जागृत रायमाझी
१०४ पटक

साथीहरु शुभबिहानी !

अहिलेसम्मको मेरो सामाजिक/राजनैतिक परिचय अहिलेको माओबादी केन्द्रका कारण नै बनेको छ । म हालसम्म यही पार्टीमा छु । अपितु, बिगत ३ बर्षदेखी म पार्टीको कुन कमिटीमा, कुन हैसियतमा छु मलाई थाहा छैन । यसर्थ, पार्टीको बैठक, कार्यक्रम या अभियानमा प्राय: म गयल नै छु । संचारमाध्यम र फेसबुकले मलाई पार्टीसँग जीबन्त चाहिँ जरुर बनाईरहेको छ ।

जुन जिम्मेवारी यो अबधीमा पाएँ आफ्नो हुत्ती अनुसार पूरा गर्न प्रयास गरेँ । सकेँ सकिन समीक्षा गर्दै जाऔंला । पार्टीमा सक्रिय हजारौं साथीहरुले गरेको अथाह मेहनत देख्दा आफुले पार्टीको खास जिम्मेवारी नपाउँदा पनि यो अबधीमा म औधी सन्तुष्ट छु । सायद ! थुप्रै सिनियर, समकालीन र नयाँ युवा साथीहरुको खटाईले पार्टीलाई म सहित अरु थुप्रैको भुमिकाको खास आवश्यकता परेन ।

यही दरबियानमा पार्टीले एमालेसंग एकताको सरप्राईज निर्णय गरेको छ । प्राप्त उपलब्धीको रक्षा गर्दै अगाडि जाने सन्दर्भमा प्याकेजमा चुनाबी तालमेलसम्म गर्ने कुरा नाजायज थिएन । तर, एकले अर्कालाई प्रतिक्रियाबादी, उग्रवामपन्थी, राष्ट्रघाती, मण्डले राष्ट्रबादी, लम्पसारबादी, आतंककारी जस्ता संगीन आरोप लगाईरहेका पार्टीहरुबीच बिना कुनै आत्मसमिक्षा, बिना कुनै बैचारिक बहस एकाएक पार्टी एकताकै निर्णय गर्नु मलाई न प्राकृतिक लागेको छ न जायज नै । अझ दुईतीन जना नेताको लहडमा षड्यन्त्रकारी कार्यशैलीमा पहिला निर्णय गरेर मुन्टो

लेखक- जागृत रायमाझी

हल्लाउन लगाउने शैली कत्तिपनी सही लागेको छैन ।

पहिलो कुरा,
एकीकृत पार्टी कम्युनिस्ट पार्टी बन्न सक्दैन । यो एउटा सामाजिक लोकतान्त्रिक पार्टी बन्छ भन्ने लाग्छ । किनकी, यो कुनै सिद्धान्तनिस्ठ पार्टी एकता होईन ।

दोश्रो,
यो पार्टीले बैज्ञानिक समाजबादलाई आफ्नो लक्ष्य बनाउन सक्दैन । यस्ले समाजबादलाई नारा र आबरणमा बिक्री मात्रै गर्छ ।

तेस्रो,
स्थीर सरकार, प्रत्यक्ष निर्वाचित कार्यकारी र सुधारका केही प्रयत्नहरु यो एकतापछी सम्भव हुनसक्ला । तर, ती सबै संसदीय लोकतन्त्रकै गुणचरित्र हुन न कि क्रान्तिकारी ।

चौंथो,
बल प्रयोग, सर्बहारा अधिनाकत्व र बर्ग संघर्ष जस्ता मार्क्सबादका आधारभुत सिद्धान्तबाट यो पार्टीले सम्बन्ध बिच्छेद नै गर्छ । सारमा यो पार्टी मार्क्सबादी पार्टी रहन्न ।

पाचौं,
स्थानीय निर्वाचनको परिणामपछि खासगरी सत्तामा जान नमिली नहुने स्थितीको दबाबमा यो एकता भएको देखिन्छ न कि दीर्घकालीन रणनीतिका लागि ।

छैठौं,
कतिपय शिर्ष नेताहरु नै निर्वाचनमा पराजित हुने सम्भावनाका कारण यो निर्णयमा गएको देखिन्छ ।

सातौं,
सत्तालिप्सा, सुबिधा आचरण र शक्तिमुखी चिन्तनका कारण नेतृत्व यो निर्णयमा पुग्यो भन्ने लाग्छ ।

आठौं,
यो एकता संसदवादकै उनन्नयन, बिकास या नबिकरण हो भन्ने लाग्छ ।

मित्रहरु !
म आलोचनात्मक चेत सहित आफुलाई लागेको ठीकलाई ठीक र बेठीकलाई बेठीक भन्नुपर्छ भन्ने ठान्दछु र भन्दै आईरहेको छु । चाहे ठीक गर्ने मेरो दुस्मन किन नहोस या बेठीक गर्ने मित्र । मेरो पार्टीको हात्ती नेता होस या मेरो आफ्नै बाउ । पार्टीको यो निर्णय मलाई ठीक लागेको छैन । मात्र होईन नेपालको कम्युनिस्ट आन्दोलनलाई दागबत्ती दिने दुस्साहस हो भन्ने लाग्छ । मलाई लागेको कुरा मेरो दृष्टिदोष होस, ईतिहासले संकीर्ण सिद्द गरोस, मलाई गलत साबित गरोस, मेरो शुभेच्छा नै छ ।

मित्रहरु !
मलाई मार्क्सबादको बैज्ञानिकता र सत्यतामा दृढ बिश्वास छ । यो पृथ्बीमा मानव जातीको लागि बैज्ञानिक समाजबादको म बिकल्प देख्दिँन ।
आफुलाई लागेको त्यो निर्बिकल्प यात्रा आफू लागेको पार्टीले तय गरेको पार्टी एकताको बाटोबाट म सम्भव देख्दिन । यसर्थ, यो निर्णय प्रक्रियामा मेरो निर्णायक संघर्ष नै रहन्छ ।

मित्रहरु !
पद र प्रतिष्ठाको लागि कमण्डलु बोकेर मुखियाकहाँ जीबनभर धाईएन । यो जुनीमा धाउन पनि नपरोस। चाप्लुसीको भाषा बोल्न लेख्न परेन । यो जुनीमा अब नपरोस । कमण्डलु बोकेर मुखियाकहाँ धाउने जीवन भन्दा साँच्चैको जोगी जीवन धेरै उत्कृष्ट लाग्छ मलाई । न मलाई कहिल्यै कृष्ण मन पर्‍यो, न कृष्ण भजन । भजन गाउन, लेख्न र सिकाउन जानिएन, जान्ने प्रयत्न पनि गरिएन ।

पार्टी जीबनमा जोडिएका थुप्रै साथीहरुसंग लामोछोटो, गहिरो, औपचारिक, भावनात्मक, तीतोमीठो, चीसोतातो सम्बन्धहरु हुनेरहेछ । स्वार्थ, स्वभाव, संघर्ष, सहयोग, मनोदशा आदिका कारण बेलाबेला सम्बन्धहरु चीसोतातो भैरहने रहेछन । सम्बन्धहरुको उतारचढावमा आफ्नो दोषको हिस्सा लिन मलाई ग्लानी हुने छैन । तर, कुनैपनी मित्रसंग मेरो एक ईन्च पूर्वाग्रह भने छैन । चाहे पार्टी जीबनमा मलाई देखिनसहने होस या औधी माया गर्ने ।

साथीहरु !
आजसम्म आफूलाई लागेको सत्यको खोज र सत्यको यात्रामा दृढतापुर्वक हिंड्ने आफ्नो बानीलाई परित्याग गर्न सकिएन । त्यसकारण आफ्नो आयुको बाकीँ समय आफूलाई लागेको सत्यमा नै बिताउने संकल्प झनझन बलियो हुँदै गएको छ । त्यसकारण संसदबादको दलदलमा पार्टी जाकिँदा त्यो संगै जाने या डिलमा बसेर टुलुटुलु हेर्न सकिरहेको छैन । सायद ! निर्मल लामा, रुपचन्द्र बिष्ट र हजारौं सहिदहरुको डरले पनि मलाई तर्सायो की !

नेता, कार्यकर्ता, सदस्य, समर्थक र शुभेच्छुक जुनसुकै स्थान मलाई मंजुर छ । तर, कम्युनिस्ट पार्टीको । त्यसकारण हेर्दै जाऔं ! कैँयौ साथीहरुसंग पार्टी एउटै हुन सक्ला नसक्ला। बाटो उस्तै होला नहोला । बाटो कस्तो ? बिचार के ?? यात्रा कसरी ?? हिमालबाट वग्ने नदि जस्तै स्वस्थ बहस गर्दै गरौंला । सम्बन्ध चीसोतातो पनि होला । तर, ऊही पृथ्बी र प्रकृतीसंग हामीलाई कस्ले छुटाओस । आजलाई यति ।।

मित्रहरु !
बिज्ञान र प्रबिधीको आजको युगमा फेसबुक लगायत सामजिक संजाल र संचारमाध्यमहरु बिज्ञानप्रबिधिको उपहारकोरुपमा आएका छन । यसको सदुपयोग गर्दा लाग्ने फेसबुके आरोप सहर्ष स्वीकार गर्नु बुद्दिमानी होला । जेहोस ! ह्वात्तै परसम्म, छिनमै धेरैसंग आफ्नो कुरा पुर्‍याउन सहयोग गर्ने फेसबुक र जुकरबर्गलाई चाहिँ एक थान धन्यबाद !
असोज २८, ०७४ ।

(नेकपा माअाेवादी केन्द्रका युवा नेता रायमाझीकाे फेसबुसबाट साभार)

२०७४ कात्तिक २४ गते प्रकाशित

    फेसबुक ट्वीटर

    तपाईं हामीसँग  फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

प्रतिकृया दिनुहोस्

खाली एड

Loading...