आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

बागी उम्मेदवारी फिर्ता नलिए पार्टीबाट निष्कासित गर्ने कांग्रेसको चेतावनी

प्रकाशित
378
SHARES

काठमाडौं। सत्तारूढ दल नेपाली कांग्रेसले स्थानीय तह निर्वाचनमा बागी उम्मेदवारहरूलाई पार्टीबाट निष्कासन गर्ने चेतावनी दिएको छ।

पार्टी मुख्यसचिव कृष्णप्रसाद पौडेलले शुक्रबार विज्ञप्ति जारी गर्दै विद्रोही उम्मेदवार, निजको प्रस्तावक र समर्थक पार्टीबाट स्वतः निष्कासित हुने चेतावनी दिएका हुन्। बागी उम्मेदवारहरूलाई आज बेलुका ५ बजेभित्र दर्ता गराइएको उम्मेदवारी फिर्ता लिन पनि निर्देशन दिइएको छ।

२०७९ बैशाख ३० गते सम्पन्न हुन गइरहेको स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेस पार्टीका आधिकारिक उम्मेदवारका विरूद्ध पार्टीका कुनै सदस्यले विद्रोही उम्मेदवारी दर्ता गरेरगराएको भए,

निर्वाचन आयोगद्वारा तोकिएको मिति र समय आज वैशाख १६ गते शुक्रबार विहान १० बजेदेखि ५ बजेसम्म उम्मेदवारी फिर्ता लिई पार्टीका आधिकारिक उम्मेदवारलाई विजयी बनाउन सक्रिय भूमिका निर्वाह गर्नु हुन निर्देशानुसार अनुरोध गरिन्छ।

विज्ञप्तीमा भनिएको छ, तोकिएको मिति र समयभित्र आफ्नो उम्मेदवारी फिर्ता नलिएमा त्यस्ता विद्रोही उम्मेदवार, नीजको प्रस्तावक र समर्थकको पार्टी सदस्यता नेपाली कांग्रेसको विधान, २०१७ संशोधन सहितको धारा ४ (१३) ग बमोजिम समाप्त भई पार्टीबाट स्वतः निष्काशित हुने व्यहोरा जानकारी गराईन्छ।

उम्मेदवारी फिर्ता लिने आज अन्तिम दिन: स्थानीय तह निर्वाचनअन्तर्गत आज उम्मेदवारहरूले नाम फिर्ता लिने अन्तिम दिन हो । नाम फिर्ता लिन चाहनेहरू बेलुकी ५ बजेसम्म निर्वाचन अधिकृतको कार्यालयमा जानुपर्ने आयोगले जनाएको छ।

त्यसपछि भने आयोगले अन्तिम नामावली प्रकाशन गर्नेछ। राजनीतिक दलहरूले बागी उम्मेदवारी दिएकाहरूलाई फिर्ता लिन दबाब दिँदै आएका छन् ।

प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवाले बिहीबार अपिल जारी गर्दै बागी उम्मेदवारी फिर्ता लिएर आधिकारिक उम्मेदवारलाई निर्वाचनमा सहयोग गर्न आग्रह गरेका छन्।

विपक्षी दलका नेता तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पनि बागी उम्मेदवारी दिएका नेताहरूलाई फिर्ता लिएर आधिकारिक उम्मेदवारलाई निर्वाचनमा जिताउन आग्रह गरेका छन्।

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पनि ललितपुरलगायत जिल्लाका नेताहरूलाई फोन गरेर बागी उम्मेदवारी फिर्ता गर्नुपर्ने र तालमेलको मर्म बुझिदिन अपिल गरेका छन्।

पार्टीले तय गरेका उम्मेदवारप्रति असन्तुष्ट जनाउँदै ठाउँठाउँमा सत्ता गठबन्धनदेखि विपक्षी दल एमालेसहित दलका स्थानीय नेता कार्यकर्ताहरूले ११ र १२ वैशाखमा आधिकारिक उम्मेदवारको विरुद्धमा बागी उम्मेदवारी दिएका छन्।

जसले गर्दा आधिकारिक उम्मेदवारलाई जिताउन चुनौती हुने दलहरूको ठम्याइ छ। सोही कारण सम्बन्धित दलका नेताहरूले बागी उम्मेदवारी दिएकाहरूलाई फिर्ता लिन दबाब दिइरहेका हुन्।

निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले तोकिएको अवधिमा फिर्ता लिनेबाहेकका अन्तिम नामावली शुक्रबार नै प्रकाशन गरिने बताए । त्यसपछि शनिबार भने उनीहरूले निर्वाचन चिह्न नै प्रदान गरिने जानकारी दिए।

प्रतिक्रिया

आजको ट्रेन्डिङ