इमान्दार संवाददाता
११९८ पटक
तेह्रथुम ।

चुनावी सभालाई सम्बोधन गर्न जाँदै गरेका ओली-प्रचण्ड गठवन्धनका उम्मेदवारहरुको गाडी एम्बुसमा परेको छ । तेह्रथुमको छथर गाउँपालिका–१, आङ्दिममा शनिबार मध्यान्ह बम विस्फोट भएको छ ।

शुक्रबारे बजारमा संयुक्त वाम–गठवन्धनले आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्न जाँदै गरेका एमाले पोलिट व्युरो सदस्य तथा समानुपातिक उम्मेदवार डा. विजय सुव्बा, माओवादी केन्द्रकी नेतृ तथा समानुपातिक उम्मेदवार सुशिला कन्दङवा, माअाेवादी समानुपातिक उम्मेदवार हाेमकुमारी खापुङ, नेपाल परिवार दलका केन्द्रीय सदस्य राम लिम्बु लगायत नेताहरु चढेको गाडी एम्बुसमा परेको हो ।

तेह्रथुम र धनकुटाको सीमा तेलिया खोला नजिकै आङ्दिममा गाडी एम्बुसमा परेको घटना स्थलबाट प्रहरी निरीक्षक गणेश कोइरालाले जानकारी दिएका छन् । विस्फोटमा परी मे १ ज २०२ नम्वरको ल्याण्डरोभर गाडीमा क्षति पुगेको छ ।

तर गाडीमा सवार नेता कार्यकर्ता भने सकुसल रहेको प्रहरीले जनाएको छ । सडकमा माटोले पुरेर राखेको बम पड्किएको हुनसक्ने प्रहरीको अनुमान छ । बम राख्नेको पहिचान हुन नसकेको र खोजी कार्य भइरहेको प्रहरी निरीक्षक कोइरालाले बताए । बिस्फोटपछि त्यहाँको अवस्था तनावग्रस्त बनेको छ ।

२०७४ मंसीर १६ गते प्रकाशित
प्रतिकृया दिनुहोस्

खाली एड

Loading...