काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक आह्वान गरेकी छिन्।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख दिनेश प्रसाद भट्टका अनुसार बैठक मंगलबार बिहान साढे ११ बजे बस्ने गरी बोलाइएको हो।
भट्टका अनुसार बैठकमा हालैको अविरल वर्षापछि उत्पन्न बाढी र पहिरोबाट प्रभावित क्षेत्रका राहत तथा पुनर्निर्माणसम्बन्धी विषयमा महत्वपूर्ण निर्णय हुने अपेक्षा गरिएको छ। विशेषगरी राहत कार्यलाई थप प्रभावकारी बनाउने, क्षतिग्रस्त संरचनाको पुनर्निर्माण, अस्थायी तथा स्थायी बासस्थानको व्यवस्था लगायतका एजेन्डामा छलफल हुने बताइएको छ।
उनका अनुसार हालसम्म बाढी र पहिरोका कारण ४५ जनाको मृत्यु भएको छ भने ६ जना बेपत्ता र २४ जना घाइते भएका छन्। घाइतेहरूको स्थानीय प्रशासन कार्यालयको समन्वयमा निशुल्क उपचार भइरहेको र पीडित परिवारलाई खाद्यान्न लगायतका अत्यावश्यक सामग्री उपलब्ध गराइएको जानकारी उनले दिए।
भट्टले अझै पनि केही स्थानहरूमा खोज तथा उद्धार कार्य जारी रहेको बताउँदै बाढी–पहिरोबाट भएको जनधनको क्षतिको पूर्ण विवरण आउन बाँकी रहेको उल्लेख गरे।
प्रतिक्रिया