आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

उम्मेदवार विरुद्धको उजुरीमाथि छानबिन सुरु

प्रकाशित
358
SHARES

काठमाडौँ। स्थानीय तह सदस्य निर्वाचनका लागि दर्ता भएको मनोनयनविरुद्ध परेको उजुरीमा निर्वाचन आयोगले आजदेखि जाँचबुझ छानबिन थाल्ने भएको छ। आइतबार र सोमबार मनोनयन दर्ता भएकामा मंगलबार उम्मेदवारविरुद्ध उजुरी आह्वान भएको थियो।

प्राप्त उजुरीमाथि आज र भोलि जाँचबुझ हुने निर्वाचन आयोगका प्रवक्ता शालिकराज शर्मा पौडेलले जानकारी दिए। आज र भोलि छानबिन गरेर आयोगले निर्णय पनि लिनेछ।

आयोगले बिहीबार उम्मेदवारको नामावली प्रकाशन गर्ने तयारी गरेको छ। १६ वैशाखमा उम्मेदवारले नाम फिर्ता लिने र उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन हुने छ। निर्वाचन आयोगका अनुसार १७ गते मात्रै उम्मेदवारहरूलाई निर्वाचन चिह्न प्रदान गरिने छ।

आयोगका अनुसार ७५३ स्थानीय तहमा ३५ हजार २ सय २१ पदका लागि १ लाख ५० हजार ४९४ जनाको उम्मेदवारी परेको छ। कूल ३५ हजार २२१ पदका लागि वैशाख ३० गते हुन लागेको निर्वाचन सो संख्यामा उम्मेदवारी परेको निर्वाचन आयोगले जनाएको छ।

त्यस्तै, वैशाख ३० मा हुने स्थानीय तह निर्वाचनमा सुरक्षा प्रयोजनका लागि सरकारले म्यादी प्रहरी परिचालन गरेको छ। हालै भर्ना गरिएका म्यादी प्रहरी ४० दिनका लागि परिचालन गरिने छ।

प्रहरी प्रधान कार्यालयको रेकर्ड अनुसार काठमाडौँ उपत्यका सहित ७ प्रदेशमा ९९ हजार ९९३ जना म्यादी प्रहरीलाई निर्वाचन सुरक्षाका लागि खटाइएको छ। नेपाल प्रहरीले १ लाख म्यादी प्रहरी भर्नाका लागि दरखास्त आह्वान गरेको थियो।

म्यादीमा भर्ना हुन २ लाख ९३ हजार ३१४ जनाले आवेदन दिएका थिए। आवेदन दिनेमध्येबाट ९९ हजार ९९३ जना छनोट गरेर तालिम दिइएको प्रहरी प्रवक्ता (एसएसपी) विष्णु कुमार केसीले जानकारी दिए।

म्यादी प्रहरीले २०७८ चैत २७ मा नियुक्ति पत्र लिएका हुन्। स्थानीय तह निर्वाचन पूरा भएको ७ दिन पछिसम्म म्यादीलाई सुरक्षामा परिचालन गर्ने प्रहरीको योजना छ।

म्यादी प्रहरीमा भर्ना हुन २ हजार ५४८ जना पूर्व सैनिकले समेत आवेदन दिएका थिए। आवेदन बुझाउनेमा ११ जना पूर्व महिला सैनिक छन्। पूर्व प्रहरीबाट १६ महिलासहित एक हजार ४४७ जना र सशस्त्र प्रहरीबाट अवकाश लिएका ४९५ जनाले म्यादीमा भर्ना हुन आवेदन दिएका थिए।

प्रहरी प्रधान कार्यालयका अनुसार विगतमा म्यादी प्रहरीमा भर्ना भएर निर्वाचनमा खटिएका २१ हजारभन्दा बढीले यस पटक पनि भर्नाका लागि आवेदन दिएका थिए । म्यादी प्रहरीमा तेस्रो लिङ्गीले पनि रुचि देखाएका छन् ।

लुम्बिनी प्रदेशमा २ जना तेस्रो लिङ्गीले म्यादीमा भर्ना हुन आवेदन दिएको प्रहरी प्रवक्ता केसीले रातोपाटीलाई बताए ।मतदानस्थलको संवेदनशीलताका आधारमा ७ प्रदेश र उपत्यकामा फरक–फरक सङ्ख्यामा म्यादी प्रहरी परिचालन गरिएको छ ।

मधेस प्रदेशमा सबैभन्दा धेरै २१ हजार म्यादी परिचालन गरिएको छ । काठमाडौँ उपत्यकामा ४ हजार ७११ म्यादी परिचालन गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

आजको ट्रेन्डिङ