३४१ पटक

उमाकान्त युके ।

२०६८ सालको साउन महिनाको कुनै दिन हुनुपर्छ, काठमाडौको थापाथली स्थित मार्टिन चौतारीमा रबिन्द्र मिश्रको पुस्तकबारे अन्तरक्रिया कार्यक्रम राखिएको थियो ।

एकमात्र बक्ता उनै मिश्र थिए भने सहभागी त्यस्तै १८-२० जना जति । उनले राजनीतिक पार्टी र नेताहरुको कडा आलोचना गरे । नेताहरुको क्रियाकलापका कारण आफुलाई राजनीतिक बिषयमा लेख लेख्ने जाँगर पनि हराइसकेको र आफू लोककल्याणकारी पत्रकारितातिर केन्दृत हुने धारणा व्यक्त गरे ।

यो पंक्तिकार र एकजना अर्को कोहि सहभागीले मिश्रलाई आलोचना मात्र हैन राजनीतिमा आउन अझ आफै नयाँ पार्टी खोल्न सुझावमुलक जिज्ञासा राखे । उनको जवाफ थियो, “उमेर ढल्किसक्यो, ढिलो भैसकेको छ । यतिबेला पार्टी खोलेर न पार्टीलाई स्थापित गर्न सकिन्छ न त देशका लागि आफ्नो योजना नै लागू गर्न सकिन्छ ।” उसोभए छोरालाई नेता बनाउने हो त भन्ने प्रतिप्रश्नमा उनले भने,”हो, छोरालाई राजनीतिज्ञ बनाउछु भनेर ११ बर्ष अगाडि मैले लेख नै लेखेको थिँए । त्यसबेला मेरो छोरा ४ बर्षको थियो । अहिले चाहिँ उ १५ बर्षको भयो । आज पनि आफ्नो कुरामा दृढ छु र उसंग त्यसैअनुसारको कुरा गरिरहेको छु ।”

केहि महिना अगाडि रबिन्द्र मिश्रले बिबिसी नेपाली सेवाको जागीरबाट राजीनामा दिएर साझा पार्टी गठन गरेको खबर पढ्न पाइयो । उसो त उनी पछिल्लो केही बर्षयता बैकल्पिक राजनीतिको मन्थनमा जुटिहेका थिए । अहिलेको संस्थापन राजनीतिक शक्ति (कांग्रेस-एमाले-माके)भन्दा भिन्न राजनीतिक शक्तिको जरुरत रहेको कुरामा एकखाले अभियानमै थिए ।

त्यसमा बाबुराम भट्टराई , कमल थापादेखि विप्लवसम्मको भेटमा उनलेे नयाँ राजनीतिक ध्रुवको आवश्यकता रहेको बताउने गर्थे । बिशेषत बाबुराम भट्टराईसंग उनी सहकार्य गर्न चाहन्थे र सायद आज पनि उनी त्यो चाहन्छन् ।

गत स्थानीय चुनावमा सहभागीता जनाएको साझाले आफ्नो स्थापनाको केही समयमै बिबेकशिल दलसँग पार्टी एकता गर्यो । समृद्धिलाई आफ्नो प्रमुख एजेन्डा बनाएको नवगठित पार्टीका मुख्य नेतामध्येका एक मिश्र पनि चुनावी मैदानमा छन् । उनको बिषयमा खासगरी सामाजिक संजाल र शहरीया मध्यम वर्गको एउटा वृत्तमा चासो र बहस सिर्जना भएको छ । उनले भनेको समृद्धि उनले भनेजस्तै गरि सम्भव छ या छैन भन्ने कुरामा स-सानो छलफल जरुरी छ ।

उमाकान्त

सामान्यतया राजनीतिक पार्टीहरु विचारको आधारमा निर्माण हुन्छन् । बिबेकशिल साझा पार्टीको राजनैतिक दर्शन के हो, बैचारिक धरातल के हो भन्ने कुरा स्पष्ट छैन । उसो त नेपालमा एउटा जमात छ जसले सिद्धान्त र दर्शनको कुरा गर्नु बेकार ठान्छ । अहिलेसम्म नेताहरूले खाली सिद्धान्तको मात्रै कुरा गरे भन्ने पनि छ । वास्तमा राजनीतिक दल र तिनका नेताहरु बिचार र सिद्धान्तप्रति प्रतिबद्ध हुनसकेनन् ।

नेपाली कांग्रेसले बिपिको प्रजातान्त्रिक समाजबाद पार्टी दस्तावेजमै सिमित राख्यो । नेकपा( एमाले)ले जनताको बहुदलीय जनवादको वास्तविक मर्मलाई लागू गर्न सकेन । माओवादीले माओवाद र माओले भनेको कुरा अनुसरण गर्न सकेन । रबिन्द्र मिश्रले त आफुलाई भुमध्येरेखाबादी भन्ने गर्छन् । उनले यो कुरा बुझेकै हुनुपर्छ कि यो पृथ्वीमा भुमध्येरेखा भन्ने कुनै रेखा छैन । त्यो त केबल अक्षांश र देशान्तर नाप्न सजिलोका लागि कम्प्युटरमा बनाइएको काल्पनिक रेखा हो ।

बिचारले राजनीतिक पार्टीलाई मार्गदर्शन गर्छ । आफ्नो राजनैतिक लाइन स्पष्ट नहुदा बाबुराम भट्टराईजस्तो बौद्धिक नेताको निर्णय कसरी उलटपुलट हुन्छन् भन्ने देखियो । एक हप्ताको अवधिमा तीनवटा राजनीतिक मोर्चामा आफुलाई उभ्याए । सुरुमा एक्लै, पछि बाम गठबन्धन र अन्त्यमा लोकतान्त्रिक गठबन्धन ।

एमाले अलिक बिचमा बस्न खोज्दा कुनैबेला उसलाई ‘तेस्रो लिङ्गी’को उपमा दिने तिनै भट्टराई थिए । त्यसैले बिचारबिनाका पार्टीहरु एनजीओ, क्लब, आमासमुह, सामाजिक संघसंस्था झैं आफ्नो अनुकूलतामा जहिले जोसंग पनि सहकार्य गर्न र समाहित हुन तयार भैदिने खतरा हुन्छ ।

२०५७ सालमा नेपाल पत्रीकामार्फत मिश्रले बाबुराम भट्टराईलाई खुलापत्र लेखे जसमा उनले लेखेका छन्, ‘गरीबी र अशिक्षाले ग्रस्त समाजमा खुमबहादुर खड्का र गोविन्दराज जोशीले त सुन्दर भबिस्यको आशा कोरिदिनसक्छन्, इसाई धर्म प्रचारकहरुले जिवनभर रामगाथा गाएकी हजुरआमालाई त यशुभक्त बनाइदिन सक्छन् भने तपाईजस्तो सुपठित र सुविज्ञ ब्यक्तिले तिनलाई माओवादी बनाउन सक्नुमा मलाई कुनै आश्चर्य लागेको छैन ।

खुला समाजमा तर्कले जित्ने आँट नभएकाहरु मात्र हिंसाको सहारा लिन्छन्।’ तर २०६५ सालमा एउटा लेखमा मिश्रले लेखेका छन्,’उनिहरु(माओवादी)संग धेरैको बैचारिक मतान्तर होला तर तिनले ज्यानलाई हत्केलामा राखेर देश बनाउन हतियार उठाएका हुन् भन्नेमा कम्तिमा यो स्तम्भकार बिश्वस्त छ ।’ उहि जनयुद्धलाई कहिले हिंसा त कहिले देशका लागि आवश्यक देख्नु बैचारिक अकर्मण्यता, शक्तिपुजक मनोबिज्ञान र ढुलमुले चरीत्रको उपज हो ।

बिबिसीलाई उनले राजतन्त्र बचाउनका निमित्त अधिकतम् उपयोग गर्ने कोसिस गरे । त्यस्तै खालका सामाग्री प्रसारण गरे । उनको राजाप्रतिको आस्था निहाल्न धेरै उदाहरण जरुरी नै पर्दैन । २०६५ जेठ १५ गते संविधानसभाको पहिलो बैठकले गणतन्त्र कार्यान्वयनको प्रस्ताव पारित गर्ने निश्चित थियो ।

त्यसैदिन रबिन्द्र मिश्रले छद्म नाममा प्रचण्डलाई खुलापत्रमा लेखेका छन्,’पहिले गरे जसरी शत्रु, मित्रु सबैलाई उपयोग गर्नुहोस् । कसैलाई फकाउनोस, कसैलाई धम्काउनोस, कसैका सामु लम्पसार भैदिनोस । राष्ट्रिय स्वार्थका लागि जेजे हुनुपर्छ हुनोस । यो अन्तिम घडीमा पनि म त भन्छु, राजतन्त्र नफ्याक्नोस ।’ आज पनि उनी राजतन्त्र वा गणतन्त्र कसको पक्षमा भन्ने कुरामा मौन छन् ।

बेलायतमा पढेका र बिबिसीमार्फत संसार बुझेका मिश्रलाई अवश्य यो ज्ञान छ कि कुनै पनि सार्बभौम राष्ट्रका नागरिक बिदेशी सेनामा भर्ती गरिनु अन्तरास्ट्रिय कानुन र प्रचलन बिपरित छ । तर भारतीय र अंग्रेज सेनामा नेपाली युवालाई पठाउने गरि सन् १९४७मा गरिएको सम्झौताबारे उनको धारणा के हो ? १९५० को सन्धिको पक्षमा कि विपक्षमा छन् उनी ? नेपाली भाषा, संस्कृति र धर्मप्रति बढिरहेको पश्चिमा अतिक्रमणबारे किन मौन छन् ? आइएनजिओको आवरणमा सामाजिक, राजनीतिक क्षेत्रमा बढ्दो बिदेशी प्रभावबारे उनको दृष्टिकोण के हो ?
उनले सधैं पारदर्शिताको बारेमा लेखे, बोले र अरुलाई सोधे । पार्टी खोलेर राजनीतिमा लागेपछि पनि आफुले पारदर्शिता अपनाउने घोषणा गरे । चुनाव खर्च र पार्टीको अन्य खर्च सार्वजनिक गर्छु भने । स्थानीय चुनाव सकिएको महिनौं बितिसक्यो । उनको पार्टी समेत एकीकरण नै भैसकेको छ । तर उनले आर्थिक हिसाबकिताब सार्बजनिक गरेनन् । पार्टी एकता घोषणा कार्यक्रममा पत्रकारले आर्थिक स्रोत र खर्चको बारेमा प्रश्न गरे । उनले मुर्त रुपमा स्पष्ट जवाफ दिन सकेनन् ।

अब समृद्धितिर लागौं । नेपालमा समृद्धि अर्थात आर्थिक बिकास आवश्यक र सम्भव दुबै छ भन्नेमा कसैको दुई मत नहोला । आर्थिक बिकासका लागि राजनीतिक स्थायित्व, सक्षम नेतृत्व र सुव्यवस्थित सरकारी संयन्त्र आधारभूत तत्व हुन् । राजनीतिक स्थायित्व या त राजनीतिक क्रान्तिपछि हुन्छ(जस्तो कि चिनमा) या शासन प्रणालीका कारणले हुन्छ(जस्तो कि अमेरिकामा) ।

नेपालमा पटकपटक राजनैतिक क्रान्ति भए । तर कुनै क्रान्ति वा आन्दोलन निर्णायक चरणमा नपुग्दै सम्झौतामा टुंगिए । अर्कोतिर स्थिर सरकार बन्ने खालको प्रणालीको पनि बिकास हुनसकेन । बहुमत प्राप्त दलको सरकार पनि पूरा अवधी काम गर्न नपाउने अवस्था निर्माण हुनुको मुख्य कारण संसदीय प्रणाली र नेताहरुको सयुक्त असफलता हो ।

अब स्थायित्व र दिगो बिकासका निम्ति अगाडिको बाटो के भन्ने प्रश्न आउछ । राजनैतिक क्रान्ति पुर्ण भएको छैन भन्ने हो भने हाल भैरहेको ब्यवस्थालाई अस्विकार गर्दै यसैका विरुद्ध उभिनुपर्छ(जस्तो कि विप्लवको पार्टी) । हैन राजनैतिक क्रान्ति पूरा भैसकेको निष्कर्षमा पुगेको हो भने अहिले भैरहेको प्रणालीभित्रै अहिलेकै पार्टी र नेताहरूमध्ये उत्कृष्ट बिकल्प छान्ने (जस्तो कि बाबुराम भट्टराई, जनार्दन शर्मा, लालबाबु पण्डित, गोकर्ण बिष्ट लगायत नेताहरूले गरेको कामले सर्वसाधारण जनतामा सकारात्मक छाप परेको देखिन्छ ) ।

अहिलेको ब्यवस्थाभित्रै हो भने नेपालमा तीन-चार भन्दा बढी पार्टीको आवश्यकता नै छैन । अहिले नै पार्टीहरुको संख्या ठुलो भैरहेको सन्दर्भमा नयाँ पार्टी थप्दै जाने कुराले संसदमा दलको संख्या वृद्धि गर्ने बाहेक अरु कुनै टेवा पुग्नै सक्दैन ।

२०१५ को आम निर्वाचनमा दुई तिहाई प्राप्त बिपि कोइरालाको सरकार अपदस्त गरिएको, मौलिक राजनैतिक सिद्धान्तको प्रतिपादन गर्न खोज्ने नेता मदन भण्डारीको रहस्यमय हत्या भएको, २०६४ सालमा झन्डै ३२ लाख भोट पाएको, ३२ हजार आफ्नै सेना रहेको प्रचण्ड सरकार नौ महिना कट्न नसकेको देशमा पुगनपुग समानुपातिक एक-दुई सिटको सपना देखिरहेको पार्टीले देश बनाइहाल्छ भनेर भ्रममा पर्ने कुरा आफैमा मजाकको बिषय हो ।

‘समृद्धि’को नाममा आफ्नो राजनीतिक स्पेस बनाउन खोज्नु, मतदाता र सर्वसाधारणलाई भ्रममा पार्ने कोसिस गर्नु ‘लोकतान्त्रिक अधिकार’कै कुरा होला । तर त्यसैको भ्रममा पर्नु भनेको छेपारोको घर बनाउने कथा जस्तै हुनजान्छ । प्रत्येक दिन दिउँसो घाम तात्ने छेपारो सुर्य अस्ताएपछी जब चिसो महसुस गर्छ, अनि आफ्नो घर बनाउने योजना बनाउछ । रातिभरी घर बनाउने योजना बुन्छ ।

बिहान सुर्य उदाएपछी फेरि दिनभरी घाम ताप्न निस्किन्छ , घर बनाउने योजना भुलिदिन्छ । साँझ चिसो हुन थालेपछि फेरि घर बनाउने योजना तय गर्छ । तर अर्को भोलिपल्ट उहीँ कथा दोहोरिन्छ ।

अहिले कुनै पार्टीले एक-दुई सांसदको जागीर पाउदैमा नेपालमा ‘समृद्धि’ दुगुरेर आइहाल्छ भने जसरी एकथरी हल्ला छ । यथार्थमा त्यो भनेको २०७० सालको चुनावमा हिन्दु धर्मको आशामा कमल थापालाई भोट दिएजस्तै हो । थापाको पार्टीले केही थान सांसद र मन्त्री बनाउने अवसरमा टुंगियो उनको चुनावी ट्याक्टिकल नारा ‘एक भोट दाइलाई, एक भोट गाईलाई’ ।

भारतमा सोनिया गान्धीले राहुल गान्धीलाई कांग्रेस पार्टीको उपाध्यक्ष प्रस्ताव गर्दा निकै भाबुक हुँदै भनेकी थिइन,’सत्ता जहर हो ।’ त्यहीँ ‘जहर’ले संसारमा कैयौं राजनीतिज्ञलाई मृत्युशैयामा पुर्याएको छ । राजनीति समयको माग र जनताको समर्थनमा दर्शन, दृष्टिकोण र सिद्धान्तको मुहानबाट फुट्छ, जोखिमको बाटो भएर बग्छ र समाज रुपान्तरण तथा समतामूलक समाज निर्माणमा गएर टुंगिन्छ ।

राजनैतिक उद्योग फस्टाएको गरिब देशमा स्पष्ट दृष्टिकोण र राजनैतिक सिद्धान्तबिना पार्टी खोल्दै ‘फेसबुक साहित्य’मार्फत ‘समृद्धि’को सपना बाड्ने कुरा रत्नपार्कमा भाषण गर्ने मुकुन्देको ‘काल्पनिक नेपाल’ जस्तै हुनजान्छ । बिकासका मिठा गफ दिने मुकुन्देका पनि सामाजिक संजालमा केही लाख फ्यान छन्, जसले खाडी मलेसियाबाट खर्च पनि पठाइदिन्छन् । जबकी मिश्रलाई पनि उनका ‘फ्यानहरु’ले युरोप, अमेरिकाबाट पैसा पठाइदिन्छन् । कुरा स्थिरता र समृद्धिका गर्ने अनि बाटो थप अस्थिरताको तय गर्नेगर्दा कहाँ पुगिन्छ ?

सुसंस्कृतिको वकालत गर्ने मिश्रले रोएको भिडियो सामाजिक संजालमा राखेर इमोसनल ब्लाकमेलिङ गर्दै भोट माग्ने कोसिस गरेको देखिन्छ । भावना र आँसु बेचेर कस्तो ‘सुसंस्कृति’को बिकास गर्न खोजेका होलान् कुन्नि ? गणेशमान सिंहको फोटो देखाएर प्रकाशमानले भोट माग्ने, सडक जाम गरेर चुनावी सभा गर्ने अनिल शर्माभन्दा यो थप गएगुज्रेको आदर्शहिन भोटकेन्दृत चुनावी राजनीति हो ।

२०७४ मंसीर १६ गते प्रकाशित
प्रतिकृया दिनुहोस्

खाली एड

Loading...