आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

माओवादीले जितको खाता खोल्यो, अध्यक्षमा गुरुङ निर्विरोध निर्वाचित

प्रकाशित
0.9K
SHARES

मनाङ। स्थानीय तह निर्वाचनको उम्मेदवारी दर्ताकै दिन नेकपा माओवादी केन्द्रले खाता खोलेको छ। मनाङको नेस्याङ गाउँपालिका वडा नम्बर ९ खाङसारको वडाध्यक्षमा च्योल्पा गुरुङ निर्विरोध निर्वाचित भएका छन्।

वडाको भेलाले माओवादी नेता गुरुङलाई अध्यक्षमा निर्विरोध निर्वाचित गरेको हो।त्यस्तै सदस्यहरुमा अनिल गुरुङ, धनबहादुर गुरुङ,महिला सदस्य रिया गुरुङ र दलित महिला सदस्य सुष्मिता सेन्चुरी स्वतन्त्र उम्मेदवारमा निर्वार्चित भएका हुन्।

उनीहरुलाई पनि वडाबासीको भेलाले जनप्रतिनिधिको रुपमा निर्वाचित गरेको हो।यसैबीच देशभर उम्मेदवारी दर्ता गराइरहेका छन्। सत्ता गठबन्धनका उम्मेदवारले महानगर र उपमहानगर दर्ता गराइरहेका छन्।

काठमाडौँ महानगरमा नेपाली काँग्रेसकी नेतृ सिर्जना सिंहले मेयरमा उम्मेदवारी दर्ता गराएकी छिन्। काठमाडौंको राष्ट्रियसभा गृहमा पुगेर सिंहले मेयरमा उम्मेदवारी दर्ता गराएकी हुन्।

उनको उम्मेदवारी दर्ता र्‍यालीमा काठमाडौं महानगरकी उपमेयर हरिप्रभा खड्गी पनि सभागृह पुगेकी छिन्। सिर्जनाका श्रीमान प्रकाशमान र छोरा प्रभासमान सिंह पनि उम्मेदवारी दर्ता कार्यक्रमको र्‍यालीमा सहभागी छन्।

सत्ता गठबन्धनलाई चुनौती दिँदै वीरगञ्ज महानगरपालिकाको मेयरमा नेकपा एमालेबाट विजय सरावगीले उम्मेदवारी दर्ता गराएका छन्। कार्यकर्ताको जुलुससहित निर्वाचन कार्यालयमा पुगेर उनले उम्मेदवारी दर्ता गराएका हुन्।

उनले स्थानीय तहको निर्वाचनकै अगाडि आफूले दल परिवर्तन गर्नुपर्नाको कारण प्रस्ट पार्दै आफूलाई साविकको दलले सदैव हेप्ने काममात्र गरेको आरोप लगाए।

उनले आफूले मेयरका रुपमा हालसम्म गरेका कामलाई टुङ्गोमा पुर्याउनु र थप नयाँ काम सुरु गर्न उम्मेदवारी दिएको बताए। सत्ता गठबन्धनको तर्फबाट नेपाली काँग्रेसका नेता नागेश कोइरालाले विराटनगर महानगरपालिकाको मेयरमा उम्मेदवारी दर्ता गरेका छन्।

उपमेयरमा जसपाका अध्यक्ष उपेन्द्र यादवका छोरा अमरेन्द्र यादवले उम्मेदवारी दर्ता गराएका छन्। सोमबार गठबन्धनका दुवै उम्मेदवारले उम्मेदवारी दर्ता गराएका हुन्।

काँग्रेस नेता शेखर कोइरालाको गृहनगर विराटनगरमा पाँच दलीय सत्ता गठबन्धनले महानगर प्रमुखमा काँग्रेसबाट र उपप्रमुखमा जनता समाजवादी पार्टीबाट उम्मेदवार बनाउने सहमति गरेसँगै काँग्रेसले मेयरमा कोइराला र जसपाले उपमेयरमा यादवलाई उम्मेदवार बनाएको हो।

२०७४ को निर्वाचनमा विराटनगर महानगरपालिकामा काँग्रेसले जितेको थियो। त्यस्तै,बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको लागि आइतबार र सोमबार उम्मेदवार मनोनयन प्रक्रिया सकिएसँगै अब चुनावी जोडघटाउ सुरु भएको छ।

सत्तारुढ गठबन्धनले देशका अधिकांक्ष स्थानीय तहमा गठबन्धन गरेको छ भने प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले पनि लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा) सँग चुनावी तालमेल गरेर केही स्थानीय तहमा उम्मेदवार मनोनयन गरेको छ।

यसरी देश चुनावमय बन्दै गर्दा राजनीतिक दलहरुलाई बागी उम्मेदवारको त्रास पनि उत्तिकै बढेको छ।सबैभन्दा बागी उम्मेदवार नेपाली कांग्रेसको तर्फबाट देखिएको छ।

कांग्रेसभित्र डा.शेखर कोइराला, महामन्त्री गगन थापा कुनैपनि हालतमा कम्युनिष्टहरुसँग गठबन्धन गर्न नहुने मत राख्दै आएका थिए। तर सभापति शेरबहादुर देउवाको केन्द्रीय कार्यसमितिमा बहुमत रहेकाले देउवाको निर्णय नै कांग्रेस र गठबन्धनका लागि निर्णायक बन्न पुग्यो।

तर आइतबार र सोमबार भएको उम्मेदवार मनोनयमा अधिकांक्ष स्थानीय तहमा कांग्रेसको बागी उम्मेदवारी परेको छ। गठबन्धनको तर्फबाट चितवनको भरतपुर महानगरपालिकाको मेयर माओवादीलाई दिएपछि कांग्रेसका जगन्नाथ पौडेलले मेयरमा बागी उम्मेदवारी दिएका छन्।

पूर्वसांसद समेत रहेका पौडेलले पार्टीको झण्डा, चुनाव चिन्ह रहेको झण्डा सहित सयौँ कार्यकर्ताका साथ आफ्नो उम्मेदवारी दर्ता गरेका छन्।
त्यस्तै लेखनाथ पोखरा महानगरपालिकामा पनि कांग्रेसका तर्फबाट ३ जना नेताले बागी उम्मेदवारी दिएका छन्।

पोखराको मेयरमा गठबन्धनको तर्फबाट नेकपा एकीकृत समाजवादीले पाएपछि कांग्रेसका विमलबहादुर कार्की, ऋषि सापकोटा, नन्दुप्रसाद तिवारीले मेयरमा उम्मेदवारी मनोनयन दर्ता गरेका छन्।

ललितपुर महानगरपालिका कांग्रेसले मेयर पाएपनि उपमेयर माओवादीले पाएपछि उपमेयरमा कांग्रेस सुबिनकुमार शाक्यले स्वतन्त्र उम्मेदवारी मनोनयन गरेका छन्।

जनकपुर उपमहागरपालिकामा पनि कांग्रेस कै बागी उम्मेदवारी दर्ता भएको छ।गठबधनको तर्फबाट जनता समाजवादी पार्टी जसपालाई मेयर दिने निर्णय भएलगत्तै कांग्रेसको नगरसभापति समेत रहेका मनोजकुमार साहले पार्टीबाट राजिनामा दिएर मेयरमा स्वतन्त्र उम्मेदवारी दर्ता गरेका छन्।

गठबन्धनको निर्णय विरुद्धको बागी उम्मेदवार कांग्रेसमा मात्र नभएर जसपाको पनि दर्ता भएको छ। बिराटनगर महानगरपालिकाको मेयर कांग्रेसले पाएपछि जसपाका उमेश यादवले मेयरमा स्वतन्त्र उम्मेदवारी दर्ता गरेका छन्।

यसरी देशका विभिन्न ठाउँहरुमा गठबन्धन विरुद्ध बागी उम्मेदवारी भएपछि चुनावी परिणाम गठबन्धन अनुकूल नहुने हो कि भन्ने विश्लेषण भइरहेको छ।राजनीतिक विश्लेषक पुरञ्जन आचार्य पनि अहिलेको अवस्थामै उम्मेदवारहरुले आफ्नो उम्मेदवारी फिर्ता गरेनन् भने परिमाण गठबन्धन अनुकूल नहुने बताउँछन्।

उनका अनुसार अहिले असन्तुष्ट पक्षले उम्मेदवारी मनोनयन दर्ता गरेपनि आउँदो १६ गते उम्मेदवारी फिर्ता गर्न मिल्ने भएकाले त्यो समयसम्म कति जनाले फिर्ता लिन्छन् त्यो कुराले मात्र चुनावी परिमाणको पूर्वानुमान गर्न सकिन्छ।

उनी भन्छन्, ‘यो गठबन्धनले समग्रमा कांग्रेसको त हित देख्दिन। कांग्रेस गठबन्धन बिना निर्वाचनमा जाँदा नै सबैभन्दा राम्रो परिमाण आउँथ्यो। अहिले गठबन्धन भयो र बागी उम्मेदवारी पनि कांग्रेसको भागमा नपरेको ठाउँहरुमा मात्र देखिन्छ।

त्यसकारण १६ गतेसम्म आफ्नो उम्मेदवारी फिर्ता गर्न पाउने प्रावधान रहेकाले त्यो दिनसम्म कति जनाले आफ्नो उम्मेदवारी फिर्ता लिनुहुन्छ त्यसमा भर पर्ने कुरा हो।यदि बागी उम्मेदवारहरुले फिर्ता लिन चाहेनन् भने यसको प्रत्यक्ष फाइदा एमालेलाई हुने उनको विश्लेषण रहेको छ।

प्रतिक्रिया

आजको ट्रेन्डिङ