आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

निलम्बित सांसद रौनियार बाबु-छोरालाई भ्रष्टाचार मुद्दामा सात करोड जरिवाना

प्रकाशित
569
SHARES

काठमाडौ।  विशेष अदालतले प्रतिनिधि सभाका निलम्बित सांसद हरिनारायणप्रसाद साह रौनियारलाई भ्रष्टाचार मुद्दामा दोषी पाएको छ। उनीसहित छोरा सुमितलाई ७ करोड २४ लाख ५९ हजार ६३४ रूपैयाँ जरिवाना गरेको विशेष अदालतका शाखा अधिकृत यज्ञराज रेग्मीले जानकारी दिए।

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले २०७५ असोज १९ मा रौनियार बाबुछोरासहित १२ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो। रौनियारको पप्पु कन्स्ट्रक्सनले बर्दियाको सदरमुकाम गुलरियालाई बारबर्दिया नगरपालिकासँग जोड्ने जब्दीघाटको बबई पुल निर्माणमा गुणस्तरहीन सामग्रीको प्रयोग गरेकोले पुल बनिनसक्दै भत्किएको भन्दै अख्तियारले मुद्दा चलाएको थियो ।

अख्तियारले नेपाल सरकारलाई प्रत्यक्ष हानी नोक्सानी पुर्‍याउने कार्य गरेको भन्दै रौनियार बाबु छोरालाई जनही १९ करोड ३२ लाख २५ हजार ६९५ विगो कायम गरेर मुद्दा चलाएको थियो । त्यस्तै विशेष अदालतले डिभिजन सडक कार्यालय, नेपालगञ्जमा विभिन्न समयमा प्रमुख रहेका भानु जोशी (बिगो करिब २ करोड), मनोज श्रेष्ठ (बिगो करिब ९ करोड) र राजेशकुमार यादव (बिगो करिब चार करोड) लाई पनि दोषी ठहर गरेको छ ।

विशेष अदालतका अध्यक्ष श्रीकान्त पौडेल तथा सदस्यहरू यमुना भट्टराई र शालिग्राम कोइरालाको इजलासले तीनै जनालाई जनही ८ महिना कैद र २५ हजार जरिवाना हुने फैसला गरेको छ। त्यस्तै तत्कालीन समयमा डिभिजन सडक कार्यालय, नेपालगञ्जका इन्जिनियरद्वय नवराज केसी (बिगो करिब सात करोड) र हरिबहादुर खड्का (बिगो करिब साढे सात करोड) लाई ५ महिना कैद र २० हजार जरिवाना हुने फैसला गरेको छ।

विशेष अदालतले सव इन्जिनियर कार्मा तेन्जिङ तामाङ (बिगो करिब १५ करोड) लाई चार महिना कैद र १५ हजार जरिवाना हुने फैसला गरेको छ ।अख्तियार दुरूपयोग अनुसन्धान आयोगले १२ जनाका विरुद्ध भ्रष्टाचार मुद्दा चलाएकोमा चार जनालाई सफाइ दिएको छ। डिभिजन सडक कार्यालयका इन्जिनियरद्वय दीपेन्द्रबहादुर विष्ट र प्रेमबहादुर चुवाई, सब इन्जिनियर गोविन्द गैह्रे र एभरेष्ट इन्जिनियरिङ कन्सलट्यान्टका प्रोपराइटर कृष्णदेव यादवले सफाइ पाएका छन्।

भ्रष्टाचार मुद्दामा दोषी ठहर भएपछि निलम्विन सांसद रौनियार प्रतिनिधिसभा सदस्यबाट पदमुक्त भएका छन्। यद्यपि सभामुखले उक्त सूचना प्रकाशन गर्न बाँकी नै छ। रौनियार २०७४ को प्रतिनिधिसभा निर्वाचनमा पर्सा निर्वाचन क्षेत्र नं. ३ बाट तत्कालीन संघीय समाजवादी फोरमबाट निर्वाचित भएका थिए।

प्रतिक्रिया

आजको ट्रेन्डिङ