आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

रुसले युद्ध कमान्डर परिवर्तन गर्यो, अमेरिका सहित नेटो देशहरुमा खैलाबैला

प्रकाशित
3.1K
SHARES

एजेन्सी। एक जना पश्चिमा अधिकारीले रुसले युक्रेनको कारबाहीको नेतृत्व हेरफेर गरेको पुष्टि गरेका छन्।नयाँ जेनरलसँग सिरिया युद्धको व्यापक अनुभव रहेको बताइएको छ।

बीबीसीका गर्डन करेरासँग नाम नखुलाउने शर्तमा उक्त स्रोतले बताए अनुसार रुसको दक्षिणी सैन्य जिल्लाका कमान्डर जेनरल अलेकसान्डर डीभोर्निकोभले युक्रेन आक्रमणको नेतृत्व गरेका छन्।

स्रोतले भन्यो, “यी कमान्डरसँग सिरियामा रुसी कारबाहीको लामो अनुभव छ। त्यसैले रुसी फौजमाथिको नियन्त्रण अब सुध्रिने अपेक्षा राख्न सकिन्छ। युक्रेन आक्रमणमा खटिएका विभिन्न इकाईसँग संयोजन सुधार्ने प्रयत्नस्वरूप नयाँ कमान्डर खटाइएको बताइएको छ।

यस अघि विभिन्न क्षेत्रमा छुट्टाछुट्टै कमान्डरले युद्ध चलाइरहेको बताइएको छ।युद्धको ४४ औँ दिन पुग्दा रुसले उसको युद्धको लक्ष्य प्राप्त गर्न अहिलेसम्मको अवस्था हेर्दा कठिन रहेको, किएभ जस्ता मुख्य शहरमा नियन्त्रण जमाउन नसकेको र अहिले पूर्वको डोनबास क्षेत्रमा केन्द्रित हुनुपरेको छ।

ती अधिकारीका अनुसार रुसी रणनीतिलाई तुलनात्मक रूपमा सानो सङ्ख्यामा रहेका युक्रेनी इकाईहरूले बुद्धिमानीपूर्वक र आश्चर्यमा पार्ने गरी विफल बनाउँदै आएका छन्।

ती अधिकारी भन्छन्, “रुसले आफ्नो रणनीति परिवर्तन गर्न नसकेसम्म उनीहरूले सीमित लक्ष्य पनि प्राप्त गर्न कसरी सफल होलान् भन्ने बताउन कठिन छ।

ती अधिकारीका अनुसार “सैन्य प्राथमिकतामाथि राजनीतिक दृष्टिकोण हाबी हुन सक्छ र रुसले दोस्रो विश्व युद्धमा विजय प्राप्त गरेको दिन ९ मे अगाडि केही सफलता प्राप्त गर्ने प्रयत्न हुन सक्छ।

परम्परागत रूपमा गुप्तचरको दायित्व सबै कुरा गोप्य राख्ने हो। तर युक्रेनमाथि आक्रमणको खतरा बढ्दै गएपछि पश्चिमा गुप्तचर अधिकारीहरूले आफूलाई थाहा भएको कुरा विश्वलाई बताउने अस्वाभाविक निर्णय गरे।

फेब्रुअरीमा करिब एक दर्जन दिन गुप्तचरहरूको एउटा समूह अरु बेला भन्दा छिटो सुत्न जान थाले। उनीहरूले सङ्कलन गरेको सूचनाले युद्ध हुन लागेको देखाउँथ्यो र यदि रुसले युक्रेनमाथि आक्रमण गर्‍यो भने त्यो बिहान सबेरै हुने निश्चित थियो।

तर जब २४ फेब्रुअरीका दिन युक्रेनमाथि आक्रमण भयो त्यसमा विश्वास गर्न सुरुमा मुस्किल भयो”, एक जना अधिकारी सम्झन्छन्, “त्यस दिन बिहान सबेरै उठेर रेडियो खोल्दासम्म पनि युद्ध साँच्चिकै भयो भनेर विश्वास गर्न गाह्रो भइरहेको थियो।”

महिनौँदेखि उनीहरूले यसैबारे सचेत गराउँदै आएका थिए। उनी भन्छन्, “मानिसहरू त्यस दिन “किन तिमी आत्तिइरहेको?” बाट किन “तिमीले यस अघि नै अत्याएनौँ?” भन्न थालेका थिए।

त्यहाँ आफूहरूको चेतावनी सही प्रमाणित भएकोमा कुनै सन्तुष्टि थिएन,” अर्का अधिकारीले थपे। तर जे भए पनि महिनौँदेखि ठूलो युद्ध हुन सक्ने भन्ने चेतावनी दिएर आफूहरूले युद्ध रोक्ने प्रयत्न गरेका थियौँ भन्ने उनीहरूले महसुस गरे।

यसैबीच जापानी प्रधानमन्त्री फुमिओ किशिडाले शुक्रवार प्रेस सम्मेलन गर्दै आठ जना रुसी कूटनीतिज्ञलाई देश निकाला गरेको र रुसी कोइला आयात पूर्ण रूपमा प्रतिबन्ध लगाइएको घोषणा गरेका छन्।

किशिडाले पत्रकारहरूलाई भने, “रुसले सर्वसाधारणको हत्या र आणविक ऊर्जा केन्द्रमाथि आक्रमण गरेर अन्तर्राष्ट्रिय मानवीय कानुनको बारम्बार उल्लङ्घन गरेको छ।”

जापानले अमेरिका र युरोपेली देशहरूसँग समन्वय गरेर रुस विरुद्धको आर्थिक नाकाबन्दीमा सहकार्य गर्दै आएको छ।किशिडाले भने, “जापान युक्रेनको साथमा छ।”

जापान भारत र चीनपछि विश्वको तेस्रो ठूलो कोइला आयातकर्ता हो। जापानको कुल कोइला आयातको ११ प्रतिशत रुसबाट आउने गरेको थियो। युक्रेन-रुस युद्ध: लासहरूसँग बास र चेर्नीहिभ वरपरको कहाली:

यहिद्‌ने नगरस्थित एउटा विद्यालयमा भूमिगत तलाको सेतो र ओसिलो भित्तामा राखिएको पात्रोमा रातो घेरा लगाइएको छ। यो घेराले मार्च ५ बाट अप्रिल २ सम्मको करिब एक महिना गाउँका बासिन्दाहरूले भोगेको अकल्पनीय आघातको समय सङ्केत गर्छ।

किएभबाट १४० किलोमिटर उत्तर पश्चिममा रहेको यो गाउँ बेलारूस र रुसको सीमावर्ती सहर चेर्नीहिभसँगै जोडिएको छ। करिब एक महिना रुसी सेनाको कब्जामा रहेको यो सहरमा करिब १३० जना गाउँलेलाई करिब ६५ वर्ग मिटरको कोठामा चार साता राखिएको थियो।

रुसी सेनाहरूले बन्दुक तेर्स्याएर घर बाहिर निकालेका महिला, बालबालिका र वृद्ध वृद्धाहरूको समूहमा ६० वर्षका मिकोला क्लिमचुक पनि थिए। उनले हामीलाई उक्त भूमिगत तला देखाउने प्रस्ताव गरे।

भर्‍याङबाट तल झर्दै गर्दा कडा दुर्गन्ध महसुस थियो। कोठा एकदमै फोहोर थियो। डसना, लुगा फाटो, जुत्ता र पुस्तकहरू भुईँमा यत्रतत्र छरिएका थिए। एउटा कुनामा भाँडाकुँडाहरू थुपारिएका थिए।

मिकोलाले हामीलाई सिधै कोठाको पल्लो छेउमा पुर्‍याए। “यो आधा मिटर ठाउँ मेरो लागि थियो। म यहाँ उभिएरै निदाएँ,” उनले सुनाए। उनको गला अवरुद्ध भयो र रुन थाले। “नलडूँ भनेर मैले आफ्नो शरीर स्कार्फले रेलिङमा बाँधेँ। यहाँ मेरा २५ रात यसरी नै बिते।”

मिकोलाका अनुसार त्यहाँ यताउता हिँड्दा पनि अरूलाई टेकिने डर हुन्थ्यो। यसरी कोचिएर राखिनेमा करिब ४० देखि ५० जना बालबालिका पनि थिए। जसमध्ये सबैभन्दा कम उमेरको बच्चा दुई महिनाको थियो।

चेर्नीहिभमा आक्रमण सुरु गरेको छोटो समयमै रुसी सैनिकहरू यहिद्‌ने जस्ता गाउँमा पुगिसकेका थिए। करिब ३००,००० मानिसहरूको बसोबास रहेको यो नगर हप्तौँसम्म बाहिरी सम्पर्कबाट अलग रह्यो।

रुसी सैनिकले सहर घेरा हालेर बमबारी गर्नुका साथै राजधानी किएभतर्फ जाने पुल समेत क्षतिग्रस्त बनाएर यहाँका बासिन्दालाई अन्यत्र भाग्ने ठाउँ समेत बन्द गरिदिएका थिए।किएभ कब्जा गर्ने आफूहरूको प्रयास असफल भएपछि अहिले रुसी फौज यो स्थानबाट फिर्ता भइसकेको छ।

रुसी सेना फिर्ता भएपछि यो ठाउँमा भएको भयावह अवस्थाबारे बुझ्न पहिलो पटक पुगेका केही सञ्चार माध्यममध्ये बीबीसी पनि एक हो। रुसी सीमा नजिकैका यो नगरका बासिन्दाहरू अझै पनि रुसी सैनिकहरू फर्केर आउने त्रासमा छन्।

पन्ध्र वर्षकी एनेस्टेसिया पनि भूमिगत तलामा आफ्ना बुबा र हजुरआमासँगै यहिद्‌नेमा थुनिएकी थिइन्। “त्यहाँ कुनै कोठा थिएन। हामी उभिएरै बस्यौँ, उभिएरै निदायौँ। निदायौँ पनि के भन्नु, निदाउन सम्भव नै थिएन। वरिपरि बमहरू खसिरहेका थिए। त्यो असह्य अवस्था थियो,” उनले भनिन्।

उनीहरू बसेको ठाउँमा हावा आवतजावत गर्ने कुनै माध्यम थिएन। झ्यालहरू ढाकिएका थिए।”म बसेको अवधिमा १२ जनाको मृत्यु भयो,” मिकोला भन्छन्।मृतकहरू मध्ये धेरैजसो ज्येष्ठ नागरिकहरू थिए। मृत्युको कारण खुल्न नसके पनि मिकोला उनीहरूको निसास्सिएर ज्यान गएको ठान्छिन्।

मृत्यु भएका मानिसहरूको शरीर तत्कालै त्यहाँबाट हटाउन सक्ने स्थिति थिएन। रुसी सैनिकहरूले हरेक दिन त्यहाँबाट लास लैजान दिँदैन थिए। निरन्तरको बमबारीबीच बाहिर निस्कन खतरनाक पनि थियो।

यसको अर्थ लासहरू बाहिर लैजान सक्ने अवस्था नबनेसम्म बालबालिका सहित मानिसहरू कहिले घण्टौँसम्म र कहिले कैयौँ दिनसम्म पनि लासहरूसँगै बस्नुपर्थ्यो।

एनेस्टेसिया निकै डराएकी मात्र छैनन् हप्तौँ सम्म बन्धक भएर बस्दाको अवस्थाका कारण उनी विचलित पनि बनेकी छिन्। “त्यो निकै डरलाग्दो अवस्था थियो। म त्यहाँ मृत्यु भएका मानिसहरूलाई पनि चिन्छु,” उनले भनिन्।

“उनीहरूले हामीलाई निकै राम्रो व्यवहार गर्थे, उनीहरूको बिना कुनै कारण मृत्यु भएकोमा मलाई धेरै दुःख लाग्यो।” अधिकांश समय मानिसहरूलाई दिशा पिसाबका लागि समेत बाहिर निस्कन रोकेर भित्रै बसेर बाल्टीमा गर्न भनिन्थ्यो।

“साधारण अवस्थामा उनीहरूको मृत्यु नहुन सक्थ्यो। पुटिन युद्ध अपराधी हुन्,” मिकोला भन्छन्।”मेरा खुट्टाहरू सुन्निन थालिसकेका थिए तर मैले मेरी छोरी र नातिनीहरूका लागि म बाँच्नुपर्छ भन्ने मात्र सोचिरहेँ।”

मिकोलाले कुनै कुनै समय सैनिकहरूले मानिसहरूलाई बाहिर आफ्नो ढालको रूपमा प्रयोग गर्न बाहिर लैजाने गरेको बताए।उनीहरूलाई दिनमा दुई पटक बाहिरपट्टि खुला स्थानमा आगो बालेर खाना पकाउन दिइन्थ्यो।

यो गाउँका बासिन्दासँग खाना र पानीको भने कमी थिएन। एक जना रुसी सैनिकले मिकोलालाई उनीहरू चार दिन मात्रै युक्रेनमा रहने बताएका थिए। त्यो अवधि किएभ कब्जा गर्न पर्याप्त हुने उनीहरूले ठानेका थिए।

अप्रिल ३ मा रुसी सैनिक फिर्ता भएपछि अहिले यो ठाउँमा युक्रेनी सैनिकहरू पुगेका छन् र बन्धक बनाइएका गाउँलेहरूलाई नजिकैका स्थानमा उद्धार गरिएको छ। “म राति पटक पटक ब्युँझिन्छु।

मलाई गोली चलेको आवाज सुनिरहेजस्तो लाग्छ र मेरा अभिभावक भएका ठाउँमा दौडेर पुग्छु,” एनेस्टेसिया भन्छिन्।रुसी सैनिकहरूले चेर्नीहिभ वरपरका यहिद्‌ने जस्ता गाउँहरू कब्जा गर्दै सहर कब्जा गर्ने आधार बनाइरहेका थिए।

तर उनीहरू सहरमा प्रवेश गर्न सकेनन्। यद्यपि उनीहरूले सहर ध्वस्त बनाएका छन्। अधिकारीहरूका अनुसार यहाँ करिब ३५० सर्वसाधारणहरू मारिएका छन्।रुसी सैनिकहरू फिर्ता भएपछि स्वयंसेवकहरूले शवहरू पुर्ने काम गरिरहेका छन्।

स्थानीय कपुरस्थानको एक भाग नयाँ चिहानहरूले भरिएको छ। लासहरू गाडिएका ठाउँमा पहिचानका लागि प्लाकार्ड राखिएको छ।युद्धका कारण अलग भएका परिवारका अन्य सदस्यहरूले आफ्ना प्रियजनको चिहान खोजिरहेका छन्।

स्थानीय फुटबल रङ्गशालाको मैदानमा बमले ठूलो खाडल बनाएको छ। मानिसहरू बस्ने ठाउँमा अर्को बमले प्लास्टिक बस्ने ठाउँ र धातुका रेलिङहरू उछिट्टाएको छ। युक्रेनी अधिकारीहरूले बम रुसी विमानबाट प्रहार गरिएको बताएका छन्।

रङ्गशाला नजिकै एक ऐतिहासिक घरमा बनाइएको बाल पुस्तकालयमा नराम्रोसँग क्षति पुगेको छ। चर्नीहिभको उत्तरी क्षेत्रको नोभोस्लेभ्कामा आँखाले देखिने जति क्षेत्रमा विनाश मात्रै देखिन्छ।

घरहरू उभिएका ठाउँमा ढुङ्गा र इटाका थुप्राहरू छन्। हामीले बच्चाको ज्याकेट र खेलौनाहरू छरिएको देख्यौँ। अगाडि बढ्दै जाँदा बमले बनाएका खाडलहरूको सङ्ख्या अझै धेरै भेटिए।

प्रतिक्रिया

आजको ट्रेन्डिङ