इमान्दार संवाददाता
४२३० पटक
काठमाडौं ।

नेकपा माओवादी केन्द्रले समानुपातिकतर्फका प्रदेश सभा सदस्य छनोटमा बढेको विवाद हात हालाहालसम्म पुगेको छ ।

नेताहरुले आफ्ना नातेदारलाई मात्रै मात्रै छनोट गरेको भन्दै कार्यकर्ताहरुले नेतामाथि हात हालेका हुन् । शुक्रबार कोटेश्वर पेरिसडाँडास्थित केन्द्रीय कार्यालयमै नेताहरुबीच हात हालाहाल भएको हो ।

असन्तुष्ट पक्ष माओवादी केन्द्र ३ नम्बर प्रदेश इन्चार्ज हितमान शाक्य र संयोजक झक्कु सुवेदीमाथि सिन्धुपाल्चोकका पुराना नेता हिमाल पराजुलीले हात हालेका हुन् । केन्द्रीय कार्यालयको छतमा माओवादी नेताहरु शाक्य, सुवेदी लगायत घाम ताप्दै बसेका थिए ।

त्यहिबेला पराजुली आइपुगे । उनले संयोजक झक्कु सुवेदीकी छोरी भावना, प्रेस सेन्टर संयोजक महेश्वर दाहालकी श्रीमती सीतालाई किन सांसद बनाको भन्दै विरोध गरेपछि शाक्य र सुवेदीले त्यसको प्रतिवाद गरेका थिए ।

पार्टीको रगत र पसिना बगाएका कार्यकर्तालाई नबनाएर पसल खोलेर बसेकी सीतालाई बनाएको भन्दै पराजुलीले विरोध गरेका थिए । विवाद बढ्दै गएपछि पराजुलीलाई शाक्य र सुवेदीलाई एक थप्पड हानेको कार्यालयका कर्मचारीले देखेका थिए ।

शाक्य र सुवेदीलाई सामान्य चोट लागेको छ । कसैका छोरी, कसैका श्रीमती, कसैका बुहारीलाई सांसद बनाउने तर पार्टीमा योगदान गरेका, शहिद परिवारलगायतलाई किन हटाएको भनेर आफूले भनेको र उनीहरुले तपाईंले भनेर हुँदैन भन्ने जवाफ दिएपछि विवाद बढेको पराजुलीले बताए ।

त्यसैगरी दोलखाका आङदेण्डी लामासँग मोटो रकम लिएर समानुपातिक सांसद बनाइएको तर आफूलाई हटाइएको भन्दै पराजुलीले विरोध गरेका थिए । लामा केही दिन पहिला मात्रै माओवादी केन्द्रमा प्रवेश गरेका थिए ।

सिन्धुपाल्चोकका पुराना माओवादी नेताहरुमध्येमा पर्ने पराजुली समानुपातिक कोटाको एक नम्बरमा थिए तर उनको नाम शुक्रबार माओवादीले निर्वाचन आयोगमा बुझाएको सूचीमा परेन । सिन्धुपाल्चोकबाट समानुपातिकबाट एकजना पनि प्रदेश सांसद बनेका छैनन् ।

२०७४ पुष १५ गते प्रकाशित

    फेसबुक ट्वीटर

    तपाईं हामीसँग  फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

प्रतिकृया दिनुहोस्

खाली एड

Loading...