड झुण्डाएको पनि देखेको छ । यतिमात्र नभइ एउटा निरक्षर ब्यक्तिका नाममा उ निरक्षर भइरहदा पनि पटक पटक साक्षर बनाएका अभिलेखहरु पनि देखेको छ । यी अभागी आँखाहरुले यी सवै दृश्यहरु देख्नुको निष्कर्ष यो हो कि हाम्रा विकास र समुन्नतिका कार्यक्रमहरु प्रभावकारी हुन सकिरहेका छैनन् ।

मलाइ त लाग्छ, अक्षरलाई चेतना र अग्रगमनसँग जोडेर लिन सकेको भए यो भन्दा फरक नतीजा आउथ्यो होला जस्तो लाग्छ । शौचालय बनाउनु भन्दा पहिले अक्षरहरुको माध्यमबाट शौचालयको आवश्यकतालाई मान्छेको जीवनसँग जोड्न सकेको भए शौचालयको दुरुपयोग हुने थिएन होला । स्वास्थ्यका कार्यक्रमहरुलाई अक्षरहरुसँग जोडेर अगाडि बढाउन सकेको भएर झाडापखाला लाग्दा मानिसहरु धामीझाँक्रीकोमा जाने थिएनन् होला । अक्षरहरुको माध्यमबाट अधिकार र जिम्मेवारीको कुरा सिकाएको भए कुखुरा बेच्नु पर्दा घरको पुरुष मालिकको खाँचो हुने थिएन होला । अक्षरहरुलाई रुढिबादी परम्पराको विरुद्धमा प्रयोग गर्न सकेको भए महिलामा हुने महिनावारीलाई पाप धर्मसँग जोडेर ब्याख्या हुने थिएन होला । अक्षरहरु मानिसको जीवनसँग जोडिन सकेको भए कर्णाली प्रदेशको विकासका निम्ति स्थापित कतिपय एनजीओ र आइएनजीओहरुले कागजमा मात्र प्रगति बनाएर काम सम्पन्न गर्ने थिएनन् होला । साक्षरताको नाममा आएको बजेट पनि दुरुपयोग हुने थिएन होला । अक्षरहरुलाई जीवनसँग जोड्न सकेको भए यस्तै यस्तै लगायतका सुधार र समुन्नतिका सवालमा कर्णाली प्रदेशमा थुप्रै सफलताहरु मिल्थ्यो होला जस्तो लाग्छ मलाई ।

भौगोलिक विकटता भनेको विकासको बाधक भन्दा पनि काम गर्न नचाहने अल्छीहरुको बाहना हो । यस्तै भौगोलिक विकटताले गाँजेका विश्वका मुलुकहरुले समुन्नतिको शिखर चुम्न सकेको दुनियाँका अगाडी छर्लङ्ग छ । हामीसँग जनसँख्या कम छ । यो हाम्रो निम्ति अवसर हो । तथापि यसलाई बहानाले पछि पारेको छ । पुरानो कर्णाली अञ्चलका ५ वटा जिल्लाको जनसंख्या चार लाख पनि पुगेको छैन । त्यसमा पनि डोल्पाको जनसंख्या हेर्ने हो भने चालीस हजारभन्दा कम छ । हामी ती जिल्लाहरुलाई समेत साक्षरता अभियानमा समेटेर १५ देखि ६० वर्षको सक्रिय जनसंख्यामध्ये ९५ प्रतिसतलाई पनि साक्षर बनाउन नसकेर पुरानो कर्णालीका कुनै पनि जिल्लालाई साक्षर घोषणा गर्न नसकेको अवस्था छ । यस्तो हुनुमा बजेटको अभाव भन्दा पनि नियत र प्रतिबद्धताको अभाव हो । कर्णालीकै कतिपय उच्च प्रोफाइलका मानिसहरुको नियत नै कर्णालीकोे विकास भन्दा पनि कर्णालीलाई माध्यम बनाएर आफ्नो ब्यक्तिगत विकास गर्नेमा केन्द्रित रहेको देखिन्छ । कमाउन कर्णाली जाने तर लगानी अन्यत्र गर्ने प्रबृत्तिको शिकार कर्णाली इतिहासदेखि हुदै आइरहेको छ । कर्णालीको सुविधा लिएर अध्ययन गरेका डाक्टर र इञ्जिनियरहरु कर्णालीमा गएर काम गरेको अभिलेख भेटाउन गाहे छ । अनि कसरी हुन्छ कर्णालीको विकास ?

म त भन्छु, नियत राम्रो बनाएर काम गरौं । कर्णालीले धेरैलाई धेरै दिएको छ अव कर्णालीलाई के दिने भन्ने बारेमा सोचौं । पूरै शरीर नुहाउनका लागि पानी टाउकोबाट खन्याए जस्तै पवित्र नियत बनाउने कुरा तलबाट भन्दा पनि माथिबाट सुरुआत गरौं । नरेन्द्र मोदीले ठूला नोटहरु सिज गर्दा उनकी चौरानब्बे वर्षकी आमा नोट साट्नका लागि लाइनमा उभिएको र अब्दुल कलाम राष्ट्रपति हुँदा उनका दाइले आफ्नो जुत्ता सिउने पसल सञ्चालन गरेको कुरालाई आत्मसात गरेर आफू सत्तामा भएपछि आफन्तहरुका निम्ति मात्रै सोच्ने नियतको अन्त गरौं । अमेरिकाका पूर्व राष्ट्रपति बाराक ओवामाले आफ्नी छोरीलाई पढाउनका लागि आफूले होटेलमा काम गरेको कुरा पनि नविर्सौ । विकास बचनले भन्दा पनि कर्मले हुन्छ । हाम्रो कर्ममा इमान्दारिता, नैतिकता र प्रतिबद्धता भयो भने कर्णाली प्रदेशका पन्ध्र लाखको हाराहारीको जनसंख्यालाई मानव विकासको सूचिमा अग्रस्थानमा ल्याउन सकिन्छ भन्ने कुरामा द्विविधा देखिदैन । यसका लागि समुन्नतिको न्वारान कर्णालीको ‘क’ चिनाउदै गर्नुपर्दछ र यो ‘क’ भित्र कर्णालीका मानिसलाई समुन्नतिका लागि सक्रिय बनाउने ताकत हुन्छ भन्ने कुरालाई कहिल्यै विर्सनु हुदैन । सवैलाई चेतना भया ।

२०७५ जेठ २८ गते प्रकाशित

    फेसबुक ट्वीटर

    तपाईं हामीसँग  फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

प्रतिकृया दिनुहोस्

खाली एड