खोटाङ। खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको मेयरको टिकट वितरणमा कांग्रेसको प्रदेश र केन्द्रीय समितिको निर्णय बाझिएको छ। प्रदेश समितिले धर्मराज पोखरेललाई टिकट दिने निर्णय गरेकोमा केन्द्रीय कार्य समितिले तीर्थराज भट्टराईलाई मेयरको टिकट दिएको छ।
प्रदेश समितिको निर्णय अनुसार पोखरेल मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दर्ता गर्न पुगेको केही समयपछि भट्टराई केन्द्रीय समितिले दिएको टिकट लिएर उम्मेदवारी दर्ता गर्न पुगेका थिए।
पार्टी सभापति शेरबहादुर देउवाले प्रदेशको निर्णय उल्टाउँदै भट्टराई आधिकारिक उम्मेदवार भएको उल्लेख गर्दै पार्टीको उम्मेदवार कायम गर्न मुख्य निर्वाचन अधिकृतको कार्यालयलाई पत्र पठाएपछि पोखरेलको मनोनयन दर्ता रोकिएको छ।
केन्द्रको सिफारिसमा भट्टराईको मनोनयन दर्ता भएपछि पोखरेलले स्वतन्त्र उम्मेदवारी दर्ताको तयारी थालेका छन्। दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा पोखरेलले टिकट पाएको भन्दै भट्टराई पक्षका नेता तथा कार्यकर्ताले सोमबार बिहान करिब तीन घण्टा कांग्रेस पार्टी कार्यालयमा घेराउ गर्दै ताला लगाएका थिए।
तर पोखरेलको ठाउँमा भट्टराईले नै टिकट पाउने आश्वासनपछि असन्तुष्ट पक्षले ताला खोलेका थिए। प्रदेशबाट पोखरेलले टिकट पाएको खबर सार्वजनिक भएपछि कांग्रेस दिक्तेल रुपाकोट मझुवागढी नगर समितिका सभापति प्रकाश श्रेष्ठ नेतृत्वको टोली विरोध गर्दै पार्टी कार्यालयमा ताला लगाउन पुगेका थिए।
प्रदेशबाट मेयरको टिकट पाएपछि पोखरेल हेलिकोप्टर चढेर मनोनयन दर्ता गर्न दिक्तेल ओर्लिएका थिए। हेलिकोप्टरबाट ओर्लने बित्तिकै उनीमाथि असन्तुष्ट पक्षले हातपात गरेका थिए।
उनलाई सुरक्षाकर्मीले आक्रमणबाट जोगाएर कांग्रेस पार्टी कार्यालयमा पुर्याएको थियो। केही घण्टा पार्टी कार्यालयमा बसेका पोखरेल सुरक्षाकर्मी सहित मनोनयन दर्ता गर्न मुख्य निर्वाचन अधिकृतको कार्यालय जिल्ला अदालत पुगेका थिए।
अदालतको गेटबाट भित्र पस्ने बित्तिकै एमालेका नेताले स्वागत गरेका थिए। दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा चुनावी तालमेलका क्रममा मेयर कांग्रेस र उपमेयर नेकपा माओवादी केन्द्रको भागमा परेको हो।
कांग्रेसमा टिकटको लफडा भइरहँदा माओवादी केन्द्रकोतर्फबाट उपमेयरमा बिसन राईको मनोनयन दर्ता भएको छ। टिकट लिने सन्दर्भमा कांग्रेसभित्र चलेको शक्तीसंघर्षको असर गठबन्धनभित्र पर्ने आँकलन छ। यसले एमालेलाई उत्साहित बनाएको छ।
त्यस्तै, स्थानीय तहको प्रमुख वा उपप्रमुख मध्ये एकजना महिला हुने अवधारणा अनुसार यसअघि बैतडीका १० ओटै स्थानीय तहका उपप्रमुख वा उपाध्यक्ष पदमा महिला निर्वाचित भएका थिए। तर यसपालि भने चुनावी गठबन्धन गरेका दलहरुले महिलालाई प्रमुख वा उपप्रमुखमा उम्मेदवार बनाएका छैनन्।
जिल्लाको पाटन नगरपालिका, दोगडाकेदार गाउँपालिका, पञ्चेश्वर गाउँपालिका, शिवनाथ गाउँपालिका र डिलाशैनी गाउँपालिकामा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकिकृत समाजवादीका बीच गठबन्धन भएको छ।
गठबन्धका तर्फबाट पाटन नगरपालिकामा कांग्रेसका गौरीसिंह रावललाई उम्मेदवार बनाइएको छ भने, उपप्रमुखमा माओवादी केन्द्रका कमल बोहरालाई उम्मेदवार बनाएको छ। दोगडाकेदार गाउँपालिकामा कांग्रेसका देवराज जोशीलाई अध्यक्षको उम्मेदवार बनाएको छ।
त्यस्तै , उपाध्यक्षमा नवराज भट्टलाई उम्मेदवार बनाएको छ। यसैगरी पञ्चेश्वर गाउँपालिकामा कांग्रेसका रमेश भण्डारीलाई उम्मेदवार बनाएको छ भने, उपाध्यक्षमा नेकपा९एकिकृत समाजवादी०का राजेन्द्र चन्दलाई उम्मेदवार बनाएको छ।
यसैगरी डिलाशैनी गाउँपालिकाको अध्यक्षमा माओवादीका लोकेन्द्र रानालाई उम्मेदवार बनाएको छ भने, उपाध्यक्षमा कांग्रेसका भगीरथ बोहरालाई उम्मेदवार बनाएको छ ।
जिल्लाको शिवनाथमा अध्यक्षका लागी कांग्रेसका कर्णसिंह साउद र उपाध्यक्षका लागी माओवादी केन्द्रका नरेन्द्र साउदलाई उम्मेदवार बनाएको छ ।
यस्तै नेकपा माओवादी केन्द्र र नेकपा एकिकृत समाजवादी बीच गठबन्धन भएको दशरथचन्द नगरपालिकाको प्रमुखमा माओवादी केन्द्रले प्रेम थापालाई उमेदवार बनाएको छ भने, एकीकृत समाजवादीले उपप्रमुखमा राजुराम भुललाई उमेदवार बनाएको छ ।
सुर्नया गाउँपालिकामा एकीकृत समाजवादीले नरेन्द्र बिष्टलाई अध्यक्षको उमेदवार बनाएकोमा उपाध्यक्षमा माओवादीले दिलाराम भट्टलाई उम्मेदवार बनाएको छ । सुर्नयामा यसअघि स्वेता भट्टले उपाध्यक्षको टिकट पाएको भन्दै सामाजिक सञ्जालमा चर्चा समेत भएको थियो ।
तर उम्मेदवारी दर्ता गराउने बेलामा दिलारामले दर्ता गराए ।यसरी दुवै पदमा पुरुषलाई मात्रै उम्मेदवार बनाउनु दुखःद भएको महिला अधिकारकर्मी शुसिला चन्दले बताइन्। उनले भनिन्,‘अहिले सबै पार्टीमा सक्रिय महिलाहरु रहेकाछन् ।
पुरुष प्रधान देश भएकाले नेतृत्वमा अझैपनी महिलालाई स्वीकार गर्न सकेका छैनन् । पार्टी नेतृत्वहरुले गल्ती गरेका छन् । यदि गठबन्धनले दुवै पद जितेमा महिलाको नेतृत्व अझ पछाडी धकेलिने छ ।’
महिला नेतृत्व मञ्च पाटनका संयोजक अनिता जोशी भट्टले भनिन् हामीले सबै पार्टीहरुलाई महिलालाई मुख्य पदहरुका उमेदवार बनाउन सबै दलहरुलाई ज्ञापनपत्र बुझाएका थियौँ । उम्मेदवार बनाउने आश्वासन पनि पाएका थियौँ भने,
अधिकांश ठाउँका महिलाहरुले मुख्य पदहरुमा दावी समेत गरेका हुन्। तर अन्तमा परिणाम भने ठ्याक्कै उल्टो आयो। अहिले गठबन्धनका कारण उपप्रमुखको पद समेत महिलाबाट खोसिने अवस्था आएको छ।
यस बिषयमा गठबन्धनमा सामेल दलहरुले भने संवैधानिक व्यवस्था अनुसार नै निर्णय गरेको र महिलाहरुले स्वःस्फुर्त रुपमा दावेदारी छाडेको प्रतिक्रिया दिएका छन्।
प्रतिक्रिया