इमान्दार संवाददाता
३२ पटक

काठमाडौं । प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत बेरोजगार युवालाई न्यूनतम रोजगारीको अवसर प्रदान गर्नका लागि आजदेखि बेरोजगार सूचीकरण गरिँदैछ ।

७५३ स्थानीयतहमा स्थापना भएको रोजगार सेवा केन्द्रमा खटिएका रोजगार संयोजकले बेरोजगार युवाको लगत संकलन गर्ने छन् ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले न्यूनतम रोजगारीमा संलग्न भई सार्वजनिक विकास निर्माणका काममा योगदान गर्न इच्छुक बेरोजगार व्यक्तिलाई चैत महिनाभित्र आफूले स्थायी बसोबास गर्दै आएको स्थानीय तहको सम्बन्धित वडा कार्यालयमा सूचीकृत हुन आग्रह गरेको छ ।

बेरोजगार युवाले सरकारले तोकेको ढाँचामा आफ्नो वैयक्तिक विवरणसहित सम्बन्धित वडा कार्यालयमा निवेदन दिनुपर्नेछ । वडा कार्यालयबाट संकलित गरिएको बेरोजगारको निवेदन गाउँ तथा नगरसभाले अनुमोदन गरेपछि रोजगार संयोजकले रोजगार सूचना व्यवस्थापन प्रणालीमा प्रविष्ट गर्ने छन् ।

नेपाल सरकार, प्रदेश सरकार र स्थानीय तहका सार्वजनिक निर्माण तथा सार्वजनिक क्षेत्रका अन्य कार्यक्रममा पर्याप्त संख्यामा रोजगारी सिर्जना गर्ने गरी समन्वयात्मक र योजनाबद्ध ढंगले कार्यान्वयन गर्ने प्रबन्ध गर्न प्रधानमन्त्री रोजगार कार्यक्रम सञ्चालनमा ल्याउन लागिएको हो ।

सरकारले बेरोजगार युवालाई एक आर्थिक वर्षभित्र न्यूनतम १०० दिनको रोजगारी उपलब्ध गराउने उद्देश्यले ‘प्रधानमन्त्री रोजगार कार्यक्रम’ कार्यान्वयनमा ल्याइसकेको छ । न्यूनतम १०० दिनको रोजगारी प्रदान गर्न नसके रोजगारी प्राप्त गर्न नसकेको दिनको ५० प्रतिशत रकम निर्वाह भत्ताका रुपमा दिईनेछ ।

यसैबीच उता राहदानी विभागले आफ्नो कार्यालय समय १ घण्टा बढाएको छ । सेवाको गुणस्तर र ग्राहकको चापलाई ध्यान दिँदै उसले १०–५ को कार्यालय समयमा पुनरावलोकन गरेको हो ।

विभागका अनुसार, १०–५ सञ्चालन हुँदै आएको कार्यालय आजबाट ९ बजे खुलेर ५ बजे बन्द हुने भएको छ । शुक्रबार भने ३ बजेसम्म सेवाप्रवाह हुने विभागका महानिर्देशक रामकाजी खड्काले जानकारी दिए । थपिएको समयले सेवाप्रवाहमा सुधार आउने विश्वास महानिर्देशक खड्काले व्यक्त गरे ।

सरकारले हाल देशभरका जिल्ला प्रशासन कार्यालय, राहदानी विभाग र विदेशस्थित कूटनीतिक नियोगहरुबाट राहदानी वितरण गर्दै आएको छ । यसैबीच, विभागले राहदानी प्रयोगमा सजगता अपनाउन पनि अनुरोध गरेको छ । राहदानीको केरमेटलगायतले समस्या आउन सक्ने भन्दै विभागले सचेत गराएको हो ।

२०७५ चैत १ गते प्रकाशित

    फेसबुक ट्वीटर

    तपाईं हामीसँग  फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

प्रतिकृया दिनुहोस्

खाली एड