९८ पटक
काठमाडौँ ।

देशमा पहिलो चरणको प्रतिनिधसभा र प्रदेशसभा सदस्यको निर्वाचन मंसिर १० गते सकिएको छ । अर्को चरणको चुनाव २१ गते हुँदै छ । देशभर राजनीतिक दलहरु निर्वाचन प्रचार-प्रसार र आफ्ना उम्मेदवारलाई जिताउन सबै प्रकारको शक्तिका साथ् मैदानमा उत्रिएका छन् ।

एकातिर एमाले र माओवादी सम्मिलित बाम गठबन्धन बनेको छ भने अर्को तिर काँग्रेस राप्रपालगायतका अन्य दलहरु सम्मिलित लोकतान्त्रिक गठबन्धन बनेको छ ।

यसैबीच बाम गठबन्धनको प्रदेश नम्बर ३ ललितपुर १ (क) कि समानुपातिकबाट साझा उम्मेदवार पद्मा राईले आफु जनतासँनै रहेर आफ्नो क्षेत्रको बिकाश गर्नका लागी आफुले उम्मेद्वारी दिएको बताएकी छन् ।

निर्वाचन नजिकिंदै जाँदा इमान्दार मिडियासंग कुरा गर्दै राइले आफुले ३५ बर्षसम्म निरन्तर समाजसेवा र राजनीतिमा समय दिएको हुनाले उक्त क्षेत्रमा आफुले उम्मेद्वारी दिएको र आफ्नो उम्मेवारीका कारण मतदाताले समानुपातिकमा आफ्नो पार्टीलाई भोट हाल्ने आशा ब्यक्त गरेकी छन्  ।

बाम गठबन्धनका तर्फबाट साझा उम्मेदवार रहेकी राईसंग इमान्दार मिडियाका लागी सहकर्मी बिनिता सिंहले गरेको कुराकानीको सम्पादित अंश ।

१- सुरुमा तपाईको राजनीतिक यात्राको बारेमा हामीलाई बताईदिनुहोस न !

मेरो राजनीतिक यात्रा भन्नुपर्दा म पार्टीमा लागेको चाही नेपाल ३५/३६ सालतिर हो त्यति बेला म निर्मल लामाबाट प्रभावित भएर म राजनीतिमा आएको हुँ ।

२- तपाईलाई राजनीतिमा लाग्न के बाट प्रेरणा मिलेको हो ?

सुरुमा हाम्रो माइतीघरमा नेपालका कम्युनिष्ट नेताहरुको आउजाउ हुने गरेको थियो । हाम्रो बुवा-मुवा दुवै जनाले नेपालका कम्युनिष्ट पार्टीका नेताहरुलाई निकै सहयोग गर्नुहुन्थ्यो । त्यति बेला हाम्रोमा आउने नेताहरुको व्यवहारका कारण नै मलाइ कम्युनिष्ट राजनीतिमा लाग्न प्रेरणा मिल्यो । दार्इ पनि पञ्चायतकाे विरूद्दमा गाविसबाट अध्यक्ष उठ्नु भएकाे थियाे । उहाँ पनि प्रेरणाकाे स्राेत बन्नुभयाे ।

३- खासमा उहाँहरुको कस्ता कुराले तपाईलाई प्रेरित गर्याे ?

त्यतिबेला हाम्रो घरमा काठमाडौँबाट जाने नेपालका कम्युनिष्ट नेताहरुले आफुले सामन्तहरुका बिरुद्ध संघर्ष गर्दा प्रहरीले समातेको यातना भोगेका आदी कुराहरु हामीसंग सेयर गर्नुहुन्थ्यो । यो मुक्तिको लडाइँ हो भन्नुहुन्थ्यो, उहाँहरुका त्यहि कुरा सुनेर म प्रेरित भए । त्यसका अलावा मैले अन्तराष्ट्रिय महिला नेतृहरुका जीवनीहरु पनि पढिराख्थे त्यहाँबाट पनि उत्साहित भए। जसले मलाई बिस्तारै राजनीतिक यात्रातिर धकेल्यो।

४- तपाईको बुवा आमाले पनि त्यति बेला राजनीति  गर्नुहुन्थ्यो ?

हैन हैन बुवा आमाले फुल टाइम राजनीति त गर्नु भएन । तर त्यहाँ आउने पार्टीका नेता कार्यकर्तालाई आर्थिक, भौतिक सहयोग गर्ने र संरक्षण गर्ने काम गर्नुभयो । गाउँमा हाम्रो आमा बुवाको सहयोगले नेता कार्यकर्ताहरुलाई निकै सजिलो भएको थियो । बुवा ब्रिटिस आर्मीकाे अफिसर हुनुहुन्थ्यो। उहाँले २२ बर्ष ब्रिटिस अार्मीमा काम गर्नुभयाे, धेरै कार्यक्रमहरू हाम्रै घरमा हुने गर्थ्याे ।

५- तपाई ठ्याक्कै पार्टीको सम्पर्कमा आएको चाहिँ कहिले हो ?

म युवा अबस्था हुँदा नै राजनीतिमा लागिसकेकी थिए । संगठित रूपमा ३८/ ३९ सालबाटै लागे तर बिचमा केही बर्ष ग्याप भयो । पछि ४४/४५ साल तिर पुन: पार्टीको सम्पर्कमा आए । त्यसपछि चाँहि निरन्तर सकृय रहेर काम गरे । त्यही २०४७/४८ सालमा काठमाडौँ आएपछि म संयुक्त जनमोर्चा पार्टीमा आबद्ध भए ।

६- त्यतिबेला पार्टीको नाम के थियो सम्झिनु हुन्छ ?

सम्झिन्छु किन नसम्झिने ? २०४८ सालमा पार्टीको नाम संयुक्त जनमोर्चा थियो । त्यहीबेला म पार्टीमा अलि सकृय रुपमा लागेकी थिए, पछि २०४९ सालमा पार्टीमा अन्तरसंघर्ष सुरु भयो तत्काल जनयुद्ध गर्ने र तत्काल जनयुद्ध नगरेर जनसंघर्ष गर्ने भन्ने दुइ धार देखा परे ।

यही विवादकाबीच पार्टी बिभाजन भयो । त्यसपछि कमरेड प्रचण्डहरुको टीम जनयुद्धमा गयो । निर्मल लामाको नेतृत्वमा जनसंघर्षको बाटो समातेर नयाँ ढंगले जनसंघर्ष अगाडी बढाउने भन्ने थियो ।

७- पार्टी बिभाजनपछि नेपालमा जनयुद्ध सुरु भएपछि तपाई यता कुन जिम्मेवारीमा हुनुहुन्थ्यो ?

२०५२ मा जनयुद्ध सुरु भैसकेपछि हाम्रो दोहोरो भूमिका नै रह्यो ।  भूमिगत कम्युनिष्ट पार्टी एकता केन्द्र निर्मल लामाले नेतृत्व गर्नुहुन्थ्यो भने बाहिर चुनावी मोर्चाका रुपमा संयुक्त जनमोर्चा नेपाल सक्रिय थियो । निरन्जन बैद्य त्यसको नेतृत्वकर्ता हुनुहन्थ्यो । त्यसबेला म चाँही ललितपुर जिल्लाकाे महिला संगठनकाे काेषाध्यक्ष थिए भने उता जनमाेर्चाकाे जिम्मेवारी पनि सम्हालेकाे थिए ।

२०५६ सालमा म ललितपुरमा महिला संगठनको अध्यक्ष भए । त्यो बेला मेरो जिम्मा त खास पुरै बागमती हेर्ने थियो । पछि २०५७ मा अनेमसंघको केन्द्रीय सदस्य बने भने ५९ सालमा जनमोर्चाको केन्द्रीय सदस्य र अनेमसंघको उपाध्यक्षको जिम्मेवारी पाए ।

त्यसपछि जिम्मेवारी थिपिदै गयो, ६० सालमा आदिवासी जनजाती महासंघको केन्द्रीय कोषाध्यक्ष बने / ६२ सालमा महासंघको महासचिवको जिम्मेवारी पाए ।

८- एकातिर जनयुद्ध जारी थियो, अर्कोतिर तपाईहरु पार्टी फुटेर यता जनसंघर्षमा हाेमिनुभयाे । सरकारले तपाईरुलाई पनि केरकार गरेन ?

गर्यो नि किन नगर्नु ? सिआइडीहरुले हाम्रो निकै चियोचर्चा गरिरहेका हुन्थे । हामी भने भिषण जनयुद्ध भइरहेका बेला पनि ललितपुरका पहाड पहाड गाउँ बस्तीमा  पुगेर  एमाले माले लगायत अन्य पार्टी निकट महिलाहरुलाई पनि भेट्ने, छलफल गर्ने, संगठन बनाउन काम गरिरहेका थियौ । त्यो बेला कतै -कतै जनयुद्धमा भएका साथीहरु पनि भेटिनु हुन्थाे, रमाइलो कुराकानी र छलफल हुन्थाे । अहिले सम्झिन्दा पनि आनन्द लाग्छ। त्यसबेला जनयुद्धमा भएका साथीहरुले क प्रकाशका प्रकाशित समानहरु माग्नुहुन्थ्यो म लगिदिने गर्थे ।

९- तपाईको पार्टी जनसंघर्षमा हुँदा शहरमा खासगरी कस्ता-कस्ता संघर्षका कार्यक्रम हुन्थे ?

त्यति बेला हामीले राजतन्त्रको बिरुद्धमा थुप्रै प्रदर्शन गर्थ्यौ । महिलाहरुलाई मनोरन्जनको साधनका रुपमा प्रयोग गरिने सुन्दरी प्रतियोगिताको विरुद्ध हामीले संघर्ष गरेका थियौ । पैतृत सम्पतिमामहिलाको समान अधिकारका लागि सदनभित्रै पसेर नारावाजी गर्यौं । शशी श्रेष्ठले नेतृत्व गर्नुभएकाे थियाे । संयुक्त बाम महिलाहरूकाे प्रतिनिधिमुलक नेतृहरू थियाैं ।

सदनभित्रै पसेर नारावाजी गरेपछि हामी सबै गिरफ्तार पर्यो, सबैलाई पुलिस कल्ब लगियो तर त्यसबाट भने सशी दिदि र मलाई चाहिँ नक्साल प्रहरी चौकीको कस्टडीमा राखियाे । करिब ५ घण्टापछि त्यहाँबाट पुलिसक्लब नै ल्यायाे, अनि ११ बजे राती सबैलार्इ कागज गरेर छाेड्याे । एएटा रमाइलाे कुरा के भने सदनका मर्यादा पालकहरूले कसलार्इ मुद्दा लगाउने भनेर चिन्नै नसकेर मुद्दा लगाउन सकेन ।

संघर्षका कार्यक्रममा त् थुप्रै होमियो, टनकपुर सन्धि, महाकाली सन्धिको बिरुद्धमा पटकपटक संघर्ष गर्यौं । महँगी, भ्रष्टाचार, लाउडा बिमानकाण्डको बिरुद्ध, सातबाम, चारबाम र नौ बामको संयुक्त कार्यकममा संघर्ष गरियो ।

हामीले संघर्षका बेला निकै ठुल्ठुला जन प्रदर्शन गर्ने गरेका थियौं । त्यतिबेला पार्टीको ललितपुरको क्षेत्र नम्बर १ को इन्चार्ज म थिए । मैले पहाडबाट १९ देखि २२/२३ बससम्म जनताहरू जनसंघर्षमा उतार्थे, उहाँहरू पनि अाउनुहुन्थ्याे । अर्को कुरा मैले जनजाति महासंघको पनि नेतृत्व गर्ने भएका कारणले जनजातिको अधिकारका लागि पटकपटक संघर्षका कार्यक्रमहरु गरियो । र जनजातीका अधिकारका लागि पनि  संयुक्त रुपमा आन्दोलनको उठान गरियो, त्यो पनि हाम्रै नेतृत्व हुने गर्थ्याे ।

१०- देशमा शान्ति प्रक्रिया सुरु भइसकेपछि तपाई पार्टीको कुन तहसम्म पग्नुभयो ?

२०६२/६३ को जनआन्दोलनपछि  महिला संगठनको भने केन्द्रीय उपाध्यक्षको जिम्मेवारी सम्हालेकी थिए । अर्को संगठन जनजाति महासंघको पनि महासचिब थिए । त्यो बेला मैले ३ वटै जिम्मेवारी कुशलता पुर्बक पुरा गरेको जस्तो लाग्छ । आफुले निर्वाह गरेका ति जिम्मेवारीहरु सम्झिदा अहिलेको अवस्थामा त् खासै केहि जिम्मा छैन की जस्तो पो लाग्छ त् हाहा… ।

११- पार्टी एकता भएपछि तपाईको जिम्मेवारी पार्टीको उच्च तहमै थियो ?

पार्टी एकतापछि मेरो जिम्मेवारी एक हिसाबले पार्टीको उच्च तहमै थियो भनौ । यो २०६५ साला तिरको कुरा हो पार्टीमा म जातिय, क्षेत्रीय महासंघको कोषाध्यक्ष थिए । पार्टीमा जनबर्गीय जिल्ला समिति थियो । त्यसको इन्चार्ज जीवन्त कमरेड हुनुहुन्थयो म सहइन्चार्ज थिए ।

जवसकै जिम्मा भएकाले महिलाको केन्द्रीय कार्यालय टीममा थिए। त्यो बेला तारा घर्ती र मैले ३ नम्बर प्रदेश जिम्मा लिएका थियौ । त्यसपछि एकीकृत माओवादी फुट्यो पार्टी फुटेपछि मैले महिलाको संयोजकको भूमिका निर्बाह गरे ।

अनि त्यतिबेला पार्टीको नेवा राज्यसमितिकाे सचिवालय सदस्य थिए, । पुन: पार्टी एकता भएर नेकपा माओवादी केन्द्र बनेपछि म पार्टीको केन्द्रीय सदस्य हो । यता जनबर्गीय संगठनमा महिलाको केन्द्रीय उपाध्यक्ष छु अहिले ।

१२- तपाई पहिला पनि यो क्षेत्रको उम्मेदवार बन्नु भएको छ ?

हो म २ पटकसम्म ललितपुरमै उम्मेदवार बनेकी छु । ललितपुरको १ नम्बर क्षेत्रबाट प्रत्यक्ष सांसदमा २ पटक उम्मेदवार भए । दुवै पटक मतदाताले राम्रो मायाँ पनि गरेका थिए । एक पटक ५६ सालमा संयुक्त जनमोर्चाको तर्फबाट र अर्को पटक २०६४ सालको संबिधानसभामा जनमोर्चाको तर्फबाट निर्वाचनमा भाग लिएकी हुँ । अनि ७० सालमा चाहिँ दोस्रो संबिधानसभामा समानुपातिक उम्मेदवार थिए तर सभासद् भने भइएन ।

१३- तपाई यति लामो समय राजनिति गरेको अनि दुइ-दुइ पटक उम्मेदवार बनेको मान्छे अहिले प्रत्यक्षमा लडेको भए हुने थिएन र ?

किन नहुने लड्ने कुरा त थियो नि । तर के-के कुरा मिलेन, टिकट नै पाइएन हा हा हा हा …. । मैले प्रत्यक्षबाट नै लड्ने भनेकी थिए । गठबन्धन नबन्दा पनि हाम्रो पार्टी एक्लै चुनावमा जाने भएको खण्डमा पनि म प्रत्यक्षमा नै लड्छु भन्ने थियो । क्षेत्र जिल्ला, महिलासंघ र केन्द्रको बैठकहरुमा पनि मैले प्रत्यक्षबाट लड्ने कुरा नै राखेकी थिए ।

यता ३ नम्बर तिरबाट खास महिला र जनजाति महिलाले कसैले पनि दाबी नगरेको बेला मेरो दावी थीयो । प्रत्यक्ष लड्छु भन्ने अडान अन्तिमसम्म  पनि कायम थियो ।नाम पनि सर्वसम्मत रुपमा मेरो सिफारिस भएको थियो । पछि के-कति कारणले मिलेन पार्टीले समानुपातिक नाम राखिदियो । कम्युनिष्ट पार्टीमा अनुशासनको कुरा हुन्छ, त्यसैले मैले पार्टीको निर्णय मान्ने कुरा आयो र माने ।

१४- स्थानीय स्तरमा तपाइको प्रभाब राम्रै छ भन्ने सुनिन्छ, समानुपातिकबाट सांसद बन्ने पक्का हुन्छ होला नी ?

छ नि करिब ३६/३७ बर्ष यहिक्षेत्रमा बसेर राजनीति र समाजसेवा गरेकी छु । स्थानीय पनि मेराे दुख, त्याग, तपस्या सबै देखेर निकै माया गर्छन । मलाई त के लाग्छ भने म प्रत्यक्षमा उठेको भए पनि जित्थे । त्यै पनि मेरो उम्मेद्वारी समानुपातिकमा हुँदा यो क्षेत्रका मतदाताले मलाइ जिताउन पार्टीको चुनाव चिन्हमा मतदान गर्नुहुन्छ भन्ने आशा छ ।

यता पार्टी केन्द्रको कुरामा पनि मेरो पार्टीमा र कम्युनिष्ट आन्दोलनमा जुन प्रकारको लगानी र त्याग तपस्या छ । यो इतिहासको कोणबाट सही मूल्यांकन भयो भने सिट सुरक्षित हुन्छ भन्नेमा म ढुक्क छु । तर अब नेपालको संसदीय राजनितिक विरासत तपाईलाई थाहा छदै छ । आ-आफ्नो मान्छेलाई काखी च्याप्ने प्रबृतिले नेताहरुको दिमाखमा घर गरिहाल्यो भने मात्र अपमान हुन् सक्छ । नेताहरु अनि परिवारमुखी बढी छन ।

यो कुरा नेताहरुले बुझेका छन् भन्ने मलाइ लाग्छ । नेताहरुले यति हुँदाहुँदै पनि लामो इतिहासको भारी बोकेर आएका हामीजस्ता नेता-कार्यकर्तालाई देख्दादेख्दै पनि घचेटेर फाल्छन भने मैले भन्नु केहि छैन । तर पार्टीले यसपाली चाँहl अन्याय गर्दैन भन्ने कुरामा म ढुक्क नै छु । र अाशा पनि गरेकी छु ।

१५- अनि के छ तपाईको आगामी योजना के छ ?

म जनता र नेता कार्यकर्तालाई यस्ताे गर्छु भनेर धेरै आश्वासन त बाड्दिन । मैले आगामी दिनमा पनि पार्टी र क्रान्तिलाई केन्द्रमा राखेर पार्टीको निर्देशनअनुसार देशमा शान्ति स्थिरता र सम्वृद्धिका लागि निरन्तर खट्ने इच्छा छ । बिगतमा पार्टीको योजनामा भएका शहर र गाउँका विभिन्न जनसंघर्षमा निकै ढाड भाचिने गरी यातना खाइएको छ । यसको मूल्यांकन इतिहासले गरिसकेपछि मैले जनताप्रति उत्तरदायी भएर आफ्नो क्षेत्रको बिकाशका निम्ति अनबरत लागिपर्ने छु ।

१६- लगभग नेपालमा संघर्षको चरण सकियो भन्ने गरिन्छ, अबका दिनमा के बिषयमा संघर्ष केन्द्रित हुनसक्छ ?

हैन नि संघर्षको चरण सकिएको छैन । हाम्रो अन्तिम लक्ष्य यो व्यवस्था पनि हैन । हामीले त समाजवादी व्यवस्था हुँदै साम्यवादी राज्यसत्ता स्थापना गर्ने भनेका हौ ।  कम्युनिष्टहरुको अन्तिम लक्ष्य त्यही नै हुन्छ, त्यसैले संघर्ष अझै बाँकी छ । यत्रो जनयुद्द र जनान्दोलन गरेर राजतन्त्र फालेर गणतन्त्र ल्याउने हामीहरुले देशको राष्ट्रिय राजनीतिमा भूमिका खेल्दै देशमा स्थिर सरकार भइसकेपछि हामी समाजबाद उन्मुख व्यवस्थाका लागी लड्ने हो । त्यसका लागि मैले आफुलाई पुरै तयार राखेको छु ।

१७- यो पूंजीवादी युग भएको हुनाले अहिलेको गणतन्त्र नै समाजवाद उन्मुख ब्यबस्था हो भनेर तपाइको पार्टीले भनेको छ नि ?

हैन हैन त्यो कहाँ कसले कुन सन्दर्भमा भन्यो कुरा अलग छ । हामीले कांग्रेसले खोजेको जस्तो र बिहारी गणतन्त्र र उनीहरुले भनेको जसो पूंजीवादी समाजवाद खोजेका हैनौ । हामीले बैज्ञानिक समाजवाद खोजेका हौ । राष्ट्रियता, जनतन्त्र, जनजीविकालगाएत जनताका मागका निम्ति हामी अझै लड्नुपर्छ । जनजाती, दलित, महिला, किसान, मजदुर र पिछडिएका वर्ग, क्षेत्रहरुको निम्ती लड्ने दिन अझै आउने छन् । किन की यो व्यवस्थाले नै उनीहरुको हक अधिकार पूर्णरुपमा प्राप्त हुन् सक्दैन ।

१८- उनीहरुका हक अधिकारको बारेमा अहिलेको संविधानमा स्पष्ट समेटिको छ नि, यो संविधानको कार्यन्वयनले पुरा हुदैन र ? 

कुरा यस्तो हो, यो संविधानले उत्पीडितहरु सबैको अधिकार सुनिश्चित गरेको छैन । मैले अघि नै पनि भने हाम्रो अन्तिम लक्ष्य त साम्यवाद नै हो । यो संविधानले त आधारभूतरूपमा केहि अधिकारका कुराहरु मात्र समेटेको छ । हामीले यि सिमित उपलब्धिको रक्षा गर्दै हाम्रो रणनीतिक लडाईको बाटोमा अघि बढ्नुपर्छ ।

हामीले अहिले पनि देशमा स्थिर सरकार बनिसकेपछि पनि समाजबाद उन्मुख व्यवस्थाका निम्ती संघर्ष गर्ने हो । हामीले त जनजातिको सवालमा पूर्ण समानुपातिक अधिकार भनेको हो नि त ।  खै उनीहरुले पाएका छन त ? तर पाइएको जति भने] रक्षा गर्ने चाँहि हो ,यसलाई यतिकै छोडेर अगाडी बढ्नु पनि हुदैन । हामीले पुरा सोच विचारका साथ जनताको पूर्ण व्यवस्था बैज्ञानिक समाजवाद नै रोज्नुपर्छ ।

१९- देश संघीयतामा गइसकेको छ, के यसले उनीहरुलाई अधिकार दिलाउदैन र ?

अहिले नै संघीयताले पनि पुराना अधिकार दिदैन, किन कि अबको चुनवाबाट पनि तिनै माथिल्लो बर्गका मान्छेहरुले जित्ने सम्भावना बढी हुन्छ । किन की यो संसदीय राजनीति हो यो राजनीतिमा पैसा पावर साम, दाम, दण्डभेद सब चल्छ । यस संसदीय व्यवस्थालाई अग्रगामी तरिकाले रुपान्तरण गर्दै लानुपर्छ ।

जस्तो भ्रष्टाचार, घुसखोरी लगाएतका तस्करीजस्ता कार्यहरु रोक्न जनताको खबरदारी आवश्यक हुन्छ ।  तबमात्रै याे संघीयता बैज्ञानिक समाजवाद उन्मुख बनाउन सकिन्छ ।

२०- यसको मतलब के नेताहरु अझै सुध्रिएका छैनन् ? त्यसैले ब्यबस्था सुदृध हुन् अझै समय लाग्छ भन्ने हो ?

हो तपाईले एकदम ठिक भन्नुभयो । राजनीतिलाई नेताहरुले समाजसेवा भन्दा पनि नाफामुलक पेशा जस्तै बनाएका छन् । यो पार्टी उ पार्टी हैन सबै पार्टीमा यो समस्या छ । आफ्नो बर्गलाई भुलेर नेताहरु पैसा कमाउन तिर लागेका छन्, ठेकेदार वर्गका पछि लागेका छन् । आफ्नो आदर्श र विचार बिर्सेका छन् ।

हामीले यो चिन्तनका बिरुद्ध पनि संघर्ष गर्नुपर्ने छ । हामीले त्यस्ता आचरणलाई सच्याउनुपर्छ । नेता भनेको बहुआयामिक क्षमता भएको हुनुपर्छ । अझ कम्युनिष्ट लिडर हुनुका निम्ति सांस्कृतिक रुपान्त्रण पनि जरुरी छ । संस्कारमा हामी निकै पूजीपति बर्गका नेता जस्ता छौं यो समस्या भनेको नेपालका सबै कम्युनिष्ट पार्टीमा छ ।

२१- यो निर्वाचनपछि पनि तपाईले भनेकाजस्ता खराब नेताहरु चुनिएर आए भने के गर्ने नि ?

केही आउन पनि सक्छन मैले भने नि यो संसदीय राजनीति हो । यसमा अलिअलि धमिलो पानी पनि छ, सङ्ग्लो पानी पनि छ । केही नेताहरुमा तल्लो स्तरका नेता कार्यकर्ताहरुको फोनसम्म नउठाउने चलन हाबी छ, त्यो  सच्याउनुपर्ने हुन्छ । नेताहरु त् मिसकल देखे पनि कलब्याक गर्नु पर्यो नि  !

कम्युनिष्ट नेताहरुमा मपार्इत्व, सामन्तवादी मानसिकता देखिन्छ, यो पनि सुधार हुन् आवस्यक छ । नेताहरुको जीवनशैली सुध्रिएन भने कसरि कम्युनिष्ट पार्टी बन्छ ?  पार्टीभित्र  महिलाको प्रतिशत ३३-४० को कुरा लाग्नु हुनुपर्यो भनेर भन्ने तर ब्यबहारमा लागु नगर्ने र यी कुराहरु उठाउदा महिलावादी भएर आयो भनेर नेतृत्वले जवाफ दिने । अन्तर्राष्ट्रिय कम्युनिष्ट आन्दोलनले क्रान्ति गर्यो तर त्यो क्रान्तिमा महिलाहरु कति प्रतिशत पो थिए र ? थोरै त् थिए नि, भनेर नेतृत्वबाटै उदाहरण दिने गर्छन । तर यो नेपालको  सन्दर्भमा मिल्दैन । मार्क्सवादले आफ्नो देशको वस्तुगत परिस्थिति अनुसार अधिकार दिनुपर्ने हैन र ?

वरीपरी घुम्ने एउटा झुण्ड बटुलेर बस्ने सामान्तबादी चिन्तन र हैकम हाबी छ । त्यसकारणले पनि पछिल्लो चरण महिलाहरुलाई अन्याय भएको छ । त्यसलाई नसच्याएसम्म नेता नेता बन्न सक्दैन ।

२२ कम्युनिष्ट राजनीतिमा आग्रह-पुर्बग्रह र व्यक्तिगत तिक्तता पनि हुन्छ र ?

ल के कुरा गर्नुभएको होला ? यो त भैहाल्छ नि ! अझ नढाटेर भन्दाखेरि कम्युनिष्ट आन्दोलन राजनीतिमा पूर्वाग्रह बढी छ ।  क्रान्तिप्रति निष्ठा र  समर्पित कयौं योद्धा/कार्यकर्ता क्षमता भएपनि व्यक्तिगतरुपमा मन परेन भने निकै पछाडी पार्ने चलन छ, यसलाई फेर्नु पर्ने छ।

माओवादी केन्द्रमा मात्र हैन नेपालका टोटल कम्युनिष्ट पार्टीभित्र यो रोग छ । पार्टी निकै ठुलो संघर्षमा भएको बेला समेत यस्ता घटना घटेका छन् ।

पार्टीमा महिलालाई ३३ प्रतिशत दिने भनेपनि अन्त्यमा दिइएन । उदाहरणको रुपमा भन्ने हो भने प्रदेश नम्बर ३ मा म एक्लैले प्रत्यक्षमा टिकट मागेकी थिए, तर लास्टमा नेताहरुले सहि ढंगले मूल्यांकन नगरेको जस्तो देखियो ।

कारण अन्त्यमा समानुपातिकमा चित्त बुझाउनुपर्ने अबस्था आयो । यस्ता अरुका पनि उदाहरण छन् होला । यसाे भनिरहँदा यो मेरो पार्टीप्रतिको असन्तुष्टि चाँहि हैन, तर यो चलनले कही कतै काम गर्यो कि भन्ने आशय हो । यस्तो अझै केही वर्ष चल्छ,  किनकी नेपालमा अझै माथि मैले भन्याजस्तो नेताहरुको डरलाग्दो प्रबृत्ति छ । त्यो प्रबृत्ति परिवर्तन नभएसम्म यो रहिरहन्छ ।

२३ अन्त्यमा केही भन्नुहुन्छ की ?

अन्तमा मैले आफ्नो क्षेत्रका नेता कार्यकर्ता र सम्पुर्ण आदरणीय न्यायप्रेमी जनसमुदाय तथा दाजुभाइ, दिदीबहिनीहरु, आफन्तजन र मतदाताहरुलाई धन्यबाद दिन चाहन्छु । जसले निर्वाचन प्रचारप्रसार र पार्टीको काममा निरन्तर रात दिन नभनीकन खटिरहनु भएकाे दाजुभाइ तथा दिदीबहिनीहरु, पत्रकार तथा फोटोग्राफर कमरेड र आफ्नो भूमिका पुरा गर्नुभएको सबैलाई मेरो र मेरो पार्टी र गठबन्धनको तर्फबाट विशेष धन्यवाद दिन चाहन्छु ।

साथै मतदातालाई पनि आफ्नो अमुल्य मत हामीलाई दिएर देश निर्माणको अभिभारा पनि हामीलाई नै दिन अनुरोध गर्दछु । संवादका लागि तपाई र तपाईको मिडियालाई पनि धन्याबाद । हाम्रो पार्टीको विचार राजनति र मेरा आफ्ना कुरा पनि आम जनसमुदाय र पाठकसामू राख्ने सुनौलो अवसर दिनुभएको छ ।

२०७४ मंसीर १७ गते प्रकाशित
प्रतिकृया दिनुहोस्

खाली एड

Loading...