इमान्दार संवाददाता
३८ पटक
त्रिशूली ।

विदुर नगरपालिका वडा नं ७ तुप्चेमा निर्माण हुने मध्य त्रिशूली गंगा जलविद्युत् आयोजनाले वातावरणीय प्रभाव मल्यांकनसम्बन्धी सार्वजनिक सुनुवाइ गरेको छ ।

१९.४१ मेगावाट क्षमताको उक्त आयोजना पर्फेक्ट इनर्जी डेभलपमेन्ट प्रालिले निर्माण गर्न लागेको हो । तुप्चेस्थित त्रिशूली नदी किनारमा आयोजित सार्वजनिक सुनुवाइमा प्रतिनिधिसभा सदस्य नारायणप्रसाद खतिवडाले राष्ट्रियरुपमा महत्व राख्ने जलविद्युत् आयोजना सञ्चालन र निर्माण कार्य निर्वाधरुपमा अघि बढ्नुपर्ने बताए ।

कार्यक्रममा प्रदेश नं ३ का सदस्य हीरानाथ खतिवडाले व्यक्तिगत लाभ, हानि र स्वार्थका कारण यस्ता आयोजनामाथि प्रभाव पार्नु नहुने विचार राखे । तुप्चेमा उत्पादन गृह रहने उक्त जलविद्युत् आयोजनाले त्रिशूली थ्री बीबाट निकास भएको पानीलाई प्रयोग गर्ने वातावरणीय प्रभाव मूल्यांकनमा संलग्न कुमार पौडेलले जानकारी दिए ।  पाँच अर्बको लगानीमा परियोजना तयार हुने बताइएको छ ।

इनर्जी डेभलपमेन्ट प्रालिका प्रबन्ध निर्देशक भरतकुमार खड्काले कम लगानीमा बढी आम्दानी हुने आयोजनाका रुपमा यसलाई स्थापित गर्ने बताए ।

उत्तरगया धाम क्षेत्र विकास समितिले उक्त परियोजनाले बेत्रावतीमा पानी सुक्ने र त्यसले गर्दा धार्मिक कार्यमा असर पर्ने भन्दै चर्को आलोचना गर्दै आएको छ । सार्वजनिक सुनुवाइ भइरहेको समयमा क्षेत्र विकास समितिले बेत्रावती बजारमा विरोधसभाको आयोजनासमेत गरेको थियो । तर उत्तरगया धाममा आफ्नो आयोजनाका कारण पानी नसुक्ने भरतकुमार खड्काले दाबी गरे ।

२०७४ पुष १६ गते प्रकाशित

    फेसबुक ट्वीटर

    तपाईं हामीसँग  फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

प्रतिकृया दिनुहोस्

खाली एड

Loading...