इमान्दार संवाददाता
२२२३ पटक
काठमाडौं ।

नेकपा माअाेवादिका युवा नेता जागृत रायमाझीसँगको अन्तर्वार्ताको पूर्णपाठ

चुनावको परिणामलाई कसरी लिनुभएको छ ?

हरेक संसदीय निर्वाचनमा सपनाहरुको व्यापार हुन्छ । विकासको बकम्फुसे नाराहरु तेर्साईन्छ । र, त्यसैको आधारमा जनतालाई आफ्नो लुटेरा छनौट गर्ने अधिकार दिईन्छ । जनता त्यही आशा, सपना र बिकासको अपेक्षामा मतदान गर्न पुग्छन । र, अर्को संसदीय निर्वाचनसम्मको अबधीका लागि आफ्नो लुटेराको छनौट गर्छन् ।

यो निर्वाचनको परिणामलाई योभन्दा फरक ढंगले बुझ्न जरुरी छैन । कम्युनिस्ट नामधारी पार्टी एमाले वर्गसंघर्ष, सर्वहारा अधिनायकत्व, बल प्रयोगको सिद्धान्त जस्ता मार्क्सवादका आधारभूत सिद्धान्त परित्याग गरिसकेको पार्टी हो । माओवादी पनि त्यही पार्टीसँग एकता गर्न तैयार भइसकेको पार्टी हो ।

यसअर्थमा माओवादी र एमाले पार्टीमा वा काँग्रेसमा आएको जनमतले दलाल संसदीय पूँजीवादकै सेवा गर्छ । फरक यति हो कि यो निर्वाचनले जनयुद्ध, जनआन्दोलन र आजसम्म चलेका संघर्षबाट प्राप्त गणतन्त्र, धर्म निरपेक्षता, समाबेशीता, समानुपातिकता, संघियता जस्ता उपलब्धीहरुलाई एकहदसम्म फेरि फिर्ता नहुने गरी स्थापित गरेको छ ।

एमाले र तपाईँको पार्टीबीचको एकताबारे तपाईँले फरक मत राख्दै आउनुभएको छ, तपाईँ एकताको विरोधी नै हो ?

पहिलो कुरा त कम्युनिस्ट पार्टीहरुको एकता सिद्धान्त, विचार र संस्कृतिमा आधारित हुन्छ । बिरालोले खटेप्वालबाट दूध चोरेजस्तो षड्‍यन्त्रकारी ढंगले हुन्न। एमाले र माओवादीको एकता त छापामार शैलीमा कार्यकर्ताहरु चुनाव ब्यस्त हुनेबेला फगत एउटा संसदीय निर्वाचन नै क्रान्तिको जीवनमरणको बिषय जस्तो बनाएर भयो । राजनीतिलाई जनताको सेवा, क्रान्ति, जनताको मुक्तिसँग नजोड्ने हो भने केवल पद र पैसाको लागि राजनीतिको दुरुपयोग गर्छन संसदवादीहरु ।

अन्तत: माओवादी केन्द्र पनि त्यहीँ पुग्यो । त्यसकारण यो पार्टी एकताको विरोधभन्दा पनि विसर्जनवादको बिरोध हो, संसदवादको विरोध हो, मार्क्सवादको रक्षा र विकासको निम्ति गरिएको अपील हो । उहाँहरु एकता गरिनै छाड्नुहुन्छ, त्यसैले उहाँहरुलाई गाली वा सराप्‍नुभन्दा शुभकामना नै दिउँ । तर, मार्क्सवाद हामीले छोड्‍यौं, कम्युनिस्ट हामी हुन सकेनौ, सामाजिक जनवादी मोडेलको पार्टी बनाउँछौं भनेर उहाँहरुले भन्‍नुपर्छ ।

तपाईँले समाजिक संजालमा एमालेसँगको एकता नेपालमा कम्युनिस्ट आन्दोलनको विसर्जन भन्नुभएको थियो, एमालेसँग एकता गर्दा के कम्युनिस्ट भइन्‍न ?

कम्युनिस्ट नहुने मात्र होईन नेपालको कम्युनिस्ट आन्दोलनले सेटब्याक नै खान्छ नि। सन्‍निकट समाजवादी क्रान्ति सम्पन्‍न गर्न फेरि धेरै हड्डि गाल्नुपर्छ हामीले । हामी चाहन्थ्यौं प्रचण्डसहितको अहिलेको नेतृत्वले सन्‍निकट समाजवादको झण्डा समातेर माओपछि दुँनियाले सलाम गर्ने अर्को नेता बनुन्। तर वहाँहरु त बर्नस्टिन, काउत्की र देङ्गपछिको चौथो संसोधनवादको नेतृत्व गर्नतिर पो लाग्नुभो ।

मार्क्सवाद र समाजवाद छोडेर त्योभन्दा उन्‍नत अर्को दर्शनसिद्धान्त आविस्कार गरेको भए पो महान् भन्‍नु । आफैले ०४८ सालदेखि धारेहात लगाएर गाली गरेको ब्यवस्थामा चुर्लुम्म डुबेपछि अरु कुनै भाषाले वहाँहरुको चरित्रलाई न्याय गर्न सक्ला र ?

आफ्नो पार्टीका नेताहरुले एमालेसँग एकता गर्न रहर गरेका पनि भन्नुभएको छ, के रहर मात्रै हो, राजनीतिक उद्देश्य छैन ?

एमालेको लागि माओवादीसँग चुनाबमा नमिल्दा माओवादी काँग्रेससँग मिल्ला र बहुमत ल्याउन नसकिएला भन्‍ने चिन्ता । काँग्रेससँग मात्रै चुनाबमा तालमेल गर्दा आफूलाई कम्युनिस्ट नै नभन्लान भन्ने माओवादीको चिन्ता अनि एमालेसँग मिल्दा चुनाबमा सम्मानजनक स्थान पनि पाउने संसदीय राजननीतिको बाघचाल पनि राम्रो हुने माओवादीको निश्कर्षले वहाँहरुलाई रहर जागेको हो। अझ केही माओवादीका शिर्ष नेताहरुलाई आफू नै पराजित हुने चिन्ता अनि संसदीय व्यवस्थान्दा पर जाने चित्र र जाँगर नभएपछि योभन्दा अर्को विकल्प थिएन । वहाँहरुले त्यही गर्दै हुनुहुन्छ ।

नेताहरु त समाजवादी व्यवस्थाको लागि पार्टी एकता भन्दै आएका छन् नि ?

हा..हा… (हाँस्दै) संसदीय व्यवस्थाबाट समाजवाद आउँछ भनेर वहाँहरुले भन्दा लेनिन र माओ ईहलोकमा कति मुर्छा पर्दै हाँस्दै होलान् । यति सजिलै समाजवादमा जान सकिने भए कम्युनिस्टहरुले विज्ञान, दर्शनसँग मितेरी गाँसेर किन युगयुगसम्म अथाह संघर्ष गर्न तयार हुनुपर्थ्यो । समाजवाद त आउँछ तर माओवादी र एमालेका केही नेताहरुलाई ।

किनकि समाजवाद भनेको उत्पादनको प्रचुरता र बितरणको न्यायको संयोजित ब्यवस्था हो । अर्को अर्थमा भन्दा मान्छेको आवश्यकता होईन रहरसम्म पूरा हुनु भनेको हो । वहाँहरुको रहर चाहिँ जरुर पूरा हुन्छ । उड्ने, गुड्ने,पौडने, दौडने, खाने, पढ्ने, चैनले निदाउने, सुरक्षित हुने जे रहर गरेपनि वहाँहरुको पुरा हुन्छ । त्यसकारण सिमित नेताहरुको लागि समाजवाद आउँछ जनताको लागि त फेरि अर्को गजबको संघर्षको बिकल्प छैन ।

चुनावको मुखमा एमाले अध्यक्ष ओलीले जनयुद्ध, कम्युनिस्ट पार्टीबारे दिएको अभिव्यक्तिलाई कसरी लिनुभएको छ ?

मधेशमा एउटा कहावत छ “छौडी पुछ बे ना करे छौडा लबरलबर” अर्थात केटीले नाई भन्छे केटोले चाहिँ मरिहत्ते गरेर के हुनु भन्या जस्तै एमाले एक्लै ठूलो पार्टी हुनुथ्यो यो निर्वाचनमा भइहाल्यो । अब उसलाई आफूलाई जे लाग्छ त्यही गर्छ । माओवादी सम्बन्धि एमालेको ०५१ सालदेखिकै निष्कर्ष हो त्यो । जनयुद्धले देशमा यत्रो परिवर्तन ल्याएको तथ्यलाई ऐतिहासिक भौतिकबादी दृष्टिले स्वीकार गर्नुको सट्टा जनयुद्ध नभएको भए एमालेले शान्तिपूर्ण तरिकाले समाजबाद ल्याइसक्थ्यो भन्नुहुन्थ्यो र भन्दैहुनुहुन्छ वहाँहरु ।

बरु, ०४८ देखि एमाले कम्युनिस्ट पार्टी होईन भनेर घाँटी सुकाईसुकाई भन्ने माओवादीले कहिले देखि के के कर्म गरे बापत एमाले कम्युनिस्ट भयो भनेर कहिले भनेको रहेछ ? मैले यो तथ्य चाहिँ जति खोजे पनि पाईन । एमाले सप्रेर कम्युनिस्ट भाको हो कि माओवादी बिग्रेर एमाले भाको हो मैले चाहिँ यो प्रश्नको जवाफ माओवादी नेताहरुबाट पाउन सकेको छैन ।

एमाले महासचिव इश्वर पोखरेलले पनि एकतापछि पार्टी अध्यक्ष र प्रधानमन्त्री ओली नै बन्ने र बहुकेन्द्र सम्भव नभएको समेत बताएका छन्, एमाले नेताहरुले यसरी भनिरहेको बेला तपाईँहरुका नेता एकताको मात्र कुरा गरिरहेका छन्, किन ?

एकता नै हुने भएपछि अध्यक्ष, प्रधानमन्त्री कोको हुने भन्ने कुरा बिल्कुल प्राविधिक कुरा हो । प्रधानमन्त्री र पार्टी अध्यक्षको भागबण्डा नमिलेर पार्टी एकता नगर्नु उचित होइन । व्यवहार, मन र विचार मिलिसकेपछी त्यसमा अल्मलिनु ठीक हुँदैन ।

विज्ञानमा भएको विकासअनुसार मार्क्सवादको विकास गर्न नसक्दा कम्युनिस्ट आन्दोलन विसर्जनतिर लागेको पनि भन्‍नु भएको छ, यो भनेको के हो ?

मार्क्स र लेनिनले समाजवादको परिकल्पना गर्दा या प्रयोग गर्दा बिज्ञान बिकासको रफ्तारमा त थियो तर त्यतिबेलासम्म मानव श्रम, पूँजी र मेशिनले उत्पादक शक्तिको स्थान लिएको थियो । अर्थात, समाज मुलत: मानव श्रममा आधारित औद्योगिक पूँजीवादको चरणमा थियो । त्यसकारण मार्क्सलाई मात्रै होइन लेनिनले समेत आईन्स्टाईनको सापेक्षतावाद (सामान्य सापेक्षता र विशिष्ट सापेक्षता) जान्‍न जरुरी परेन। लेनिन बाँचिरहनुभएको भए सायद निरन्तर क्रान्तिको मोडेल निर्माणमा केही योगदान गर्न भ्याउनुहुन्थ्यो । झन क्वान्टम भौतिकको बिकास र आईटी क्षेत्रको बिकासमा त मार्क्स, लेनिन र माओ समेत अपडेट नै हुन पाउनुभएन । वहाँहरु मानव श्रम उत्पादक शक्ति भएको बेला मानव श्रममा आधारित समाजवाद निर्माणतिर लाग्नुभो र सफल पनि हुनु भो।

अहिले मानव श्रम, पूँजी र मेशिनलाई बिस्थापन गरेर बिज्ञान प्रबिधिले उत्पादक शक्तिको स्थान ओगटिसकेको छ। उत्पादक शक्ति नै फेरिएपछि क्रान्तिको चरित्र, मोडेल, रणनीति, कार्यनीति, संस्कृति सबैमा आधारभुत भिन्‍नता आउँछ । बरु, पूँजीवादीहरु यो स्वीकार गर्दै विज्ञान र प्रविधी कब्जा गर्नतिर लागिसके । हो यही सच्चाई देख्‍न नसक्दा नेपालमा समेत संसोधनवादको अर्को भद्दा प्रयोग भैरहेको छ ।

०४८ देखि एमाले कम्युनिस्ट पार्टी होईन भनेर घाँटी सुकाईसुकाई भन्ने माओवादीले कहिलेदेखि के के कर्म गरेबापत एमाले कम्युनिस्ट भयो भनेर कहिले भनेको रहेछ ? मैले यो तथ्य चाहिँ जति खोजे पनि पाईनँ । एमाले सप्रेर कम्युनिस्ट भाको हो कि माओवादी बिग्रेर एमाले भाको हो ? मैले चाहिँ यो प्रश्नको जवाफ माओवादी नेताहरुबाट पाउन सकेको छैन ।

विज्ञानको युगमा क्रान्तिको मोडेल कस्तो हुनुपर्छ ?

उत्पादक शक्ति नै फेरिएपछि अब फेरि पूँजीवादी क्रान्ति या पूँजीवादको बिकास सम्भब छैन । किनकी पूँजीवादी क्रान्ति गर्नु भनेको पूँजीलाई उत्पादक शक्ति बनाउनु हो या पूँजीको बिकास गर्नु हो। हाम्रा संसदीय समाजवादीहरु त्यही पूँजीको बिकास गर्न लाग्याछन् । त्यसकारण अब विज्ञान प्रविधीमा आधारित सिधा समाजवादको यात्रा तय गर्नुपर्दछ। लेनिन र माओको स्कुलले देखेको सर्वहारा अधिनायकत्वको समाजवादभन्दा भिन्‍न अधिनायकत्वसहितको समाजवादतिर जानुपर्छ। अब पहिला क्रान्ति गरौंला अनि समाजवाद स्थापना गरौंला होइन, क्रान्ति र समाजवादलाई सँगसँगै लैजाने विधिमा जानुपर्छ ।

जसरी उत्पादक शक्तिको विकासले पछिल्लो दुई दशकलाई बिश्को विकासको लाखौं वर्षको रफ्तारभन्दा बढी गतिको भनियो त्यस्तै । पार्टी र क्रान्तिको प्रकाश गतिमा कुद्‍नुपर्छ ।

एउटा प्रसंगमा एमालेसँगको एकतालाई पुँजीवादी संसदीय व्यवस्थाको नयाँ हिमायती बन्‍न र बनाउन प्रयत्न भन्‍नुभएको छ, यो नेताहरुमाथि गम्भीर आरोप भएन ?

मार्क्सवाद र समाजवाद छोडेर त्योभन्दा उन्‍नत अर्को दर्शनसिद्धान्त आविस्कार गरेको भए पो महान् भन्‍नु । आफैले ०४८ सालदेखि धारेहात लगाएर गाली गरेको ब्यवस्थामा चुर्लुम्म डुबेपछि अरु कुनै भाषाले वहाँहरुको चरित्रलाई न्याय गर्न सक्ला र ?

अहिले जसरी बाहिर कुरा आएका छन्, त्यसरी नै माओवादी केन्द्र एकतामा गयो भने के गर्नुहुन्छ ?

बोलाउने र जाने पक्ष मिलेपछि कसले रोक्न सक्ला र ? त्यसकारण अब हामी नयाँ यात्रा शुरु गर्छौं।

तपाईँहरु युवा नेता के माओवादी केन्द्रलाई पुर्नगठनको अभियान चलाउन सक्नुहुन्छ ?

माओवादी केन्द्रको भन्दा पनि अब नेपालको कम्युनिस्टको आन्दोलनकै पुनर्गठनको अभियान चलाउनुपर्छ ।

२०७४ पुष २ गते प्रकाशित

    फेसबुक ट्वीटर

    तपाईं हामीसँग  फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

प्रतिकृया दिनुहोस्

खाली एड

Loading...