आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

निर्वाचनको ४८ घन्टा अगाडि अन्तर्राष्ट्रिय सीमा नाका बन्द र २७ गतेबाट मदिरा निषेध गर्न निर्देशन

प्रकाशित
472
SHARES

काठमाडौँ । निर्वाचन आयोगले वैशाख ३० गते हुने स्थानीय तह सदस्य निर्वाचन, २०७९ को व्यवस्थापकीय कार्यलाई थप स्वच्छ, स्वतन्त्र, निष्पक्ष, सुरक्षित र भयरहित वातावरणमा सम्पन्न गराउन मतदानको दिनको ४८ घन्टा अगाडिदेखि मतदानको कार्य सम्पन्न नभएसम्मका लागि सबै अन्तर्राष्ट्रिय सीमाबाट हुने आवतजावत बन्द गर्न नेपाल सरकारलाई लेखी पठाएको छ ।

आयोगको बिहीबारको बैठकले वैशाख २७ गते मङ्गलबार राति १२ बजेदेखि अन्तर्राष्ट्रिय सीमाबाट हुने आवतजावत बन्द गर्न र मतदान हुने दिन आन्तरिकरूपमा सञ्चालन हुने सबै प्रकारका यातायात बन्द गर्न नेपाल सरकार गृह मन्त्रालयलाई लेखी पठाउने निर्णय गरेको हो ।

मादक पदार्थ निषेधलाई प्रभावकारी बनाइने यसैगरी स्थानीय तह निर्वाचन निर्देशिका, २०७८ को दफा ७१ (मादक पदार्थ निषेध गर्ने) मा भएको व्यवस्थाको प्रभावकारी कार्यान्वयनका लागि वैशाख २७ गते राति १२ बजेदेखि मतदानको कार्य सम्पन्न नभएसम्मका लागि तोकिएको क्षेत्रमा मादक पदार्थको बिक्री वितरण र सेवन सख्त निषेध गर्न गृह मन्त्रालयलाई लेखी पठाउने पनि आयोगले निर्णय गरेको छ ।

यस्तै निर्वाचनका लागि आज सबै जिल्लामा मतपत्र ढुवानी भइसक्ने निर्वाचन आयोगले जनाएको छ । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार मधेस प्रदेशका जिल्ला बाहेक सबै जिल्लामा मतपत्र ढुवानी भइसकेको छ ।

आयोगले निर्वाचनका लागि (जनशक्ति व्यवस्थापन) निर्देशिका, २०७८ बमोजिम खटिने मतदान अधिकृत, सहायक मतदान अधिकृत, सहायक कर्मचारी र मतगणना कर्मचारीलाई अति जरुरी, मानवीय र संवेदशील कारण परेको अवस्थामा बाहेक खटाइएको कर्मचारीलाई तोकिएको ठाउँमा खटिन आयोगले निर्देश गरेको छ ।

उपयुक्त कारण परेको अवस्थामा बाहेक कुनै पनि कर्मचारीले निर्वाचनको काममा खटिन इन्कार गरेमा प्रचलित कानुन बमोजिम कडा कारवाही गर्न सबै मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतलाई आयोगले निर्देशन दिएको छ ।

मतदान कार्यका लागि खटिएका कर्मचारीलाई अनिवार्य रूपमा आफू खटिएको ठाउँमा अविलम्ब जान र आफूलाई तोकिएको जिम्मेवारी पूरा गर्न आयोगले आदेश गरेको छ ।

प्रतिक्रिया

आजको ट्रेन्डिङ