सुर्खेत। कर्णालीमा सत्ता गठबन्धनको बैठकले आठवटा जिल्लामा भागबन्डा टुंगाे लगाएकाे छ। यद्यपी सुर्खेत र रुकुमपश्चिमको भागबन्डाको टुंगाे लगाउन भने बाँकी नै छ।
आठ जिल्लाको विवरणअनुसार माओवादी केन्द्रले प्रमुख/उपप्रमुख गरी ५१, कांग्रेसदे ४७ र एकीकृत समाजवादीले २९ वटा पाएको छ। डोल्पामा माओवादीले तीन प्रमुख र दुई उपप्रमुख, कांग्रेसले एक प्रमुख र तीन उपप्रमुख र समाजवादीले चार प्रमुख र तीन उपप्रमुख पाएको छ।
जाजरकोटमा माओवादी र कांग्रेसले प्रमुख/उपप्रमुखमा ३/३ र समाजवादीले एक प्रमुख र एक उपप्रमुख भाग पाएको छ। दैलेखमा सबैभन्दा धेरै कांग्रेसले पाएको छ। कांग्रेसले प्रमुखमा ६ र उपप्रमुखमा ५ पाएको छ ।
माओवादी केन्द्रले दुई प्रमुख र चार उपप्रमुख पाएको छ भने समाजवादीले तीन प्रमुख र दुई उपप्रमुख पाएको छ।मुगुमा माओवादीले प्रमुख/उपप्रमुख एक एक र कांग्रेसले दुई दुई पाएको छ। एकीकृत समाजवादीले पनि एक एक पाएको छ।
कर्णालीका मुख्यमन्त्री जीवनबहादुर शाहीको गृह जिल्ला हुम्लामा माओवादीले पाँचवटा प्रमुख पाउँदा कांग्रेसले भने तीनवटामा चित्त बुझाएको छ भने समाजवादीले तीनवटा उपप्रमुखमा मात्र चित्त बुझाएको छ।
उपप्रमुख भने माओवादी र कांग्रेसले दुई दुईवटा पाएका छन्। एकीकृत समाजवादीका प्रदेश इञ्चार्ज प्रकाश ज्वालाको गृह जिल्ला सल्यानमा कांग्रेस/माओवादीले चार चार प्रमुख पाउँदा समाजवादीले दुईवटा प्रमुख र दुईवटै उपप्रमुखमा चित्त बुझाएको छ।
माओवादीले उपप्रमुखमा पाँँचवटा पाउँदा कांग्रेसले तीन वटा पाएको छ। जुम्लामा कांग्रेसले चारवटा प्रमुख पाउँदा माओवादीले तीनवटा प्रमुख पाएको छ।
माओवादीले पाँच वटा उपप्रमुख पाएको छ भने कांग्रेसले दुईवटामा चित्त बुझाएको छ। समाजवादीले जुम्लामा पनि एक एकवटामा चित्त बुझाएको छ। कालिकोटमा माओवादीले प्रमुख उपप्रमुखमा नै धेरै लिएको छ।
प्रमुख पाँच लिँदा उपप्रमुख चारवटा माओवादीले लिएको छ। कांग्रेसलाई दुई प्रमुख र तीन उपप्रमुख पाएकाे छ। एकीकृत समाजवादीले दुई प्रमुख पाएको छ भने दुई उपप्रमुख पाएको छ।
त्यस्तै, ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनका लागि आइतबार उम्मेदवारी मनोनयन सुरु भए पनि कैलालीका ठूला दलल उम्मेदवारी गराएनन्। उनीहरूले आज उम्मेदवारी दर्ता गराउने तयारी गरेका छन्।
पहिलो दिन कैलालीमा केही साना दल र स्वतन्त्र उम्मेदवारले मात्रै विभिन्न पदमा उम्मेदवारी दिएका छन्। आइतबार कैलालीका पालिकामा दर्ता भएका उम्मेदवारको विवरण यस प्रकार छ :-
धनगढीमा उपमहानगरपालिका
धनगढी उपमहानगरमा आइतबार दुई जना स्वतन्त्र र एक दलबाट गरी ३ जनाले मेयर पदका लागि उम्मेदवारी दिएका छन् भने एक जनाले उप मेयरमा उम्मेदवारी दिएका छन् । आइतबार धनगढीमा २२ जनाले वडा अध्यक्ष तथा सदस्यमा पनि उम्मेदवारी दर्ता गराएका छन्।
धनगढी उपमहानगरपालिकाका निर्वाचन अधिकारी एवं कैलाली जिल्ला न्यायाधीश जयानन्द पनेरुका अनुसार आइतबार लोकतान्त्रिक समाजवादी पार्टीबाट धनगढीको मेयरमा वसन्त विश्वकर्माले उम्मेदवारी दर्ता गराएका छन्। यसैगरी, व्यवसायी गोपाल हमाल र मदनकृष्ण भट्टले धनगढीको मेयरका लागि स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन्।
धनगढी उपमहानगरपालिकाको उपमेयरका लागि विवेकशील साझा पार्टीका तर्फबाट विमला ओझाले उम्मेदवारी दर्ता गराएकी छिन् भने प्रभाकर भण्डारीले पनि उपमेयरमै स्वतन्त्र उम्मेदवारी दिएको मुख्य निर्वाचन अधिकृत पनेरुले जानकारी दिए।
कैलारी गाउँपालिका
कैलारी गाउँपालिकामा आइतबार राष्ट्रिय प्रजातन्त्र पार्टीले मात्रै मनोनयन दर्ता गरेको छ । कैलारी गाउँपालिकाका मुख्य निर्वाचन अधिकृत कृष्णप्रसाद नेपालका अनुसार राप्रपा पार्टीका तर्फबाट अध्यक्षमा होमबहादुर गुरुङ र उपाध्यक्षमा पिङ्कला थारुसहित ९ वटै वडा अध्यक्ष र सदस्य पदमा उम्मेदवारी परेको छ । आइतबार अन्य पार्टीले भने उम्मेदवारी नदिएको उनले बताए ।
गौरीगंगा नगरपालिका
गौरीगंगा नगरपालिकामा मनोनयनको पहिलो दिन दुई जना वडा अध्यक्षले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन्। गौरीगंगाका मुख्य निर्वाचन अधिकृत निराजन पाण्डेका अनुसार आइतबार वडा नम्बर ७ को अध्यक्षका लागि नरबहादुर कामी र वडा नम्बर ९ को अध्यक्षका लागि आषिश सिंहले स्वतन्त्र उम्मेदवारी दिएका छन्।
गोदावरी नगरपालिका
गोदावरी नगरपालिकामा आइतबार दुई जना वडा अध्यक्षले मात्रै उम्मेदवारी दर्ता गराएका छन् । गोदावरी नगरपालिकाका मुख्य निर्वाचन अधिकृत राजेन्द्र सिह भण्डारीका अनुसार नेपाल लोकतान्त्रिक पार्टीका तर्फबाट वडा नम्बर ८ को अध्यक्षका लगि बाबुराम चौधरीले टिमसहित उम्मेदवारी दिएका छन् । यसैगरी वडा नम्बर १ को अध्यक्षका लागि कृतबहादुर चन्दले स्वतन्त्र उम्मेदवारी दिएका छन् ।
घोडाघोडी नगरपालिका
घोडाघोडी नगरपालिकामा मनोनयनको पहिलो दिन दुई मेयर, एक उपमेयर आठ वडा अध्यक्ष र आठ वडा सदस्य गरी १९ जनाले उम्मेदवारी दिएका छन् ।
घोडाघोडी नगरपालिकाका मुख्य निर्वाचन अधिकृत भानुदेव जोशीका अनुसार नेपाल लोकतान्त्रिक पार्टीका तर्फबाट मनोज लुहारले मेयर पदमा उम्मेदवारी दर्ता गराएका छन् ।
यसैगरी नागरिक उन्मिुक्ति पार्टीका तर्फबाट मेयरमा प्रेम चौधरी र उपमेयरमा कलौटी देवी चौधरीले उम्मेदवारी दिएका छन् । घोडाघोडीका विभिन्न वडामा अध्यक्षका लागि आठ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।
मुख्य निर्वाचन अधिकृत जोशीका अनुसार वडा नम्बर २, ४, ८, १०, ११ र १२ मा वडा अध्यक्षका लागि उम्मेदवारी परेको छ । त्यसैगरी वडा नम्बर ७, ८, ११ र १२ का लागि आठ जना वडा सदस्यले पनि उम्मेदारी दिएका छन् ।
चुरे गाउँपालिका
चुरे गाउँपालिकाका मुख्य निर्वाचन अधिकृत राइभान कुञ्जेडाका अनुसार सो गाउँपालिकामा आइतबार कसैको पनि उम्मेदवारी परेको छैन ।
जानकी गाउँपालिका
जानकी गाउपालिकामा नेपाल दलित पार्टीका तर्फबाट एक र नेपाल मजदुर किसान पार्टीका तर्फबाट एक गरी दुई जनाले अध्यक्षमा उम्मेदवारी दिएका छन् । त्यसैगरी नेमकिपाको तर्फबाट सो पालिकामा उपाध्यक्ष पदमा पनि उम्मेदवारी परेको छ भने नेमकिपाकै तर्फबाट वडा नम्बर २ र ४ मा १-१ जनाले वडा अध्यक्षमा उम्मेदवारी दिएका छन् ।
जोशीपुर गाउँपालिका
जोशीपुर गाउँपलिकामा राप्रपाले अध्यक्ष, उपाध्यक्ष सहित सवै वडा अध्यक्षमा उम्मेदवारी दिएको छ । अन्य पार्टीबाट भने आइतबार उम्मेदवारी नपरेको मुख्य निर्वाचन अधिकृत शिवराज भट्टले बताए ।
टिकापुर नगरपालिका
टिकापुर नगरपालिकामा स्वतन्त्रसहित दुई जनाले मेयरमा र दुई जनाले उप मेयरमा उम्मेदवारी दर्ता गराएका छन् । टिकापुर नगरपालिकाका मुख्य निर्वाचन अधिकृत पुष्कर खड्काका अनुसार नागरिक उन्मुक्ति पार्टीका तर्फबाट मेयरमा रामलाल डगौरा थारु र उप मेयरमा उल्का देवी बिकले उम्मेदवारी दर्ता गराएका छन् । सोही पार्टीबाट वडा नम्बर १ देखि ९ को वडा अध्यक्ष र सदस्यमा पनि उम्मेदवारी परेको निर्वाचन अधिकृत खड्काले बताए ।
टिकापुर नगरपालिकाको मेयरमै लोकबहादुर बुढा क्षेत्रीले मेयर र मायादेवी जैशीले उपमेयरमा स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् भने वडा नम्बर १ को अध्यक्षका लागि पनि एक जनाको स्वतन्त्र उम्मेदवारी परेको छ।
यसैगरी, नेपाल लोकतान्त्रिक पार्टीका तर्फबाट एक जना वडा अध्यक्ष र तीन जना वडा सदस्यले पनि उम्मेदवारी दर्ता गराएका छन् ।
बर्दगोरिया गाउँपालिका
बर्दगोरिया गाउँपालिकामा नागरिक उन्मुक्ति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले अध्यक्ष, उपाध्यक्ष सहित ६ वटै वडा अध्यक्ष र सदस्यमा उम्मेदवारी दिएका छन् । यसैगरी दुई जनाले वडा अध्यक्षमा स्वतन्त्र उम्मेदवारी दिएका छन् ।
बर्दगोरिया गाउँपाकिलाका प्रमुख निर्वाचन अधिकृत बद्रिबहादुर पाठकका अनुसार आइतबार नागरिक उन्मुक्ति पार्टीका तर्फबाट अध्यक्षमा भजनलाल डगौरा र उपाध्यक्षमा शारदा मल्लले उम्मेदवारी दिएका छन् । नागरिक उन्मिुक्ति पार्टीले आइतबारनै ६ वटै वडा अध्यक्ष र सदस्यमा पनि उम्मेदवारी दर्ता गराएको निर्वाचन अधिकृत पाठकले बताए ।
यसैगरी, बर्दागोरिया गाउँपालिकामा राप्रपाबाट अध्यक्षमा नवीन जोशी र उपाध्यक्षमा कर्मदेवी सिंहसहित ६ वटै वडा अध्यक्ष र सदस्यमा उम्मेदवारी दिएका छन् । बर्दगोरिया गाउँपालिका–१ को अध्यक्षमा दुई जनाको स्वतन्त्र उम्मेदवारी परेको निर्वाचन अधिकृत पाठकले बताए।
प्रतिक्रिया