आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

गठबन्धन पल्टाउनेगरी एमालेले छान्यो रणनीतिक उम्मेदवार

प्रकाशित
509
SHARES

काठमाडौ। पाँचदलीय सत्ता गठबन्धनले तालमेल गरेर जाने सहमति गरेपछि दबाब खेपिरहेको प्रमुख प्रतिपक्ष दल एमालेले महानगर र उपमहानगरपालिकाका लागि रणनीतिक रूपमा उम्मेदवार चयन गरेको छ ।

गठबन्धनसँग प्रतिस्पर्धा गर्ने मुख्य लक्ष्य राखेर प्रमुख प्रतिपक्षी दल एमालेले महानगर र उपमहानगरमा प्रमुख–उपप्रमुखका उम्मेदवार टुंगो लगाएको उपमहासचिव पृथ्वीसुब्बा गुरुङले बताए ।

उनका अनुसार तल्ला कमिटीले सिफारिस गरेका नामका आधारमा एमालेको केन्द्रीय सचिवालय बैठकले शनिबार ५ महानगर र ९ उपमहानगरमा उम्मेदवार तय गरेको हो । तालमेलको सम्भावनालाई ध्यानमा राखेर एमालेले एक महानगर र दुई उपमहानगरमा उम्मेदवार चयन बाँकी राखेको छ।

आगामी निर्वाचनमा पहिलो शक्ति बन्ने दाबी गरे पनि पाँचदलीय गठबन्धनका कारण दबाब महसुस गरेको एमालेले उम्मेदवार चयनमा नवप्रवेशीलाई पनि उत्तिकै महत्त्व दिएको छ । वीरगन्ज महानगर र नेपालगन्ज उपमहानगरमा एमालले नवप्रवेशीलाई टिकट दिएको छ।

गठबन्धन भएपछि हामीमाथि ठूलो दबाब छ, त्यसलाई मध्यनजर गरेर उम्मेदवार चयनको मापदण्ड तय गरेका हौं, मूलतः जित्ने रणनीतिअन्तर्गत पात्र चयन गरेका छौं, एक पदाधिकारीले भने ।

एमालेले काठमाडौं महानगर प्रमुखमा केशव स्थापितलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । काठमाडौंको प्रमुखका लागि संघीय सांसद रामवीर मानन्धरसहित पाँच जना उम्मेदवारको नाम सिफारिस भएको थियो ।

०५४ सालको स्थानीय चुनावमा काठमाडौं महानगरपालिकाको प्रमुख बनेपछि स्थापितले केही राम्रा काम गरेका थिए । तर, उनी कामभन्दा धेरै विवादमा तानिने गरेका थिए ।

पछिल्लो समय उनी वाग्मती प्रदेशको भौतिक पूर्वाधारमन्त्रीबाट बर्खास्त भएका थिए । केपी शर्मा ओली एमालेको भ्रातृ संगठन प्रजातान्त्रिक राष्ट्रिय युवा संघको संस्थापक अध्यक्ष हुँदा स्थापित महासचिव थिए । स्थापित ओलीपछि युवा संघको अध्यक्ष बनेका थिए ।

२०५१ सालमा उनी राष्ट्रिय खेलकुद परिषद्को नवौं सदस्यसचिव भएका थिए । ०६० सालमा सूर्यबहादुर थापा प्रधानमन्त्री हुँदा उनी काठमाडौं महानगर प्रमुखमा मनोनीत भएका थिए । तत्कालीन राजा ज्ञानेन्द्र शाहको प्रत्यक्ष शासनकालमा उनी पुनः महानगर प्रमुखमा मनोनीत भए ।

यसअघि स्वतन्त्र रूपमा काठमाडौं महानगर प्रमुखमा उम्मेदवारी घोषणा गरेकी सुनीता डंगोललाई एमालेले उपप्रमुखको उम्मेदवार बनाउने निर्णय गरेको छ । मिस नेवाः बनिसकेकी उनी एमालेको महानगर कमिटीबाट सिफारिस भएकी थिइनन् ।

उनी जनतामाझ पपुलर पनि रहिछन्, कुरा बुझ्दै जाँदा एमाले समर्थक हुन् भन्ने बुझेर प्रदेश कमिटीले उपप्रमुखमा सिफारिस गरेको रहेछ, सचिवालयले त्यसैमा निर्णय गर्‍यो,’ एमालेका अर्का एक पदाधिकारीले भने ।

वीरगन्ज महानगरमा जसपाबाट प्रवेश गरेका हालका प्रमुख विजय सराबगीलाई एमालेले उम्मेदवार बनाएको छ । त्यहाँ एमाले र लोसपाबीच तालमेल गर्ने सहमति छ । एमालेले मधेसमा पार्टीको जनाधार बढेको दाबी गर्दै आएको छ ।

वीरगन्ज महानगरपालिकामा एमालेले उपप्रमुखको उम्मेदवार खाली राखेको छ । एमालेले ६ मापदण्डका आधारमा उम्मेदवार सिफारिस गर्न सम्बन्धित कमिटीलाई निर्देशन दिएको थियो ।

ललितपुर, भरतपुर महानगर तथा जनकपुर र नेपालगन्ज उपमहानगरका उम्मेदवार सर्वसम्मत सिफारिस भएका थिए।

भरतपुरमा एमालेले विजय सुवेदीलाई प्रमुख पदको उम्मेदवार बनाउने निर्णय गरेको छ। उनी वाग्मती प्रदेशसभा सदस्यबाट राजीनामा गरेर महानगरमा उठ्न लागेका हुन् । ०७४ को निर्वाचनमा झिनो मतले पराजय व्यहोरेको भरतपुरमा यसपालि नतिजा उल्टाउने एमालेको योजना छ।

भरतपुरमा उपप्रमुख उम्मेदवार भने तय गरिएको छैन। एक नेताका अनुसार राप्रपासँग तालमेलका लागि प्रयास भएकाले बाँकी राखिएको हो ।ललितपुरको प्रमुखमा हरिकृष्ण व्यञ्जनकार र उपप्रमुखमा मञ्जली शाक्य उम्मेदवार हुने भएका छन्।

व्यञ्जनकार एमाले केन्द्रीय सदस्य हुन्। उनी ०७४ को निर्वाचनमा कांग्रेसका चिरीबाबु महर्जनसँग थोरै मतान्तरमा पराजित भएका थिए। शाक्य एमाले ललितपुर महानगर कमिटीका अध्यक्ष हुन्। एमालेले पोखरा महानगरको प्रमुखमा दीपक पौडेल र उपप्रमुखमा मञ्जु गुरुङलाई उम्मेदवार बनाउने भएको छ।

पौडेल प्रदेश कमिटी सदस्य हुन्। उनी एमालेनिकट शिक्षक संगठनका पूर्वउपाध्यक्ष हुन्। उपमहासचिव गुरुङ र संगठन विभाग प्रमुख खगराज अधिकारीबीच गुटको लडाइँका कारण सचिवालयले पौडेललाई उम्मेदवार बनाउने निर्णय गरेको एक नेताले बताए।

गुरुङ अहिले पोखरा महानगरको उपप्रमुख हुन्। उनी प्रमुखको उमेदवारका लागि सिफारिस भएकी थिइन् ।एमालेले नेपालगन्ज उपमहानगर प्रमुखमा पशुपतिदयाल मिश्र र उपप्रमुखमा शान्ति ढकाललाई उम्मेदवार बनाएको छ। मिश्र नवप्रवेशी हुन्।

उनी हृदयेश त्रिपाठीको राजनीतिक समूहमा जोडिई ०७४ को प्रतिनिधिसभा निर्वाचनमा सूर्य चिह्नबाट चुनाव लडेर पराजित भएका थिए। एमालेले धनगढी उपमहानगरको प्रमुखमा रणबहादुर चन्द र उपप्रमुखमा कन्तकला राना थारूलाई उम्मेदवार बनाएको छ।

तुलसीपुर उपमहानगर प्रमुखमा टीकाराम खड्का र उपप्रमुखमा स्यानी चौधरी तथा घोराही उपमहानगर प्रमुखमा नरुलाल चौधरी र उपप्रमुखमा हुमाकुमारी डीसीलाई उम्मेदवार तोकिएको छ।

त्यसैगरी, बुटवल उपमहानगर प्रमुखमा बाबुराम भट्टराई र उपप्रमुखमा सावित्रा अर्याल, हेटौंडा उपमहानगर प्रमुखमा अनन्त पौडेल र उपप्रमुखमा सुमित्रा काफ्ले, धरान उपमहानगर प्रमुखमा मञ्जु भण्डारी र उपप्रमुखमा पदम लिम्बू, इटहरी उपमहानगर प्रमुखमा यामकुमार सुब्बा र उपप्रमुखमा संगीता चौधरी तथा कलैया उपमहानगरको प्रमुखमा विनोद साहलाई एमालेले उम्मेदवार तोकेको छ।

तालमेलका लागि भनेर कलैयाको उपप्रमुख खाली राखेको छ। सचिवालय बैठकले अन्य पार्टीसँग तालमेलका लागि भनेर जनकपुर, जितपुर–सिमरा र विराटनगरको प्रमुख र उपप्रमुख टुंगो लगाएको छैन।

प्रतिक्रिया

आजको ट्रेन्डिङ