इमान्दार संवाददाता
११० पटक
काठमाडौं।

विनाशकारी भूकम्पले पुर्‍याएको क्षतिको पुनर्निर्माणका लागि गठित राष्ट्रिय पुनर्निर्माण प्राधिकरण गठनको दुई वर्ष पूरा भएको छ। तर, दुई वर्षको अवधिमा निजी आवास, सम्पदा र अन्य क्षेत्रको पुनर्निर्माणको तस्बिर निराशाजनक छ।

निजी आवास पुनर्निर्माण प्राथमिकतामा नपर्दा पीडित साढे दुई वर्षदेखि टहराकै बासमा छन्। पुरातात्विक र सांस्कृतिक सम्पदा भग्नावशेषमा परिणत भइरहेका छन्।

राजनीतिक दाउपेचका कारण पुनर्निर्माणले प्राथमिकता नपाउँदा प्राधिकरण गतिशील हुन सकेको छैन्। निजी आवास निर्माणका लागि दिइने किस्ता र सहुलियत ऋणमा गरिएको झन्झटिलो प्रक्रियाका कारण पनि पुनर्निर्माणले गति लिन सकेको छैन।

निजी आवास पुनर्निर्माणका लागि सुविधा पाउने लाभग्राहीको संख्या ७ लाख ६७ हजार ७०५ रहेको छ। जसमा प्राधिकरणले दुई वर्ष पूरा गर्दासम्म ७९ हजार ५१४ घरधुरीले घर निर्माण सम्पन्न गरेका छन्। यो संख्या कूल घरधुरीको १० दशमलव ३५ प्रतिशतमात्र हो।

प्राधिकरणका अनुसार एक लाख ९४ हजार १९६ घर निर्माण चरणमा छन्। ७ लाख ६७ हजार लाभग्राहीमध्ये ६ लाख ७६ हजार घरधनीसँग सम्झौता भएको छ।

प्राधिकरणको विवरण अनुसार ९८ प्रतिशत लाभग्राहीले पहिलो किस्ता पाएका छन्। ६ लाख ६४ हजार ६४४ ले पहिलो किस्ता रकम बुझेका छन्। दोस्रो किस्ता एक लाख १५ हजार १९२ घरधुरीले बुझेका छन्। २६ हजार ४५४ जनाले मात्र तेस्रो किस्ता रकम बुझेका छन्।

सार्वजनिक संचरना निर्माण पनि कमजोर

यसबीचमा सार्वजनिक संरचना निर्माणको अवस्था पनि कमजोर छ। ११ सय ९७ स्वास्थ्य संस्थाको पुनर्निर्माण गर्नु पर्नेमा २५७ निर्माण सम्पन्न भएका छन्। ७ हजार ५५३ शैक्षिक संस्थामध्ये २ हजार ७४१ पुनर्निर्माण भएका छन्।

४८४ सरकारी भवन निर्माण गर्नु पर्नेमा १७७ वटा निर्माण भएका छन्। पुरातात्विक सम्पदा ७५३ मध्ये ७९ वटा मात्र पुनर्निर्माण भएका छन्। सुरक्षा निकायका ३८३ भवनमध्ये ४४ भवनमात्र पुनर्निर्माण भएका छन्।

२०७४ पुष १२ गते प्रकाशित

    फेसबुक ट्वीटर

    तपाईं हामीसँग  फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

प्रतिकृया दिनुहोस्

खाली एड