आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

कांग्रेस पार्टी कार्यालयमा तोडफोड, प्रधानमन्त्री देउवा बिरुद्द उजुरी दर्ता

प्रकाशित
6.4K
SHARES

चितवन। चितवनको रत्ननगरमा सत्ता गठबन्धनले भागबन्डा मिलाउन वडाध्यक्ष उम्मेदवारको टिकट खोसेपछि कांग्रेस कार्यकर्ताले पार्टी वडा कार्यालयमा तोडफोड गरेका छन्।

कांग्रेस नगर सचिवसमेत रहेकी वडा नम्बर १२ की उम्मेदवार अनिता अर्यालको टिकट खोसेर माओवादी केन्द्रलाई दिएपछि कांग्रेस कार्यकर्ताहरुले पार्टीको वडा कार्यालय तोडफोड गरेर तालाबन्दी गरेका हुन्।

कांग्रेस कार्यकर्ताहरुले पार्टी कार्यालय तोडफोड गरी कार्यालयमा रहेका कुर्सी-टेबल तथा पार्टीको झण्डा सडकमा फ्याँकेका छन्। कांग्रेसले नगर सचिवसमेत रहेकी अर्याल वडाध्यक्षको उम्मेदवार बनेर चुनाव प्रचारप्रसारको अन्तिम चरणमा पुगेका बेलामा उनको टिकट खोसिएको थियो।

अर्यालको ठाँउमा सत्ता गठबन्धनले माओवादी केन्द्रका सुन्दरमणि सुवेदीलाई उम्मेदवार बनाउने निर्णय गरेपछि कांग्रेसका कार्यकर्ताहरु आक्रोशित बनेका हुन्।

सो वडामा गठबन्धनको निर्णय नमान्ने र अर्यालको नेतृत्वमा चुनावी प्रचारमा जाने निर्णय समेत कांग्रेसको वडा समितिले गरेको छ। रत्ननगरमा माओवादी केन्द्रले मेयर उपमेयर पद नपाएको भन्दै असन्तुष्ट बनेको थियो। वडाका सबै पदमा माओवादीले उम्मेदवारी दिएको छ।

त्यस्तै, प्रधानमन्त्री शेरबहादुर देउवाविरुद्ध मुख्य निर्वाचन अधिकृतको कार्यालय भरतपुरमा उजुरी परेको छ। नेपाली कांग्रेसका सभापतिसमेत रहेका देउवाले निर्वाचन आचारसंहिता उल्लंघन गर्दै चुनावी सभामा सहभागी हुन भरतपुर आउन लागेको भन्दै उजुरी परेको हो।

गठबन्धनले बिहीबार भरतपुरमा आयोजना गर्न लागेको चुनावी सभामा सहभागी हुन देउवा बुधबार चितवन आउँदै छन्। देउवाविरुद्ध अधिवक्ता सुनिता अधिकारीले उजुरी दिएकी हुन्।

आचारसंहिताको विषयमा एउटा लिखित उजुरी परेको मुख्य निर्वाचन अधिकृतको कार्यालय भरतपुरका सूचना अधिकारी पुरुषोत्तम पौडेलले पुष्टि गरे। भोलि हुने आमसभाको विषय जोडेर आज एउटा लिखित उजुरी परेको छ, उनले भने।

यो विषयमा निर्वाचन आयोगलाइ जानकारी गराइएको र पत्राचार गर्ने तयारी पनि भइरहेको उनले बताए। त्यस्तै, बुधबार जिल्ला आचारसंहिता अनुगमन समिति र स्थानीय आचारसंहिता अनुगमन समितीको बैठक बसेर आचारसंहिता पालनाका लागि सुरक्षा निकायलाइ पनि पत्राचार गर्न लागिएको उनले बताए।

निर्वाचन आचार संहिता २०७८ को दफा ५ ले निर्वाचनमा आफै उम्मेदवार भएका अवस्थामा बाहेक नेपाल सरकार, प्रदेश सरकारका मन्त्रीले कुनै राजनीतिक दल वा उम्मेद्वारको पक्ष विपक्षमा प्रचार प्रसारमा खेल्न हुन वा प्रचार प्रसार गर्न नहुने स्पष्ट व्यवस्था गरेको छ।

तर, प्रधानमन्त्रीले नेताको मात्र हैसियतमा सरकारी सम्पत्तिको प्रयोग नगरी प्रचारप्रसारमा सहभागी हुन पाउने आयोगका अधिकारी बताउँछन्।

आचारसंहिताविपरीत हुन लागेको कार्यक्रम र प्रधानमन्त्रीको आगमन स्थगित गर्न र आचारसंहिताविपरीतको कार्य भएमा सजाय गर्नका लागि पनि अधिवक्ता अधिकारीले माग गरेकी छन्।

२२ वैशाखका दिन नेपाली कांग्रेस, माओवादीसमेतका गठबन्धनका उम्मेद्वारको पक्षमा शेरबहादुर देउवालगायत नेपाल सरकार तथा प्रदेश सरकारको मन्त्रीहरू सहभागी हुने कुरा राष्ट्रिय समाचार पत्रिकामा प्रकाशित भएको हुँदा,

आचारसंहिताविपरीत हुन लागेको कार्यक्रम स्थगित गरी पाउँ र आचारसंहिताविपरीत कार्य भएमा सजाय समेत गरी पाऊँ,’ उजुरीमा भनिएको छ। त्यस्तै,पुर्वी नवलपरासीको हुप्सेकोट गाउँपालिकामा नेपाली कांग्रेस र नेकपा एमालेका कार्यकर्ताबीच दोहोरो झडप भएको छ।

जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी उपरीक्षक प्रकाश मल्लले गएराति हुप्सेकोटमा कांग्रेस र एमालेका कार्यकर्ताबीच झडप भएको र प्रहरीले राति नै तितरबितर पारेर घटना साम्य पारेको बताए ।झडपमा परी दुवैतर्फका गरी ६ जना घाइते भएको बताइएको छ ।

नेपाली कांग्रेस नवलपुरका उपसभापति बालकृष्ण घिमिरेले हुप्सेकोट गाउँपालिका अध्यक्षका उमेदवार लक्ष्मी पाण्डे चढेको भाडाको गाडी ग.३च १६०६ नम्बरको स्कार्पियो र लक्ष्मी पाण्डेमाथि सांघातिक हमला भएको बताए ।

यता नेकपा एमाले हुप्सेकोट गाउँपालिका उम्मेदवार चेतन रानाले भने लक्ष्मी पाण्डेमाथि कुनै आक्रमण नभएको र उनले निर्वाचन बिथोल्नका लागि झुटो प्रचार गरेको बताए।

रानाका अनुसार चुनावी प्रचारबाट एक्लै घर फर्कँदै गरेका मनोज गुरुङलाई लक्ष्मी पाण्डेसहित रहेको टोलीले आक्रमण गरेर घाइते बनाएपछि राति दोहोरो झडप भएको हो।

आक्रमणमा परी कांग्रेसका कार्यकर्ता प्रिन्स मल्ल, जीवन मल्ललगायतका घाइते भएका छन् भने एमालेका मनोज गुरुङ, हरि केसी र चुडाबहादुर शेरपुन्जा मगर घाइते भएका छन् । उनीहरूको मध्यबिन्दु जिल्ला अस्पतालमा उपचार भइरहेको छ।

 

प्रतिक्रिया