आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

अमेरिकाले युक्रेनलाइ बचाउनुको भित्रि रहस्य छताछुल्ल

प्रकाशित
3.5K
SHARES

काठमाडौँ। अमेरिकी टेलिभिजन नेटवर्क एनबीसीको रिपोर्टअनुसार अमेरिकाले दिएको गुप्तचर सूचनाका आधारमा युक्रेनले राजधानी किभनजिकै रुसी विमान खसाउँदा एक सयभन्दा बढी रुसी सैनिक मारिएका थिए। अमेरिका र युक्रेनबीच गुप्तचर साझेदारी भएको यो एक मात्र घटना होइन।

यो युक्रेनलाई सघाउने र रुसलाई फसाउने अमेरिकी उदेश्यको एउटा हिस्सा हो।अमेरिकी रक्षामन्त्री लोयड अस्टिनले रुसलाई कमजोर बनाउनु अमेरिकाको उदेश्य भएको बताएका छन्, ताकि रुस अर्को युद्ध लड्न नसकोस्। पछिल्लो पत्रकार सम्मेलनमा अस्टिनले अमेरिकाको चाहना ‘रुसको पूर्ण पराजय’ भएको बताए।

अस्टिनले गम्भीरतापूर्वक यसो भनेका हुन् भने उनले रुससँग त्यही माग गरिरहेका छन्, जुन माग मित्रशक्तिले नाजी जर्मनीसँग गरेका थिए– निसर्त आत्मसमर्पण। युक्रेन युद्धको नतिजा के होला, यतिखेर कसैले पनि अनुमान गर्न सक्दैन। पछिल्लो सूचनाअनुसार रुसी सैनिकहरु ठूलो आक्रमणको तयारी गरिरहेका छन्।

युक्रेन द्वन्द्वका एक राम्रा विश्लेषक युनी लारीले अहिले रुसको ध्यान आइज्युम–होर्लिभ्का क्षेत्रमा रहेको बताएका छन्। अनुभवी सैन्य अधिकृत लारी युरोपेली संघको एक्स्टर्नल एक्सन सर्भिसका सुरक्षा सल्लाहकार हुन्। उनी लेख्छन्, ‘या त दोनेस्कमा वा वेलिका नोभोसिल्कामा आक्रमणको बलियो तयारी हुँदैछ।’ रुसीहरुले समय लिएर सेनालाई होसियारीपूर्वक संगठित गरिरहेको देखिन्छ। आफ्नो सबै चाल अमेरिकी स्याटलाइट र गुप्तचरहरुले पिछा गरिरहेको पनि उनीहरुलाई थाहा छ।

तर, रुसीहरुले निकै ठूलो क्षति पनि बेहोरिरहेका छन्। र, आफूहरु युक्रेनसँग मात्र होइन, नेटोसँगै युद्ध लडिरहेकोमा उनीहरु विश्वस्त छन्। कतिसम्म भने रुसी विदेशमन्त्री सेर्गेइ लाभ्रोवले आणविक युद्धको खतरालाई ‘कम आँक्न नहुने’ र साँच्चैको खतरा रहेको समेत बताएका छन्।

केही सातायता युक्रेन युद्धको नतिजा उल्टो आउँदै गए रुसले आणविक हतियार प्रयोग गर्न सक्ने चेतावनी अमेरिकाले पनि दिइरहेको छ। अर्कोतिर, नेटोले पूर्वी युरोपमा आणविक हतियार ल्याउन लागेको आरोप रुसले लगाइरहेको छ।रुस खासगरी पोल्यान्ड र रोमानियामा तैनाथ एजिस–असोर क्षेप्यास्त्र प्रतिरोधी प्रणालीसँग चिन्तित देखिन्छ।

यसले एमके–४१ नामक लन्चिङ सिस्टम प्रयोग गर्छ। एमके–४१ ले क्षेप्यास्त्र रोक्न प्रहार गरिने क्षेप्यास्त्रहरु प्रक्षेपण गर्छ। तर, त्यही एमके–४१ ले तोमाहक क्रुज क्षेप्यास्त्र पनि प्रहार गर्न मिल्छ। लामो दुरीमा प्रहार गर्न मिल्ने तोमाहक सबसोनिक क्षेप्यास्त्र हो, जुन सुरुमा सोभियत हवाई प्रतिरक्षा प्रणालीलाई भेद्न डिजाइन गरिएको थियो।

तोमाहकले पहिले डब्ल्यू–८० नामक आणविक बम पनि विस्फोट गर्ने गर्थ्यो। जुन बमको ५ देखि १५० किलोटनसम्मको हुन्थ्यो। तुलनात्मक रुपमा हेर्दा हिरोसिमामा विस्फोट भएको आणविक बम १३ देखि १८ किलोटनबीचको थियो। २०१० देखि २०१८ सम्म यी बमलाई तैनाथीबाट हटाइएको थियो। तथापि पछि फिर्ता गरेर तिनलाई भण्डारमा राखिएको छ।

यी आणविक हतियारले तोमाहक क्षेप्यास्त्रलाई सुसज्जित गर्ने योजना अमेरिकाले बनाएको कुनै संकेत देखिँदैन। त्यस्तै तोमाहक क्षेप्यास्त्र वा कुनै आणविक हतियार पोल्यान्ड र रोमानिया पठाउने योजना पनि देखिँदैन।

तर, रुसको नजरमा यससम्बन्धी सूचनाको अभाव नै अमेरिकाले रुसलाई ठूलो जोखिम उत्पन्न गर्न यी हतियार पूर्वी युरोपमा तैनाथ गर्ने योजना बनाइरहेको छ भन्ने कुराको प्रमाण हो। रुसले युक्रेनमा आणविक हतियार प्रहार गर्न लाग्दैछ भन्ने अमेरिकी चेतावनीलाई रुसी गुप्तचर निकायले निश्चय नै अमेरिकाको गलत नियतको प्रमाण मानिरहेको छ।

शीतयुद्धको समयमा अमेरिका र सोभियत संघले धेरैजसो समय आणविक युद्धको खतरालाई टार्न भरमग्दुर प्रयास गरे। सबैभन्दा कुख्यात घटना रह्यो, १९६२ को क्युबा क्षेप्यास्त्र संकट। त्यतिबेला रुसले मध्यम दुरीको आणविक क्षेप्यास्त्र र आणविक हतियार प्रहार गर्न सक्ने आईएल–२८ बमवर्षक विमान क्युबामा तैनाथ गरेको थियो।

अमेरिकाले त्यसलाई सफलतापूर्वक चुनौती दियो र रुसलाई पछि हट्न भन्यो। बदलामा अमेरिकाले गोप्य रुपमा टर्कीबाट आणविक क्षमतायुक्त जुपिटर क्षेप्यास्त्र पनि हटायो। दोस्रो टकराव १९७३ मा अरब–इजरायल युद्धका बेला भयो। जब इजिप्टको सेना पुरै परास्त होलाजस्तो देखियो।

तब सोभियतहरुले आणविक आक्रमण गर्ने शक्ति तम्तयार पार्न थाले। जवाफमा अमेरिकाले आणविक संकटकाल घोषणा गर्यो। त्यसपछि नवनियुक्त अमेरिकी विदेशमन्त्री हेनरी किसिन्जरले अनेक पक्षसँग पुगेर संवादको प्रयास सुरु गरे, जसलाई ‘सटल डिप्लोमेसी’ भन्न थालियो।

यी घटनाको एउटा पाठ हो– आफ्ना आणविक शत्रुसँग संवाद गर र घातक भिडन्त टार। (अहिले जे भइरहेको छ, त्यो देखेर किसिन्जर पक्कै पनि निराश हुनुपर्छ। अमेरिकी रक्षामन्त्री अस्टिन, विदेशमन्त्री एन्टोनी ब्लिंकेन, राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सलिभान वा राष्ट्रपति जो बाइडेनले त्यो पाठ सिकेको देखिँदैन। विगतको अनुभवबाट सिक्नुको सट्टा यी अधिकारीहरु रुसीहरुलाई दुःख दिने र द्वन्द्व झन् चर्काउने प्रयासमा छन्।

यो मामिलाको सबैभन्दा खराब पक्ष त के हो भने यदि अमेरिकाले युक्रेनी राष्ट्रपति भ्लादिमिर जेलेन्स्कीलाई मिन्स्कको दोस्रो सम्झौताअनुसार रुससँग गम्भीरतापूर्वक वार्ता गर्न दबाब दिएको भए युक्रेन युद्ध टार्न सकिन्थ्यो। मिन्स्क सम्झौतामा युक्रेन र त्यसबाट टुक्रिन चाहने दुई गणतन्त्रहरु लुहान्स्क र दोनेस्कले हस्ताक्षर गरेका थिए र त्यसको रेखदेख अर्गनाइजेसन फर सेक्युरिटी एन्ड कोअपरेसन इन युरोप (ओएससीई)ले गरेको थियो।

त्यसको सट्टा अमेरिका र उसको मुखपत्र नेटो महासचिव येन्स स्टोल्टेनवर्गले उल्टो काम गरे। अमेरिका र नेटोले युक्रेनमा युद्धको योजना बनाइरहेका थिए। २०१४ देखि नै रुसको प्रोक्सी बनेका दोनेस्क र लुहान्स्क तथा रुसले नियन्त्रणमा लिएका क्रिमिया फिर्ता गराउन उनीहरुले युक्रेनको सुरक्षा फौजलाई तालिम दिइरहेका थिए।

तालिम र गुप्तचर सूचनाका अलावा अमेरिकाले अमेरिकी नौसेना र बेलायती युद्धपोतहरुलाई युक्रेन पुर्याउने योजना पनि बनाइरहेको थियो, ताकि काला सागर र अजोव सागरमा रुसलाई चुनौती दिन सकियोस्। त्यसैगरी अमेरिकी र बेलायती सैन्य जहाज राख्न मिल्नेगरी युक्रेनी बन्दरगाहलाई बढाउन पनि अमेरिकाले खर्च गरेको थियो।

यी सबै गतिविधि रुसीहरुको नजरबाट लुकेको थिएन। जसले मिन्स्क सम्झौताअनुरुप युक्रेनमा वार्ताबाट समाधान निकाल्ने प्रस्ताव गरेको थियो। त्यस्तै पूर्वी युरोपमा खासगरी आणविक हतियारलाई लिएर नयाँ सुरक्षा ढाँचामाथि छलफल गर्न पनि उसले प्रस्ताव गरेको थियो।

तर, रुसका यी सबै प्रस्तावलाई अमेरिकाले आक्रामक तरिकाले खारेज गरिदियो। नेटोले सबैजसो रुसी प्रतिनिधिमण्डललाई बाहिर निकाल्यो। जवाफमा रुसले सबैलाई फिर्ता बोलायो र मस्कोस्थित नेटोका कार्यालय पनि बन्द गरायो।

व्यवहारिक समाधान खोज्ने र युक्रेनको सम्प्रभुताको रक्षा गर्ने तथा पूर्वी युरोपको सुरक्षा गर्ने खालको सर्तहरु प्रस्ताव गर्नुको सट्टा अमेरिकी नीति पुरै विपरीत दिशातर्फ सोझियो।तसर्थ, युक्रेनमा र फराकिलो रुपमा भन्दा पूर्वी युरोपमा अमेरिकी नीति लापरबाहीको संघारमा छ। दुखद कुरा के छ भने यसविरुद्ध अमेरिकामा आन्तरिक रुपमा कसैले आवाज उठाएको छैन।

दुर्भाग्यवश, अमेरिकामा सबैको ध्यान युक्रेनको विजय र रुसी सेनाको पराजयमा केन्द्रित छ।रुसमा अस्थिरता छाउँदा त्यसले विश्व शान्ति र सुरक्षामा के असर पार्छ भनेर सोच्न कसैले अलिकति पनि समय खर्चेका छैनन्। र, आणविक विनाश नभइकन अमेरिका अधिक समझदार हुने संकेत पनि देखिँदैन। (एसिया टाइम्सबाट)

प्रतिक्रिया

आजको ट्रेन्डिङ