काठमाडौं। मारिउपोल सहर अहिले रुस–युक्रेन युद्धको बीचमा चर्चामा छ। खार्किभ, सुमीमा विनाश निम्त्याएपछि, मारियुपोल अब पुटिनको सेनाको निशाना बनेको छ। रुसले युक्रेनबाट मारियुपोललाई “मुक्त” गरेको दाबी गरेको छ।
यो बीचमा केही तस्विरहरु सार्वजनिक भएका छन् जसले अत्याचारको बयान दिएक छन्। मारिउपोलमा विशाल सामूहिक चिहानको तस्बिर सार्वजनिक भएको छ। मारियुपोल प्रशासनले रुसी सेनाले त्यहाँ करिब ९ हजार युक्रेनीलाई मारेर गाडेको दाबी गरेको छ।
म्याक्सर टेक्नोलोजीले बिहीबार केही स्याटेलाइट तस्वीरहरू जारी गरेको थियो। यी तस्विरहरु मानहुसका हुन्। जुन डोनेट्स्क प्रान्तको सहर हो। यो ठाउँ मारिउपोलदेखि लगभग २० किलोमिटर टाढा छ।
अप्रिल ३ को यो तस्वीरका अनुसार यहाँ करिब २०० चिहान भेटिएको छ। यहाँ चिहानका चार खण्डहरू भेटिएका छन् र प्रत्येकको लम्बाइ लगभग 85 मिटर छ। रुसका रक्षामन्त्रीका अनुसार भ्लादिमिर पुटिनले मारियुपोलको स्वतन्त्रता’प्रति खुशी व्यक्त गरेका छन्।
रक्षा मन्त्रीले भने कि अजोभ्स्तल स्टील प्लान्ट बाहेक शहरको बाँकी भाग मस्कोको कब्जामा छ। युक्रेनी सेनाहरू हाल स्टिल प्लान्टमा छन्। पुटिनलाई युद्धमा सघाउने चेचेन विद्रोही रमजान कादिरोभका मानिसहरूले पनि मारियुपोललाई ध्वस्त पार्ने विशेष अभियान पूरा भएको बताएका छन्।
यसैबीच मारिउपोलबाट सर्वसाधारणलाई निकाल्ने काम भइरहेको छ। यहाँबाट मानिसहरूलाई जापोरिज्जिया युक्रेनको सहर पठाइँदैछ। तर, मानिसहरूलाई बाहिर निकाल्ने काम त्यति सजिलो छैन।
त्यस्तै,युक्रेनमा रुसले आक्रमण गरेको दुई महिनापछि संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेसले आगामी अप्रिल २६ मा मस्कोको भ्रमण गर्नेछन्। यस क्रममा उनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र रुसी विदेशमन्त्री सर्गेइ लाभरोभसँग भेट गर्नेछन्।
यस हप्ताको सुरुमा गुटेर्रेसले युक्रेनसँग शान्ति र आफूले गर्न सक्ने कदमहरूबारे छलफल गर्न पुटिन र युक्रेनी राष्ट्रपति जेलेन्स्कीलाई भेट्ने बताएका थिए।
रुसी राष्ट्रपतिका प्रवक्ता दिमित्री पेस्कोभले भ्लादिमिर पुटिनले अप्रिल २६ मा मस्कोमा संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग भेट गर्ने बताएका छन्। यसअघि गुटेरेसले रुस र युक्रेनका राष्ट्रपतिहरूलाई मस्को र कीभमा तत्काल भेट्न आग्रह गर्दै पत्र पठाएका थिए।
अर्कोतर्फ रुस–युक्रेन युद्धको दुई महिनापछि रुसी राष्ट्रपति पुटिनले कीभले मारियुपोलमा आफ्ना सेनालाई आत्मसमर्पण गर्न दिन अस्वीकार गरेको बताएका छन्।
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले शुक्रबार युरोपेली संघका प्रमुख चार्ल्स मिशेलसँग कुरा गर्दै कीभले रुसी सेनाले घेरिएको मारियुपोलमा युक्रेनी सेनालाई आत्मसमर्पण गर्न नदिएको आरोप लगाएका छन्।
बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले युक्रेनको किभमा अर्को सातादेखि आफ्नो दूतावास पुनः खोल्ने बताएका छन्। जोनसनले आफ्नो दुईदिने भारत भ्रमणको दोस्रो दिन दिल्लीमा यो घोषणा गरेका हुन्।
अमेरिकाले किभमा दूतावास खोल्न तत्काल तयार नभएको बताएको छ। सीएनएनले स्रोतलाई उद्धृत गर्दै बताएअनुसार अमेरिकाले मिसाइल आक्रमणको खतरा नभएसम्म कीभमा आफ्नो दूतावास नखोल्ने बताएको छ। किभमा १५ देशले आफ्नो दूतावास पुनः खोलेका छन्।
अमेरिकाले युक्रेनलाई थप ५० करोड डलर सहयोग दिने निर्णय पनि गरेको छ ट्रेजरी सेक्रेटरी जेनेट येलेनले सामाजिक भुक्तानी, निवृत्तिभरण र तलब उपलब्ध गराएर अर्थतन्त्रलाई स्थिर बनाउन सहयोग गरिने र सहयोग सिधै युक्रेनको राज्यको बजेटमा जाने बताए।
शुक्रबार रुसी सेनाले खार्किभको बाहिरी इलाकामा रहेको आवासीय परिसरमा बमबारी गरेको थियो। यस क्रममा युक्रेनी सेनाले पनि रुसी सैनिकको आक्रमणको जवाफ दिँदै आएको थियो।
अर्कोतर्फ रुस र युक्रेनबीच युद्ध जारी रहँदा मारियुपोलका बासिन्दा आफ्नो ज्यान जोगाउन प्रयासरत छन्। रुसी सैनिकले घेरिएको मारियुपोलमा फसेका नागरिकले आफ्नो ज्यान बचाउनको लागि जतिसक्दो चाँडो युद्धविराम घोषणा गर्नुपर्ने बताएका छन्।
यही समयमा, डोनेट्स्कका स्थानीय मानिसहरू पनि शान्तिको आशा गरिरहेका छन्। युक्रेनी शहर ओडेसाका धेरै बासिन्दाहरूले आफ्नो घर छोडेका छन्। सहरमा रुसी सेना आउने डरले ती सबै फर्किन हिचकिचाउँछन्।
रुसले युक्रेनमा आफ्नो विशेष सैन्य अभियानको दोस्रो चरण सुरु गरेको बताएको छ। रुसले आजोभस्टाल प्लान्टबाहेक सम्पूर्ण मारियुपोल कब्जा गरेको दाबी गरेको छ।
प्रतिक्रिया