इमान्दार संवाददाता
९८ पटक
काठमाडौं ।

आगामी फेब्रुअरीमा नामिबियामा हुने आइसिसी विश्व क्रिकेट लिग डिभिजन–२ खेल्ने सबै टिमको टुंगो लागेको छ। डब्लुसिएल च्याम्पियनसिपअन्तर्गत बुधबार भएको सातौं चरणको पहिलो खेलमा केन्याले स्कटल्यान्ड तथा हङकङले पपुवा न्युगिनलाई पराजित गरेसँगै डिभिजन–२ खेल्ने ६ टिमकै टुंगो लागेको हो।

निर्णायक खेलमा पराजित भएपछि केन्या डिभिजन–२ झरेको छ। जित निकालेका स्कटल्यान्ड र हङकङले विश्वकप छनोट प्रतियोगिताका लागि स्थान पक्का गरे। नेदरल्यान्ड्स र पपुवा न्युगिनी यसअघि नै छनोट भइसकेका टिम हुन्।

आगामी ५ देखि १५ फेब्रुअरीमा हुने डिभिजन–२ मा नेपालसहित युएई, नामिबिया, केन्या, क्यानडा र ओमानले प्रतिस्पर्धा गर्नेछन्।

नेपाल, युएई, केन्या र नामिबिया डब्लुसिएल च्याम्पियनसिपको शीर्ष चारमा पर्न नसकेपछि डिभिजन–२ मा झरेका हुन्। क्यानडा र ओमान डिभिजन–२ बाट बढुवा भएका टिम हुन्।

नेदरल्यान्ड्स डब्लुसिएलको च्याम्पियन बन्दै विश्वकप छनोट प्रतियोगिताका लागि छानियो। नेदरल्यान्ड्स सातौं चरणको पहिलो खेलमा नामिबियालाई ८ विकेटले पराजित गरेर विजेता बनेको हो।

शुक्रबार हुने डब्लुसिएल च्याम्पियनसिपको अन्तिम खेलबाट नेपालसहित ८ टिमले हात पार्ने स्थानको टुंगो लाग्नेछ। नेपाल र युएई, नेदरल्यान्ड्स र नामिबिया, हङकङ र पपुवा न्युगिनी र केन्या र स्कटल्यान्डबी प्रतिस्पर्धा हुनेछ।

डब्लुसिएल च्याम्पियनसिपपछि नेपालले डिभिजन–२ को तयारी थाल्नेछ। डिभिजन–२ मा शीर्ष २ पर्ने टिम विश्वकप छनोट प्रतियोगिताका लागि छानिनेछन्।

 

२०७४ मंसीर २१ गते प्रकाशित

    फेसबुक ट्वीटर

    तपाईं हामीसँग  फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

प्रतिकृया दिनुहोस्

खाली एड