काठमाडौं। निर्वाचन आयोगले आचारसंहिता उल्लंघन गर्ने ३७ राजनीतिक दल र व्यक्तिलाई २४ घण्टे स्पष्टीकरण सोधेको छ। सो क्रममा सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टलाई आयोगले लिखित जवाफ पेश गर्न भनेको छ।
कैलालीको कैलारी गाउँपालिका–७ विपतपुरका अग्निपीडित मुक्तकमैया बस्तीको स्थलगत निरीक्षणका क्रममा पीडित परिवारलाई तत्कालका लागि प्रतिपरिवार रु ५० हजारका दरले राहत दिने प्रक्रिया अगाडि बढेको भनी मुख्यमन्त्री भट्टले अभिव्यक्ति दिएको जानकारी आयोगमा प्राप्त भएकाले निर्वाचन आचारसंहिता, २०७८ को व्यवस्थाअनुसार उनलाई आयोगले २४ घण्टाभित्र लिखित जवाफ पेश गर्न अनुरोध गरेको छ।
निर्वाचन पर्यवेक्षण समिति, नेपालका अध्यक्ष प्रदीप पोखरेललाई निर्वाचन आचारसंहिता, २०७८ प्रतिकूल हुनेगरी अभिव्यक्ति दिएकाले २४ घण्टाभित्र लिखित स्पष्टीकरण दिन आयोगले निर्देशन दिएको छ।
पोखरेलले निर्वाचन आयोग, माननीय आयुक्त, आयोगबाट जारी भएको निर्वाचन आचारसंहिता, २०७८ र म्यादी प्रहरीलाई लाञ्छना लगाउने अभिव्यक्ति दिएका थिए।
रौतहटको दुर्गा भगवती गाउँपालिका-५ का अध्यक्ष धर्मनाथ चौधरीले निर्वाचन आचारसंहिता, २०७८ विपरीत मतदातालाई प्रभाव पार्ने गरी गतिविधि गरेकाले चौबीस घण्टाभित्र स्पष्टीकरण पेश गर्न भनिएको छ।
उम्मेदवार चौधरीले एक महिलालाई रु दुई हजार नगद दिएको तथा अर्को मानिसलाई पाइप दिएकोसमेत व्यहोराको निवेदन आयोगलाई वैशाख २० गते प्राप्त भएको थियो।
नेकपा (एमाले)का तर्फबाट काठमाडौं महानगरपालिकाको प्रमुख पदका उम्मेदवार केशव स्थापितले सोही महानगरमा प्रतिस्पर्धी उम्मेदवार रहेका बालेन साहका विषयमा अभिव्यक्ति दिएको जानकारी प्राप्त भएकाले निर्वाचन आचारसंहिता, २०७८ अनुकूल नभएकाले सो विषयमा आधार कारणसहित चौबीस घण्टाभित्र स्पष्टीकरण पेश गर्न आयोगले निर्देशन दिएको छ।
यस्तै सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका-१० का वडाध्यक्ष पदका उम्मेदवार अमृत खनालले मतदाताको पाउमा हजारको नोट राखेर भोट माग्दै गरेको तस्बिरसहितको समाचार विभिन्न सञ्चारमाध्यम र सामाजिक सञ्जालमार्फत् जानकारीमा आएकाले निर्वाचन आयोग ऐन, २०७३ को दफा २३ बमोजिम किन कारवाही नगर्ने हो भनेर चौबीस घण्टाभित्र आधार प्रमाणसहित स्पष्टीकरण पेश गर्न आयोगले निर्देशन दिएको छ।
बागमती प्रदेशका सामाजिक विकासमन्त्री कुमारी मोक्तानले स्थानीय तह निर्वाचनमा उम्मेदवारको प्रचारप्रसारमा निरन्तर खटिएको भन्ने फोटोसहितको समाचार विभिन्न सञ्चारमाध्यम र सामाजिक सञ्जालबाट जानकारीमा आएकाले सो कार्य निर्वाचन आचारसंहिता, २०७८ विपरीतकोे देखिएकाले चौबीस घण्टाभित्र स्पष्टीकरण पेश गर्न आयोगले आदेश दिएको छ।
रुपन्देहीको तिलोत्तमा नगरपालिकाका नगरप्रमुख वासुदेव घिमिरे नेपाल कम्युनिष्ट पार्टी एमालेको उम्मेदवारको प्रचारप्रसारमा खटिएको भन्ने फोटोसहितको समाचार विभिन्न सञ्चारमाध्यम र सामाजिक सञ्जालबाट जानकारी हुन आएकाले आयोगले निर्वाचन आचारसंहिता, २०७८ विपरीतको कार्य केकति कारणले गरेको हो भनी आयोगले चौबीस घण्टाभित्र आधार प्रमाणसहित स्पष्टीकरण दिन भनेको छ।
प्रतिक्रिया