आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

नेपाल–भारत सुरक्षा बैठक सम्पन्न, निर्वाचनमा नाका शील गर्ने, सीमामा सुरक्षा उपस्थिति बढाउने

प्रकाशित
475
SHARES

विराटनगर। नेपाल र भारतका सुरक्षा अधिकारीको संयुक्त बैठक मोरङको सुन्दरहरैँचा नगरपालिकाको विराटचोकमा सम्पन्न भएको छ।वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनलाई लक्षित गरेर दुई देशीय सुरक्षा अधिकारीको बैठक बसेको हो।

बिहीबार राति सम्पन्न बैठकमा नेपालको मोरङ र सुनसरी तथा भारतको अररिया जिल्लाका सुरक्षा अधिकारी सहभागी थिए।बैठकमा नेपालका तर्फबाट मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहाल, प्रहरी प्रमुख एसपी शान्तिराज कोइराला, सशस्त्र प्रहरी प्रमुख एसपी राजकुमार लामिछाने, राष्ट्रिय अनुसन्धानका प्रमुख बासु सिग्देल,

सहायक प्रमुख जिल्ला अधिकारीहरु शरदकुमार पोखरेल र महेशराज तिम्सिना तथा सुनसरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादव, प्रहरी प्रमुख एसपी सञ्जयसिंह थापा, सशस्त्र प्रहरी प्रमुख एसपी विक्रम हुमागाईं र राष्ट्रिय अनुसन्धानका प्रमुख कुलचन्द्र नेपाल सहभागी थिए।

भारतका तर्फबाट अररिया जिल्लाका डिएम डिस्ट्रिक मजिस्टेट प्रशान्त कुमार, वीरगन्जस्थित भारतीय राजदूतावासको सम्पर्क कार्यालयका प्रमुख नितेश कुमार लगायत १३ जना भारतीय सुरक्षा अधिकारीहरु बैठकमा सहभागी भए।

मोरङका प्रजिअ दाहालले स्थानीय निर्वाचनको ७२ घण्टाअघि दुई देशीय सीमा नाका शील गर्ने, सीमा क्षेत्रमा दुवै देशका सुरक्षाकर्मीले संयुक्त गस्ती गर्ने तथा सुरक्षा उपस्थिति बढाउने, आपसी समन्वयबाट लागुऔषध एवं हतियारको ओसारपसार नियन्त्रणमा लिने, सूचना आदानप्रदान गरेर अपराधिक गतिविधि नियन्त्रणमा लिने सहमति बैठकमा भएको जानकारी दिए।

त्यस्तै निर्वाचनको समाचार प्रसारण र प्रकासनका लागि भारतीय सञ्चार माध्यमलाई सहज बनाउन निर्वाचन आयोगसँग सहजीकरण गर्ने तथा वर्षा र बाढीका समयमा सूचना आदानप्रदान गर्दै समन्वयात्मक हिसाबमा काम गर्ने लगायतका विषयमा बैठकमा छलफल भएको उनले बताए।

उनका अनुसार वैशाख २७ गते राति १२ बजेदेखि मतदान सम्पन्न नभएसम्म नेपाल–भारत सीमा नाका शील गरिने छ। सवारीसाधन र मानिसको आवतजावतमा पूर्ण रूपमा रोक लगाउँदै नाका शील गरिने उनको भनाइ छ।

बैठकमा नेपालका सुरक्षा अधिकारीले सीमा क्षेत्रमा भारतीय सुरक्षाकर्मीको उपस्थिति बढाउन, गैरकानुनी गतिविधि रोक्न, निर्वाचनका बेला आकस्मिक समस्यामा परेकालाई आपसी समन्वयमा सहजीकरण गरिदिन र भारतबाट नेपालतिर हुने लागुऔषधको ओसारपसार नियन्त्रणमा सहयोग गर्न आग्रह गरेका छन्।

भारतीय अधिकारीले पनि सिमावर्ती क्षेत्रमा मदिरामा कडाइ गर्न नेपाली सुरक्षा अधिकारीलाई आग्रह गरेका थिए।

प्रतिक्रिया

आजको ट्रेन्डिङ