आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

बाँझघरे टोल : हरेक परिवारका सदस्य वैदेशिक रोजगारीमा

प्रकाशित
348
SHARES

काठमाडौँ। हिजोआज वैदेशिक रोजगारमा संलग्न घर परिवार पाउन गार्‍हो छ। गाउँका अधिकांश परिवारका कोही न कोही सदस्य विदेश पुगेका छन्, कतिपय पुगेर फर्किसकेका छन्।

खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-४ खाल्लेको बाँझघरे टोल त्यसकै एउटा उदाहरण हो। श्रेष्ठ समुदायको बसोबास रहेको बाँझघरे टोलका अधिकांश परिवार कुनै न कुनै हिसावले वैदेशिक रोजगारीमा संलग्न छन्।

बाँझघरे टोलमा १७ परिवारको बसोबास छ। त्यसमध्ये १५ परिवार वैदेशिक रोजगारमा संलग्न छन्। इन्द्र श्रेष्ठ र खड्ग श्रेष्ठको परिवार मात्र हालसम्म वैदेशिक रोजगारमा सामेल भएका छैनन्।

एकराज श्रेष्ठ, छविलाल श्रेष्ठ, मुगाधन श्रेष्ठ, रमेश श्रेष्ठ, टंक श्रेष्ठ, महिन्द्र श्रेष्ठ, सूर्यबहादुर श्रेष्ठ, खड्गबहादुर श्रेष्ठ, तिलबहादुर श्रेष्ठ, पुन्नबहादुर श्रेष्ठ, पर्शुराम श्रेष्ठ, बच्चु कैलास, भोजकुमार श्रेष्ठ, नैनबहादुर श्रेष्ठ, इच्छाराम श्रेष्ठ र परमिला श्रेष्ठको परिवारका कुनै न कुनै सदस्य वैदेशिक रोजगारीमा छन्।

वैदेशिक रोजगारीबाट कमाएको रकमले कतिपय परिवारको आर्थिक अवस्थामा सुधार आएको छ। घर व्यवहार चलाउन, छोराछोरीको शिक्षामा खर्च गर्नदेखि बचत गर्नमा वैदेशिक रोजगारको योगदान रहेको टंक श्रेष्ठले बताए।

विदेशबाट फर्किएका खाल्लेको बाँझघरे टोलका स्थानीय व्यवसायीक कृषि पेशामा संलग्न छन्। विदेशमा कडा श्रम गरेका स्थानीय गाउँमा फर्किएर गोलभेँडा, काँक्रो, फर्सी, तितेकरेला, प्याज लगायतका तरकारी खेतीमा संलग्न छन्। तरकारी खेतीलाई उनीहरुले नियमित आम्दानीको स्रोत बनाएका छन्।

उसो त बाँझघरे टोलमा १८ वर्षअघिदेखि व्यवसायीक रुपमा तरकारी खेती सुरु गरिएको हो। स्थानीय इन्द्र श्रेष्ठले कृषि सम्बन्धी हप्ता दिनको तालिम लिएर तरकारी खेती सुरु गरेका हुन्। त्यसपछि उनको सिको गर्ने क्रम सुरु भएको हो।

पछिल्लो समय बैदेसिक रोजगारबाट फर्किएका छिमेकीले समेत व्यवसायीक कृषि कर्म अपनाइरहेको इन्द्र श्रेष्ठ बताउँछन्। हाल बाँझघरे टोलका किसानले प्रतिपरिवार मासिक ३५ हजारको हाराहारीमा आम्दानी गर्ने गरेका छन्।

उत्पादित तरकारी उनीहरुले डोकोमा बोकेर दिक्तेलमा लाग्ने हटियामा पुर्‍याउने गरेका छन्। बाँझघरे टोलका किसान सुर्यद्धय कृषक समुहमा आवद्ध छन्। किसानलाई संगठित गर्नका लागि ३ वर्षअघि कृषक समुह गठन गरिएको हो।

बाँझघरे टोलका प्रत्येक घरमा व्यवसायीक तरकारी खेती भए पनि राज्यबाट अनुदान भने नपाएको गुनासो छ। हालसम्म आफ्नै बलबुतामा बिउ तथा बेर्ना खरिद तथा उत्पादन गर्दै तरकारी खेती लगाइरहेको एकराज श्रेष्ठ बताउँछन्।

बोल्ने तर खेती नगर्नेले अनुदान पाउँदा खेती गर्ने तर नबोल्ने किसान अनुदानबाट बञ्चित बनिरहेको उनीहरु बताउँछन्। किसानलाई अनुदानका लागि वडा, नगरपालिका वा अन्य निकायमा धाइरहने फुर्सद नै हुन्न।

कतिपय किसान अनुदानका लागि घरको काम छाडेर जान भ्याउँदैनन्। अनुदान खोज्दै हिँड्न थाले खेतीको काम बित्छ। यही कारण वास्तविक किसान अनुदानबाट विमुख बन्न पुगेको एकराज बताउँछन्।

बाँझघरे टोलका किसानले एक एक थान प्लाष्टिक टनेल तथा केही प्लाष्टिक पोखरी बाहेकका अनुदान पाएका छैनन्। व्यवसायीक रुपमा काम गरिरहेको भए पनि अनुदान नपाउँदा किसान निरास छन्।

प्रतिक्रिया

आजको ट्रेन्डिङ