इमान्दार संवाददाता
४१ पटक
काठमाडौं।

विराटनगर वारियर्स राजधानीमा जारी एभरेस्ट प्रिमियर लिग (इपीएल) ट्वेन्टी–२० क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

बुधबार कीर्तिपुर मैदानमा भएको पहिलो क्वालिफायर खेलमा भैरहवा ग्ल्याडिएटर्सलाई ८ विकेटले पराजित गर्दै विराटनगर फाइनलमा पुगेको हो ।

भैरहवाले दिएको १२८ रनको चुनौती विराटनगरले १७ ओभरमा २ विकेट गुमाएर पूरा गर्‍यो । ‘म्यान अफ द म्याच’ घोषित हङकङका खेलाडी बाबर हयातले ४४ बलमा ६२ रन बनाए । त्यसैगरी, कप्तान पारस खड्काले २४ बलमा अविजित रहँदै ४२ रन बनाए ।

यसअघि, खेलमा टस हारेर पहिले ब्याटिङ गरेको भैरहवाले २० ओभरमा ८ विकेट गुमाएर १२७ रन बनाएको थियो । भारतीय खेलाडी पुनित मिश्राले ३४ बलमा ४९ तथा आरिफ शेखले ३५ बलमा ४६ रन जोडे ।

विराटनगरका लागि करण केसी र श्रीलंकाका खेलाडी सहान अपुहामीले समान २/२ विकेट लिए । पराजित भैरहवाले फाइनल प्रवेशका लागि बिहीबार दोस्रो क्वालिफायरमा ललितपुर प्याट्रिएट्ससँग खेल्नेछ ।

बुधबारै भएको इलिमिनेटर खेलमा ललितपुरले पोखरा राइनोज्माथि २७ रनको सहज जित हासिल गर्‍यो । पहिले ब्याटिङ गरेको ललितपुरले ५ विकेटको क्षतिमा १३८ रन बनाएको थियो । भारतीय खेलाडी सन्नी पटेलले २६ बलमा अविजित रहँदै ३८ तथा शंकर रानाले ३४ रन बनाए ।

पोखराका लागि पाकिस्तानी खेलाडी इसरुल्लाहले ३ तथा सुसन भारीले २ विकेट लिए । जवाफमा कमजोर प्रदर्शन गरेको पोखराले १९ ओभर १ बल क्रिजमा टिकेर १११ रनमात्र बनाउन सक्यो ।

अलराउन्डर इसरुल्लाहले २२ बलमा २५ तथा किशोर महतोले १३ बलमा २३ रन जोडे । ललितपुरका लागि सन्दीप लामिछानेले ३ तथा पवन सर्राफ, रशिद खान र सन्नी पटेलले समान २/२ विकेट लिए ।

यो हारसँगै पोखरा प्रतियोगिताबाट बाहिरिएको छ । ६ टोलीले सहभागिता जनाएको प्रतियोगितामा चितवन टाइगर्स र काठमाडौं किंग्स इलेभेन समूह चरणबाटै बाहिरिएका थिए । फाइनल खेल आगामी शनिबार हुनेछ ।

२०७४ पुष १२ गते प्रकाशित

    फेसबुक ट्वीटर

    तपाईं हामीसँग  फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

प्रतिकृया दिनुहोस्

खाली एड

Loading...