आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

चितवन सभापतिलाई देउवाले भने-भरतपुर माओवादीलाई छाड्नु पर्‍यो

प्रकाशित
295
SHARES

चितवन। नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा र चितवन कांग्रेसका सभापति राजेश्वर खनालबीच आज प्रधानमन्त्री निवास बालुवाटारमा भेट भएको छ।

भरतपुर महानगरपालिकाको मेयरको उम्मेदवारको विषयमा कुरा गर्न देउवाले खनाललाई बालुवाटार बोलाएका थिए।

भेटका क्रममा प्रधानमन्त्री देउवाले सत्ता गठबन्धनलाई निरन्तरता दिन भरतपुरको मेयर नेकपा माओवादी केन्द्रलाई छाड्नुपर्ने अवस्था आएको बताएको चितवन कांग्रेस सभापति खनालले जानकारी दिए।

केन्द्रीय समितिको निर्णयलाई आफूले मान्ने तर कार्यकर्ताको भावना माओवादी केन्द्रलाई छाड्ने नरहेको आफूले देउवालाई बताएको खनालले जनाए।

सत्ता गठबन्धनलाई निरन्तरता दिन भरतपुर माओवादीलाई छाड्नु पर्ने अवस्था आएको कुरा उहाँले भन्नुभयो, उनले भने, मैले चाँही कार्यकर्ताको भावना यस्तो छैन।

मैले केन्द्रीय समितिको निर्णय मानौँला, कार्यकर्तालाई मनाउन मैले सक्दिन, तपाइँले नै मनाउनुस् भनेको छु। देउवाले भरतपुरको मेयरमा माओवादीलाई सहयोग गर्न खनाललाई आग्रह पनि गरेका छन्।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अरु महानगरभन्दा भरतपुरनै सजिलो हुने बताएकाले भरतपुरनै छाड्ने निर्णयमा देउवा पुगेका छन्।

अघिल्लो स्थानीय तह निर्वाचनमा पनि कांग्रेसले भरतपुर महानगरको मेयरमा माओवादी केन्द्रलाई सहयोग गरेको थियो। मेयरमा माओवादी केन्द्रबाट रेणु दाहाल विजयी भएकी थिइन्।

त्यसपछि भएको प्रतिनिधि सभा निर्वाचनमा निर्वाचन क्षेत्र नम्बर ३ मा कांग्रेसले राप्रपाका विक्रम पाण्डेलाई सहयोग गरेको थियो। तर, पाण्डे निर्वाचित हुन सकेनन्। वाम गठबन्धनका उम्मेदवार प्रचण्ड विजयी भएका थिए।

त्यस्तै, आसन्न निर्वाचनमा उपमहानगरपालिकामा सिट बाँडफाँटका लागि सत्ता गठबन्धनको बैठक आज बिहान बस्दैछ।

बैठक बिहान ११ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्न लागेको माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्डका स्वकीय सचिव रमेश मल्लले जानकारी दिए ।

गठबन्धनले ६ महानगरपालिकामा सिटबाँडफाँट करिबकरिब टुंग्याए पनि उपमहानगरपालिकामा भने विवाद कायमै छ। मंगलबार राति बालुवाटारमा बसेको गठबन्धनको बैठक निष्कर्षमा पुग्न नसकेपछि आज फेरि बैठक बस्न लागेको हो।

११ मध्ये ९ उपमहानगरमा सहमति जुटे पनि नेपालगन्ज र जनकपुर उपमहानगरपालिकामा सहमति जुटेको छैन। यसअघि जनकपुरमा जनता समाजवादी पार्टी र नेपालगन्जमा नेपाली कांग्रेसलाई मेयरको सिट दिने विषयमा छलफल भएको थियो।

तर, जसपाले नेपालगन्जमा पनि दाबी गरेपछि कांग्रेसले जनकपुरमा समेत दाबा ठोकेको हो। ११ उपमहानगरमा कांग्रेसले ६ तथा माओवादीले दुई र एकीकृत समाजवादी र जसपाले एक-एक मेयर लिने गरी सहमतिमा प्रयास भए पनि जसपाले दुई उपमहानगर खोजेको हो।

६ महानगरमध्ये कांग्रेसले तीन तथा माओवादी, एकीकृत समाजवादी र जसपाले एक(एक मेयर पाउने गरी सहमति जुटिसकेको बताइएको छ।

प्रतिक्रिया

आजको ट्रेन्डिङ