डा. दीपेन्द्र रोकाया
४६२ पटक

यस पटक संघ वा प्रदेशको निर्वाचनमा उम्मेदवार नै हुने विचार गरेको थिएँ । साढे एक महिना जिल्लाका कुनाकाप्चा घुमेँ । जनताको जनमत हेरेँ । केही आकांक्षित साथीहरुको अवस्था बुझेँ । सात गाउँ गाउँपालिकामध्ये चार गाउँपालिकामा गई प्रशिक्षण नै दिएँ । अरु तीन गाउँपालिकाका प्रमुख साथीहरुको मनोवल उच्च पार्ने काम समेत गरेँ ।

यसरी हेर्दा जिल्लाका साथीहरुले मलाई टिकटका लागि प्रस्ताव गर्छन् होला भन्ने लागेको थियो । प्रायः सबै जिम्मेवार साथीहरुसँग छलफल गरेको थिएँ । यसो त केन्द्र पार्टीका जिम्मेवार कमरेडहरुसित कुराकानी गरेरै अगाडि बढेको थिएँ । समग्रमा राजनीतिक संस्कार नहुनुले गरिएका अपेक्षाहरु पुरा हुन सकेनन् ।

राजनीति सम्भावनै सम्भावनाको खेल हो भन्ने कुरा मान्दछु । तर, राजनीति गुटकै आधारमा चल्नाले घात अन्र्तघात हुँदो रहेछ । जिल्ला र काठमाडौंका बैठकमा छलफल भएको थियो । मैले आफ्नो भनाई प्रष्ट रुपमा राखेको थिएँ । साथीहरुले कुरा काट्ने ठाउँ कही पनि पाएनन्, तर उनीहरुले पिएचडी गरेको मान्छेले राजनीति नगरी जागीर खाए हुन्छ भन्न पछि परेनन् र आफुहरुको भाग खोस्न आएको अनुभूति गर्न पुगे ।

लेखक डा. दिपेन्द्र रोकाया

मेरो कार्यक्षेत्र लामो समयसम्म जिल्ला बाहिर रहेकाले यसैलाई आधार बनाएर ठाउँ ठाउँमा उहाँलाई जनताले चिन्दैनन् समेत भन्न भ्याएछन् । मलाई हेका भएसम्म जिल्लाका साथीहरुले शान्ति प्रक्रियापछि स्थानीय तहको निर्वाचन अघि एक पटक मात्र जनतासम्म पुग्ने अभियान चलाएका थिए । तर म यसबीचमा ७ पटक विभिन्न कार्यक्रम लिई गल्बादेखि सिमकोटसम्म, रिमीदेखि लिमीसम्म, सर्केगाडदेखि मानसरोवरसम्मका जनतासँग सहकार्य गरेको थिएँ । यस्ता तथ्यलाई ओझेल पार्ने प्रयास भयो ।

संघका उम्मेदवार छिमी लामाप्रति असमति जनाउँदै छक्कबहादुर लामा र सोनाम ग्याल्जन लामाले बागी भई स्वतन्त्र उम्मेदवारी दर्ता गराउन पुग्नु भएको छ । यसरी हुम्ला वाममय हुनुको सट्टा अरु नै हुन पुगेको छ ।

सबै नेताले सबै जनतालाई चिनेको हुँदैन । तर नीति चिन्दछ, नीति भनेको पनि नेतृत्व हो । मलाई सबैले नचिनेका पनि होलान्, तर मेरो गतिविधि नसुनेका जनता कमै छन् । गुटगत चेतनाले गर्दा जनमत नभएका ब्यक्तिहरुलाई टिकट दिएको छ ।

यो कुरा सुनेर तिब्बतको ताक्लाकोट बजारका ब्यापारीहरु रोएको सुन्नमा आयो । सर्केगाड, चंखेली, ताचाकोट र अदानचुलीका साथीहरु मात्र होइन, खार्पुनाथ, सिमकोट तथा नाम्खा गाउँपालिकाका साथीहरु निराश भई फोन गर्न थालेका छन् । उनीहरुले विद्रोह गर्नपर्ने तर्क समेत राखे । प्रदेश र केन्द्र पार्टीप्रति आक्रोश समेत ब्यक्त गरे । ती शब्द उल्लेख गर्दा कम मार्मिक र उत्तेजक छैनन् । तर मैले एक हिउँदले सिँगो जीवनको जाडो जाँदैन भनी शान्त पार्ने कोशिस गरिरहेको छु ।

पार्टीको टिकट पाउनेहरु भाईटिकाको अघिल्लो दिन जहाज चढेर नेपालगञ्ज गए । उनीहरु खुशी हुनु स्वभाविकै थियो, सामाजिक सञ्जालमा विभिन्न किसिमका स्टाटस र शुभकामना आउनेक्रम बढ्यो ।

यसैबीच पुन हुम्लाको प्रदेश नं. १ का उम्मेदवार लालकेश जैसीको टिकट खोसेर एमालेका नेता दल रावललाई वाममोर्चाको साझा उम्मेदवार बनाएर टिकट दिएको देखियो । संघका उम्मेदवार छिमी लामाप्रति असमति जनाउँदै छक्कबहादुर लामा र सोनाम ग्याल्जन लामाले बागी भई स्वतन्त्र उम्मेदवारी दर्ता गराउन पुग्नु भएको छ । यसरी हुम्ला वाममय हुनुको सट्टा अरु नै हुन पुगेको छ ।

जिल्लामा केही साथीहरुले राजनीति इमान्दार मान्छेले गर्ने रहेनछ भनी रिर्पोटिङ्ग गर्दा मैले भनेको थिएँ, यो सही कुरा होइन । अहिले सबैले राजनीति ‘थर्ड क्लास’ मान्छेले गर्ने हो, राजनीति फोहरी खेल हो, राजनीति गर्नेले झुट बोल्नु पर्दछ, गुण्डा र तस्कर नाइके मात्र राजनीतिज्ञ हुन सक्छ भन्ने जस्ता सवाल त्यतिकै स्थापित भएका छैनन् ।

यो कुरालाई उल्टाउँदै राजनीति भनेको हरेक क्षेत्रको नेतृत्व हो, तत्कालीन जोखिम व्यवस्थापन हो, पथपर्दशक हो, नयाँ अध्याय खोल्ने आधार हो । यसैले इमान्दार मान्छेले राजनीति गर्न तयार हुन पर्दछ भनी हौस्याएको थिएँ । एउटा राजनीतिशास्त्रीको हैसियतले यसो भन्दा कतिपयलाई चोट लाग्न सक्तछ । तर हामीले इमान्दारीताको दृढतापूर्वक पक्ष लिनै पर्दछ ।

पार्टीका केही मान्छेले जति धेरै चिनियाँ पर्खाल लगाउन खोजुन्, मलाई कहीँ पनि टेक्ने ठाउँ नदिन पहल समेत गरुन्, म भने हाम्रो वर्ग र पार्टीले कहीँ पनि नहारोस् भनी काम गर्न चाहन्छु ।

अब त सबैको घरमा उम्मेदवारहरुको चर्चा हुन थालेको छ । उनीहरुको विगतको समीक्षा हुँदैछ । ति मान्छेका प्रवृत्ति, प्रतिबद्धता, योग्यता, क्षमता, इमान्दारिता र निरन्तरता जाँच्दै आफ्नो र भावी सन्ततिको भविश्यको बारेमा सोच्ने बेला आएको छ । देश, जनता र क्रान्तिको पक्षमा वकालत गर्दा जेल परेँ, नेल भिरेँ, अनेक दुःख कष्ट उठाउन पर्‍यो ।

हुम्लामा नै बसेर काम नगरे पनि वर्गीय आन्दोलनभन्दा टाढा रहिनँ र जहाँ कार्यरत रहेपनि हुम्लाको नाम उँचो राख्न कँही पनि चुकिनँ । लेखेँ पनि, नाफाको जिन्दगी । सपनाहरु लेखेर वा अरुलाई साथ दिएर मात्र पनि पुग्दो रहेनछ । त्यसको कार्यान्वयन गर्न जिम्मेवार पदमा पुग्नै पर्ने रहेछ भनी केही गरौँ भनी ऊर्जासहित आँटेको बेला काम गर्न पाइएन भने त्यसको महत्व खेर जाने तथ्यलाई मनन गरी यसपटक म कम्युनिष्ट वाममोर्चाको तर्फबाट एउटा संकल्पका साथ प्रत्यक्ष उम्मेदवार हुन खोजेको थिएँ । समयले साथ दिएन । तर पनि म निराश छैन ।

यही राजनीतिक खिचातानी देखेर जीवन संगिनी देवकीले आफ्नो फेसवुक वालमा मेरो फोटोसमेत पोष्ट गरी लेख्न पुगिछन्, ‘तिमीलाई गर्नु अपमान गरि हाले, अझै चेत आएन ? अपमान गर्नेहरुले फुलमाला लगाउने छन्, तिमी त्यही हुलमा ठाडो टिका लगाएर उपस्थित हुन तयार हुँदैछौ ? म त भन्छु अपमानको पनि हद हुन्छ नि ! यति हुँदा पनि पार्टी, हुम्ली जनता र साथीहरु भन्ने गरिरहन्छौ ? यो तिम्रो कस्तो विश्वास र आस्था हो ? जुन आगोले पोल्यो, त्यही आगोमा सेकाएर उपचार सम्भव छ र ? तिमीलाई थाहा छ,, दार्शनिक प्लेटोले आर्दश राजाको परिकल्पना गर्‍यो, दियोनलाई राजा बनायो, राजालाई राजाको कर्तब्र्यबारे सिकाउँदा कमारो बनाएर एउटा टापुमा बेचेको थियो । प्लेटोको साथी मनकारी भई उद्दार नगरेको भए आज प्लेटो गुमनाम हुन सक्तथ्यो । त्यो दिनहरु पनि सम्झन पर्दछ कि ?’

उनको यो वालमा लाइक गर्नेको संख्या बढ्दै गएको रहेछ । थरिथरीका प्रतिक्रिया पनि देख्न पाइयो । ति प्रतिक्रियाहरु पनि जाहेज छन् । दुई चार जना साथीहरुले फोन गरेर सोधेपछि फेसबुक हेर्न बाध्य भएँ । अनि मैले उनको नाममा साथीहरुका भनाई पनि मुल्यवान र सलाम गर्न लायक भएको भन्दै लेखेँ– ‘देवकी, म तिम्रा सबै भावनाहरको कदर गर्दछु । तर गतिशील समाज विज्ञानअनुसार मैले भन्नै पर्ने हुन्छ, हामीले जहिले पनि बाज बनेर ७ किमि अगाडि, पछाडि र दायाँवायाँ हेर्नुपर्ने हुन्छ । जिन्दगी भनेको जिउँदा मात्र होइन, कम्तीमा सात पुस्तासम्मको बाटो हेर्न पर्दछ । यसलाई कोही कसैले कमजोर नठानोस् ।’

यसकारण जनताको एक दिन परीक्षा लिई आगामी पाँच वर्ष जनतासँग परिक्षा दिन पाइनँ । पार्टीका केही मान्छेले जति धेरै चिनियाँ पर्खाल लगाउन खोजुन्, मलाई कहीँ पनि टेक्ने ठाउँ नदिन पहल समेत गरुन्, म भने हाम्रो वर्ग र पार्टीले कहीँ पनि नहारोस् भनी काम गर्न चाहन्छु । यी सबै मेरा लागि प्रेरणाका विषवस्तुहरु हुन् ।

२०७४ कात्तिक ३० गते प्रकाशित
प्रतिकृया दिनुहोस्

खाली एड

Loading...