आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

कञ्चनपुरमा माओवादी कार्यकर्ताबाट एमाले कार्यकर्ता कुटिए

प्रकाशित
2.4K
SHARES

महेन्द्रनगर। कञ्चनपुरमा नेकपा माओवादी केन्द्रका कार्यकर्ताबाट नेकपा एमालेका कार्यकर्ता कुटिएका छन्। रामधुलाई गरेपछि २ जनाको अवस्था गम्भीर बनेको छ।

भीमदत्त नगरपालिका–१९ बागफाँटामा एमालेका स्थानीय कार्यकर्ता अञ्जु चौधरी र राजेन्द्रप्रसाद अवस्थी कुटिएका एमालेको कञ्चनपुर जिल्ला कमिटीका उपसचिव कर्णबहादुर चन्दले बताए।

उनका अनुसार अञ्जुको टाउको र छातीमा चोट लागेको छ भने अवस्थीको पनि छातीमा चोट लागेको छ। नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले बुधबार बागफाँटामा संयुक्त र्‍याली निकालेको थियो।

एमालेको चुनाव प्रचार प्रसार गरिरहेका थियौं, गौरादेवी मन्दिरमा गठबन्धनका नेता कार्यकर्तासँग भेट भयो, घाइते अवस्थीले भने, उनीहरुलाई देखेर हामीहरुले माइकिङ बन्द गरेका थियौं, अञ्जुको खुट्टा लागेर माइक ‘अन’ भयो।

त्यसपछि उनीहरु कुटपिटमा उत्रिए। माओवादी केन्द्रका वीरेन्द्र चन्द र रघुवीर धामीलगायतको समुहले कुटपिट गरेको भन्दै एमालेले प्रहरीमा उजुरी दिएको एमालेका जिल्ला उपसचिव कर्णबहादुर चन्दले बताए।

उनले भने ‘कुटपिट गर्नेहरुलाई कारबाहीको माग गर्दै निवदेन दिएका छौं, घाइतेहरुलाई महाकाली अस्पतालमा भर्ना गरेका छौं, उनले भने।

बागफाँटा प्रहरी चौकीका इन्चार्ज वीरेन्द्र पुजराले एमाले र माओवादी कार्यकर्ताबीच सामान्य विवाद भएको बताए। आज बागफाँटामा माओवादीको र्‍याली थियो, त्यो र्‍यालीमा एमालेका कार्यकर्ता पुगेछन्।

उनले भने, हाम्रो र्‍यालीमा किन आएको भनेपछि विवाद भएको रहेछ ।’घटनाको विषयमा दुबै पक्षबाट उजुरी आएको भन्दै उनले बोलाएर छलफल गर्ने बताए।

त्यस्तै, म्यादी प्रहरीबारे गलत सन्देश जाने गरी भिडियो बनाएर अपलोड गरेको अभियोगमा एक युवक पक्राउ परेका छन्।

जिल्ला प्रहरी कार्यालय, कपिलवस्तुले फेसबुक र टिकटकमा भाइरल भिडियोमा देखिएका युवक वाणगंगा नगरपालिकाका १६ वर्षीय नवराज रेग्मीलाई पक्राउ गरेको हो।

भिडियोमा म्यादी प्रहरीको पोशाकमा देखिएका उनले ‘आफू मिदीमा भर्ना भएको’ भन्दै जे गरे पनि कसैले केही गर्न नसक्ने बताएका थिए। उनले बनाएको रमाइलो भिडियो सयौंले शेयर गरेका थिए।

भाइरल भएपछि अनुसन्धान थालेको प्रहरीले रेग्मीलाई पक्राउ गरेर हिरासतमा राखेको कपिलवस्तुका एसपी दानबहादुर कार्कीले बताए। उनका अनुसार प्रहरी पोशाकको दुरुपयोग र सार्वजनिकरुपमा गाँजा खाने र खुवाउने कुरा गरेपछि पक्राउ गरिएको हो।

त्यस्तै, प्रधानमन्त्री शेरबहादुर देउवाविरुद्ध मुख्य निर्वाचन अधिकृतको कार्यालय भरतपुरमा उजुरी परेको छ। नेपाली कांग्रेसका सभापतिसमेत रहेका देउवाले निर्वाचन आचारसंहिता उल्लंघन गर्दै चुनावी सभामा सहभागी हुन भरतपुर आउन लागेको भन्दै उजुरी परेको हो।

गठबन्धनले बिहीबार भरतपुरमा आयोजना गर्न लागेको चुनावी सभामा सहभागी हुन देउवा बुधबार चितवन आउँदै छन्। देउवाविरुद्ध अधिवक्ता सुनिता अधिकारीले उजुरी दिएकी हुन्।

आचारसंहिताको विषयमा एउटा लिखित उजुरी परेको मुख्य निर्वाचन अधिकृतको कार्यालय भरतपुरका सूचना अधिकारी पुरुषोत्तम पौडेलले पुष्टि गरे। भोलि हुने आमसभाको विषय जोडेर आज एउटा लिखित उजुरी परेको छ।

उनले भने। यो विषयमा निर्वाचन आयोगलाइ जानकारी गराइएको र पत्राचार गर्ने तयारी पनि भइरहेको उनले बताए। त्यस्तै, बुधबार जिल्ला आचारसंहिता अनुगमन समिति र स्थानीय आचारसंहिता अनुगमन समितीको बैठक बसेर आचारसंहिता पालनाका लागि सुरक्षा निकायलाइ पनि पत्राचार गर्न लागिएको उनले बताए।

निर्वाचन आचार संहिता २०७८ को दफा ५ ले निर्वाचनमा आफै उम्मेदवार भएका अवस्थामा बाहेक नेपाल सरकार, प्रदेश सरकारका मन्त्रीले कुनै राजनीतिक दल वा उम्मेद्वारको पक्ष विपक्षमा प्रचार प्रसारमा खेल्न हुन वा प्रचार प्रसार गर्न नहुने स्पष्ट व्यवस्था गरेको छ।

तर, प्रधानमन्त्रीले नेताको मात्र हैसियतमा सरकारी सम्पत्तिको प्रयोग नगरी प्रचारप्रसारमा सहभागी हुन पाउने आयोगका अधिकारी बताउँछन्। आचारसंहिताविपरीत हुन लागेको कार्यक्रम र प्रधानमन्त्रीको आगमन स्थगित गर्न र आचारसंहिताविपरीतको कार्य भएमा सजाय गर्नका लागि पनि अधिवक्ता अधिकारीले माग गरेकी छन्।

२२ वैशाखका दिन नेपाली कांग्रेस, माओवादीसमेतका गठबन्धनका उम्मेद्वारको पक्षमा शेरबहादुर देउवालगायत नेपाल सरकार तथा प्रदेश सरकारको मन्त्रीहरू सहभागी हुने कुरा राष्ट्रिय समाचार पत्रिकामा प्रकाशित भएको हुँदा,

आचारसंहिताविपरीत हुन लागेको कार्यक्रम स्थगित गरी पाउँ र आचारसंहिताविपरीत कार्य भएमा सजाय समेत गरी पाऊँ,उजुरीमा भनिएको छ।

प्रतिक्रिया

आजको ट्रेन्डिङ