आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

वृत्तचित्रमा बीपी : राजसंस्थाको निरन्तरता कि गणतन्त्रका पक्षधर

प्रकाशित
159
SHARES

काठमाडौँ। राजद्रोही राजनेता बीपी कोइराला’ वृत्त चित्रको एउटा खण्ड गत मंगलबार प्रदर्शन भयो। प्रदर्शनपछि वरिष्ठ पत्रकार किशोर नेपालले सामाजिक सञ्जालमा लेखे, जगत नेपालले निर्माण गर्नुभएको वृत्तचित्र ‘राजद्रोही राजनेता’ मैले हेरेको छैन। किनभने, म जगत नेपालको वृत्तचित्रको नामसँग सहमत हुन सकिनँ।

नेपाली शब्दकोषमा राजद्रोहको परिभाषाअनुसार वचन, लेख, व्यवहार आदिद्वारा राष्ट्रप्रति देखाइएको घृणा, अवहेलना, द्वेष आदि, राष्ट्रप्रति अहित हुने नियतको काम भनी राजद्रोह शब्दको परिभाषा दिइएको छ। राजद्रोह गर्नेलाई राजद्रोही भनिन्छ। जगत नेपालले विपीका नाममा प्रयोग गर्नुभएको राजद्रोही शब्द फिर्ता लिनु नै श्रेयकर हुनेछ।

गौतम बुद्धपछि सबैभन्दा बढी टिप्पणी गरिएका नेपाली व्यक्तित्व हुन् वीपी कोइराला। वीपी कोइरालाका बारेमा अनगिन्ती लेख लेखिएका छन्। वीपी कोइरालाका बारेमा लेखिएका पुस्तकहरुको संख्या समेत निकै ठूलो छ। नयाँ प्रविधि भएकाले वीपीका बारे वृत्तचित्र अत्यन्त थोरै छन्। त्यसमा पनि वीपीका बारेमा व्यवस्थित वृत्त चित्र निर्माण गर्ने कामको थालनी गरेको जगत नेपालले हो।

विपी कोइरालालाई राजद्रोही ठान्नेहरुको पंक्ति अझै पनि नेपालमा उल्लेख्य छ। फरक के हो भने वीपीलाई राजद्रोही ठान्नेभन्दा राजनेता मान्नेहरुको पंक्ति धेरै ठूलो छ । त्यही ठूलो पंक्तिका एक विराट व्यक्तित्व हुन् किशोर नेपाल।

यति मात्रै होइन, वीपी कोइरालासँग लामो संगत गर्ने अवसर पाएका थोरै भाग्यमानी पत्रकारमध्ये एक हुन् किशोर नेपाल। समय, परिस्थिति ज्यादै निर्मम हुँदो रहेछ। अहिलेसम्म सबैभन्दा धेरै लेख्ने नेपाली पत्रकारहरुको सूचीमा किशोर नेपालको नाम एक नम्बरमा आउँछ भन्ने कुरा उल्लेख गर्न कुनै अनुसन्धानको जरुरत छैन।

तर, वीपी कोइरालाको वृत्तचित्र व्यवस्थित रुपमा निर्माण गर्ने श्रेय जगत नेपालले पाए। जगत नेपालको वृत्तचित्रको बारेमा किशोर नेपालको टिप्पणी आउनुलाई सुखद संयोग मान्नुपर्छ। जगत नेपालले समय घर्किँदै वीपीका बारेमा वृत्तचित्र निर्माण गरेका रहेछन् भन्ने कुरा किशोर नेपालको पादटिप्पणीले पुष्टि गर्छ।

मान्छेले जीवनभर गरेको कामको आलोचना एक मिनेटमा गर्न सकिन्छ। आलोचना गर्न सजिलो र सस्तो पर्छ। खासै मेहनत पनि पर्दैन।त्यसमाथि पनि पत्रकार नेपालले वीपीका बारेमा निर्माण गरेका वृत्तचित्रका श्रृङ्खलामध्ये मंगलबार प्रदर्शन भएको खण्ड निकै जटिल हो।

यो कालखण्डलाई विवादरहित ढंगले प्रस्तुत गर्न लगभग असम्भव छ। वीपीले करीब ४० वर्ष सक्रिय राजनीति गरे। त्यसमध्ये वि.सं. २०३३ सालदेखि २०३७ सालसम्मको अवधिलाई लिएर वीपीका समर्थक वा विरोधी कसैको पनि एउटै दृष्टिकोण रहेको पाइँदैन। समय बित्दै गएपछि महापुरुषहरुलाई हेर्ने दृष्टिकोणमा भिन्नता बढ्दै जानु प्राकृतिक नियम नै हो।

भगवानको अवतार मानिएका राम, कृष्ण, जिसस क्राइष्ट, पैगम्बर मोहम्मद लगायतका विषयमा त भक्तजनहरुबीच एउटै दृष्टिकोण पाइँदैन। भक्तजनहरु आफै लडाइँ गरिरहेका छन्। वीपी कोइराला त मानिस मात्रै हुन्। वि.सं. २०३३ देखि २०३७ सालसम्मको कालखण्ड बाहेक विपीलाई हेर्ने दृष्टिकोणमा खासै विवाद देखिन्न।

पत्रकार नेपालले तयार गरेका यस अघिका वृत्रचित्रबारे खासै ठूलो बहस र विवाद पनि भएन। तर, मंगलबार प्रदर्शन भएको वृत्तचित्रको श्रृंखलाका सन्दर्भमा भने धेरै ठूलो बहस हुनसक्छ। वि.सं. २०३३ साल पुस १६ गते वीपी कोइराला राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिएर स्वदेश फर्के।

उनले अवलम्बन गरेको राष्ट्रिय एकता तथा मेलमिलाप नीतिलाई विश्लेषण गर्ने मामिलामा धेरै धार तथा उपधार देखिएका छन्। खासगरी राजसंस्थाका विषयमा वीपीको दृष्टिकोण के थियो ? राजा महेन्द्रले कायम गरेको हिन्दु अधिराज्यका विषयमा वीपी कोइरालाको दृष्टिकोण के थियो ? भन्ने प्रश्नको उत्तरमा एक रुपता हुन सकेको छैन।

एकरुपता छैन भन्ने कुरालाई वृत्तचित्रले पुष्टि गरेको छ, तर किन एक रुपता हुन सकेन भन्ने मामिलामा बहसको खाँचो आवश्यक छ। राष्ट्रिय एकता तथा मेलमिलाप नीतिको अन्तर्यका सन्दर्भमा वीपी स्वयंका अभिव्यक्तिभन्दा आधिकारीक अरु केही हुन सक्दैन। यस सन्दर्भमा वीपी कोइरालाले आफूसँग सम्पर्कमा भएका कार्यकर्ता र प्रेससँग धेरै कुरा बोलेका छन्।

यसैगरी जनमत संग्रहको घोषणापछि आयोजित आमसभामा पनि धेरै कुरा बोलेका छन्। यी सबै कुरा कुनै न कुनै रुपमा प्रकाशित छन् तर वीपीले अन्य व्यक्तिसँग गरेका कुरा, आमसभामा बोलेका कुरा र मिडियालाई दिएका अन्तर्वार्तामा केही दृष्टिकोणहरु बाझिएका कारण अन्योलता सिर्जना भएको छ।

मंगलबार प्रदर्शन गरिएको वृत्तचित्रमा त्यतिबेला वीपीसँग उठबस गरेकामध्ये केवी गुरुङ, रामबाबु प्रसाईं, बलदेव शर्मा मजगैयाँ, खुमबहादुर खड्कासँगको अन्तरवार्ता समावेश गरिएको छ। साथै वीपीका जेठा छोरा प्रकाश कोइरालासँगको कुराकानी पनि समावेश गरिएको छ। संयोगले यी पाँचै जना यतिबेला राजावादीका रुपमा परिचित छन्।

वीपी कोइराला राजसंस्था राख्ने पक्षमा थिए, राजसंस्था समाप्त हुँदा देशको अस्तित्व पनि समाप्त हुन्छ भन्ने वीपीको दृष्टिकोण थियो भन्ने अभिव्यक्ति यी उनका छोराहरुको छ। मिडियामा प्रकाशित भइसकेका कतिपय दृष्टिकोणहरुलाई वृत्तचित्रमा समावेश गर्न आवश्यक र सान्दर्भिक नठानिएको निर्माताको भनाइ छ।

त्यसैले वृत्तचित्र सरसर्ती हेर्दा वीपी कोइराला राजसंस्थाको निरन्तरताको पक्षमा थिए, गणतन्त्रको पक्षमा थिएनन् भन्ने सन्देश प्राप्त हुन्छ। यसैगरी २०३६ सालको जनमत संग्रहको सेरोफेरोमा बहुदलको प्रचार गर्ने क्रममा वीपी कोइरालाले दिएका अभिव्यक्तिहरु पनि राजसंस्थालाई निरन्तरता दिने पक्षमै छन्। गणतन्त्रको विपक्षमा छन्।

यता राष्ट्रिय मेलमिलापको नीतिपछि विदेशमा गएर विदेशी पत्रकारहरुसँगको अन्तरवार्तामा भने वीपी कोइराला मुलकबाट राजसंस्था उखेलिने कुरामा करीब करीब स्पष्ट देखिन्छन्। तत्कालीन राजा वीरेन्द्रको सदासयतामा अमेरिका गएर स्वास्थ्य उपचार गर्ने क्रममा त्यहाँका पत्रकारले सोधेका प्रश्नको उत्तरमा वीपीले गणतन्त्र स्थापनाका लागि कुनै ताकतले रोक्न नसक्ने बताएका छन्।

जुन राजसंस्थाले जनताको अधिकार अपहरण गर्‍यो, जननिर्वाचित प्रधानमन्त्री तपाईंलाई जेलमा सडाएर यो हालतमा पुर्‍यायो, त्यही राजसंस्थाको संरक्षणमा तपाईं किन लाग्नुभएको छ ? भन्ने प्रश्नको उत्तरमा वीपीको जवाफ छ– ‘सर्पको आहारा मुसा हो, न्याउरी मुसा सर्पका लागि विष हो, तर मुसा र न्याउरी मुसा झट्ट हेर्दा उस्तै देखिन्छ।

मुसा ठानेर न्याउरी मुसा खायो भने सर्प मर्छ, जननिर्वाचित सरकार वर्खास्त गर्ने मामिलामा पनि राजा यसरी नै झुक्किए। तत्कालिन परिस्थितिमा राजाको सदासयतामा जीवन दान मात्रै होइन, आर्थिक सहयोग समेत पाएर अमेरिका पुगेका वीपी कोइरालाले राजतन्त्रको सन्दर्भमा यति कुरा राख्नु भनेको करीब करीब प्रष्ट हो। राजसंस्था समाप्त हुन्छ भन्ने सन्दर्भमा यहाँभन्दा प्रष्टसँग कुरा राख्न सकिने सम्भावना त्यतिबेला थिएन।

जहाँसम्म २०३६ सालको जनमत संग्रहका क्रममा बहुदलको प्रचारमा आयोजित आमसभामा वीपी कोइरालाले राजसंस्थाको निरन्तरताका बारेमा दिएका अभिव्यक्तिहरुको प्रसंग छ, त्यसलाई शाब्दिक दृष्टिकोणले मात्रै परिभाषा गर्दा अन्योलता उत्पन्न हुनु स्वभाविक हो।

वीपी कोइरालाले जनमत संग्रहलाई साध्य मानेकै थिएनन्, खुकुलो वातावरण बनाएर जनताबीच आफ्ना कुरा राख्न सकिने साधन बनाएका थिए। बहुदलको प्रचारका क्रममा राजसंस्था समाप्तीको सन्देश दिँदा परिस्थिति झन प्रत्युत्पादक हुने निश्चित थियो।

राजसंस्था अपरिहार्य छ भन्ने सन्देश लिएर जाँदा त दरबारको एउटा लवीले आमसभाकै क्रममा हुलदंगा मच्चाएर वीपीलाई मारिदिने सम्मको तयारी गरेको थियो भने, राजसंस्था समाप्तीको सन्देश दिँदा के अवस्था उत्पन्न हुन्थ्यो होला ? त्यसैले राजसंस्थाको निरन्तरता की, गणतन्त्र ? भन्ने प्रश्नमा वीपीको दृष्टिकोण के हो ?

भन्ने गिरिजाप्रसाद कोइराला र गणेशमान सिंहको विश्लेषणलाई आधिकारिक मान्ने कि, रामबाबु प्रसाईं र बलदेब शर्मा मजगैंयाको विश्लेषणलाई आधिकारिक मान्ने ? वृत्तचित्र हेर्नेहरुमध्ये कतिपयले आफ्नो दिमागमा रिँगटा नै छुटेको बताए।

वीपी कोइरालाले आफ्नो उत्तराधिकारीका रुपमा अघि सारेका गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा नेपालमा गणतन्त्र स्थापना भयो। गणेशमानजीका सन्दर्भमा कुरा गर्ने हो भने २०४७ सालको अन्तरिम संविधान जारी गर्ने बेलाको प्रसङ्गले स्पष्ट उत्तर दिन्छ।

वीपी कोइराला जस्तो घुमाउरो पाराले लाक्षणिक अर्थ दिने गरी बोल्न गणेशमान सिंह आवश्यक ठान्दैनथे। अन्तरिम संविधान निर्माणका क्रममा धर्मनिरपेक्षता लेख्ने कि हिन्दु अधिराज्य भन्ने विषयमा ठूलो बहस भयो। मुलकको जनजाति समुदाय धर्मनिपेक्षताको पक्षमा उभियो। आन्दोलनको अवस्था उत्पन्न भयो।

त्यतिबेला धर्मनिरपेक्षतावादीका अगुवाहरुलाई आफ्नो निवासमा भेला गरेर गणेशमान सिंहले भने– ‘हिन्दु राजसंस्था भएको देशमा धर्मनिरपेक्ष संविधान बनाउन खोज्दा प्राप्त उपलब्धी पनि गुम्ने खतरा उत्पन्न हुन सक्छ, त्यसैले धर्मनिरपेक्षता कायम गराउनका लागि अझै १५–२० वर्ष लाग्न सक्छ।

नभन्दै गणतन्त्रको पुर्वसन्ध्यामा अर्थात् गणेशमान सिंहले प्रक्षेपण गरेको १६ वर्षपछि संविधानमा धर्मनिरपेक्ष उल्लेख भयो। राजसंस्था नरहे देश रहँदैन भन्ने कुरा वीपी कोइरालाको ‘बटम लाइन’ हो वा होइन भन्ने प्रश्न सर्वाधिक महत्वपूर्ण छ।

गणतन्त्र स्थापना भएको १५ वर्ष बित्दै गर्दा सार्वजनिक भएको वृत्तचित्र हेरेर नयाँ पुस्ताका युवाहरुले वीपी कोइरालाबारे के दृष्टिकोण बनाउलान् ? यदि वीपी कोइराला राजसंस्थाको निरन्तरता चाहन्थे भने उनी राजनेता कसरी भए ? भन्ने प्रश्न स्वतः उब्जिन्छ। किनकि १५ वर्ष भनेको एउटा कालखण्ड हो। यो वृत्तचित्रले वीपी कोइरालालाई राजनेताको स्तरबाट तल झार्ने सन्देश दिन्छ वा दिँदैन ? यो भने बहसको विषय बन्न सक्छ।

प्रतिक्रिया

आजको ट्रेन्डिङ