आज : २०७५ आश्विन २९ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
इमान्दार संवाददाता
८०६ पटक
बबिता बस्नेत

मानिसको जीवनमा धेरै कुरा जोडिएका हुन्छन् । दुःख, खुसी अनेक प्रकारका उतारचढावहरू । कहिलेकाहीँ जीवनमा कहिल्यै नहोस् भन्ने कुरा भइदिन्छ र भइदियोस् भनेर वर्षौँ प्रतीक्षा गरेको कुरा हुँदैन । यो हुने हो कि त्यो हुने हो, हुने हो कि नहुने हो को दोधारमै मानिसको जीवन बित्छ ।

कति मानिस आफूले सुरक्षित महसुस गर्नै नपाई यो संसारबाट टाढा भइदिन्छन्, त्यो असुरक्षा जीवन निर्वाह गर्ने आधारभूत कुरादेखि साना–ठूला व्यापार–व्यवसाय हुँदै व्यक्तिगत सम्बन्धसम्ममा लागू हुन्छ ।

बुढेसकालमा छोराछोरीले नहेर्लान् कि, प्रेमी–प्रेमिका या श्रीमान्–श्रीमतीले धोखा पो देलान् कि रु एक्लो पो भइने हो कि ? भनेर सोच्नेहरूमध्ये बुढेसकालवरिपरि पुग्नै नपाई आधा उमेरमै कतिले यो संसार छोडिसके । मानिसको जीवनमा कुनै कुरा निश्चित छ भने त्यो मृत्यु हो, मृत्युबाहेक अन्य धेरै कुरा अनिश्चित छन् ।

बबिता बस्नेत

तर, जे कुरा सय प्रतिशत निश्चित छ त्यो विषयलाई हामी त्यति महत्व दिँदैनौँ, जुन कुरा अवश्यंभावी छ त्यसलाई वास्तै गर्दैनौँ । मृत्यु सधैँ हाम्रोवरिपरि छ, जसले उमेर, लिङ्ग, समुदाय केही भन्दैन । सास बाहिर निस्केपछि भित्र नपसुन्जेल हामीले जीवित भएको अनुभूति नगरे पनि हुन्छ ।

जीवन र मृत्युको दूरी यति नजिक छ कि बाहिर–भित्र गर्ने सास, बाहिर आएपछि भित्र गएन भने जीवन सकिन्छ । तर, जिन्दगीलाई यति सूक्ष्म रूपमा हेर्नका लागि हामीलाई न फुर्सद छ न त रुचि नै । कुनै पनि बेला म यो संसार छोडेर जान सक्छु भनेर बुझेको दिनदेखि मानिसले सकेसम्म अरूलाई नराम्रो असर पर्ने काम गर्दैन ।

आफ्नो कारणले अर्काको तनमनमा चोट पुग्ने र आँखामा आँसु आउने काम गर्दैन । तर, यो कुरालाई आत्मसात् गर्नका लागि मानिसले आफूभित्रको मान्छेलाई चिन्नुपर्ने हुन्छ । सचेत मानव भएर जन्मिनुको महत्वलाई बुझ्नुपर्ने हुन्छ । यत्तिकै यस्ता कुरालाई बुझ्न र बुझाउनै गाह्रो छ ।

मृत्यु अवश्यंभावी छ, यो नै मानिसको जीवनको एक मात्र अन्तिम सत्य हो भनेर बुझ्दाबुझ्दै पनि युवा उमेरमै भएको प्रकाश दाहालको मृत्युले धेरैलाई दुःखी बनायो । प्रत्येक दिनजस्तै यो मुलुकमा उनकै उमेरका धेरै युवाको मृत्यु भइरहेको हुन्छ ।

अन्य युवाभन्दा उनको मृत्यु मुलुकको प्रधानमन्त्रीसमेत भइसकेका नेता प्रचण्डका एक मात्र छोरा भएका कारणले चर्चामा आयो । छोराछोरी भएका पूर्वप्रधानमन्त्री त अरू पनि छन्, तर आममानिसले ती कस्ता छन् चिन्दैनन् ।

प्रचण्डका छोरा प्रकाशले बाबुलाई नजिकबाट सहयोग गर्ने क्रममा धेरैले देखेका, चिनेका कारणले पनि मानिसलाई आफ्नोनजिकको मान्छेको निधन भएझैँ लाग्यो ।

प्रजातन्त्र आएपछि प्रधानमन्त्री भएका नेताहरू माधव नेपाल, झलनाथ खनाल, शेरबहादुर देउवा, बाबुराम भट्टराईलगायतका सन्तानको खासै चर्चा हुदैँन, किनभने उहाँहरूका सन्तान प्रकाशझैँ बाबुको हरेक कदममा छाया बनेर अघिपछि हिँड्दैनन् । अहिलेको बेलामा बाबुका लागि मरिहत्ते गरेर सबै प्रकारका बोझ थामिदिने सन्तान भेट्न गाह्रो छ ।

‘दिदी’ भनेर सम्बोधन गर्ने प्रकाशको मृत्युले नजिकको भाइ गुमाएको महसुस भएको छ । प्रकाशलाई मैले आफ्ना बाबुलाई अति आदर गर्ने छोराको रूपमै चिनेकी हुँ । प्रत्यक्ष रूपमा कमै भेट भए पनि टेलिफोन र फेसबुक च्याटमा कुराकानी भइरहन्थ्यो ।

फेसबुक इनबक्समा अत्यन्त कम कुराकानी गर्ने म प्रकाशसँग भने लामै कुराकानी गर्थेँ । विशेषगरी उनी नयाँदिल्लीमा बस्दा प्रत्येक दिनझैँ कुराकानी गरियो । यद्यपि बिहान उनले दिदी भनेको जवाफ म साँझ के छ भाइ, सन्चै छ नि भनेर दिन्थेँ । ०६९ सालमा पार्टीले कारबाही गरेपछि उनी बिदेसिए । कहाँ छन्, धेरैलाई थाहा थिएन ।

कसैले उनी युरोपमा भएको लेख्थे त कसैले दार्जिलिङतिर बिना मगरलाई लिएर घुम्दै गरेको विवरण दिन्थे । आफ्नाबारेमा अन्दाजका अनेक समाचार आइरहेका बेला उनले मलाई ‘दिदी, हेर्नु न मेरोबारेमा यस्ता समाचार आइरहेका रहेछन्’ भनेर लेखे । मैले ‘नेताको छोरो केटी लिएर हिँडेपछि समाचार आइहाल्छन् नि’ भनेँ ।

आफूलाई मान्छेले के भन्छन् रु उनका बारेमा के–कस्ता टिप्पणी गर्छन् भन्नेबारेमा उनको रुचि देखिन्थ्यो । उनले सुरुकै दिनमा आफू दिल्लीमा रहेको, तर अरूलाई थाहा दिन नचाहेको बताएका थिए ।कुराकानीकै क्रममा एक दिन उनले ‘दिदी मलाई घर आउन मन छ, बुबालाई सम्झाउनका लागि कसैलाई भनिदिनुस् न’ भन्दा म छक्क परेँ ।

मैले भनेर हुन्छ र ? भन्दा वातावरण बनाउन पाए हुन्थ्यो, बुबा रिसाउनुभएको छ, तर बुबालाई मेरो खाँचो छ, सबै मैले गर्थेँ भने । कानुनी हैसियतमा रहेकी श्रीमती हुँदाहुँदै बिना मगरलाई विवाह गरेकोमा पार्टीले उनलाई कारबाही गरेको थियो । कारबाही फुकुवा नगरेसम्म आफूलाई मुलुक फर्कन गाह्रो भएको उनले बताए ।

‘बुबासँग नजिक रहेका मानिसले मेरोबारेमा कुरा गरिदिनुपऱ्यो क्या दिदी’ भनेपछि मैले शक्ति बस्नेतसँग कुरा गरेँ । उनी नेता प्रचण्डसँग नजिक थिए । उनले ‘खै म भन्न त भनी रा’छु, सधैँ एउटै कुरा कसरी भन्नु‘’ भनेपछि ‘जे हुनु भइहाल्यो त्यो प्रकाशलाई बोलाउनुपऱ्यो भनेर नेताज्यूलाई भनिरहनुपऱ्यो ।

काममा अवरोध आउँदा प्रकाश भए अहिले गरिहाल्थ्यो भनेर उसको अभाव खट्किएको महसुस गराइदिनुपऱ्यो’ भनेर शक्ति बस्नेतलाई भनेको अहिलेजस्तो लाग्छ । उनले बाबु प्रचण्डलाई यसैगरी भने कि भनेनन् त्यो भने थाहा भएन । शक्तिकी पत्नी सत्या पहाडीसँग पनि आफ्नो कुराकानी भइरहेको त्यतिबेला प्रकाशले बताएका थिए ।

कुराकानीकै क्रममा एक दिन मैले भनेँ, ‘भाइ अब अन्तर्वार्ता दिनुपऱ्यो ।’ दिदी फेरि मान्छेले के–के भन्ने हुन् भने उनले । मैले म इमेलमा प्रश्न पठाउँछु, जवाफ लेखेर पठाउनु भनेपछि उनले हुन्छ भने । प्रश्न पठाएको चार दिनपछि उनको जवाफ आयो । जवाफ पाएपछि मैले केही प्रतिप्रश्न गरेँ ।

०६९ साल मङ्सिर ६ गते घटना र विचार साप्ताहिकमा छापिएको उनको ‘अब यस्तो गल्ती कहिल्यै गर्दिनँ’ शीर्षकको अन्तर्वार्ताले निकै चर्चा पायो । अंग्रेजी साप्ताहिक नेपाली टाइम्सले सोही हप्ता ९नोभेम्बर २३, २०१२० ‘नेभर अगेन’ शीर्षक राखेर जस्ताको तस्तै अनुवाद छाप्यो ।

काठमाडौं आएपछि बेलाबेलामा फोन गरिरहन्थे । यही कात्तिक १ गते उपराष्ट्रपतिले आयोजना गर्नुभएको चियापान कार्यक्रममा बाबु प्रचण्डसँगै समारोहमा पुगेका प्रकाशसँग भेट हुनेबित्तिकै ‘दिदी कहिले भेट्ने रु’ भने । फोन गर्नु न भनेर छुट्टिएपछि उनीसँग कुरा हुनै नपाई एकैपल्ट मृत्युको खबर सुन्नुपऱ्यो ।

बाँच्दाखेरि आफूले जे गरे पनि नकारात्मक चर्चा पाउने प्रकाशले मरेपछि संसारका उत्कृष्ट युवाको मृत्युको रूपमा सकारात्मक चर्चा पाए । आफ्नोबारे यति सकारात्मक प्रतिक्रिया जीवित हुँदै पाएका भए उनले जिन्दगी आफ्नो नामजस्तै उज्यालो भएको महसुस गर्ने थिए होलान् ।

बाँचिरहँदा सेतोलाई पनि कालो र मृत्युपछि कालोलाई पनि सेतो देख्ने हाम्रो प्रवृत्ति प्रकाशको सवालमा जीवन र मृत्यु दुवै अवस्थामा लागू भयो । हार्दिक श्रद्धाञ्ली प्रकाश ।

अब ‘यस्तो’ गल्ती कहिल्यै गर्दिनँ : प्रकाश दाहाल

प्रकाश दाहाल त्यतिबेला विवाहका कारण विवादमा परेका थिए । पार्टीले उनलाई कारवाही गरेको थियो र देश छोडेरै बाहिरिएका थिए । नयाँ दिल्लीमा बसिरहेका बेला घटना र विचारका सम्पादक बबिता बस्नेतसँग उनले गरेको कुराकानी २०६९ मंसिर ६ गतेको घटना र विचार साप्ताहिकमा प्रकाशित भएको थियो । प्रस्तुत छ, तात्कालीन अवस्थामा प्रकाश दाहालसँग गरिएको कुराकानी:

निजी खुसीका लागि तपाईंले सार्वजनिक जीवन त्याग्न चाहनुभएको हो ?

– त्यस्तो होइन । किनकि, निजी जीवनमा खुसी नभई कुनै पनि व्यक्तिले सफलतातिर अग्रसरता पाउँछ जस्तो लाग्दैन । कुनै उच्च नेता वा व्यक्ति वा उनका परिवारको निजी जीवन हुन्न भन्नु नै गलत हो । सबैको निजी जीवन हुन्छ, फरक यति हो कि उनको जिम्मेवारी समाज र राष्ट्रप्रति बढी हुन्छ ।

मान्छेबाट नै गल्ती हुने हो तर त्यो गल्तीबाट डराएर झन् अर्को गल्ती गर्ने र भाग्नेभन्दा पनि त्यो गल्तीमा आत्मालोचित हुँदै त्यसबाट उचित पाठ लिएर सही बाटोमा अघि बढ्नु नै उपयुक्त हुन्छ र म पनि त्यही बाटोमा अघि बढिरहेको छु । मैले निजी खुसीका लागि सार्वजनिक जीवन त्यागेको भन्ने मलाई लाग्दैन ।

० तपार्इंको वैवाहिक जीवनलाई लिएर धेरैले खिल्ली उडाउने गरेका छन्, तर त्यसो हुनुमा तपाईंका आफ्नै कुराहरू होलान् नि, के छ त्यस्तो ?

– नेपाली समाजमा अति रुढीवादी र पुरातनवादीहरूको बाहुल्य रहेको जस्तो मलाई लागेको छ । वास्तवमा मैले पहिल्यै भनेजस्तो मेरो जीवनमा उतारचढाव आएको जस्तो देखिएको छ । त्यो उतारचढावलाई नेपालमा धेरैले धेरै किसिमले अतिरञ्जित तरिकाले व्याख्या गरेका छन् र मेरोबारे अनेकौँ अनेक चर्चा–परिचर्चा गरेका छन् ।

कहिले प्रकाश यस्तो कहिले प्रकाश त्यस्तो, यस्तो सुन्दा मलाई सारै दुःख र पीडाबोध हुन्छ । जसमा मेरो वैवाहिक जीवन पनि पर्छ, जुन कुरा हरेकको जीवनमा पर्न सक्ने कुरा हो । यस विषयमा यति भन्न चाहन्छु कि मैले कुनै रहर, चाहना वा इच्छाले यो गरेको छैन र यो मेरो नितान्त व्यक्तिगत कुरा हो ।

माओवादी त्यसमा पनि अध्यक्षलाई कतिबेला हानौँ भनेर बसेका स्यालहरूका लागि मात्र यो मुद्दा बनेको हो र त्यहीअनुसार यसलाई खिल्ली उडाउने काम गरिएको मात्र हो ।

० तपाईंकी पत्नी सिर्जनासँग त मागीविवाह नै भएको हो क्यारे, उहाँलाई छोडेर किन निस्कनुभयो त ?

– हो, सिर्जनासँग मेरो मागीविवाह भएको हो । मम्मी र मामाहरूले खोज्नुभएको रहेछ । वास्तवमा सिर्जनासँग विवाह भएर पनि हामीले त्यो वैवाहिक जीवनलाई सुमधुर बनाउन सकेनौँ । यसमा मेरो पनि गल्ती हुन सक्छ र सिर्जनाको पनि । जहाँसम्म म निस्कने कुरा छ, अति तनावमा भएको बेला मैले यहीँनेरको प्रक्रियामा गल्ती गरेँ ।

सिर्जनाको मलाई छोड्ने चाहना र माग हुँदाहुँदै मैले केही समय धैर्य गर्न नसकी यो प्रक्रिया अपनाएर गल्ती गरेँ ।

० अचानक विना मगर तपाईंको निकट हुनुभएछ, यस्तो निर्णय गर्नुपर्ने अवस्था किन आयो नि ?

– सगरमाथा चढेर फर्केपछि त्यहाँ चढ्नेमध्येका केही साथीले तिर्नुपर्ने ४० लाखको माग गर्नुभएको थियो र सगरमाथामा हुँदा पनि पार्टी र नेतृत्वप्रति अतिरञ्जित तरिकाले उहाँहरूको अभिव्यक्तिको खण्डन गर्थें । त्यहाँदेखि नै उहाँहरूले प्रकाशलाई कसरी हान्ने भनेर योजना बनाउन थालेका रहेछन् ।

बेसक्याम्पमा हुँदा मलाई प्रचण्डको छोरा भनेर कतिपयले विशेष महत्व दिन्थे तर उहाँहरूलाई आफूहरू सीसीएम र पीएलएका कमाण्डर भएर पनि वास्ता गरेनन् भन्ने लागेको रहेछ । त्यही पीडाबाट ग्रसित भएर योजनाबद्ध किसिमले एउटा साप्ताहिक पत्रिकालाई साथीहरूले गलत रिपोर्ट दिनुभयो ।

उहाँहरूले यो सोच्नुभएन कि यो रिपोर्टले कति गर्छ भन्ने । यति सोचेको भए साप्ताहिक पत्रिकाभन्दा अध्यक्ष प्यारो लागेर उहाँलाई कुरा राख्न सक्नुपथ्र्यो । यही रिपोर्टका कारण सिर्जनाले ‘बाबुको कसम म अब आउँदिनँ, सम्बन्ध छैन’ भनेर गएपछि म त अप्ठ्यारोमा परिहालेँ । विनाजीकोमा पनि यस्तै भएको रहेछ । यस घटनाले हामी नजिक भएका हौँ ।

० अहिले तपाईं कहाँ हुनुहुन्छ रु के गर्दै हुनुहुन्छ ?

– अहिले म इन्डियामा छु र केही पुस्तक किनेको छु । प्रायः समय त्यसलाई अध्ययन गर्दै बिताउँछु । कोठामा इन्टरनेट लगाएको छु, पत्रपत्रिका हेर्न सामाजिक सञ्जालमा कुरा गर्न सजिलो भएको छ । यसैगरी बितिरहेछ ।

० भविष्यमा के गर्ने विचार छ नि ?

– म राजनीतिभन्दा बाहिर वा पृथक कदापि हुन सक्दिनँ ।

० तपार्इं सानैदेखि राजनीतिक माहोलमा हुर्किनुभएको मान्छे, अहिले एक्कासि त्यो माहोलबाट अलग हुनुपर्दा कस्तो महसुस भइरहेको छ ?

– अहिले बाहिरबाट हेर्दा आफूलाई पृथक पाउने गरेको छु । केही गर्न सक्दैन प्रकाशले भन्थे तर मैले केही समय काम पनि गरेँ । त्यो अनुभव पनि बटुलेँ जसको मलाई छेउटुप्पो थाहा थिएन ।

तैपनि व्यक्तिगत रूपमा राजनीतिभन्दा बाहिर देखिए पनि मेरो मन–मस्तिष्कभित्र राजनीति चौबीसै घण्टा घुमिरहेको छ र म आफूलाई राजनीतिभन्दा बाहिर छुजस्तो लागेको पनि छैन । राजनीतिक किताबहरू अध्ययन गर्छु अन्य किताबहरू पनि अध्ययन गरिरहेको छु, मलाई त्यस्तो लाग्दैन ।

० नेपाल कहिले फर्कनुहुन्छ त ?
– सबै चिजको एउटा समय हुन्छ । यो समयमा मैले धेरै चिजहरूको ज्ञान हासिल गरेको छु । सम्भवतः छिट्टै आउनेछु ।

० तपाईंलाई सबैभन्दा बढी माया कसको लाग्छ ?

– म माओवादी पार्टीको सदस्य भएको हुँदा सबैभन्दा बढी माया आफ्नो पार्टी र अध्यक्षको लाग्छ । म कसैको छोरा भएको हुँदा आमाबुबाको नै बढी माया लाग्ने गर्दछ ।

० सबैभन्दा बढी आदररसम्मान कसलाई गर्नुहुन्छ नि ?

– म प्रायः आफूभन्दा ठूलालाई आदर गर्दछु, त्यसमा पनि हाम्रो पार्टीका अध्यक्ष क। प्रचण्ड मेरो आदर्श हुनुहुन्छ । उहाँ नै सबैभन्दा मेरो आदर र सम्मानको पात्र हुनुहुन्छ ।

० साथीभाइ या आफन्तसँग सम्पर्क छ कि छैन ?

– निश्चय नै म फेसबुक चलाउँछु, मलाई न्यास्रो लाग्छ । साथीभाइहरू, आफन्तहरूसँग कुराकानी हुन्छ । मेरो दुःखपीडा पोख्छु, सम्झाउनुहुन्छ, नेपाल आउनु भन्नुहुन्छ । सबैमा हुने कुरा हो भन्नुहुन्छ । सान्त्वना पाउँछु, सुझाव पाउछु, खुसी लाग्छ ।

० परिवारसँग सम्पर्क कसरी भइरहेको छ नि ?

– जति गल्ती गरे पनि आमाको मन भनेको आमाकै हुँदोरहेछ । म मेरी आमासँगको सम्पर्कभन्दा बाहिर छैन ।

० जीवनको सानै उमेरमा धेरै कुरा भोग्नुभो, साथीभाइ आफन्तजस्ता कुराहरूले जीवनमा के अर्थ राख्दो रहेछ ?

– समय र परिस्थितिले सबै चिज उब्जाउँदो रहेछ । मेरो जीवनमा त्यस्तै परिस्थिति आइप¥यो । साथीभाइ, आफन्त जीवनमा नभइनहुने जीवनको परिपूरक वस्तु हुन् जुन प्रत्यक्ष रूपमा अहिले मिस गरिरहेको छु ।

० खासमा जीवन आफैंमा के रहेछ ?

– पहिला नै भनिसकेँ, जीवन एक सङ्घर्ष हो र उतारचढाव र घुम्तीहरूले भरिएको एउटा सुन्दर गोरेटो हो ।

० तपार्इं दीनदशामा विश्वास गर्नुहुन्छ ?

– म दीनदशा, भगवान् इत्यादि धर्मकर्मप्रति विश्वास गर्दिनँ । मलाई मेरो पार्टी र परिवारले यही सिकायो । तर, म अरू सबै धर्मको सम्मान गर्छु ।

० यो वर्ष एक मात्र छोराले घर छोडेर हिँड्यो, यसैपालि बाबुले नेतृत्व गरेको पार्टी फुट्यो, सार्वजनिक स्थलमा झापड आइप¥यो, प्रचण्ड–परिवारलाई के भएको हो यो ?

– बुबाले धेरै बचाउन खोज्दा पनि पार्टी फुट्यो । तर, त्योभन्दा दुःख फुटेर जाने नेताहरूले बुबामाथि भए–नभएको झुटा आरोप लगाए । जो अहोरात्र राष्ट्र, पार्टी, जनता भनेर सबै आफ्नो व्यक्तिगत कुरा त्यागेर लाग्नुभयो, उहाँमाथि आरोप लगाउँदा दुःख लाग्छ ।

अब भाग नमिलेर लोभीपापी गए भन्दैमा त्यति दुःख लाग्ने कुरा आउँदैन । अर्को मैले छोडर हिँडेको देखिए पनि पछि अध्यक्ष क। प्रचण्डको सदा सहयोगमै जीवन फाल्नेछु, यो मेरो प्रतिज्ञा हो । तेस्रो, मङ्सिर १ गते बुबामाथि जे भयो त्यसबाट म साह्रै दुःखी छु र रोइरहेको छु । मलाई पीडा भएको छ, उहाँसामु उपस्थित भएर रुनसमेत पाइनँ ।

त्यो षडयन्त्रकारी योजनाकारीहरूसँग मुकाबिला गर्न सकिरहेको छैन । त्यत्रो जनयुद्धकालभरि साथ हुने म अहिले यो अवस्थामा साथ नहुँदा साह्रै दुःख लागेको छ । छिट्टै नै कसको योजनामा बुबामाथि हात हालियो यो बाहिर आउनेछ र जनताले ती योजनाकारलाई नाङ्गेझार पार्नेछन् भन्ने लागेको छ ।

० तपाईं परिवारको एउटै छोरा, हाम्रोजस्तो पितृसत्तात्मक समाजमा छोराको महत्व ठूलो छ, बाबु–आमाप्रतिको कर्तव्य कसरी निर्वाह गर्नुहुन्छ ?

– म परिवारको एउटै छोरा भए पनि तीन दिदीहरू हुनुहुन्छ । मेरो परिवार राजनीतिक परिवार मात्र नभएर उत्पीडित वर्गीय, जातीय, लिङ्गीय र समुदायको मुक्तिको खातिर क्रान्तिको नेतृत्व गर्ने परिवार भएको हुँदा छोरा र छोरीमा समान व्यवहार र समान अपेक्षा हुनु स्वाभाविक हो ।

यसो भनिरहँदा परिवारको अपेक्षा ममाथि कम छ भन्न खोजेकोचाहिँ बिलकुल होइन । म परिवारको एउटा सन्तान भएको हुँदा बुबाआमाप्रतिको कर्तव्य निर्वाह गर्न मैले आफूलाई जुन जनताको निम्ति सर्वहारावर्गको मुक्तिको निम्ति समर्पण हुनु नै मेरो पारिवारिक कर्तव्य हो जस्तो लाग्छ र म त्यही गर्छु ।

० तपाईं एउटा बच्चाको बाबु पनि होइन र रु उसप्रतिको कर्तव्य ?

– म एउटा बच्चाको बाबु पनि हो र बाबुको जति कर्तव्य बच्चाप्रति हुनुपर्छ मबाट हुनेछ ।

० प्रचण्डजस्ता नेताको छोरा हुनुमा तपाईंलाई गर्व त होला, तर त्यही कारणले बढी दुःख पनि झेल्नुप¥यो जस्तो लाग्दैन ?

– मलाई दुःखभन्दा पनि गर्व नै बढी लाग्दछ । त्यस्ता जो पार्टी र अध्यक्षलाई नङ्ग्याउन र भलो देख्न नचाहने, देश विकास भएको देख्न नचाहनेले ममाथि लगाउने आरोप हो जो इतिहासकालदेखि त्यस्ता केही व्यक्तिले जरा गाडेर बसेका छन् । सही बाटोमा हिँड्नु काग कराउँदै जान्छ पिना सुक्दै जान्छ ।

० परदेशमा रहँदा सबैभन्दा बढी घरको सम्झना कस्तो बेलामा आउँदोरहेछ ?

– आफ्नो घरपरिवारको सम्झना नआउने शायद कुनै त्यस्तो पल होला, झन् यो अवस्थामा । हरेक अवस्थामा आउँदोरहेछ, मङ्सिर १ को घटनाले कतिबेला बुबालाई भेटुँ भएको छ ।

० जिन्दगीमा सबैभन्दा बढी दुःख र खुसी तपाईंलाई के कुरामा छ ?

– जिन्दगीमा अनेकौँ यस्ता दुःख र खुसीका घडीहरू आए । तैपनि मलाई साह्रै दुःख लागेको जो व्यक्ति निस्वार्थ भावले आमूल परिवर्तनमा लागेको छ जसको सफल नेतृत्वले गर्दा देशमा गणतन्त्र आएको छ त्यसमाथि यस्तो व्यवहार देख्दा दुःख लाग्छ । जब म पार्टी र जनताको सेवामा पुनः समर्पित हुनेछु त्यो बेला मेरो जीवनको सबैभन्दा खुसीको पल हुनेछ ।

० अन्त्यमा, तपाईंका विषयमा रुचि राख्नेहरूका लागि के भन्नुहुन्छ ?
– अहिले मैले चालेको कदम र मेरो अवस्थाले धेरै कमरेड, मित्र र जनतालाई निराश तुल्याएको ठानेको छु । जुन अवस्थामा अध्यक्षको सहयोग गर्नुपर्ने हो त्यही बेला मेरो सहयोग नरहनुको कारण पनि मलाई दुःख लागेको छ ।

गल्तीबाट ठूलो पाठ अहिले सिकिसकेको छु । अब आइन्दा यस्तो हुने छैन र तपाईंहरू सबैलाई दुःखी तुल्याउने छैन भन्ने अठोट पनि सबैसामु राख्न चाहन्छु । आफूलाई रूपान्तरण गर्दै सर्वहारा वर्गीय आन्दोलनमा नयाँ सिराबाट आफ्नो भूमिका निर्वाह पनि गर्ने नै छु ।

साभार:महिला खबरबाट

२०७४ मंसीर ६ गते प्रकाशित

    फेसबुक ट्वीटर

    तपाईं हामीसँग  फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

प्रतिकृया दिनुहोस्

खाली एड

Loading...