इमान्दार संवाददाता
२०१ पटक

बिराटनगर महानगर १० निवासी ६५ बर्षिय उमेश गिरी ४ मंसिरमा अचानक अध्यक्ष केपी ओलीको हातबाट टीका लगाएर एमालेमा प्रबेश गरे। उनकै टोल शान्चि चोकमा बिहान भएको चुनावी आमसभामा उनले ओलीको हातबाट टीका ग्रहण गरेर आफुलाई एमाले कार्यकर्ता बनाएका थिए ।

कुनै बेला काँग्रेसका लडाकु मानिने गिरीले लामो समय काँग्रेसमा सेवा गरे । मोरंगको ५ नम्बर क्षेत्रबाट स्वर्गीय नेतृ शैलजा आर्चाय बिरुद्ध दुई पटक बागी उम्मेदवारी दिएर चुनौती मोल्दै चर्चामा आएका गिरीले २०६४ मा तमलोपाबाट पनि निर्वाचन लडेका थिए ।

जहाज अपहरण काण्ड, कृष्णप्रसाद भट्टराई हराउ काण्ड, उद्योगी तुलसीराम अग्रबाल अपहरण काण्ड लगायत बिभिन्न काण्डमा जोडिएका गिरी आफु जन्मजात कम्युनिष्ट स्वभावको भएको तर काँग्रेसमा लागेर बर्बाद भएको बताउँछन ।

कहिलेदेखी काँग्रेसमा लाग्नु भएको थियो ?

२०२२ सालमा बिराटनगरको तीन पैनीमा जन्मेको हुँ । मलाई जनता प्राबिमा दुर्गा सुबेदीले पढाउँथे । आर्दशबाट एसएलसी गरेपछि मोरंग क्याम्पसमा पनि आइए पढन भर्ना भएँ । मैले १६ सालको स्थानिय चुनावमा पहिलो पटक काँग्रेसको रुख चिन्ह देखेको थिएँ ।

दुर्गा दाई (सुबेदी) क्रान्तिकारी थिए । म उनको सँगतबाट प्रभाबित भएर काँग्रेस बनको हुँ । म १६ बर्षको उमेरदेखी नै होलटाइमर काँग्रेस भएको थिएँ ।

तँपाईलाई काँग्रेसको पुरानो लडाकु किन भनिएको हो ?

२०२२ मा बिराटनगरमा भएको नाचघर काण्ड२०२४ को ७२ लाख काण्ड २०२५ मा १० कक्षा पढदा कृष्ण पोखरेल सर सरुवा काण्डदेखी अनेकौ आन्दोलनमा सक्रृय सहभागी भएँ ।

पटक पटक समातिएँ , जेल परे । बिमान अपहरण काण्डको योजनामा पनि सहभागी भएँ । भुमिगत भएपछि भारतमा गिरिजासँगै बसेर शसस्त्र क्रान्तिकालागि बनेको योजना संरक्षण गर्न लागे । जनमुक्त्ति सेनाको व्यवस्थापनको रेखदेख मै गर्थे । धेरै कष्ट खेपेको छु । हण्डर सहेको छु । भोकभोकै बसेको छु ।

आजकल दुर्गा सुबेदी आफु पनि बर्वाद भए मलाई पनि वर्बाद पारे भन्न थाल्नु भएको छ किन ?

हाम्रो लडाकु स्वभाव बुझेपछि हामीलाई भेला गरेर दुर्गा सुवेदीले प्रशिक्षण दिएर पुर्णकालिन काँग्रेस बनाएका हुन । सिधा भन्दा दुर्गा सुवेदीकै प्रेरणाले म काँग्रेसमा सक्रृय भएको हुँ । उनि क्रान्तिकारी मान्छे हुन । म उनको फयान हुँ ।

नेपालमा प्रजातन्त्र फर्काउन शसस्त्र क्रान्ति गर्नुपर्छ , समान्तहरु मार्नुपर्छ लुटनुपर्छ भन्ने उनको मान्यता थियो । हामीले पार्टीलाइृ खर्च जुटाउन सँगै लुटपाट गर्ने योजना बनाउने , पोष्टर पम्पलेट टाँस्ने , आमसभामा सँगै सक्रृय भाग लिने कामदेखी जहाज अपहरण गर्ने योजना पनि सँगै बनाएका थियौ । हामी बिपीको आर्दशबाट प्रेरित थियौ । तर काँग्रेस समान्तहरु र उनका नातागोताहरुको पार्टी मात्र रहेछ त्यो हामीलाई धोका खाएपछि मात्र थाहा भयो ।

दुर्गा दाई र म दुबै कम्युनिष्ट रहेछौ । तर त्यो बेला गलत सँगतले काँग्रेस भएछौ । दुर्गादाई आफै पनि काँग्रेस भएर बर्बाद भए मलाई पनि बर्बाद बनाए । उनले पनि काँग्रेस चिनेनन् । मैले पनि बुझिनछु कांग्रेस समान्तहरुको पार्टी हुन्छ भनेर ।

पञ्चायत फाल्न शसस्त्र क्रान्तिमा सहभागीता जनाउनु भएको होइन ?

२०२६ मा बिपी शसस्त्र क्रान्तिको तैयारी गर्न भनेर भारत फर्किए । गिरिजापनि सँगै गए । पछि पर्यटन भिषामा बिपी लण्डन गए ।र त्यहीबाट पञ्चायत बिरुद्ध शसस्त्र क्रान्तिको घोषणा गरे । उनले नेपालमा प्रजातन्त्र फर्काउन क्रान्ति बाहेक अर्को बिकल्प छैन भनेपछि त्यो बेला बिनोद अर्याल मार्पत मैले जनमुक्त्ति सेनाको फारम भरेको थिएँ । हामीलाई दुर्गा सुबेदीले हतियार दिन्थे ।

जंगलमा फायरिंग गरेर तालिम लियौ । मिलेटेरी ट्रेनिंग पनि लियौ । लालटिन बालेर छयाप्छयाप्ती पोष्टर टाँस्यौ । २०२८ मा पार्टीलाई खर्च जुटाउन जहाज अपहरण गर्ने योजना बनायौ । तर पछि बिमारी भएकोले म जहाज अपहरणमा जान सकिन । तर मेरो संलग्नता खुलेपछि मैले भारत जानु परयो । भारतमा बसेर जनमुक्त्ति सेनाको क्याप रेखदेख गर्ने र काँग्रेसको आन्दोलनलाई सघाउने काम गरिरहे । प्रत्यक्ष आक्रमणमा चाँही सहभागी भइन ।

तँपाईहरुले जहाज अपहरण गर्ने योजना किन बनाउनु परेको थियो ?

बिहार राज्यको फरबिसगन्ज् स्थित सुल्तान पोखरीको डिलमा जनमुक्त्ति सेनाको क्याम्प थियो । आर्थिक अभावले खाना जुटाउन साह्रै कठिनाई भैरहेको थियो । रमालो झोडा काण्डले गर्दा यज्ञबहादुर थापा लगायत पुर्जी काटिएका काँग्रेस कार्यकर्ताहरु पनि त्यहीँ शरण लिन पुगेका थिए । फारबिसगन्ज्बाट सरोज कोइराला बिराटनगर आए । उनले दुई वटा रिभल्बर दिए ।

राम्रो खान नपाउँदा गिरिजाप्रसाद बेहोस भएर अरे भन्ने हामीले सुन्यौ । यसैले जहाज अहपरण गरेर पक्राउ गरेका कार्यकर्ता रिहा गराउने र पैसा लुटने योजना हामीले बनाएका हौ ।

पहिले नेपालबाट अपहरण गरेर ढाकामा ओराल्ने र पक्राउ परेका सबै कार्यकर्ताहरु छुटाउने योजना थियो । तर पछि बिराटनगरबाट अपहरण गरेर फारबिसगन्ज मा ल्याण्ड गराएर पैसा मात्र लुटने योजना भएको हो । त्यो बेला पुर्वमा जम्मा भएको भारु राष्ट्र बैकमा र यहाँबाट काठमाण्डौ लगिन्थ्यो ।

योजनामा सहभागीता जनाएर जहाज अपहरण गर्ने बेलामा चाँही किन नजानु भएको त ? पार्टीको स्विकृति पाएपछि मदन आर्याल , दुर्गा सुबेदी , म , बिजय गच्छेदार नागेन्द्र ढुंगेल , बसन्त भट्टराई , चुन्नु अर्याल, उत्तर खतिवडा लगायतको टीम लुटपाट गरेर आर्थिक जुटाउनकालागि बन्यो । पहिले रंगेलीको बैक लुटने निधो भएपनि सुचना लिक भएपछि असफल भयो ।

पटक पटक बिराटनगरमा लुटपाट गर्ने योजना पनि बिभिन्न कारणले असफल भए । पछि २०२८ जेठमा बिराटनगरबाट ३० लाख भारु पैसा बिराटनगरबाट काठमाण्डौ लान लागेको सुचना आयो । जहाजमा म , दुर्गा र बसन्त जाने निधो भयो । तर म सिकिस्त बिरामी परे ।

मेरो साटो नगेन्द्र ढुंगेल अनि दुर्गा र बसन्त गए । जहाज अपहरण सफल भयो । म पनि योजनाकार रहेको खुलासा भयो । म भागेर फारबिसगन्ज जनमुक्त्ति सेनाको क्याम्प गएँ । धेरै वटा मुद्दा भएकोले नेपाल आउन सकिन । १ बैसाख २०३७ मा बहुदल आएसँगै आम माझी भएपछि गिरिजासँगै नेपाल फर्केको हुँ ।

२०४६ को आन्दोलन चर्काउन मनमोहन र गिरिजाको भेटघाट गराएको दाबी गर्नुहुन्छ सत्य हो ?

किन हैन त । मैले नै हो गिरिजा र मनमोहनको पहिलो डायलग गराएको । यही मेरो घरमा बसेर उनिहरुले यही कोठमा डायलग गरेका हुन २०४२ मा । तीन टोलीयामा मेरो बसोबास थियो (छ) । मनमोहन मेरा छिमेकी थिए ।

हाम्रो जेलमा चिनजान भैसकेकोले छुटेपछि बारम्बार भेट हुन्थयो । एक दिन मनमोहनले अब कम्युनिष्ट र काँग्रेस मिलेर आन्दोलन नगरेसम्म पञ्चायत ढाल्न सकिदैन भन्दै मनमोहनले गिरिजासँग भेट गराइदिन मलाई आग्रह गरे । र , त्यो बेला मैले मेरै घरमा भेला गराइदिएको थिएँ दुवैलाई र त्यसपछि बिस्तारै पञ्चायत बिरुद्धको आन्दोलन चर्किएको थियो ।२०४६ मा बहुदल आयो ।

तपाईं कोइराला परिवारको हनुमान हुनुहुन्थो रे फेरि शैलजा बिरुद्ध बागी उम्मेदबारी किन दिनु भएको थियो ?

भुमिगत कालमा शैलजा पनि फारबिसगन्ज जान्थिन । उनिसँग चिनजान त्यही बेला भएको हो । उनले मलाई बिश्वास गर्थिन । यसैले उनले नेपाल आएपछि मलाई सहयोगीको रुपमा उपयोग गरिन । २०४७ को चुनावमा मैले पनि उनलाई जिताएरै छाडे ।

पछि ६ वटा निर्वाचन क्षेत्र भएको मोरंग ७ वटा भयो । ५ नम्बर क्षेत्रमा मैले दावी गरे । किनकी त्यो मेरो क्षेत्र थियो । शैलजा त्यहाँकी बासिन्दा थिइनन । मैले पनि उम्मेदवारी दिने निधो गरे ।

गिरिजाले बोलाएर अर्को क्षेत्रबाट चुनाव लड भने । तर मैले मानिन । शैलजाले पनि मेरो क्षेत्र भन्दै ५ नम्बर छाडन मानिन । मैले काँग्रेसकालागि बुथ बिथोल्नेदेखी धेरैलाई तह लगाउने काम गरेको थिएँ । तर परिवारबादमा फसेको काँग्रेसले मलाई उपेक्षा गरयो ।

यसैले काँग्रेस बिशेश्वर पार्टीबाट शैलजा बिरुद्ध बागी उम्मेदवारी दिएँ । मेरो उद्देश्य जित्नु भन्दा पनि शैलजालाई हराउनु थियो पहिलो पल्ट नसकेपनि अर्को पल्ट बद्री मण्डलसँग म प्याकअप भएर भएपनि शैलजालाई हराइ छाडे । मेरो उद्देश्य पुरा भयो ।

तपाई आफै कोइराला परिवारको हनुमान अनि पछि त्यही कोइराला परिवारको शत्रु किन बन्नुभयो ?

फारबिसगन्ज क्याम्पमा हुँदै म कोइराला खलकको बिश्वासपात्र भैसकेको थिएँ । म खरो स्वभावको , निर्भक , निडर र इमान्दार युवा थिएँ । यसैले त्यो बेलै मलाई नोना र गिरिजाले आफनो नाताको बोल्ड केटीसँग बिबाह गरिदिने भनेका थिए ।

पछि नेपाल फर्केपछि नोनाले आफनो भाई अम्बप्रसादकी छोरी तनुजा उपाध्यायसँग बिबाह गरिदिएकी हुन । हामीले दुई छोरा जन्मायौ । म नोना , शैलजा सबैको प्यारो थिएँ । जसलाई पनि म नै चाहिन्थ्यो । सबै चुनौतीपुर्ण काम म नै गर्ने गर्थे । एक दिन निवासमा गएन भने उमेश किन आएन भनेर खोजी हुन्थयो । साइकल लिएर मान्छे खोज्न घरमै आइपुग्थे ।

गिरिजा र नोनाले त झन औधी प्यारो मान्छे । एक दिन म निवास नभै तीन टोलीया स्थित घरमै बसिरहेको थिएँ । रिक्सा चढेर नोना र गिरिजा दुवै आएका थिए मलाई लिन ।

कोइराला परिवारको म जति नजिक कोइ थिएन । तर त्यही परिवार पछि मेरो कट्टर सत्रु बन्यो । मैले हैन उनिहरुले मलाई शत्रु बनाएका हुन । २०४८ मा काँग्रेसको सरकार बन्यो । उनिहरु मन्त्री ,प्रधानमन्त्री भए । अनि क्रान्तिकालागि लडेका भन्नेहरुको चर्तिकला सुरु भो ।

प्रजातन्त्रका नाममा लुटतन्त्र सुरु भो । परिवारबाद हाबी भयो । बहुदल आउनासाथ सुजाता जर्मिनीबाट नेपाल आइन र सुषमा कोइराला ट्रस्टका नाममा समाजसेवाको नाममा सक्रृय हुन थालिन ।

अमेरिकामा रहेका डा शेखरका दाजु आएर पर्यटन मन्त्रीका सल्लाहकार बनेर दुई जहाज बिक्रि गरेर अकुत कमाएर फर्किए । अहिले उनि दिल्लीमा छन । डाक्टरी गरिररहेका शेखर कोइराला बिपीको उपकुलपति बनेर कुस्त कुमल्याए ।

शेखरको अहिले पनि भारतको नोयडामा पनि घर छ । त्यो बेला नै उनको रिजर्व बैकको रेकर्डमा ५० लाख भारु फेला परेको थियो ।महेश आर्चायको खानदानै पञ्चायत सर्मथक थियो । उनकी एक जना दिदी रापंस थिएन ।

अर्की रानी ऐश्वर्यकी सल्लाहकार थिइन । महेश मोरंग क्याम्पसमा नेबिसंघको सर्मथक जस्तो मात्र थिए । सक्रृय थिएनन । पछि बनारस हिन्दु बिश्वबिद्यालयमा पढन बनारस गए । त्यही बेला बनारसमा मसँग महेशको भेट भएको थियो र मैले २०३३ मा बनारसमा गिरिजाप्रसादसँग भेटाइदिएको थिए ।

त्यो बेला जोडिएको उनिहरुको नातो ईन्ट्रेस मिलेपछि झन झन कसिएको न हो । तर तीनै महेश पछि अचानक अर्थमन्त्री बनाइए । जीवन भर त्याग गरेको म चाँही गलहत्याइएँ । चुनाव लडने अधिकार माग्नु के मेरो गल्ति थियो र । मैले हैन उनिहरुले मलाई शत्रु बनाएका हुन ।

तपाईं कृष्णप्रसाद भट्टराईलाई हराउने अभियानमा सक्रृय हुनुभएको थियो , किन ?

काँग्रेकालागि । त्यो बेला म गिरिजाको प्यारो थिएँ । उनले जे भन्थे म त्यो गर्थे । त्यो बेला काठमाण्डौबाट कृष्णप्रसाद भट्टराइ उठने भए । चुनाव जितेमा उनि प्रधानमन्त्री बन्ने पक्का थियो । यसैले गिरिजाप्रसाद उनलाई चुनाव लडन दिन चाहदैन थे । उनले किसुनजीलाई चुनाव नलडन आग्रह पनि गरे । तर किसुनले मानेनन ।

त्यसपछि गिरिजाले कृष्णप्रसादलाई जसरी पनि हराउने गोप्य योजना बनाए । मलाई काठमाण्डौ बोलाए ,पावर दिए । म सक्रृय भएर कृष्णप्रसाद हराउ अभियानमा खटिएँ । के के गरिन त्यो अभियान सफल बनाउन । कतिलाई अपहरण गराएँ । कतिलाई कुटाएँ , धमक्याएँ । गिरिजाप्रसादले दिएको पाँच करोड रुपैया त मैले मात्र खर्च गरे ।

देशभरका कोइराला पक्षधर कार्यकर्ता काठमाण्डौ ओसारेर कृष्ण प्रसादलाई हराउन आग्रह गराएँ ।अनि त २०५० मा कृष्णप्रसाद हारेर बिद्या भण्डारीले जितेकी हुन ।

तपाईको नाम बिराटनगरका उद्योगी तुलसीराम अग्रवाल अपहरण काण्डमा बारम्बार जोडिएर आउँछ नि ?

मेरो र शैलजाको सत्रुता सुरु भएपछि गुण्डाको संरक्षणकालागि शैलजाले जोगबनीको तस्कर गुण्डा भगवान यादबलाई प्रयोग गर्न थालिन । भगवान खुँखार तस्कर थियो । उसको जोगबनीकै गुण्डाहरु भोला तिवारी र जाकिर हुसैनसँग दुश्मनी थियो ।

मैले त्यो बेला जोगबनीमा जिन्स कर्नर भन्ने कपडा पसल पनि चलाएको थिएँ । त्यहाँबाट कमाएको पैसा सबै नोना कोइरालालाई दिन्थे । व्यपारकालागि बोर्डर गइरहने भएकोले भगवान यादवले मलाई पावरवाला मान्छे भनेर भेटने गर्दथ्यो । चाकरी गथ्र्यो । तर पछि थाहा भयो उसले मेरो संगत भजाएर प्रहरी र भन्सार कर्मचारीलाई हप्काउने , समान लुटपाट गर्ने सम्म गरेर तस्करी गर्न थालेछ ।

मैले रिर्पोट पाएपछि फोन गरेर सक्दो गाली गरे । नेपालमा केही गरिस भने ठीक हुँदैन भनेर चेतावनी दिएँ । उसले आइन्दा गर्दिथन भन्यो । पछि उ सुनसरीमा हतिार काण्डमा पक्राउ परयो र जेल गयो । उसले उमेश गिरीले पक्राउन लगाएको भन्ने ठान्यो ।

पछि नेपाल प्रहरीले उसलाई भारतको सुर्पुदगी गरयो । जोगबनीका गुण्डाहरु जाकिर हुसैन र भोला तिवारीहरु उनिहरुका दुश्मन थिए । उनिहरुले उसलाई मार्ने प्रत्यन गरेछन । तर असफल भएपछि भागेर सिलिगुडीतिर बस्न थालेका रहेछन ।

भारतमा छँदा जोगबनीका एक जना मिश्रा थरका राजनिज्ञि थिए । उनी फारबिसगन्ज गइरहन्थे जाकिरलाई लिएर । उनले बहुदलको सर्मथनमा जोगबनीमा जुलुस पनि निकालेका थिए ।

मलाई तीनै मिश्राले फोन गरेर बिराटनगरमा उनिहरुलाई शरणकालागि सहयोग गर्न आग्रह गरे । मैले पनि खुमबहादुरजी मार्फत डिआजीलाई भनेर उनिहरुलाई बिराटनगरमा शरण दिलाएँ । केही गलत नगर्नु भनेर पनि भने । उनिहरुले बिराटनगरमा सेल्टर लिएपछि सबै मारवाडी व्यपारीहरु थर्कमान भएछन । उनिहरुले मलाई एउटा बोलेरो दिएका थिए मैले त्यसलाई भन्सार तिरेर बैध बनाउन पाएकै थिइन ।

भन्सार काटन ८ लाख लाग्थ्यो । मागेपछि खुमबहादुरले दिन्छु भनेका थिए । यसैले मैले छिमेकी बिनोद कोइरालाको घरमा राख्न लगाएको थिएँ । बेला बेला ड्राइभर आएर चेक गरयो भने दिनु भनेको थिएँ ।

१० माघ २०५८मा माओबादी युद्धले गर्दा इमरजेन्सी लागेको थियो । हो त्यही बेला मेरो लुकाएर राखेको बोलेरो प्रयोग गरेर उनिहरुले बिहान मर्निङबाकमा गएका उद्योगी तुलसीरामलाई अपहरण गरेछन । म काठमाण्डौमा थिएँ । जीप नै मेरो भएपछि म संकटमा परे ।

होइन भन्दा कसैले बिश्वास गर्ने थिएनन । मैले नभागी धरै पाइन । कालिम्पोंग गएर लुकेँ । यता मलाई नियोजित रुपमा राष्ट्रिय गुण्डा बनाइएछ । आज सम्म मैले कुनै नेपालीलाई दुख दिएको छैन । नत केही लागू पर्दाथ खान्छु । सुपारी धर नखाने म राष्ट्रिय गुण्डा कहलिएँ । परिबन्दमा परेपछि केही लाग्दो रहेछन । म ६ महिनापछि काँग्रेस फुटेपछि मात्र नेपाल फर्के ।

पछि मैले नै हो भोला र जाकिरलाई सिलिुडीबाट बोलाएर मुद्दा मिलाइदिने बहानामा काकडभिटाबाट त्यो केसमा पक्राउ गराएको । भोला मोरंग अदालतबाट सादा तारेखमा रिहा भयो । जाकिर पुर्पक्षमा गयो । चार बर्षपछि उ पनि छुटयो । मैले पनि सर्बोच्चबाट सफाइ पाएँ ।

मेरो उनिहरुसँग साँठगाँठ भएको भए वा म तुलसीरामलाई अपहरण गराउने योजनाकार भएको भए मैले किन उनिहरुलाई पक्राउ गराथे होला र ? मलाई शंका छ त्यो अपहरण गिरिजाप्रसादको योजनामा त गराइएको थिएन भन्नेमा ? किनभने आग्रह नमानी उम्मेदबारी दिएर बिद्रोह गरेपछि गिरिजाप्रसाद मलाई सिध्याउन चाहन्थे । उनी सधै मौकाको खोजीमा हुन्थे । उनले २०६४ तिर बिराटनगरको मस्जिदमा डिफेन्स आर्मीले बम पडकाउँदा पनि मलाई फसाउन चाहेका थिए ।

उनले डिआइजी रबिन्द्रप्रतापलाई निवासमा बोलाएर यो सबै उमेशले गराएको हो उसलाई पक्राउ गरेर जाक भनेर अह्राएका थिए । तर डिआजीले यसमा उमेशको कुनै रोल छैन भनेर पक्राउ गर्न नमानेकोले म जोगिएको थिएँ । म त्यो मान्छे हुँ जसले काँग्रेसकालागि के चाँही गरिन । तर त्यही काँग्रेसले आफनो खलकको बिरासतकालागि हामीलाई गलहत्यायो ।

अचानक एमालेमा किन प्रबेश गर्नुभएको सुरक्षाका लागि हो ?

म कसैसँग डराउँदिन । यो झुठो कुरा हो । मैले कसैलाई केही बिगारेको छैन किन डराउनु ।म बीपीको आर्दशलाई पछयाएर काँग्रेस लडेको मान्छे । तर सामान्तहरुले काँग्रेसलाई सके । बाहुनबादको जालोले काँग्रेसलार्य खायो । थर र गोत्रको माखेसांङलोमा काँग्रेस फस्यो । काँग्रेसमा लाग्नु मेरो गल्ति थियो । त्यो मैले धेरै ढिलो बुझे ।

कम्तीमा एमाले काँग्रेस जस्तो नाताबाद , कृपाबादमा छैन ।यसैले ढिलै भएपनि म एमालेमा प्रबेश गरेको हु । मेरै आग्रहमा पुर्व गृहराज्य मन्त्री भीमराज राजबंशी पनि प्रबेश गरेका हुन । म केही पाउँछु भनेर एमालेमा आएको होइन । म यो देशबाट समान्तबाद मासियोस भन्ने चाहन्छु ।

२०७४ मंसीर १३ गते प्रकाशित
प्रतिकृया दिनुहोस्

खाली एड

Loading...