आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

रुसी आक्रमणलाई निस्तेज तुल्याएको त्यो ‘ज्याभलिन क्षेप्यास्त्र’

प्रकाशित
273
SHARES

काठमाडौँ। गत फेब्रुअरी २४ का दिन एकाबिहानै युक्रेनको निशस्त्रीकरण एवम् अनाजीकरण तथा पूर्वी युक्रेनमा रहेका रुसी भाषीको ‘नरसंहार’ लाई रोक्न भन्दै रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले ‘डोनबासमा विशेष सैनिक कारवाही’ को घोषणा गरे।

राष्ट्रिय टेलिभिजनमार्फत् गरिएको उनको घोषणालगत्तै उत्तरमा बेलारुस, दक्षिणमा क्राइमिया र पूर्वमा रुसी भूमिबाट रुसी फौज २ लाख सैनिकको ठूलो दलबल र भारी हतियारसहित युक्रेन प्रवेश गरे।

त्यस्तै, युक्रेनका शहरहरुमा हवाई एवम् क्षेप्यास्त्र आक्रमणका कारण धेरै युक्रेनी पूर्वाधार ध्वस्त भए भने जनधनको पनि ठूलो क्षति भयो। सीधै राजधानी किभ कब्जा गर्ने उद्देश्यसहित आक्रमणको प्रारम्भिक चरणमा रुसले ड्निपर नदीको किनारै किनार बेलारुसबाट त्यसतर्फ सैनिक लस्कर पठाएको थियो।

युद्धका प्रारम्भिक दिनहरुमा किभ नजिकैको होस्तोमेल विमानस्थललाई कब्जा गरिहाल्ने रुसी फौजको प्रयास पनि तीव्र युक्रेनी प्रतिरोधका कारण सफल हुन सकेन। यससँगै तत्कालै होस्तोमेल विमानस्थल कब्जा गरेर त्यहाँ पाराट्रुपर सैनिक उतारेर छोटो समयमानै किभ कब्जा गर्ने रुसी योजना पनि तुहियो।

अर्कोतर्फ राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीलगायत युक्रेनी शीर्ष नेतृत्व तहका व्यक्तिहरुको सफाया गर्नका लागि रुसले खटाएका सैनिकहरु पनि धमाधम पक्राउ पर्न थाले भने केही षड्यन्त्रलाई असफल बनाउन रुसी गुप्तचर अधिकारीहरुले नै सहयोग गरेको भन्ने समाचार पनि सार्वजनिक भए।

युद्ध शुरु हुनुअघि रुसले एक वा दुई दिनमै युक्रेनलाई काँचै खाइदिने धेरैको अपेक्षा थियो। तर, युद्ध लम्बिँदै गर्दा त्यसको उल्टो नतिजा आयो। युद्ध शुरु भएको पहिलो सातामै सामाजिक सञ्जालमा त्यसै अलपत्र छाडिएका रुसी बख्तरबन्द गाडी, युक्रेनी क्षेप्यास्त्रले ध्वस्त बनाएका ट्यांक, तेल सकिएर मिल्काइएका सैनिक सवारी साधनजस्ता सैनिक उपकरणका तस्वीरहरु देखिन थाले।

सन् २०१४ मा रुसले क्राइमियालाई आफ्नो मुलुकमा गाभेदेखि रुसविरुद्ध युद्धको तयारीमा रहेको युक्रेनी फौजको अनपेक्षित तेज प्रतिरोधका कारण फलतः रुसले किभमा आक्रमणलाई स्थगित गरी पूर्वी एवम् दक्षिणी युक्रेनतर्फ केन्द्रित गर्न बाध्य भयो।

धेरैले नेटो आबद्ध मुलुकहरुबाट प्राप्त साना तर परम्परागत सेनाविरुद्धको छापामार युद्धमा अत्यन्त प्रभावकारी मानिने ट्यांक एवम् विमानभेदी क्षेप्यास्त्र तथा चालकरहित हवाई उपकरण ड्रोनको प्रयोगका कारण युक्रेनी फौजले २१ औँ शताब्दीको पछिल्लो युद्ध मैदानमा सफलता हासिल गरेको टिप्पणी गर्छन्।

युक्रेनले पश्चिमा मुलुकबाट ठूलो मात्रामा सैन्य सहायता प्राप्त गरेको छ। गत बुधबारमात्रै अमेरिकाले युक्रेनलाई ८० करोड डलरभन्दा धेरैको सैन्य सहयोग गर्ने घोषणा गरेको थियो।

यो त एउटा उदाहरणमात्रै हो, पश्चिमा मुलुकहरुबाट युक्रेनले हालसम्म दशौं अर्ब डलर बराबरको सैन्य सहायता प्राप्त गरिसकेको छ। यसमा पनि नेटो आबद्ध मुलुकहरुले युक्रेनलाई प्रदान गरेका केही हतियारले अत्यन्त महत्वपूर्ण भूमिका खेलेको बताइन्छ।

यसमा पनि ज्याभलिन ट्यांकभेदी क्षेप्यास्त्र प्रणाली सबैभन्दा महत्वपूर्ण रहेको विश्लेषकहरु बताउँछन्। रुसी सैनिक सिद्धान्तअनुसार युद्धमा ट्यांक र बख्तरबन्द गाडीको प्रयोगलाई ठूलो महत्व दिइएको छ। युद्धका बेला रुसले आफ्नो सैन्य टोलीलाई ‘बटालियन ट्याक्टिकल ग्रुप’ मा विभाजन गर्दै आएको छ।

युक्रेन आक्रमणको प्रारम्भिक चरणमा रुसले यस्ता १२० बटालियन तैनाथ गरेको थियो। यस्तो ग्रुपमा औसत १० वटा ट्यांक ४० वटा जति बख्तरबन्द गाडी र ७–८ सय सैनिक समावेश हुने बताइन्छ।

धेरै विश्लेषकहरुले युक्रेनजस्तो विशाल क्षेत्रफल भएको मुलुकमा आक्रमण गर्दा आफ्ना सैनिकलाई स–सानो समूहमा विभाजन गर्नु गलत भएको टिप्पणी गर्ने गर्छन्।

स–साना सैनिक समूहहरु युक्रेनी सैनिकका लागि राम्रो निशाना बन्ने उनीहरुको धारणा छ। स–सानो संख्यामा रहेका ट्यांक र बख्तरबन्द गाडीविरुद्ध ज्याभलिनजस्ता ट्यांकभेदी क्षेप्यस्त्र धेरै प्रभावकारी हुन्छन्। एकै जना वा सानो

समूहमा रहेका सैनिकहरुले पनि सहजै प्रयोग गर्न मिल्ने एवम् बोकेर यताउता लैजान मिल्ने झण्डै २० किलोग्राम तौलको ज्याभलिन क्षेप्यस्त्रलाई राति पनि प्रयोग गर्न मिल्ने बताइन्छ।

यही ज्याभलिन क्षेप्यास्त्रका कारण ठूलो परिमाणमा रुसी ट्यांक एवम् बख्तरबन्द गाडी ध्वस्त भएको बताइन्छ। ज्याभलिनको मूल्य पनि उत्तिकै धेरै छ। ‘बिजनेश इन्साइडर’का अनुसार हरेक एकाईलाई २ लाख डलर जति पर्छ। अर्कोतर्फ तुलना गर्दा यसले ध्वस्त पार्ने औसत रुसी ट्यांक एवम् बख्तरबन्द गाडीको मूल्य दशौँ लाखसम्म हुनसक्छ।

लक्षित निशानामा प्रहार गर्दा यो क्षेप्यास्त्र सीधै उक्त सैनिक सामग्रीको सामुन्ने नगई शुरुमा यसले उचाइ लिने गर्छ। सामान्यतः ट्यांकभेदी हतियारबाट जोगाउन ट्यांक लगायत सैन्य सामग्रीको बाहिरी आवरणमा मोटो एवम् बाक्लो धातुको पाता जडान गरिएको हुन्छ।

यस्तो पाता ट्यांकको शीर्ष भागमा अन्य स्थानको तुलनामा हल्का र पातलो हुने बताइन्छ। प्रहार गर्दा उचाई लिने र ट्यांकको सबैभन्दा जोखिमपूर्ण शीर्ष भागमा निशाना साँध्ने भएका कारण युक्रेन आक्रमणका क्रममा रुसी फौजमाझ यो हतियार निकै कुख्यात रहेको समेत बताइन्छ।

२ हजार मिटर टाढाबाट समेत सटिक निशानामा प्रहार गर्न सक्ने ज्याभलिन क्षेप्यास्त्रले ट्यांकका साथै मानवीय निशानामा पनि उत्तिकै प्रभावकारी काम गर्छ। इन्फ्रारेड मार्गदर्शक प्रणालीमा चल्ने यो क्षेप्यास्त्रमा हाइ एक्सप्लोसिभ एन्टी ट्यांक हिट नामक विष्फोटकको प्रयोग हुने गरेको छ।

यसअघि युक्रेनी फौजको सैनिक सामग्री एवम् हतियार रुसको जस्तै पुरानो सोभियत शैलीको थियो। तर, पछिल्लो समय युक्रेनी फौजलाई नेटो आबद्ध मुलुकहरुले ज्याभलिनजस्ता अत्याधुनिक हतियार सहयोग गर्दै आइरहेका छन्।

मुलुकको रक्षा गर्नु अवश्य पनि सहज काम होइन। त्यसमाथि आफूले वर्षौँदेखि प्रयोग गर्दै आएको रुसी शैलीको हतियारलाई चटक्कै छाडेर नयाँ अपरिचित पश्चिमा मुलुकबाट प्राप्त हतियार प्रयोग गरेर आफ्नो रक्षा गर्नु अझ गाह्रो काम हो।

युद्धका बेला सोभियत शैलीको हतियार त्यागेर नेटोको प्रमाणिक हतियार, गोलाबारुद, तोपखाना, बख्तरबन्द गाडीलाई प्रयोगमा ल्याउने प्रयास अवश्य पनि सहज छैन। पश्चिमा मुलुकबाट प्राप्त गोलीगठ्ठा सोभियत शैलीका बन्दुकमा प्रयोग गर्न मिल्दैन भने अरु सैनिक उपकरण पनि सोभियत शैलीको भारी हतियारमा फिट हुँदैनन्।

पश्चिमा मुलुकले प्रदान गरेका रकेट, ग्रिनेड, तोपखाना, ट्यांकमा प्रयोग हुने बन्दुक, अन्य मध्यम स्तरका हतियार पूर्व सोभियत संघबाट प्रभावित युक्रेनी सेनाले यसअघि प्रयोग गर्दै आएका सैनिक उपकरण एवम् हतियार भन्दा बिल्कुल भिन्न छन्।

उदाहरणका लागि त्यसबाहेक पश्चिमा मुलुकले उपलब्ध गराएका ट्यांक, बख्तरबन्द गाडी र अन्य सैनिक उपकरण बेग्लै किसिमको इन्धनबाट चल्छन् र ती सामग्रीको मर्मत गर्न बेग्लै किसिमको औजार चाहिन्छ। यो शान्तिपूर्ण समयका लागि त कठिन कार्य हो भने झन् युद्धको समयमा हतियार एवम् सैनिक उपकरणलाई परिवर्तन गर्नु चानचुने कुरा होइन।

हाल यसअघि वार्सा प्याक्टको सदस्य रही हाल युक्रेनलाई सैन्य सहयोग गर्दै आएका केही मुलुकले सोभियत शैलीकै हतियार, सैनिक उपकरणका पार्टपुर्जा तथा गोलीगठ्ठा आपूर्ति गर्दै आएका छन्। ता कि, युक्रेनसँग रहेका पुराना हतियार पनि युद्धमैदानमा प्रयोगमा आउँन्।

यद्यपि रुसविरुद्ध लड्न युद्धमैदानमा युक्रेनसँग हतियार एवम् अन्य सैन्य सामग्रीको अभाव हुन थालेको बताइन्छ। त्यसमाथि युक्रेनलाई प्रदान गर्न पश्चिमा मुलुकसँग सोभियत शैलीको हतियारको पनि ठूलो सञ्चिति छैन। यस्तो अवस्थामा नेटो मुलुकबाट प्राप्त हतियारमै निर्भर हुनबाहेक युक्रेनसँग अर्को विकल्प छैन।

यसअघि पनि बुल्गेरिया, चेक गणतन्त्र, पोल्याण्ड, हंगेरीजस्ता पूर्व साम्यवादी मुलुकहरुले नेटोको सदस्यता पाउँदा यी मुलुकसँग रहेका सोभियत शैलीको हतियारलाई पश्चिमा मुलुकले प्रयोग गर्ने नेटो शैलीको हतियारले प्रतिस्थापन गर्न पनि ठूलै समस्या परेको थियो।

प्रतिक्रिया

आजको ट्रेन्डिङ